उपत्यकाका ७१ ठाउँमा कोरोना संक्रमण- समाचार - कान्तिपुर समाचार

उपत्यकाका ७१ ठाउँमा कोरोना संक्रमण

बुधबारसम्म उपत्यकामा २ सय ९० जनामा संक्रमण पुष्टि भएको छ, जसमा काठमाडौंका १ सय ९१, ललितपुरका ५६ र भक्तपुरका ४३ जना छन् । मुलुकभर संक्रमितको संख्या १६ हजार ४ सय २३ पुगेको छ ।
मकर श्रेष्ठ, स्वरूप आचार्य

काठमाडौँ — भक्तपुर क्यान्सर अस्पतालमा चाँगुनारायण नगरपालिकाको बागेश्वरीका एक पुरुषको साताअघि मृत्यु भयो । पीसीआर परीक्षण गर्दा मृतकको रिपोर्ट नेगेटिभ आयो । अस्पतालका चार जना कर्मचारी र मृतकका श्रीमतीको पीसीआर रिपोर्ट भने पोजिटिभ आयो । संक्रमित कर्मचारीहरू दुवाकोटस्थित केएमसी अस्पतालको आइसोलेसनमा छन् ।

मृतककी श्रीमती भने घरमै आइसोलेसनमा बसेर श्रीमान्‌को काजकिरिया गरिरहेकी छन् । ‘अस्पताल भर्ना भएको १२ औं दिनमा श्रीमान्‌को मृत्यु भयो, हामी अस्पतालबाहेक कहीं गएका थिएनौं, उहाँको रिपोर्ट नेगेटिभ आए पनि उहाँकै स्याहार गर्ने मलाई भने कोरोना देखियो,’ उनले भनिन् ।

त्यस्तै, मंगलबार काठमाडौंको ह्याम्स अस्पतालका एक चिकित्सक संक्रमित भएको रिपोर्ट आयो । उनी न विदेशबाट आएका हुन् न त विदेशबाट आएकासँग घुलमिल भएका थिए । ‘म अस्पतालबाट घर, घरबाट अस्पतालबाहेक कहीं गएकै थिइनँ,’ ती चिकित्सकले भने, ‘पीसीआर गर्दा पोजिटिभ देखियो ।’

ललितपुर चापागाउँका एक पुरुषमा कोरोनाको कुनै लक्षण छैन । आफूलाई कहाँबाट संक्रमण सर्‍यो भन्ने उनले अड्कलसमेत काट्न सकिरहेका छैनन् । ‘मलाई कोरोनाको लक्षण छैन तर रिपोर्टचाहिँ पोजिटिभ देखिएपछि पाटन अस्पतालको आइसोलेसनमा छु,’ उनले भने ।

भक्तपुर, बालकोटका आमा–छोरामै संक्रमण देखिएपछि पाटन अस्पतालमा उपचाररत छन् । छोरालाई कोरोनाको लक्षण देखिएपछि परीक्षण गर्दा पोजिटिभ देखिएको थियो । आईसीयूमा केही दिन उपचार गरेर छोरालाई जनरल वार्डमा सारिएको छ । आमाको रिपोर्ट पनि मंगलबार पोजिटिभ आएको हो । ‘छोरा केही दिनअघि एकान्तकुनास्थित यातायात कार्यालयमा कर तिर्न गएको थियो, केही दिनपछि ज्वरो र खोकी देखियो,’ ती महिलाले भनिन्, ‘सुरुमा सिभिल अस्पताल लग्यौं । ज्वरो कम भएपछि त्यही दिन घर फर्कियौं । भोलिपल्ट पाटन अस्पताल गएर पीसीआर परीक्षण गर्दा पोजिटिभ देखियो ।’

ट्राभल हिस्ट्री नभएका उनीहरूजस्तै सामाखुसीका एक पुरुषले गाउँ फर्कन ५ हजार ५ सय रुपैयाँ तिरेर पाटन अस्पतालमा पीसीआर गराएका थिए । उनमा कोरोनाको केही लक्षण थिएन तर मंगलबार टेकुस्थित इपिमिडियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का कर्मचारीले कोरोना देखिएको भन्दै अस्पताल जान तयारी अवस्थामा बस्न भन्दै फोन गरेपछि झस्किए । ‘त्यसपछि घर बस्न सक्ने अवस्था भएन, सबै आत्तिए,’ उनले भने । २२ दिनअघि पाटनमा उनकी श्रीमती सुत्केरी भएकी थिइन् ।

उनीसँगै दुवाकोटको केएमसी अस्पतालको आइसोलेसनमा बस्न एम्बुलेन्समा नैकापबाट आएकी एक युवती पनि थिइन् । उनी त नैकापबाट बाफलसम्म आएको बाहेक कहीं नगएको दाबी गर्छिन् । ‘थाइराइड चेकअप गर्न अल्का अस्पताल जाँदा पीसीआर गर्न पाटन अस्पताल पठाएको थियो, रिपोर्ट पोजिटिभ आएछ,’ उनले भनिन् ।

माथि उल्लेख गरिएका पात्रहरूको लकडाउनयता आफ्नो क्षेत्रभन्दा बाहिर कतै गएको इतिहास छैन तर उनीहरू संक्रमित भएका छन् । सोमबार र मंगलबार संक्रमण पुष्टि भएका उनीहरू आइसोलेसनमा छन् । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा टेकु (ईडीसीडी) ले उनीहरूलाई ट्राभल हिस्ट्री नभएका संक्रमितको सूचीमा राखेको छ ।

काठमाडौं उपत्यकामा सोमबार ५४ जना, मंगलबार २८ जना र बुधबार २३ जनालाई कोरोना पोजिटिभ देखिएको छ । ‘यीमध्ये केही ट्राभल हिस्ट्री नभएका छन्,’ महाशाखा प्रमुख डा. वासुदेव पाण्डेले भने, ‘केही विदेशबाट आएर क्वारेन्टाइनमा बसेका पनि छन् ।’

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबारसम्म काठमाडौं उपत्यकामा २ सय ९० जना संक्रमित छन् । तिनमा काठमाडौंका १ सय ९१, ललितपुर ५६ र भक्तपुरका ४३ जना छन् । मन्त्रालयका अनुसार काठमाडौंका ३५, भक्तपुरका ८ र ललितपुरका २ जना डिस्चार्ज भएका छन् ।

पछिल्ला तीन दिन भेटिएका १ सय ५ जना संक्रमितको ठेगाना विश्लेषण गर्ने हो भने टोलटोलमा कोरोना संक्रमण फैलिएको देखिन्छ । ईडीसीडीका अनुसार आइतबारसम्म उपत्यकाका १२ ठाउँका स्थानीयमा ट्राभल हिस्ट्री नै नभएको पाइएको छ । ‘पछिल्लो तीन दिनमा यो संख्या ह्वात्तै बढेको छ,’ कन्ट्याक्ट ट्रेसिङमा खटिएका एक कर्मचारीले भने, ‘विदेशबाट आएका भन्दा कतै नगएका व्यक्तिमा संक्रमण बढेको छ ।’

पछिल्ला तीन दिन संक्रमित देखिएका र ईडीसीडीले ट्राभल हिस्ट्री नभएको भनेर पहिचान गरेका १२ ठाउँको विश्लेषण गर्दा उपत्यकाका ७१ ठाउँका स्थानीयलाई कोरोना पोजिटिभ देखिएको छ । ईडीसीडीका अनुसार काठमाडौंमा ४०, ललितपुरमा २३ र भक्तपुरमा ८ ठाउँमा कोरोना संक्रमण देखिएको हो । विदेशबाट फर्केर होटलको क्वारेन्टाइनमा बसेकाको तथ्यांक यसमा समावेश गरिएको छैन ।

पछिल्लो तीन दिनमा काठमाडौंको कपुराधारा, कपन, चन्द्रागिरि, मैतीदेवी, मरुहिटी, कीर्तिपुर, पुरानो बानेश्वर, शंखमूल, चाबहिल, बालुवाटार, धुम्बाराही, महाराजगन्ज, तारकेश्वर, सीतापाइला, मनमैजु, नैकाप, गल्फुटार, कलंकी, धापासी, गोकर्ण, बसुन्धारा, बाफल, रानीवन, हाँडीगाउँ, कोटेश्वर, ट्याङ्लाफाँट, तीनकुने, खुसिबु, कागेश्वरी, टोखा, मूलपानी, काँडाघारी, साँखु, बौद्ध, बागबजार, वनस्थली, ताहाचल, सामाखुसी, टेकु र कुलेश्वरमा संक्रमित भेटिएका छन् ।

त्यस्तै ललितपुरको महालक्ष्मी, लुभु, लगनखेल, महालक्ष्मी स्थान, बुङ्मती, सानेपा, ठैब, पाटन, गोदावरी, सुनाकोठी, धापाखेल, हरिसिद्धि, हात्तीवन, चापागाउँ, भैंसेपाटी, नख्खु, प्युटार, चौघरे, जाउलाखेल, गोटीखेल, कुपन्डोल, ग्वार्को र ठेचोमा संक्रमण पुष्टि भएको छ । भक्तपुरका सल्लाघारी, दुवाकोट, बागेश्वरी, दूधपाटी, बालकोट, गठ्ठाघर, बोडे र भोलाछेंमा संक्रमित भेटिएका छन् । एउटै ठाउँमा एकभन्दा बढी संक्रमित पनि छन् ।

ईडीसीडीले तीनकुने, कपन, भोलाछें, खुसिबु, कागेश्वरी, नख्खु, मैतीदेवी, बोडे, कोटेश्वर, प्युटार, टोखा र शंखमूलमा ट्राभल हिस्ट्री नभएका संक्रमित भेटिएको भन्दै नमुना परीक्षणलाई व्यापक बनाएको छ । ‘सबैको चासो उपत्यकामा कुन ठाउँमा देखियो भन्ने छ, पछिल्लो समय संक्रमण देखिएको टोल–टोलमा नमुना संकलन गरेर परीक्षण गर्दा सबैको रिपोर्ट नेगेटिभ आएको छ,’ डा. पाण्डेले भने ।

ईडीसीडीले ललितपुर महानगरको २५ वडामा १११, कोटेश्वरमा ११३, टोखामा ८० जना, बोडेमा ३३ जना, सहिद गंगालालमा ५० जनाको स्वाब संकलन गरेर पीसीआर परीक्षण गरेको थियो । पाण्डेका अनुसार सबैको नतिजा नेगेटिभ आएको छ । ‘यो तथ्य हेर्ने हो भने कोरोना संक्रमण समुदायमा प्रवेश गरेको देखिँदैन,’ उनले भने ।

ईडीसीडीले शंखमूलका १४७, कपनका १४०, मैतीदेवीका २ सय, विमानस्थलका १६९ कर्मचारीको स्वाब संकलन गरेको छ । यसको रिपोर्ट भने आउन बाँकी छ । बिहीबार भक्तपुरको भोलाछें र कागेश्वरी मनोहरामा परीक्षण गर्ने योजना रहेको ईडीसीडीले जनाएको छ ।

पछिल्लो समय काठमाडौं उपत्यकामा दिनमा २० जनाभन्दा बढी संक्रमित हुँदा पनि सर्वसाधारणले सावधानी नअपनाएकामा चिकित्सकहरू चिन्तित छन् । ‘ट्राभल हिस्ट्री नभएका मानिसलाई संक्रमण देखिएपछि समुदायमा विस्तार भएको त होइन भनेर अनुमान गर्न सकिन्छ,’ टेकुको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका प्रवक्ता डा. अनुप बाँस्तोलाले भने, ‘पहिला स्वास्थ्यभन्दा पैसा ठूलो होइन भनेर घरमै बसे । अब पैसाभन्दा ठूलो स्वास्थ्य होइन भनेर हेलचेक्य्राइँ गरेर निस्कन थालेका छन् । स्वास्थ्य र पैसा दुवै ठूलो हो भनेर बुझ्नु जरुरी छ । संक्रमण कसरी फैलिन्छ ? भन्ने बच्चादेखि बूढाबूढीलाई थाहा छ । सबै सचेत हौं ।’

काठमाडौं बाहिरबाट आउनेलाई घरबेटीले परीक्षण गर्न पठाउँदा, शल्यक्रिया गर्ने बिरामी, अदालत लैजानुपर्ने कैदी बन्दीको पीसीआर परीक्षण गर्दा कोरोना बढेको उनले बताए ।

प्रकाशित : असार २५, २०७७ ०७:२९
प्रतिक्रिया
पठाउनुहोस्

विज्ञ भन्छन्- ‘डिस्‍इन्फेक्टेन्ट टनेल कामै छैन’

गाडी बाहिर सफा गरेर केही अर्थ छैन । क्लोरिन छर्कनु देखावटी र खर्च बढाउने काम मात्रै हो ।  –डा. सागर राजभण्डारी, निर्देशक, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल
मकर श्रेष्ठ, स्वरूप आचार्य

काठमाडौँ — नागढुंगा हुँदै काठमाडौं प्रवेश गर्ने गाडीलाई संक्रमणमुक्त पार्न नागढुंगामा ‘डिस्इन्फेक्टेन्ट टनेल’ जडान गरिएको छ । टनेलमा सोडियम ‘हाइपोक्लोराइट सोलुसन’ र ‘इनोक्लिन’ मिसाइएको पानी छर्किने गरिएको छ ।

गाडी आएका बेला स्विच थिचेपछि पाइपले रसायनयुक्त पानी छर्किन्छ । कोभिड–१९ संक्रमण फैलिएको क्षेत्रबाट समेत गाडी आउने भएपछि सुन्दर यातायातले शुक्रबारदेखि टनेल सञ्चालन गरेको हो ।

भक्तपुर प्रवेश गर्ने गाडीमा क्लोरिन मिसाइएको पानी छर्किन थालेको धेरै भइसकेको छ । मारवाडी युवा मञ्चले काठमाडौंको वीर अस्पताल, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, धनगढीको सेती र वीरगन्जको नारायणी अस्पतालमा सेनिटाइजर टनेल राखिदिएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौं र थापाथलीस्थित नर्भिक अन्तर्राष्ट्रिय अस्पतालमा पनि यस्ता टनेल राखिएका छन् ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा. सागर राजभण्डारी भने यस्ता टनेलबाट रसायनयुक्त पानी छर्कनुको अर्थ नरहेको बताउँछन् । ‘गाडीभित्र बसेका मानिसले सरसफाइका विधि अपनाएर सुरक्षित भइन्छ । गाडी बाहिर सफा गरेर केही अर्थ छैन । कोभिड–१९ मान्छेबाट मान्छेमा सर्ने रोग हो । हातबाट, संक्रमितले प्रयोग गर्ने सामानबाट र हाच्छ्युँ गर्दा भाइरस सर्छ । क्लोरिन छर्कनु देखावटी र खर्च बढाउने काम मात्रै हो,’ उनले भने । यसरी छर्केपछि आफू सुरक्षित भएको महसुस गरेर व्यक्तिगत सरसफाइमा कम ध्यान जान सक्ने पनि उनले बताए ।

राष्ट्रिय विधि विज्ञान प्रयोगशालाका वरिष्ठ माइक्रोबायोलोजिस्ट निरन्जन थापाले डिस्इन्फेक्टेन्टको मिश्रण छर्किनुको अर्थ नरहेको बताए । ‘लुगालाई संक्रमणमुक्त बनाउन खोजेको हो भने पनि त्यसलाई केही समय डिस्इन्फेक्टेन्टमा डुबाएर सुकाएपछि मात्रै त्यो संक्रमणमुक्त हुन सक्छ,’ उनले भने, ‘गाडीको बाहिरी सतहमा छर्किनुको कुनै औचित्य छैन । भाइरस त्यसरी सर्दैन ।’ थापाले आविष्कारका नाममा यस प्रकारका उत्पादनले स्रोतसाधन दुरुपयोग मात्रै गरेको बताए । माइक्रोबायोलोजिस्ट थापाको विचारसँग संक्रामक रोग विशेषज्ञ डा. अनुप सुवेदी पनि सहमत छन् । ‘कोभिड–१९ कसरी सर्छ भनेर थाहै नभएको मानिसले झैं व्यवहार गरेको देख्दा अचम्म लाग्छ । कुनै संक्रमित व्यक्तिको सम्पर्कमा आए मात्रै यो रोग सर्छ । अहिले सडक, गाडी सफा गरेर नाटक गर्ने समय होइन । राम्रोसँग साबुनपानीले हात धोए भइहाल्यो नि,’ उनले भने ।

डा. सुवेदीले क्लोरिन पानी छर्कंदैमा भाइरस नमर्ने बताए । उनले महामारीको नाममा यसरी स्रोतको जथाभावी दुरुपयोग गर्न नहुनेमा जोड दिए । ‘अहिले त हामीले भएको सामग्री भोलि हुन सक्ने आउटब्रेकका लागि जोगाएर राख्नुपर्छ । गाडी र मान्छेमा क्लोरिन पानी छर्केर केही हुँदैन,’ उनले भने ।

डिस्इन्फेक्टेन्टका रूपमा प्रयोग गरिने तरल पदार्थमा सोडियम हाइपोक्लोराइट, फिनेल लगायतका रसायन हालिएको हुन्छ । यस्ता डिस्इन्फेक्टेन्ट खास गरेर अस्पताल तथा उद्योग कलकारखानाको भुइँ सफा गर्न प्रयोग हुन्छन् । यी रासायनिक पदार्थको सम्पर्कमा आउँदा आँखा, नाक, मुख, कानका साथै फोक्सो र छालामा पनि असर गर्ने छालारोग विशेषज्ञ डा. सुशील पौडेलले बताए । ‘अस्पतालको भुइँ पुछ्ने रसायन आँखा, नाक, कान, मुख वा छालामा पर्‍यो भने सुरुमा चिलाउन थाल्छ । धेरै पर्‍यो भने अरू असर पनि देखिन्छ । त्यसको गन्ध पनि स्वास्थ्यका लागि हानिकारक मानिन्छ,’ उनले भने ।

विज्ञहरूले कुनै पनि उपादेयता नदेखेका यस्ता सामग्री किन अस्पतालहरूमै पनि प्रयोग भइरहेका छन् भन्ने जवाफ कसैसँग छैन । त्रिवि शिक्षण अस्पतालमा कार्यरत क्रिटिकल केयर विभागका प्रमुख डा. सुवास आचार्यले यस्ता टनेल पैसा र समयको बर्बादी मात्रै भएको बताए । ‘यो वाहियात हो । क्लोरिन पानी छर्केर संक्रमणमुक्त भइँदैन । बरु त्यो पैसाले कुनै अस्पतालको भुइँ पुछे केही दिनलाई सफा हुन्छ,’ उनले भने, ‘हामीलाई आईसीयू पुछ्न क्लोरिन छैन, यहाँ मान्छे सडकमा पीपीई लगाएर गाडीमा क्लोरिन पानी छर्किरहेको देख्छु । उदेक लाग्छ ।’

डा. आचार्यले स्थानीय तहले संक्रमण फैलिन नदिने नाममा दाताबाट प्राप्त पैसा दुरुपयोग गरेको हुन सक्ने उल्लेख गर्दै त्यसलाई सरकारले नियन्त्रण गर्नुपर्नेसमेत बताए । ‘यो रेडक्रस लगायतका अन्तर्राष्ट्रिय संघसंस्थाले बिना कुनै प्रमाण यसरी बाटोमा टायर पखाल्ने काम गरिरहेका छन् । यो ठीक होइन । ती सामग्री भोलि महामारी फैलिए अस्पताल सफा गर्न चाहिन्छ । त्यसलाई जोगाउनु पो पर्छ ।’

डा. आचार्यको कुरामा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका मेडिसिन विभागका प्रमुख डा. सञ्चिवकुमार शर्माको पनि सहमति छ । ‘यस्ता केमिकल निश्चित विधिबाट तयार गरी निश्चित समयमा प्रयोग गर्दा प्रभावकारी हुन्छ,’ उनले भने, ‘डिस्इन्फेक्टेन्टमा प्रयोग गरिने केमिकलले मानिसको छाला, फोक्सो, आँखामा प्रत्यक्ष असर गर्छ । म त टनेलभित्र छिरेर आएँ भनेर मानिसले हात सफा नगर्ने पनि हुनसक्छ ।’ सोडियम हाइपोक्लोराइट मानव शरीरका लागि हानिकारक हुने उनले बताए ।

टनेलमा जडान गरिएको स्प्रिंकल गर्ने पाइप ट्यांकीमा जोडिएको छ, जहाँ डिस्इन्फेक्टेन्ट र पानी मिसाएर जम्मा गरिएको हुन्छ । हाल वीर अस्तालमा दुइटै गेटमा यस्ता टनेल जडान गरिएको छ । बिरामीलाई अस्पताल प्रवेश गर्नुअघि टनेलको स्विच थिचेर छिर्न आग्रह गरिएको छ । वीर अस्पतालका कार्यकारी निर्देशक डा. केदारप्रसाद सेन्चुरीले यसले स्वास्थ्यलाई असर गर्ने भन्दै विवाद भइरहेकाले अब बन्द गर्ने बताए ।

सडकमा समेत क्लोरिन राखेको पानी सवारी साधनमा छर्किने गरिएको छ । जिल्लाजिल्लामा पनि आविष्कारका नाममा यस्ता टनेल स्थानीय तहको सहयोगमा निर्माण गरेर बाटोबाटोमा राखिएका छन् ।

टेकु अस्पतालले सहयोगमा प्राप्त गरेको सेनिटाइजर टनेल प्रयोगमा नल्याएको डा. राजभण्डारीले बताए । ‘सुरुका केही दिन प्रयोग गर्‍यौं । तर अहिले प्रयोगमा छैन,’ उनले भने । सेनिटाइजर टनेलको ट्यांकीमा राखिने केमिकलले कपडासमेत बिगार्ने गरेको राजभण्डारीले जानकारी दिए ।

पुनको परियोजना बन्द

राष्ट्रिय आविष्कार केन्द्रले सेनिटाइजर टनेल बनाउने योजना बन्द गरेको छ । चिकित्सकले टनेलबाट छर्किने केमिकलले स्वास्थ्यमा असर गर्ने सल्लाह दिएपछि यो परियोजना बन्द गरिएको केन्द्रका प्रमुख महावीर पुनले बताए ।

उनले नमुनाका लागि एउटा तयार गरेर चिकित्सकसँग सल्लाह गरेका थिए । ‘राम्रोका लागि नयाँ प्रविधि बनाउनुपर्नेमा उल्टै असर गर्छ भने, अनि किन बनाउने भनेर रोकें,’ पुनले भने ।

निजी कम्पनीहरूले भने धमाधम यस्ता टनेल बनाइरहेका छन् । रातोपुलस्थित एएसएपी डिजाइन कम्पनीले उपत्यका र बाहिर राखिएको सेनिटाइजर टनेल बनाएको हो । शनिबार कम्पनीमा तीनवटा तयारी अवस्थामा थिए भने थप तीनवटा बन्दै थिए । एउटा टनेल एक लाख ५० हजारमा बिक्री गरिरहेको कम्पनीका सञ्चालक आसिस बन्सलले बताए ।

प्रकाशित : वैशाख २१, २०७७ ०६:३५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×