कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अस्पताल चहार्दा चहार्दै ज्यान गयो

माघदेखि नै छाती दुख्ने र खोकी लाग्ने समस्या देखिएका उनलाई कोरोनाको पीसीआर रिपोर्ट नभएको भन्दै अस्पतालले भर्ना लिन अस्वीकार गरे । कतिले भेन्टिलेटर छैन भन्दै टारे । स्टार अस्पताल ल्याउँदासम्म अवस्था गम्भीर भइसकेको थियो । चिकित्सक टोलीको पाँचघण्टे उपचार प्रयास बाबजुद उनी बाँचेनन् ।
फातिमा बानु

काठमाडौँ — कोरोना संक्रमणले ललितपुरस्थित स्टार अस्पतालमा ३० वर्षीय युवाको मृत्यु भएको छ । उनको उपचार यात्रा सुन्दा लाग्छ, कोरोनाले भन्दा पनि समयमा उपचार नपाउँदा उनले ज्यान गुमाउनुपरेको हो । श्वासप्रश्वासमा समस्या आएपछि शनिबार उपचारका लागि उनलाई रौतहटदेखि काठमाडौं ल्याइएको थियो ।

अस्पताल चहार्दा चहार्दै ज्यान गयो

मृतकका दाजु श्यामबाबु चौधरीका अनुसार उनलाई माघदेखि नै छाती दुख्ने र खोकी लाग्ने समस्या देखिएको थियो । उपचार खोज्दै स्टार पुग्नुअघि उनलाई परिवारले वीर अस्पताल पुर्‍याएका थिए । एम्बुलेन्सबाट झर्न नपाउँदै ‘भेन्टिलेटर छैन’ भन्दै अस्पतालले फर्काएको श्यामबाबुले बताए । ‘वीर अस्पताल ठूलो हो, त्यहाँ एकसेएक डाक्टर हुन्छन् भनेर सबैले काठमाडौं जानैपर्छ भनेर पठाए,’ उनले भने, ‘झर्न नपाउँदै हामी फर्किनुपर्‍यो ।’ वीरमा उपचार नभएपछि उनले भाइलाई बल्खुस्थित वयोधा अस्पताल लगे । श्वास फेर्न नसकेर शिथिल भएका उनलाई वयोधाको मूलगेटबाट भित्र छिर्न दिइएन । कारण थियो, बिरामीको पिसिआर रिर्पोट नहुनु । ‘हामीसँग जेठ दुई गते वीरगन्जको नारायणी अस्पतालमा गरिएको पीसीआर रिपोर्ट थियो,’ उनले भने, ‘धेरै पुरानो रिपोर्ट भयो भन्दै हामीलाई छिर्न दिएनन् ।’

काठमाडौंसँग राम्ररी परिचित नभएका उनी बिरामी कता लैजाने भनेर शनीबार दिनैभरि अलमलमा परे । यसअघि पनि उनीहरुलाई धेरै अस्पतालले गेटबाटै फर्काएका थिए । काठमाडौं ल्याउनुअघि उनीहरुले चितवनका धेरैवटा अस्पताल चहारेका थिए । बिरामीको अवस्था बुझ्दै अस्पतालले फिर्ता गर्दै गरेको श्यामबाबुले बताए । ‘एम्बुलेन्सको चर्को भाडा तिरेर भाइलाई रौतहटदेखि भरतपुर लगेँ,’ उनले भने, ‘कतै भर्ना नलिएपछि घरमै लगेर एक हप्ता राखेँ तर उसलाई निको भएन ।’ यसअघि उनले भाइलाई वीरगन्जको नारायणी र गण्डक अस्पताल पनि लगेका थिए, जहाँ उनको उपचार हुन सकेन ।

उपचारमा संलग्न चिकित्सक डा. फिलिपश्याम रञ्जितका अनुसार स्टार अस्पताल ल्याउँदासम्म बिरामीको अवस्था गम्भीर भइसकेको थियो । कोभिडका सबै लक्षण थियो । उपचार गर्नुअघि बिरामीको स्वाब संकलन गरी पाटन अस्पताल पठाइएको थियो । ‘बिरामी शिथिल भइसकेकाले हामीले रिपोर्ट कुरेनौं, उपचार सुरु गर्‍यौं,’ उनले भने, ‘बिरामीलाई राम्ररी होस पनि थिएन, बचाउने आशा धेरै थिएन ।’ चिकित्सक टोलीको पाँचघण्टे उपचार प्रयास बाबजुद उनी बाँचेनन् । शनिबार राति उनको मृत्यु भयो । त्यसको भोलिपल्ट अर्थात् आइतबार साँझ उनको कोरोना परीक्षण रिपोर्ट पोजिटिभ आयो । डा.रञ्जितका अनुसार समयमै उपचार पाएको भए उनी बाँच्थे किनकि बिरामीलाई कुनै दीर्घरोग थिएन, उमेर पनि कलिलो थियो ।

‘संक्रमणले बिरामीको छाति पुरे बिग्रिसकेको थियो,’ उनले भने, ‘अन्तिम अवस्थामा मात्रै हामीले उपचार गर्न पायौं ।’ छाती संक्रमणको उपचारका लागि उनलाई परिवारले फागुनमै भारत लगेका थिए । एक साता त्यहाँ उपचार गरेपछि उनी निको भए । १५ दिनपछि फलोअपमा आउनु भन्दै अस्पतालले डिस्चार्ज गरेको श्यामबाबुले बताए । ‘उसलाई फेरि अस्पताल लैजाने समयमा लकडाउन भैदियो, गाडी नचलेर भारत जान सकिएन,’ उनले भने, ‘नेपालको कुनै अस्पतालले भर्ना लिएन ।’ जेठ २ गते वीरगञ्जको नारायणी अस्पतालमा गरिएको उनको पिसिआर रिर्पोटमा कोरोना संक्रमण नेगेटिभ छ । यही रिर्पोट देखाएको आधारमा वीरगञ्जकै नारायणी वयोधा अस्पतालले उनलाई भर्ना लिएको थियो । उनी निको भएर घर फर्किएका पनि थिए । त्यसको केही दिनमा फेरि उनलाई श्वासप्रश्वासको समस्या देखियो र अस्पतालहरुले भर्ना लिन नमानेपछि उनी मृत्युको मुखसम्म पुगे ।

कोरोना भाइरसको संक्रमण फैलनुअघि उनी काठमाडौंमा सिलाइको काम गर्थे । त्यही कमाईले श्रीमती र दुई जना छोरा पालेका थिए । लकडाउन भएपछि उनी रौतहट फर्किएका थिए । ‘घर आउँदै भाईले छाति दुख्यो भनिरहेको थियो,’ श्यामबाबुले भने, ‘अरु रोग लागेको भए अस्पतालले भर्ना लिएर उपचार गरिदिन्थ्यो होला, भाइ बाँच्थ्यो होला ।’ सोमबार उनको शवलाई नेपाल आर्मीको टिमले व्यवस्थापन गऱ्यो । आफन्तले शव हेर्न र छुन पाएनन् । अस्पतालको छतबाट शव लगिएको हेरेर चित्त बुझाए । अस्पतालले उनीसँगै एम्बुलेन्समा आएका तीन जनाको कोरोना परीक्षणका लागि स्वाब संकलन गरेर पाटन अस्पताल पठाएको छ ।

सम्बन्धित समाचार

प्रकाशित : असार १६, २०७७ ०८:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?