बाँकेका दर्जनौं गाउँ डुबानको जोखिममा - समाचार - कान्तिपुर समाचार

बाँकेका दर्जनौं गाउँ डुबानको जोखिममा 

बाढी नियन्त्रणको पूर्वतयारीका लागि खोला च्यानलाइज गर्ने निर्णय
मधु शाही, रुपा गहतराज

बाँके — बर्खा लागेर खोलामा पानीको सतह बढेसँगै राप्तीसोनारी गाउँपालिकाका बासिन्दा जोखिममा परेका छन् । यहाँको गोदारपुर, माथेबास, खोरिया, कचनापुर, मदुई, मदुवा हरिहरपुर, अम्रवा, टीकलीपुर, शमशेरगन्ज, राजपुर गाउँ डुबानको उच्च जोखिममा छन् । राप्तीसोनारी–८ का वडाध्यक्ष खुमबहादुर बस्नेतले बर्खाले खोला बढेसँगै बस्ती डुबानको जोखिममा परेको बताए ।

हरेक वर्ष बाँके राष्ट्रिय निकुञ्ज क्षेत्रमा पर्ने खैरे खोला र मुगा नदीको बहाव उर्लिएर बस्तीसम्म पुग्छ । राजमार्गको बीचमा खैरे खोला छ भने राप्तीसोनारी गाउँपालिका–८ र २ वडाको बीचमा मुगा खोला बगेको छ । यी खोलामा पानी बढेसँगै सिक्टा नहरमा मिसिन्छ । ‘नहरमा पानीको ओभर फ्लो भएर निकास नपाउँदा बस्ती नै डुबानमा पर्ने खतरा बढेको हो,’ वडाध्यक्ष बस्नेतले भने, ‘बाढीको कहरले सधैं सताइरहन्छ । जोगिनै मुस्किल भइसक्यो ।’

पानीको अधिक बहाव थेग्न नसकेर सिक्टा नहर भत्किने सम्भावनासमेत उत्तिकै रहेको सिक्टा सिँचाइ आयोजना प्रमुख लोकबहादुर थापाले बताए । वर्षौंदेखि भोग्दै आएको समस्या समाधान गर्न सोमबार जिल्ला प्रशासन, आयोजना प्रमुख, निकुञ्ज प्रमुखलगायतले स्थलगत अनुगमन गरेका थिए । ‘खोलाको पानी थेग्न नसकेर एकातिर सिक्टा भत्किने डर छ भने अर्कोतिर बस्ती नै डुबानमा पर्ने खतरा बढेको छ,’ आयोजना प्रमुख थापाले भने, ‘ढुंगा, गिट्टी, थुप्रिँदा नदीको एकनासको बहाव नै बन्द भएको छ ।’

अहिले ५० सेन्टिमिटरको हिसाबले दैनिक खोलाको बहाव बढ्दै छ तर निकुञ्जभित्रका संरचना छुन पाइँदैन । खैरी खोलाको पानी पनि बढेको छ । खोलाको पानी पुलसम्म आउन थालेको छ । यसरी पानीको सतह बढेपछि धार परिवर्तन गर्न सक्छ । जसले हाइवे, जंगल, खोला किनारको बस्तीलाई क्षति पुर्‍याउने निश्चित छ । यसले सिक्टा नहरलाई समेत प्रभावित गर्नेछ । जसका कारण नदीको सतहलाई नियन्त्रण गर्नुपर्नेे विषयमा छलफलमा जुटेको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले बताए । ‘बाँके राष्ट्रिय निकुञ्जमा पर्ने नदीको स्रोत उत्खनन गर्न वातावरण प्रभाव मूल्यांकनको प्रतिवेदन चाहिन्छ,’ उनले भने, ‘यसका लागि आवश्यक पहल गरेर बाढीबाट जोगिने प्रक्रिया सुरु गरेका छौं ।’

उता निकुञ्जका प्रमुख संरक्षण अधिकृत प्रमोद भट्टराईले निकुञ्जभित्रका स्रोत सकेसम्म जस्ताको तस्तै राख्नुपर्ने व्यवस्था रहेको बताए । ‘निकुञ्जको कोर एरिया सकेसम्म चलाउन पाइँदैन,’ उनले भने, ‘खोला च्यानलाइज गरेर ढुंगा, गिट्टी केही मात्रामा व्यवस्थापन गर्न सकिन्छ ।’ उनका अनुसार कोर एरियाको खोला क्षेत्र खाल्टो छ । खोलामा गिट्टी र बालुवा भरिएर रहेको छ । त्यसलाई पन्छाउन सके मात्र पानी बगेर जान्छ । बफर जोनका खोलामा रहेका ढुंगा र गिट्टी त्यहींका स्थानीय उपभोक्ताले प्रयोग गर्दै आएका छन् । उत्खनन गर्दा भौतिक संरक्षणको ख्याल गर्नुपर्ने उनले बताए ।

विपत् नआउँदै तयारी तीव्र

बाँके र बर्दियामा बाढी आउन सक्ने सम्भावनाप्रति यहाँको प्रशासन सचेत बनेको छ । जिल्ला प्रशासन कार्यालय बाँकेमा मंगलबार बसेको विपत् व्यवस्थापन समितिको बैठकले बाढीको पूर्वतयारीका लागि खोला च्यानलाइज गर्ने निर्णयसमेत गरेको हो ।

बाँके राष्ट्रिय निकुञ्जमा पर्ने खैरी, सुखड मुगुवा खोलाको सतह बढ्दै गइरहेकाले मनसुनसँगै बाढी आउँदा वन क्षेत्रमा प्रवेश गर्दै पूर्व–पश्चिम राजमार्ग र राष्ट्रिय गौरवको आयोजनामा खोलाले विगतमा समेत क्षति पुगेकाले यस वर्ष बाढीको उच्च जोखिम देखिएको हुँदा खोलामा च्यानलाइज गरी सम्भावित जोखिम कम गर्ने निर्णय गरिएको हो । ‘बाढीबाट हुन सक्ने क्षति न्यूनीकरण गर्न खोलाहरू च्यानलाइज गर्ने निर्णय गरेका हौं,’ प्रजिअ कुरुम्बाङले भने, ‘बाढीबाट निकुञ्जभित्रको वनस्पति र जीवजन्तुको संरक्षण, पूर्व–पश्चिम राजमार्ग राष्ट्रिय गौरवको आयोजना सिक्टा सिँचाइको जोखिम कम गर्न वातावरणीय प्रभाव मूल्यांकन गरी वातावरणीय परीक्षण गर्न राष्ट्रिय निकुञ्जलाई अनुरोध गरेका छौं ।’

यस्तै आन्तरिक मामिला तथा कानुन मन्त्रालय प्रदेश ५ बुटवलको सहयोगमा राप्तीसोनारी गाउँपालिका–६, नरैनापुर गाउँपालिका–६, डुडुवा गाउँपालिका–१ मा बाढी र डुबानमा परेका व्यक्तिको खोज र उद्धार गर्न सहज होस् भन्नका लागि हेलिप्याड निर्माणको काम पनि द्रुत गतिमा अघि बढिरहेको छ । हेलिप्याड निर्माणका लागि राप्तीसोनारी–६ मा तीनवटा रूख र नरैनापुरमा दुईवटा विद्युत्का पोलले काममा अवरोध पारेको हुँदा रूख कटान र पोल अन्यन्त्र सार्ने काम सुरु गरिएको प्रजिअ कुरुम्बाङले सुनाए । रूख काट्नका लागि डिभिजन वन कार्यालय र पोल सार्न विद्युत् कार्यालयसँग समन्वय गरी काम अघि बढाएका छौं,’ उनले भने, ‘केही दिनभित्र निर्माण सम्पन्न गरिसक्छौं ।’

प्रकाशित : असार २५, २०७७ ०८:३४
प्रतिक्रिया
पठाउनुहोस्

वनभित्र अवैध ढुंगा–गिट्टी 

मधु शाही, रुपा गहतराज

बाँके — बाँकेको राप्तीसोनारी गाउँपालिकामा खोलाबाट अवैध रुपमा उत्खनन् गरिएका ढुंगा र गिट्टी वनभित्र लुकाएर राखिएको पाइएको छ । राप्तीसोनारी–२ स्थित मधु सामुदायिक वनभित्र करोडौं मूल्य बराबरको ढुंगा, गिट्टी र बालुवाका थुप्रा छन् । उत्खननका लागि वनभित्रै एस्काभेटरसमेत लुकाएर राखिएको फेला परेको छ । 

राप्तीसोनारी गाउँपालिका—२ मा अवस्थित मधु सामुदायिक वनमा अवैध रुपमा संकलन गरिएका ढुंगा, गिट्टी र बालुवाका थुप्रा । तस्बिर : मधु शाही/कान्तिपुर 

आइतबार प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले नेतृत्वमा गएको अनुगमन टोलीले यसरी अवैध रुपमा थुपारिएका ढुंगा, गिट्टी र एस्काभेटर फेला पारेको हो । जिल्ला प्रशासनका अनुसार बा १ क ७६२० नम्बरको एस्काभेटर वनमा लुकाएर राखिएको थियो । उक्त एस्काभेटर बाबुराजा मल्लको नाममा रहेको खुलेको छ । मल्लसित प्रहरीले सोमबार सोधपुछ गरेको थियो ।

प्रहरी उपरीक्षक ओम रानाका अनुसार मल्लले एस्काभेटर कोहलपुरका ज्ञानबहादुर र लोकबहादुर ओलीलाई भाडामा चलाउन दिएको खुलेको छ । ‘सोधपुछ गरेर सर्तमा एस्काभेटर धनीलाई छाडिएको छ,’ एसपी रानाले भने, ‘अनुसन्धान भइरहको छ ।’ गाउँपालिकाका अध्यक्ष लहुराम थारुले भने एस्काभेटर मंगलबार पनि वनभित्रै प्रशासनको निगरानीमा रहेको बताए । गाउँपालिकालाई जिम्मा दिए भने आवश्यक प्रक्रिया पूरा गरेर एस्काभेटरको व्यवस्थापनसँगै वनमा थुप्रिएका गिट्टी बालुवाको बिक्री वितरण गर्ने बताए ।


दिनभरि सुनसान जंगलमा रातारात गिट्टी बालुवा उत्खनन् गरेर थुप्रार्ने गरिएको उनले बताए । नियन्त्रणका लागि स्थानीय प्रशासनले वास्ता नगरेको उनले आरोप लगाए । थारुले तस्करी रोक्न चुनौती रहेको बताए । वडाभित्र नदीजन्य पदार्थहरुको अवैध उत्खनन् हुँदासमेत यहाँका जनप्रतिनिधि बेखबर जस्तै बनेका छन् । कतिबेला आउँछन्, थाहा हुँदैन भन्ने जवाफ दिएर उम्किने गर्छन् । ‘रातभरिमा तस्करले नदी खन्छन्,’ अध्यक्ष थारुले भने,‘रोकथाम गर्न चुनौती छ, ज्यान नै जोखिममा राख्नु पर्छ ।’ सामुदायिक वनका हेरालु गनबहादुर वालीले तीन/चार दिनदेखि एस्काभेटर जंगलमै बेवारिसे अवस्थामा छोडिएको बताए ।

प्रमुख जिल्ला अधिकारी कुरुम्वाङले प्राकृतिक स्रोत र साधनको संरक्षणमा अनुगमन आवश्यक रहेको बताए । यसका लागि उनी पछिल्लो समय खटिएर स्थलगत अनुगमनमा पुगेका छन् । राप्तीसोनारी गाउँपालिकाको सामुदायिक वनमै भेटिएको अवैध ढुंगा, गिट्टीका थुप्रालाई तुरुन्तै व्यवस्थापन गरेर चोरको निगरानी गर्न उनले चासो दिएका छन् । यद्यपि स्थानीय स्रोत र साधनको सुरक्षा कसले गर्ने ? भन्ने विषयमा भने दुविधा देखिन्छ ।

प्रकाशित : असार २३, २०७७ १७:३०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×