कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

स्टार अस्पतालमा रौतहटका एक जना कोरोना संक्रमितको मृत्यु

अस्पताल प्रशासन भन्छ- 'काेभिड-१९ उपचारका लागि छुट्टै भवन रहेकोले अन्य सेवामा असर पर्दैन'
फातिमा बानु

काठमाडौँ — रौतहटका एक जना कोरोनाभाइरस संक्रमितको ललितपुरको सानेपास्थित स्टार अस्पतालमा उपचारका क्रममा निधन भएको छ । उनलाई शनिबार साँझ स्टार अस्पतालको कोभिड आईसीयू भर्ना गरेर भेन्टिलेटरमै राखिएको थियो । त्यही रात नै बिरामीको मृत्यु भएको हो । उनको पीसीआर रिपोर्ट भने आइबार साँझ मात्रै प्राप्त भएको हो ।

स्टार अस्पतालमा रौतहटका एक जना कोरोना संक्रमितको मृत्यु

अस्पतालका प्रबन्ध निर्देशक डा. शैल रुपाखेतीका अनुसार उनको छातीमा गम्भीर संक्रमण देखिएको थियो । ३० वर्षीय ती युवकको छातीमा गम्भीर समस्या देखिएपछि केही महिना अघि भारतमा समेत उपचार गरिएको मेडिकल हिस्ट्रीमा देखिएको समेत उनले जानकारी दिए ।

‘अस्पताल ल्याउँदासम्म बिरामीको अवस्था गम्भीर भैसकेको थियो । बिरामी कोभिड आईसीयूमा भर्ना गरेर स्वाब परीक्षणका लागि पाटन अस्पताल पठाएका थियौं, हिँजो राति रिपोर्ट पोजिटिभ आयो,’ उनले भने ।

शव डिस्इन्फेक्ट गरी प्लास्टिकमा सुरक्षित साथ बेरेर व्यवस्थित गरी अस्पतालमा राखिएको उनले बताए । संक्रमित शव सेनाको जिम्मा लगाइएको छ । सोमबार बिहान ११ बजेसम्म शव उठाउने तयारी भइरहेको डा. रुपाखेतीले बताए ।

संक्रमितको उपचारमा संलग्न एक जना चिकित्सक दुई जना स्टाफ नर्स र एक जना सहयोगीलाई अस्पतालको क्वारेन्टाइनमा राखेको उनले बताए । बिरामीका चार जना आफन्तलाई समेत अस्पतालकै आइसोलेसनमा राखिएको छ । ‘आफन्तको पनि स्वाब परीक्षण हुन्छ,’ उनले भने, ‘रिपोर्ट नआएसम्म अस्पतालले उहाँहरुको खानेबस्ने व्यवस्था गर्छ ।’

उनका अनुसार अस्पतालले कोरोना संक्रमणको आशंका गरिएका बिरामीको उपचारका लागि छुट्टै भवन, आईसीयू र उचित मापदण्डहरु तय गरेकोले अस्पताल नै सिल गर्नुपर्ने अवस्था छैन । ‘अस्पतालको सेवा सुचारु छ,’ उनले भने, ‘स्वास्थ्यकर्मीहरु पनि क्वारेन्टाइनमा बस्नुपर्ने अवस्था त थिएन । तर पनि संक्रमितको प्रत्यक्ष उपचारमा संलग्न रहेको कारणले गर्दा जोखिम नलिएर सेल्फ क्वारेन्टाइन मात्रै हो ।’

योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेकाे संख्या २९ पुगेको छ ।

प्रकाशित : असार १५, २०७७ १०:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?