कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

हटस्पटका आइसोलेसनमा बिजोग

संक्रमितले समस्या भोगिरहेको बताए पनि जनप्रतिनिधिले भने क्वारेन्टाइन र आइसोलेसनको व्यवस्थापन उत्कृष्ट रहेको दाबी गर्दै आएका छन्

रौतहट,सर्लाही — प्रतिदिन संक्रमितको संख्या बढिरहेको रौतहट र सर्लाहीमा कोरोना नियन्त्रण, उपचार र रोकथामका लागि गरिएका सरकारी प्रयास भने कमजोर देखिएको छ । क्वारेन्टाइन र आइसोलेसनमा बसेकाहरू दुर्दशा भोगिरहेका छन् ।

हटस्पटका आइसोलेसनमा बिजोग

यहाँका क्वारेन्टाइनमा स्वास्थ्यकर्मी नपुग्नु सामान्य जस्तै भइसके पनि आइसोलेसनमा समेत डाक्टरको मुख देख्न नपाएको संक्रमितको गुनासो छ । सर्लाहीको आइसोलेसनमा रहेका एक संक्रमितले भने, ‘कोरोनालाई भगवान् भरोसाले त जितिएला । यहाँ भोगेको दुर्दशा सधैं याद रहन्छ ।’ शनिबारसम्म रौतहटमा १ हजार १ सय ७७ र सर्लाहीमा ६ सय १५ जना संक्रमित छन् । करोडौं खर्चेर स्थानीय तहले बनाएका क्वारेन्टाइन र आइसोलेसन रोग निम्त्याउने स्थल बनेको त्यहाँ बसिरहेकाहरूको आरोप छ । स्थानीय तहले भने क्वारेन्टाइन र आइसोलेसन व्यवस्थापनमा राम्रो गरिएको दाबी गर्न छाडेका छैनन् ।

दुई दिनअघि रौतहटको चन्द्रपुर नगरपालिकाले सञ्चालन गरेको क्वारेन्टाइनमा बसेकाले त्यहाँको भिडियो बनाएर सामाजिक सञ्जालमा हालिदिए । भिडियोमा झल्किएको उनीहरूको पीडा भाइरल भयो । जनप्रतिनिधिले भने त्यसलाई विरोधीको प्रोपागान्डा भन्दै टारिदिए । चन्द्रपुर ६ स्थित जनज्योति माविमा सञ्चालन गरेको क्वारेन्टाइनमा बसेकाहरूले राम्रोसँग खाना नपाएको र सरसफाइको हालत एकदमै नराम्रो भएको गुनासो गरेका छन् । क्वारेन्टाइन क्षेत्र सरसफाइ गर्न आग्रह गरे पनि सुनुवाइ नभएको उनीहरूको भनाइ छ । अहिले पनि क्वारेन्टाइनमा भारत र विदेशबाट फर्केका ४३ जना बसेका छन् ।

क्वारेन्टाइनमा बसेकी एक महिलाले आफूहरूलाई पशुसरह व्यवहार गरेको सुनाइन् । ‘बस्ने कोठामा न चुकुल छ, न सरसफाइ नै । व्यवस्थापन गर्नेलाई सोध्दा झर्कोफर्को गर्छन्,’ उनले भनिन्, ‘यस्तो पाराको क्वारेन्टाइनमा बसेर फोहोर र गुणस्तरहीन खानाले मरिने भइयो ।’ क्वारेन्टाइन परिसरमा अघिल्लो पटक बसेकाले प्रयोग गरेका सामग्री छरपस्ट फालिएका छन् । उनीहरूले भुइँमै म्याट ओछ्याएर सुत्नुपर्छ । झुलको पनि राम्रो व्यवस्था नभएकाले लामखुट्टेले रातभरि सुत्न नदिएको दुखेसो छ । कुवेतबाट फर्किएकी अर्की महिलाले क्वारेन्टाइनको बसाइले आफूमा मानसिक तनाव बढेको भन्दै विरोध जनाइन् ।

चन्द्रपुर नगरपालिकाका मेयर रामचन्द्र चौधरीले क्वारेन्टाइनको व्यवस्थापन जिल्लाकै उत्कृष्ट रहेको दाबी गरे । ‘क्वारेन्टाइनमा बस्नेहरूलाई पाँचतारे होटलको सुविधा दिन सकिँदैन,’ उनले भने, ‘आवश्यक सबैखाले सुविधा दिएका छौं । तर पनि समस्याहरू के के छन्, बुझ्छौं ।’ उनले क्वारेन्टाइनको व्यवस्थापन नगरपालिकाको स्वास्थ्य शाखाको रहेको भन्दै सम्बन्धित शाखा प्रमुखसित स्पष्टीकरण सोधिने बताए । रौतहटका १८ स्थानीय तहले एक सयभन्दा बढी स्थानमा क्वारेन्टाइन र १२ स्थानमा आइसोलेसन वार्ड सञ्चालन गरेका छन् । तीमध्ये अधिकांशको व्यवस्थापन कमजोर छ । जिल्लाभरका क्वारेन्टाइनमा अहिले ८ सय र आइसोलेसनमा ७ सय जना छन् ।

सर्लाहीमा आइसोलेसनको व्यवस्थापन फितलो छ । चिकित्सक कमै आउने गरेको संक्रमितहरूले बताए । क्वारेन्टाइन र आइसोलेसनमा कुनै पनि फरक नरहेको उनीहरूको भनाइ छ । ‘न क्वरेन्टाइनमा स्वास्थ्य जाँचका लागि चिकित्सक आउँथे न त आइसोलेसनमा आएका छन्,’ कोरोना जितेर घर फर्केका एक स्थानीयले भने, ‘भगवान् भरोसा कोरोना जितिएछ । आइसोलेसनमा समस्या पर्दा कोही पनि नआउँदो रहेछ ।’

सर्लाहीमा भद्रगोल व्यवस्थापनका कारण क्वारेन्टाइनमा बसेकाहरू आन्दोलित भइरहेका छन् भने संक्रमतिहरू आइसोलेसनमा बस्न मान्दैनन् । क्वारेन्टाइन व्यवस्थापनमा समस्या हुन थालेपछि कतिपय स्थानीय तहले होम क्वारेन्टाइनको अवधारणा पनि ल्याएका छन् । होम क्वारेन्टाइनमा स्थानीय जनप्रतिनिधिको निगरानीमा भारतबाट आएकाहरू बसिरहेका छन् । यसरी बस्दा कुनै किसिमका झमेला नहुने गरेको गोडैता नगरपालिकाका मेयर देवेन्द्र रायले बताए ।

नाबालकले कोरोना जिते

रौतहटको चन्द्रपुर २ स्थित कोरोना अस्थायी अस्पतालको आइसोलेसनबाट शुक्रबार साँझ ३ वर्षीय बालक कोरोना जितेर घर फर्किएका छन् । भारतको सुरतबाट आएका दुई छोरासहित दम्पतीलाई चन्द्रपुर ६ स्थित महिला फुटबल एकेडेमीको क्वारेन्टाइमा राखिएको थियो । चारै जनाको स्वाब परीक्षणमा ३ वर्षीय बालक र उनका बुबामा कोरोना देखिएको थियो । झन्डै ३ साताको बसाइपछि शुक्रबार पीसीआर रिपोर्ट नेगेटिभ आएकाले उनी घर फर्किएका हुन् । उनका बुबाको रिपोर्ट फेरि पोजिटिभ आएको छ ।

प्रकाशित : असार १४, २०७७ ०९:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?