कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सुस्त परीक्षणले जोखिम

‘प्रयोगशालाको क्षमता कम हुँदा चाहेर पनि परीक्षण बढाउन असम्भव’

कपिलवस्त्, बाँके — संघीय कृषि मन्त्रालयमा काम गर्ने कपिलवस्तु नगरपालिकाका एक कर्मचारीले असार ३ गते पीसीआर परीक्षणका लागि स्वाब दिए । काठमाडौं प्रवेशका लागि उनलाई यस्तो रिपोर्ट आवश्यक परेको थियो । शुक्रबार स्वाब परीक्षणको रिपोर्ट पोजिटिभ आयो ।

सुस्त परीक्षणले जोखिम

लकडाउनभन्दा अघि घर आएर आइसोलेसनमा थिए । मास्क छाडेका थिएनन् । ‘सतर्क थिए, कसरी संक्रमण भयो, भयो । सुन्दा पनि अचम्म लाग्यो,’ नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख उमेश गुप्ताले भने, ‘उनकी श्रीमतीको रिपोर्ट नेगेटिभ छ ।’

जिल्लामा कोरोना परीक्षण भारतबाट आएर क्वारेन्टाइनमा बसेका व्यक्तिमा सीमित छ । क्वारेन्टाइनमा १४ दिन बसेका अधिकांश व्यक्तिलाई घर पठाइएपछि परीक्षण सुस्ताएको छ । हटस्पटमा परीक्षण रोकिँदा समुदायमा सन्त्रास बढेको हो । पीसीआर परीक्षणबिनै अधिकांश संक्रमित घर फर्किसकेका छन् । यसले समुदायमा अन्योलको वातावरण छ । यस्ता व्यक्ति संक्रमणमुक्त भएको र उनीहरूबाट कोरोना सर्दैन भनेर कसैले चेतना फैलाएको छैन ।

कपिलवस्तुमा अहिले संक्रमण दरमा कमी आएको छ । वैशाख तेस्रो सातादेखि जेठ अन्तिमसम्म संक्रमण उच्च थियो । जेठ अन्तिममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले क्वारेन्टाइन र आइसोलेसनमा १४ दिन बिताएर लक्षण नदेखिएकालाई घर पठाउने निर्देशिका जारी गर्‍यो । निर्देशिका कार्यान्वयनपछि प्रदेश ५ स्थित तराईका जिल्लामा रहेका क्वारेन्टाइन र आइसोलेसन रित्तिँदै गएका छन् । जिल्लामा ५ सय ५० भन्दा बढी संक्रमितको दोस्रो/तेस्रोपटक पीसीआर परीक्षण नगरी घर पठाइएको छ । अहिलेसम्म कन्ट्याक्ट ट्रेसिङका आधारमा समुदायमा परीक्षण सुरु नगरिएकाले नयाँ संक्रमितको संख्यामा कमी आएको छ ।

कपिलवस्तुमा आठ सयभन्दा बढी संक्रमित छन् । ‘संक्रमितको त परीक्षण गरिएन,’ एक स्वास्थ्यकर्मीले भने, ‘कन्ट्याक्ट ट्रेसिङ गरेर उनीहरूको सम्पर्कमा आएकाको झन् के हुन्थ्यो ∕ ।’ ट्राभल हिस्ट्री र कन्ट्याक्ट ट्रेसिङ झन् हुनै सकेको छैन । जिल्ला स्वास्थ्य कार्यालयले परीक्षणको दायरा बढाउन सकेको छैन । विभिन्न आइसोलेसनमा १४ दिन बसेका र लक्षण नदेखिएकाले डिस्चार्ज गरिएको जिल्ला अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. किशोर बन्जाडेले बताए । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) को मान्यताअनुसार यो काम गरेको उनले बताए । जिल्लामा अहिलेसम्म आठ हजारको पीसीआर परीक्षण गरिएको छ । १४ हजार जनाको आरडीटी गरिएको छ ।

परीक्षणको दायरा घटेकाले संक्रमण दर कम देखिएको जिल्ला स्वास्थ्य कार्यालय प्रमुख योगेन्द्र भगतले बताए । ‘भैरहवाको प्रदेश प्रयोगशालाको क्षमता कम हुँदा समस्या भइरहेको छ,’ उनले भने, ‘चाहेर पनि परीक्षण बढाउन सकेका छैनौं ।’ पहिला दैनिक तीन/चार सय स्वाब संकलन हुन्थ्यो । अहिले एक सय पनि हुँदैन । कहिले एउटै नमुना संकलन हुँदैन । ‘हटस्पट भएकाले परीक्षणको दायरा बढाउन आवश्यक छ,’ उनले भने, ‘परीक्षण नहुँदा चुनौती थपिएको छ ।’

धेरै संक्रमित रहेका बाँके र बर्दियामा पनि नयाँ संक्रमण पुष्टि हुनेको संख्यामा कमी आएको छ । आरडीटी गरेर घर पठाउन थालिएपछि क्वारेन्टाइन खाली छन् । बर्दियामा ११ हजार ३ सय ७ जनाको आरडीटी गरिएको छ । तीन सय जनाको आरडीटी पोजिटिभ आयो । उनीहरूको स्वाब संकलन गरेर पीसीआर जाँच गर्दा १ सय ६१ जनामा कोरोना पुष्टि भएको छ । समुदायमा परीक्षण सुरु गरिएको छैन । कोरोना पुष्टि भएका व्यक्तिको मात्र कन्ट्याक ट्रेसिङ गरिएको छ । अझै २ सय ८८ जनाको रिपोर्ट आउन बाँकी छ । यहाँका आठ स्थानीय तहले बनाएका १ सय ४५ क्वारेन्टाइनमा अहिले १ हजार ६ सय ९८ जना छन् । १४ दिन क्वारेन्टाइनमा राख्ने र १५ औं दिनमा आरडीटी गर्दा नेगेटिभ रिपोर्ट आए उनीहरूलाई घर पठाउने गरिएको छ ।

बाँकेमा अहिलेसम्म ८ हजार ९८ जनाको आरडीटी गरिएको छ । ३ सय ३३ जनाको पोजिटिभ रिपोर्ट आएपछि पीसीआर गरिएको थियो । नेपालगन्ज–८, जोलहनपुर्वा र नरैनापुर कोरोनाको हटस्पट बनेपछि पीसीआर परीक्षणको दायरा बढाइएको थियो । अहिलेसम्म ६ हजार ५ सय ८८ जनाको पीसीआर गरिएको छ । ३ सय ५० जनामा कोरोना संक्रमण पुष्टि भएकामा २ सय ८८ जना निको भएर घर फर्किसकेका छन् । दुई जनाको मृत्यु भएको छ । क्वारेन्टाइनमा रहेका व्यक्तिलाई आरडीटी जाँच गरेर घर पठाउने क्रम जारी छ ।

भेरी अस्पताल नेपालगन्जका प्रमुख कन्सलटेन्ट फिजिसियन तथा मेडिकल विभाग प्रमुख डा. राजन पाण्डेले आरडीटीको रिपोर्ट विश्वास गर्न नसकिने बताए । ‘विभिन्न जिल्लामा आरडीटी रिपोर्ट नेगेटिभ तर पीसीआर पोजिटिभ देखिएको छ,’ उनले भने, ‘यस्तो अवस्थामा कसरी विश्वास गर्न सकिन्छ ? बरु कोरोना जितेर घर फर्किसकेकाको स्वास्थ्य अवस्था बुझ्न आरडीटी गर्न सकिन्थ्यो ।’ समुदायमा परीक्षण हुन नसक्दा संक्रमणको खतरा यथावत् रहेको उनले बताए ।

जिल्ला स्वास्थ्य कार्यालय बर्दियाका प्रमुख गोकर्ण गिरीले स्वास्थ्य मन्त्रालयको निर्देशिकाभन्दा बाहिर जान नमिल्ने बताए । ट्रेसिङमा परेका व्यक्तिको मात्रै पीसीआर परीक्षण गरिएको उनले बताए । ‘समुदायमै गएर पीसीआर र आरडीटी परीक्षण गर्न सकिएको छैन,’ उनले भने, ‘परीक्षणको दायरा नबढेकाले संक्रमित थपिएका छैनन् ।’

परीक्षण नहुँदा जोखिम

कपिलवस्तुको मायादेवी गाउँपालिकाले असार १ गते क्वारेन्टाइनमा बसेका ७१ जनालाई घर पठायो । कुनै पनि व्यक्तिमा लक्षण नदेखिएकाले घर पठाइएको थियो । यसरी पठाइएकामध्ये केहीको पीसीआर गरियो । घर पुगेको दुई दिनपछि रिपोर्ट आउँदा आठ जनामा संक्रमण पुष्टि भयो । त्यसपछि संक्रमितलाई खोजेर ल्याई आइसोलेसनमा राखियो । संक्रमित दुई दिनसम्म परिवारमा हेलमेल भए । अहिले उनीहरूको सम्पर्कमा आएकाहरू जोखिममा छन् । तर उनीहरूको सम्पर्कमा आएका कसैको पनि परीक्षण गरिएको छैन । यसले जोखिम बढाएको छ ।

बुद्धभूमि नगरपालिकाले आइसोलेसनमा बसेका सबैको दोस्रो र तेस्रो पीसीआर रिपोर्ट नेगेटिभ आएपछि मात्रै घर पठाउने नीति लिएको छ । त्यसैअनुसार आफैं भीटीएम खरिद र स्वाब संकलनको व्यवस्था गर्‍यो । आइसोलेसनमा बसेका ११ जनाको स्वाब दोस्रो परीक्षणका लागि भैरहवास्थित प्रदेश प्रयोगशालामा पठायो । तर प्रयोगशालाले एउटै व्यक्तिको पुन: परीक्षण नगर्ने बताएपछि उनीहरूलाई चार दिनअघि घर पठाएको बुद्धभूमि नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख डोलविक्रम बेल्बासेले बताए । ‘चाहेर पनि गर्न सकेनौं,’ उनले भने, ‘त्यसपछि घर पठाउनुको विकल्प भएन ।’

प्रकाशित : असार १३, २०७७ ०८:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?