नेताहरूले भाइरस रिमुभिङ कार्ड लगाउन छाडे

असार १५, २०७७

कान्तिपुर संवाददाता

काठमाडौँ — भाइरस रिमुभिङ कार्डले स्वास्थ्यमा असर गर्ने जानकारी सञ्चार माध्यमबाट आएपछि नेताहरूले लगाउन छाडेका छन् । ‘बियोन्ड द वाल ट्रेडिङ कम्पनी’ ले चीनबाट ल्याएको उक्त कार्ड नेकपाका नेता र सांसदहरूले लगाइरहेका थिए ।

कार्डमा राखिएको रसायनले मुटु, कलेजोमा समेत गम्भीर असर गर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले समेत स्पष्ट पारेपछि नेताहरू डराएका हुन् । ‘कोरोना भाइरस सर्दैन भने किन नलगाउने भनेर परिवारका सदस्यलाई समेत किनेर लगाएका थियांै,’ नेकपाका एक सांसदले भने, ‘कतै पनि प्रमाणित नभएको र स्वास्थ्यमै असर गर्छ भन्ने थाहा पाएपछि लगाउन छाड्यौं ।’

नेकपाको शुक्रबारको स्थायी समिति बैठकमा अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेता माधवकुमार नेपाल, महासचिव विष्णु पौडेल, गृहमन्त्री रामबहादुर थापा र स्थायी समिति सदस्यहरूले कोरोनाबाट जोगिन भन्दै यही कार्ड लगाएका थिए । शनिबारको बैठकमा माधवकुमार नेपालबाहेक अन्य नेताले लगाएका थिएनन् । स्थायी कमिटीको बैठकमा सहभागीलाई उपलब्ध गराउन भन्दै नेकपाले ६० वटा कार्ड खरिद गरेको थियो ।

विश्व स्वास्थ्य संगठनले कोरोना भाइरससम्बन्धी औषधि र उपकरणको विकास नभएको जानकारी गराइसकेको छ । स्वास्थ्य मन्त्रालयले शनिबारको ब्रिफिङमा कोरोना संक्रमण रोक्न र नियन्त्रण गर्नका लागि अहिलेसम्म कुनै पनि औषधिको विकास नभएको भन्दै भ्रम नफैलाउनसमेत आग्रह गरेको थियो । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले ‘कोरोना रिमुभिङ कार्ड’ नामक कार्डमा प्रयोग भएको रसायनले मुटु, कलेजो र फोक्सोमा गम्भीर असर गर्ने बताएका थिए । संवेदनशील घडीमा जनतालाई बहकाएर व्यक्तिगत स्वार्थपूर्तिका लागिम गर्ने व्यक्तिहरूलाई कारबाहीको दायरामा ल्याउन पनि मन्त्रालयले आग्रह गरेको थियो ।

सम्बन्धित समाचार

कोरोना भाइरस

कान्तिपुर

Link copied successfully