संक्रमणको चपेटामा ‘फ्रन्टलाइनर’

कर्णालीमा प्रदेशस्तरीय कोरोना विशेष अस्पतालका ‘फोकल पर्सन’ समेत अग्रपंक्तिमा खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, कर्मचारी र जनप्रतिनिधि गरी हालसम्म १ सय ६ जना संक्रमित भएका छन् ।
कलेन्द्र सेजुवाल

वीरेन्द्रनगर — कर्णाली प्रदेश अस्पतालले जेठ पहिलो साता २ सय बेड क्षमताको ‘कोरोना विशेष अस्पताल’ सञ्चालन गरेसँगै त्यसको ‘फोकल पर्सन’ को जिम्मा एक जना वरिष्ठ फिजिसियनलाई दियो । ती चिकित्सकले संक्रमितको उपचार र निगरानी गर्नुका साथै समन्वयको काम पनि गरे ।

बिहीबार कोरोना संक्रमण देखिएपछि उनी अस्पतालको आइसोलेसनमा छन् । ‘जिम्मेवारी बहन गर्ने क्रममा कतिबेला कहाँबाट सर्‍यो पत्तै भएन,’ उनले भने, ‘कोरोनाको संक्रमण दर तीव्र छ, तर केही दिनमा निको हुने विश्वासमा छु ।’

उनीसँगै प्रदेश अस्पतालका अर्का एक चिकित्सक पनि संक्रमित भएका छन् । ती चिकित्सक विशेष अस्पतालमा समेत खटिएका थिए । अस्पताल निर्देशक डा. डम्बर खड्काका अनुसार प्रदेश अस्पतालमा मात्र संक्रमित स्वास्थ्यकर्मीको संख्या ९ पुगेको छ । ‘उपचारमा खटिएका स्वास्थ्यकर्मी नै संक्रमित भएपछि ‘कन्ट्याक्ट ट्रेसिङ’ गरेर उनीहरुको सम्पर्कमा पुगेका अन्य सहकर्मीको पनि स्वाब संकलन गरी परीक्षणका लागि पठाएका छौं,’ उनले भने, ‘अस्पतालको उपचार पद्धतिमा पनि सावधानी अपनाएका छौं ।’

प्रदेश अस्पतालमा मात्र होइन, कर्णालीका अन्य जिल्लामा समेत कोरोना प्रतिकार्यका लागि अग्रपंक्ति (फ्रन्टलाइन) मा रहेर काम गरिरहेका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, जनप्रतिनिधि र कर्मचारी पनि संक्रमणको चपेटामा परेका छन् । सामाजिक विकास मन्त्रालयका अनुसार आइतबारसम्म प्रदेशभर १ हजार ४ सय २८ जना व्यक्तिमा संक्रमण पुष्टि भएकोमा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, जनप्रतिनिधि र कर्मचारीको संख्या १ सय ६ जना रहेको छ । सुरक्षाकर्मी ६५ जना, स्वास्थ्यकर्मी २३, कर्मचारी १५ र जनप्रतिनिधि ३ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयअन्तर्गत स्वास्थ्य सेवा महाशाखाको भनाइ छ । ‘संक्रमितको उपचार र क्वारेन्टाइन तथा आइसोलेसनको व्यवस्थापनका क्रममा उचित सावधानी नपुग्दा ‘फ्रन्टलाइन’ मा रहेर काम गर्नेहरु संक्रमणको उच्च जोखिममा छन्,’ महाशाखाका स्वास्थ्य शिक्षा अधिकृत नवराज कँडेलले भने, ‘यसका लागि सुरक्षात्मक उपाय अवलम्बनमा विशेष ध्यान दिनुपर्ने आवश्यकता देखिन्छ ।’

संक्रमण भए पनि परीक्षण नगरी बसेका विभिन्न खाले स्वास्थ्य समस्या बोकेर अस्पताल पुगेका बिरामीबाट चिकित्सकसहित स्वास्थ्यकर्मीमा कोरोना सरेको अनुमान अस्पतालको छ । अस्पताल निर्देशक डा. खड्काका अनुसार सर्पले टोकेर र विष सेवन गरेर अस्पताल आइपुगेका दुई जना बिरामीलाई उपचार गरिसकेपछि मात्र कोरोना पुष्टि भएको थियो । ‘कोरोना संक्रमितको उपचार गर्ने बेलामा बाहेक अरू समयमा सामान्यत: पीपीई लगाइँदैन,’ उनले भने, ‘उपचारका लागि आएका बिरामी वा उनका आफन्तले पनि कोरोनाबारे संकेत नगर्दा समस्या हुने गरेको छ ।’ जेठ अन्तिममा सर्पले टोकेर ल्याइएका बिरामी बराह तालको क्वारेन्टाइनमा बसिरहेका भए पनि सोबारे आफन्तले जानकारी नदिएका उनले बताए ।

बुधबार जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान (शिक्षण अस्पताल) मा कार्यरत ६ जना स्वास्थ्यकर्मीमा कोरोना पुष्टि भयो । प्रतिष्ठानका रजिस्ट्रार विश्वराज काफ्लेका अनुसार प्रसूति वार्डमा आएकी सिंजाकी एक महिलामार्फत संक्रमण सरेको अनुमान गरिएको छ । ‘प्रसूति गराउन आएकी महिलामाथि कोरोना भएको शंका गर्ने कुरा भएन, सरासर सेवा प्रवाह गरियो,’ उनले भने, ‘तर ती महिलामा पछि संक्रमण भएको पाइयो, हाम्रा स्वास्थ्यकर्मीमा तिनै महिलाबाट सर्‍यो कि भन्ने शंका छ ।’

पीपीई प्रयोग नगर्दा संक्रमण

कर्णालीका अस्पतालहरुमा अहिले स्वास्थ्यकर्मीले प्रयोग गर्ने व्यक्तिगत सुरक्षा सामग्री (पीपीई) को अभाव छैन । संक्रमितको अधिक चाप भएकामध्ये प्रदेश अस्पतालमा १ सय सेट, जुम्ला अस्पतालमा ७ सय सेट र दैलेख अस्पतालमा करिब ५ सय सेट पीपीई मौज्दात छ ।

तर, पीपीई सेटको प्रयोग संक्रमितको उपचार गर्नुपरेमा मात्रै हुन्छ । दैलेख स्वास्थ्य सेवा कार्यालयका प्रमुख डा. निरञ्जन पन्तले कतिपय सुई लगाउनुपर्ने बिरामीसमेत रहेकाले पीपीई प्रयोग गर्नुपरेको बताए । ‘लक्षण नदेखिएका अन्य संक्रमितको निगरानी वा उपचार गर्नुपर्दा भने पीपीई लगाइँदैन,’ उनले भने, ‘अस्पतालमा आउने अन्य रोगका बिरामीको उपचार गर्दासमेत पीपीई प्रयोग गरिँदैन ।’

अन्य उपचारमा पीपीई प्रयोग र उच्च सावधानी नअपनाइँदा नै उपचार तथा व्यवस्थापनमा खटिएका व्यक्तिहरुमा कोरोना संक्रमण फैलिएको सरोकारवालाहरुको भनाइ छ । क्वारेन्टाइन र आइसोलेसनमा खटिएका सुरक्षाकर्मी र व्यवस्थापनमा दौडधुप गरिरहने कर्मचारी तथा जनप्रतिनिधिले त पीपीई प्रयोग गर्नेबारे सोचेकै हुँदैनन् । उनीहरु सामान्य मास्कको भरमा अग्रपंक्तिमा रहेर काममा खटिने गर्छन् । संक्रमित सुरक्षाकर्मीमध्ये दैलेखका ३३ जना, जुम्लाका २७ जना, सुर्खेतका ४ जना र जाजरकोटका १ जना रहेका छन् । ‘मान्छेहरु नजिक आउँछन्, कुरा गर्न खोज्छन्, हामीसँग मास्कबाहेक अरू छैन,’ मध्यपश्चिमाञ्चल विश्वविद्यालयको केन्द्रीय क्याम्पसमा रहेको क्वारेन्टाइनमा खटिएका एक सुरक्षाकर्मीले भने, ‘हाम्रो बर्दीले रोक्ने कुरा भएन, कोरोना भइहाले पनि सहुँला भनेर ड्युटी गर्नुपरेको छ ।’

सुर्खेतमा परीक्षण रोकियो

सुर्खेतस्थित आरटी–पीसीआर मेसिनमा खराबी आएपछि शुक्रबारदेखि परीक्षण रोकिएको छ । यसले गर्दा सुर्खेतमा संकलन भएका स्वाबका नमुना तापक्रम मिलाएर फ्रिजमा थन्काइएको छ । प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका प्रयोगशाला संयोजक ओम आचार्यले नेपालगन्जबाट प्राविधिकलाई बोलाएर देखाउँदा पनि समस्या समाधान नभएको बताए । ‘अब काठमाडौंबाट इन्जिनियर आएर हेरेपछि बल्ल समस्या समाधान हुन्छ कि ?,’ उनले भने, ‘त्यहाँसम्म त परीक्षण हुने सम्भावना छैन ।’

दैलेखमा भने सोमबारदेखि पीसीआर परीक्षण सुरु हुने भएको छ । नारायण नगरपालिकाले बुधबार मेसिन जडान गरेको थियो । स्वास्थ्य सेवा कार्यालय प्रमुख डा. पन्तले परीक्षणका लागि सबै तयारी पूरा भइसकेको जानकारी दिए । दैलेखको मेसिन प्रयोगमा आएपछि सुर्खेतका स्वाबसमेत दैलेख पठाउने निर्देशनालयले जनाएको छ । शनिबारदेखि केही स्वाबका नमुना परीक्षणका लागि नेपालगन्जसमेत पठाइएको छ ।

कर्णालीमा आइतबारसम्म २८ हजार १८ नमुनाको पीसीआर परीक्षण भएको छ । तीमध्ये जुम्लाबाट १४ हजार ५ सय ७८ र सुर्खेतबाट १३ हजार ४ सय ४० नमुनाको परीक्षण भएको छ । परीक्षण भएकोमध्ये १ हजार ४ सय २८ जनामा संक्रमण पुष्टि भएको छ । प्रदेशका विभिन्न आइसोलेसनबाट ९ सय ५६ जना निको भएर घर फर्किएका छन् । संक्रमितमध्ये ६ जनाको मृत्यु भएको छ । प्रकाशित : असार १५, २०७७ ०८:२७

प्रतिक्रिया
पठाउनुहोस्

स-साना झुन्डमा फैलँदै सलह

तराईबाट छिरेको सलहले विभिन्न जिल्लामा फैलिएर कृषि बालीमा क्षति गरिरहेको छ । धेरै ठाउँमा पानी परिरहेकाले सलहबाट उतिधेरै नोक्सान भने भइहालेको छैन ।
प्रदेश ब्युरो

काठमाडौँ — प्रदेश ५ मा शनिबार रूपन्देही, कपिलवस्तु र पाल्पामा देखिएको सलह आइतबार पश्चिम नवलपरासी, अर्घाखाँची र दाङमा पुगेको छ । गण्डकीका स्याङ्जा, कास्की, पूर्वी नवलपरासी, गोरखा तथा वाग्मती प्रदेशका मकवानपुर, चितवन, सिन्धुली, काभ्रे र ललितपुरमा सलह देखिएको छ ।

ललितपुर र चितवनमा आइतबार सलह प्रवेश गरेको हो । प्रदेश २ का सर्लाही, बारा र पर्सामा शनिबार देखिएका सलहमध्ये केही उत्तरतर्फ लागेका छन् ।

रूपन्देहीको सैनामैना–६ भाटाको दुई किलोमिटर क्षेत्रमा आइतबार एक हूल सलह देखिएको थियो । ‘भाटामा मकै, आँपका रूख, हरियो धानमा सलहको झुन्ड देखिएको छ,’ सैनामैना नगरपालिकाकी कृषि विकास अधिकृत सिर्जना खनाल सुवेदीले भनिन् । बजारमा विषादी उपलब्ध नभएकाले सलह नियन्त्रण गर्न नसकेको उनले बताइन् । नगरपालिकाले कृषि विकास निर्देशनालयलाई आग्रह गरे पनि विषादी उपलब्ध नभएको सुवेदीले बताइन् । ‘दमकलबाट छर्किने बन्दोबस्त गरेका छौं,’ उनले भनिन्, ‘सोमबारसम्म विषादी खोजेर सलह मार्छौं ।’

कृषि विकास निर्देशनालयको टोलीले सैनामैना क्षेत्रमा स्थलगत अनुगमन गरेको जनाएको छ । कृषि निर्देशक यामनारायण देवकोटाले सलहको हूल चुरे क्षेत्रसम्म पुगेको बताए । सोमबारसम्म विषादी व्यवस्थापन गरेर स्थानीय तहमार्फत सलह मार्ने उनले जानकारी दिए ।

रुपन्देहीको सैनामैना नगरपालिका-६ भाटामा घाँस खाँदै सलहको हूल । तस्बिर : अमृता अनमोल/कान्तिपुर

बुटवल, तिलोत्तमा, लुम्बिनी, मर्चवार, देवदहलगायत स्थानमा लगाइएको मकैबारी र तरकारीमा छिटपुट सलह देखिएको छ । कपिलवस्तुको वाणगंगा र नवलपरासी पश्चिमको सुनवल, परासी र दाङको धानखोलालगायत स्थानमा समेत सलह पुगेको छ । त्यस क्षेत्रमा ठूलो क्षति गरेका छैनन् । ‘तराईका धेरै खेत बाँझो भएकाले जंगलमा बसे होलान्, बिहान पानी परेर त्यतै अड्केको हुन सक्छ,’ कृषि विकास निर्देशक देवकोटाले भने, ‘विज्ञमार्फत सलह कहाँ पुग्यो भनेर अध्ययन गर्दैछौं ।’ उनले प्रदेशका १ सय ९ वटै स्थानीय तहमा रहेका प्राविधिकलाई सूचना संकलनमा खटाएको जानकारी दिए ।

पाल्पाको तिनाउ गाउँपालिका–२, झ्याङ्ला क्षेत्रमा सलहको ठूलो झुन्ड देखिएपछि किसान चिन्तित छन् । दोभान खोलावारि र पारि गाउँमा सलहले बासस्थान बनाएको छ । ‘रातभर र मध्याह्नसम्म ठूलो पानी परेकाले रूखमै छपक्कै बसेका थिए,’ झ्याङ्ला स्मार्ट कृषि गाउँका अध्यक्ष चोपलाल गिरीले भने, ‘पानी रोकिएपछि उड्न थालेका थिए ।’ शनिबार बेलुकी नै सलह झ्याङ्ला आइपुगेको उनले जानकारी दिए ।

पाल्पाको तिनाउँमा देखिएको सलह तस्बिर : माधव अर्याल/कान्तिपुर

पाल्पामा दोभानको बगाहा, पासकुण्ड, बुढासटक गाउँमा समेत सलहको हूल देखिएको स्थानीय रुद्र जीसीले बताए । उनका अनुसार हरियो मकैको बोट, धानको बीउ, काभ्रो, आँप, किम्बु, पीपल, सिमललगायत रूखमा रातै भएर सलह बसेका छन् । ‘सलह खोलैखोला आएको हो । उड्दा आकाशै ढाकेको देखिन्थ्यो,’ उनले भने । स्थानीय ७८ वर्षीय ठगबहादुर थापा क्षत्रीले ६० वर्ष पहिला पनि यस्तै प्रकृतिको सलह गाउँ आएको सुनाए ।

स्थानीयले आगो बालेर, टिन ठटाएर, धूवाँ निकालेर, चिच्याएर सलह भगाउने उपाय अपनाएका छन् । स्थानीय लोकबहादुर केसीले सलहले पानी पर्दा भने केही क्षति नगरेको बताए । ‘पानी रोकिनासाथ खेतबारीमा पुगेर मकै र धानको बीउ खाइदिंदो रहेछ,’ उनले भने ।

पाल्पाको तिनाउँमा टिन ठटाएर सलह भगाउँदै किसान तस्बिर : माधव अर्याल/कान्तिपुर

कृषि ज्ञान केन्द्रका प्रमुख शिव अर्यालले पहाड र पानीले गर्दा सलहको झुन्ड टुक्रिएको आकलन गरिएको बताए । ‘किसानलाई औषधि छर्न र विभिन्न उपाय अपनाएर धपाउन आग्रह गरेका छौं,’ उनले भने । उनले राता र पहेंला सलह देखिएको जानकारी दिंदै पहेंलाले बढी क्षति गर्ने बताए । उनका अनुसार दक्षिणबाट हावाको बहावसँगै सलह पहाडमा आएको हो । पाल्पाका स्थानीय तहले पनि वडा कार्यालयहरूलाई सतर्कताका लागि आग्रह गरेका छन् ।

कपिलवस्तुको शिवराज नगरपालिका–५, नौडिहवामा तरकारी, फूल र मकैका बोटमा सलह कीरा देखिएको स्थानीय युधीर पौडेलले बताए । ‘बोटभित्रभित्रै लुकेर बसेका छन् । सतर्कता अपनाएका छौं । तर भगाउन सकेका छैनौं,’ उनले भने । यो क्षेत्रमा शनिबारै सलह छिरेको हो । आइतबार साँझ सदरमुकाम तौलिहवा क्षेत्रमा सलह धेरै देखिएको थियो । आकाशमा हूलमा उडेको रमिता हेर्न सर्वसाधारण घरको बार्दलीमा झुम्मिएका थिए । कतिपयले भगाउन थाल ठटाएका थिए । बजारका घरघरमा सलह देखिएका छन् ।

कपिलवस्तुको तौलिहवमा आइतबार साँझ देखिएको सलहको सानो झुन्ड तस्बिर : मनोज पौडेल/कान्तिपुर

गण्डकी प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका प्रवक्ता डा. ग्रीष्म न्यौपानेका अनुसार पोखराकै महतगौंडामा आइतबार बिहान केही सलह देखिएको भनिए पनि पानी परेपछि हराएको थियो । पूर्वी नवलपरासीस्थित भारतसँग जोडिएको विनयी त्रिवेणी गाउँपालिका र स्याङ्जाको कालीगण्डकी गाउँपालिका क्षेत्रमा सलह देखिएको जानकारी आएको छ ।

स्याङ्जाकै वालिङ नगर क्षेत्रमा पनि सलह देखिएको कृषि ज्ञान केन्द्रले जनाएको छ । गोरखाको बारपाकमा पनि आइतबार फाट्टफुट्ट देखिएको फट्याङ्ग्रा सलह भएको स्थानीयको आशंका गरेका छन् । कृषि ज्ञान केन्द्रकी प्रमुख मनिता थापाले बारपाकमा देखिएको फट्याङ्ग्रा सलह भए/नभएकोबारे अध्ययन भइरहेको बताइन् । उनले भनिन्, ‘सलह लाखौंको समूहमा हुन्छ, बारपाकको ठाउँ/ठाउँमा दुई/चारवटाका दरले फट्याङ्ग्रा देखियो भन्ने जानकारी पाएका छौं । हावायताको दिशामा बहँदा एउटा झुन्ड खसेको पनि हुन सक्छ ।’

मकवानपुरमा मकवानपुरगढी, वाग्मती र बकैया गाउँपालिकाका विभिन्न क्षेत्रमा शनिबार दिउँसो सलह छिरेका छन् । करिब एक हजार रोपनीमा सलह फैलिएको अनुमान गरिएको मकवानपुरगढी गाउँपालिकाका कृषि विकास शाखाका प्रमुख चन्द्रकान्त चौधरीले बताए । सलहले त्यहाँ मकैको धानचमरा खाइदिएका छन् । मकैको धानचमरा खाएपछि घोगा लाग्दैन । ‘एउटा मकैको बोट हल्लाउँदा १० देखि १५ वटा सलह उड्ने गरेका छन्,’ चौधरीले भने ।

चितवनका विभिन्न क्षेत्रमा पनि आइतबार सलह देखिएको छ । पूर्वी चितवनको खैरहनी, कालिकालगायतका ठाउँमा सानो झुन्ड देखिएको भनेर किसानले खबर गरेको भरतपुरस्थित कृषि ज्ञान केन्द्रका प्रमुख राजन ढकालले बताए । भरतपुर र नारायणगढको बजार क्षेत्र र पहाडी इलाका कविलासमा पनि फाट्टफुट्ट सलह देखिएका छन् ।

सिन्धुलीको सिन्धुलीमाढीमा पनि सलह देखिएको छ । ठूलो झुन्डमा पहाडतिर चढेको र छुटेका केही मात्र यहाँ देखिएको हुन सक्ने कमलामाई नगरपालिका ४ का कर्णबहादुर कार्कीले बताए । नगरका कृषि प्राविधिक देवीप्रसाद सापकोटाले सलहको झुन्ड देखिएको ठाउँमा स्थलगत निरीक्षण गरी अध्ययन सुरु गरेको बताए ।

प्रदेश २ को सर्लाहीको लालबन्दीस्थित तेलबाली अनुसन्धान केन्द्रले पानी परेकाले सलहले बालीमा खासै असर पुर्‍याउन नसकेको जनाएको छ । कृषि ज्ञान केन्द्र मलंगवाका निमित्त प्रमुख देवानन्द रायले तराई क्षेत्रमा वर्षा भइरहेकाले सलह सुक्खा ठाउँ खोज्दै उकालो चढेको हुन सक्ने बताए । सलह सानो समूहमा रहेकाले किसानले आत्तिनुपर्ने अवस्था नरहेको उनले बताए । बारामा शनिबार देखिएको सलह कुनै नोक्सान नगरी उत्तर पहाडतिर सरेको कृषि ज्ञान केन्द्र बाराका प्रमुख जितेन्द्र यादवले बताए । शनिबार चारकोसे जंगलको राजमार्ग छेउ आसपासको सिमरा एयरपोर्ट र निजगढ क्षेत्रको आकाश तथा खेतबारीमा सलहको हूल देखा परेको थियो ।

उदयपुर र खोटाङमा पनि

उदयपुरको कटारी, बेलका नगरपालिका तथा उदयपुरगढी गाउँपालिकाको नेपालटार क्षेत्रमा सलह देखिएको कृषि ज्ञान केन्द्र उदयपुरका प्रमुख नरनाथ रेग्मीले जानकारी दिए । खोटाङको हलेसी तुवाचुङ नगरपालिका, दिक्तेल रूपाकोट मझुवागढी नगरका विभिन्न स्थानमा फाट्टफुट्ट सलह देखिएको छ । हलेसी तुवाचुङ नगरपालिकाका प्रमुख इवन राईले वर्षा भइरहेकाले बालीनालीमा नदेखिएको र घरको भित्तामा २०/२५ वटाको समूहमा बसेको पाइएको बताए । कृषि ज्ञान केन्द्रका निमित्त प्रमुख हरिनारायण राईले दिक्तेलमा छिटफुट सलह फेला परेको जानकारी आए पनि पुष्टि हुन बाँकी रहेको बताए ।

सलह रोक्न प्रदेशमा र्‍यापिड टिम

गण्डकी प्रदेशले सलह नियन्त्रणका लागि र्‍यापिड रेस्पोन्स टिम गठन गरेको छ । प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले वरिष्ठ बाली संरक्षण अधिकृत विनोद हमालको संयोजकत्वमा ६ सदस्यीय टिम बनाएको हो । टिमले सलहविरुद्ध जनचेतना पनि फैलाउनेछ । संयोजक हमालले कृषि अनुसन्धान केन्द्रसँग समन्वय गरी सलह नियन्त्रणमा काम गर्ने बताए ।

वाग्मती प्रदेश सरकारले सलह नियन्त्रणका लागि चारवटा टिम बनाएको छ । आइतबार भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री दावा दोर्जे लामासहित कृषि विज्ञ र कृषि ज्ञान केन्द्रका वरिष्ठ अधिकारी सहभागी बैठकले सलह नियन्त्रण गर्न एक्सन कमिटीसहित चारवटा टिम निर्माण गरेको मन्त्रालयका सचिव योगन्द्रवहादुर कार्कीले जानकारी दिए । उक्त टिमले स्थलगत निरीक्षण गरी नियन्त्रणका उपाय सुझाउने र त्यहीअनुसार बजेटको व्यवस्था गरिने भएको छ । कृषि प्राविधिक, प्रहरी, स्वयंसेवक र स्थानीयको संयुक्त पहलमा सलह नियन्त्रणमा लिनुपर्ने तथा विभिन्न तरिका अपनाएर भगाउनुपर्ने कार्कीले बताए ।

उक्त बैठकमा कृषि तथा वन विज्ञान विश्वविद्यालय चितवन रामपुरका सहप्राध्यापक कृषि विज्ञ सुन्दर तिवारीले सलह ठूलो झुन्डमा प्रवेश नगरेकाले नियन्त्रण गर्न सकिने बताएका थिए । सलह बसेका बोटबिरुवा हल्लाएर, वस्तुहरुको ठोकी आवाज निकालेर र धूवाँको मुस्लो लगाएर पनि भगाउन सकिने उनले बताए । ‘सलह अँध्यारो भएपछि उड्दैन । राति बोटबिरुवा वा हरियो रूखमा बस्छ,’ उनले भने ।

रामपुरस्थित राष्ट्रिय मकैबाली अनुसन्धान कार्यक्रमका किटविज्ञ घनश्याम भण्डारीले फाट्टफुट्ट सानो समूह देख्दैमा डराइहाल्नपर्ने नभए पनि जोखिम बढेको बताए । उनले सलहलाई लामो डोरी बारीको वारपार टाँगेर बोट हल्लाएर पनि भगाउन सकिने बताए । ‘राति आएर बसेका सलह बिहान सक्रिय हुनुअघि नै धपाउनु उत्तम हुन्छ,’ उनले भने ।

सुदूरपश्चिमले सलह किन्ने

सुदूरपश्चिम प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले सलह प्रतिकिलो २५ रुपैयाँमा खरिद गर्ने भएको छ । मन्त्रालयमा आइतबार गरिएको पत्रकार सम्मेलनमा प्रवक्ता खग्रेन्द्रप्रसाद शर्माले सलह छोपेर ल्याउने किसानलाई प्रतिकिलो २५ रुपैयाँ दिने बताए । उनले सलह सुदूरपश्चिम आइनपुगेको बताउँदै किसानलाई सतर्क भइरहन आग्रह गरे ।

प्रवक्ता शर्माले स्थानीय तहमा सलह नियन्त्रण टिम गठन गर्ने बताए । प्रदेश ५ सँगको सिमाना जोडिएको कैलालीको पूर्वी क्षेत्र जोशीपुर, टीकापुर, लम्कीचुहा, जानकी गाउँपालिकामा उक्त टिमले अनुगमन र निरीक्षण गर्नेछ ।

प्रवक्ता शर्माले कृषि निर्देशनालयको अध्यक्षतामा प्रदेशस्तरीय र्‍यापिड रेस्पोन्स टिम गठन गरिएको जानकारी दिए । बालीनालीमा सलह, फौजी कीराद्वारा हुने आक्रमणलाई नियन्त्रण गर्न यो टिमले प्रदेशभरिमा काम गर्ने उनले बताए । ‘जिल्लामा कृषि ज्ञान केन्द्रस्तरीय टिम गठन गरिएको छ,’ उनले भने, ‘स्थानीय तहमा टिम बनाउँछौं ।’

-अमृता अनमोल (बुटवल), माधव अर्याल (पाल्पा), मनोज पौडेल (कपिलवस्तु), प्रताप विष्ट (हेटौंडा), रमेशकुमार पौडेल (चितवन), राजकुमार कार्की (सिन्धुली), लालप्रसाद शर्मा (पोखरा), मोहन बुढाऐर (धनगढी), डिल्लीराम खतिवडा (उदयपुर), ओमप्रकाश ठाकुर (सर्लाही) र लक्ष्मी साह (बारा)

प्रकाशित : असार १५, २०७७ ०८:२०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×