‘ढुक्क भएर सीमा रक्षा गर्नुस्, केही परे सेनाले साथ दिनेछ’- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

‘ढुक्क भएर सीमा रक्षा गर्नुस्, केही परे सेनाले साथ दिनेछ’

मनोज बडू, मातृका दाहाल

दार्चुला, काठमाडौँ — भारतद्वारा अतिक्रमित भूमि दार्चुलाको कालापानी क्षेत्र आसपास पुगेर बुधबार प्रधान सेनापति पूर्णचन्द्र थापा र सशस्त्र प्रहरी महानिरीक्षक (आईजीपी) शैलेन्द्र खनालले निरीक्षण गरेका छन् ।

दार्चुलाको व्यास–१, छाङरुमा बुधबार प्रधानसेनापति पूर्णचन्द्र थापा र सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाललाई सीमा क्षेत्रबार ब्रिफिङ गरिँदै। तस्बिर सौजन्य : सशस्त्र प्रहरी

त्यसक्रममा प्रधानसेनापति थापाले त्यहाँ सीमा सुरक्षार्थ तैनाथ सशस्त्र प्रहरी बल (एपीएफ) को टोलीलाई ढुक्क भएर जिम्मेवारी निर्वाह गर्न निर्देशन दिए । उनले सीमा सुरक्षार्थ खटिएको फौजलाई कुनै पनि किसिमको असहज परिस्थिति र अभाव हुन नदिने पनि बताए ।

सरकारले भारतद्वारा अतिक्रमित कालापानी–लिपुलेक र लिम्पियाधुरा समेटिएको नेपालको राजनीतिक नक्सा सार्वजनिक गरेपछि दुई देशबीचको सम्बन्ध तनावपूर्ण रहेका बेला बुधबार प्रधान सेनापति थापा र सशस्त्रका आईजीपी खनाल दार्चुलाको छाङरु पुगेका हुन् । भारतले नेपाली भूमि गुञ्जी, कालापानी हुँदै लिपुलेक भञ्ज्याङसम्म सडकको ट्रयाक खोली वैशाख २६ गते उद्घाटन गरेको थियो । त्यही विषयलाई नेपालले भारतलाई विरोधपत्र पठाउनुका साथै नयाँ राजनीतिक नक्सा सार्वजनिक गरिसकेको छ । सरकारले दार्चुलाको ब्यास गाउँपालिका–१, छाङरु (गागा) मा वैशाख ३१ गते सीमा सुरक्षार्थ निरीक्षकको नेतृत्वमा सशस्त्र प्रहरीको बोर्डर आउट पोस्ट (बीओपी) स्थापना गरिसकेको छ । कालापानीबाट सशस्त्रको बीओपी स्थापना गरिएको छाङरु १६ किलोमिटर वर पर्छ ।

प्रधानसेनापति थापा र आईजीपी खनालले छाङरुको बीओपीमा त्यहाँको वस्तुस्थितिबारे जानकारी लिएका थिए । सेनापति र सशस्त्र प्रहरी प्रमुखले यसरी त्यस क्षेत्रको भूभाग निरीक्षण तथा अनुगमन यसअघि कहिल्यै नगरेको एक सुरक्षा अधिकारीले बताए । प्रधान सेनापति थापाले सीमा सुरक्षार्थ तैनाथ सशस्त्रका अधिकृत तथा जवानलाई राज्यका सबै अंग मिलेर सीमा रक्षा गर्दै जनतालाई शान्तिसुरक्षाको प्रत्याभूति दिनुपर्ने बताए । ‘विकास र सुरक्षा सँगसँगै जानुपर्छ,’ उनले भने, ‘यसैलाई सर्वोपरि ठानेर अघि बढ्नुपर्छ ।’

आईजीपी खनालले सीमा रक्षक र नागरिकको भरोसा एवं अभिभावक भएर काम गर्न बीओपीमा तैनाथ अधिकृत तथा जवानलाई निर्देशन दिएका थिए । ‘सशस्त्रले पाएको सीमा सुरक्षाजस्तो गहन जिम्मेवारी प्रभावकारी रूपमा निर्वाह गर्नुस्, केही समस्या भए भन्नुस्, तत्काल सम्बोधन हुन्छ,’ खनालको भनाइ उद्धृत गर्दै छाङरु पुगेका एक सुरक्षा अधिकारीले भने, ‘नागरिकलाई सुरक्षा प्रत्याभूति दिलाएर काम गर्नुस्, नागरिक लुटिन, कुटिन र ठगिन र असुरक्षित हुनबाट जोगाउने जिम्मा तपाईंहरुको हातमा छ । सबैसँग सहकार्य, समन्वय र सहयोग साटासाट गरेर अघि बढ्नुपर्छ ।’

सेनापति थापाले एकले अर्कोलाई परेको अवस्थामा सहयोग गर्नुपर्ने भन्दै सशस्त्रलाई साथ चाहिए निर्धक्क रूपमा भन्न पनि आग्रह गरे । ‘जिम्मेवारी निर्वाह गर्ने क्रममा एकले अर्काेलाई सहयोग गर्नुपर्छ, हामी अनकन्टारमा छौं, असुरक्षित छौं भन्ने भावना रत्तिभर नलिनुस्,’ थापाले सशस्त्रका फौजलाई भने ।

काठमाडौंबाट सेनाको स्काई ट्रक (जहाज) मा धनगढी पुगेका दुवै सुरक्षा प्रमुख त्यहाँबाट सेनाको एमआई–१७ हेलिकप्टरमा दार्चुला सदरमुकाम खलंगा हुँदै व्यास गाउँपालिकाको छाङरु र सेनाले बाटो निर्माण गरिरहेको ब्यासकै घाँटीबगर पनि पुगेका थिए । सुदूरपश्चिम प्रदेशस्थित सुरक्षा प्रमुखहरुलाई लिएर सेनापति थापा र आईजीपी खनाल सुरुमा घाँटीबगर र त्यसपछि छाङरु पुगेका थिए । ब्यास गाउँपालिका–२, घाँटीबगरमा जेठ ८ गते सेनानीको नेतृत्वमा अस्थायी बेस क्याम्प स्थापना गरिएको छ । सशस्त्रको बीओपीबाट सैनिक क्याम्प ३२ किमि तल पर्छ ।

दार्चुला सदरमुकाम खलंगाबाट चीनसँगको व्यापारिक मार्ग जोड्ने तिंकर भञ्ज्याङसम्म सडक निर्माणका लागि सेनाले घाँटीबगरमा अस्थायी क्याम्प स्थापना गरेको छ । तिंकरमा पनि छिट्टै सशस्त्रको बीओपी राख्ने तयारी छ । भारतले अतिक्रमण गरेको नेपाली भूमि कालापानी–लिपुलेक र लिम्पियाधुरासहित समेटिएको अपी–नाम्पा संरक्षण क्षेत्रको सुरक्षाका लागि पनि सेनालाई खटाउनेबारे छलफल भइरहेको छ । ‘सशस्त्रको बीओपी, सेनाको अस्थायी क्याम्प, तिंकरमा राख्ने भनिएको अर्को बीओपी र अपी–नाम्पा संरक्षण क्षेत्र सुरक्षाका लागि वस्तुस्थिति बुझ्न दुवै सुरक्षा निकायका प्रमुखहरु निरीक्षणमा जानुभएको हो,’ काठमाडौंस्थित एक सुरक्षा अधिकारीले भने, ‘विकट क्षेत्रमा रहेर सीमा तथा पूर्वाधार निर्माणमा तैनाथ फौजको मनोबल उच्च बनाउन यसले निकै मद्दत पुग्छ ।’

घाटीबगड क्षेत्रमा गोरेटो निरीक्षण गर्दे सेना र सशस्त्रको टोली । तस्बिर : नेपाली सेना

सीमा सुरक्षाको स्थलगत वस्तुस्थिति बुझेर सदरमुकाम खलंगा फर्किएका सुरक्षा प्रमुखहरुले प्रमुख जिल्ला अधिकारीसहित जिल्लाका सुरक्षा निकायसँग जानकारी लिएका थिए । प्रधान सेनापति थापा र सशस्त्रका आईजीपी खनालसित सुरक्षा समन्वयात्मक छलफल भएको नेपाली सेनाको खलंगास्थित दुर्गादल गुल्मका सेनानी श्यामराजा थापाले जानकारी दिए ।

घाँटीबगरबाट तिंकर जाने बाटो नहुँदा स्थानीय बासिन्दालाई भारतीय भूमि प्रयोग गर्नुपर्ने बाध्यता छ । कहिलेकाहीं भारतीय सुरक्षाकर्मीबाट नेपालीमाथि दुव्र्यवहार र आक्रमणका घटनासमेत हुने गरेका छन् । नेपालले कालापानी–लिपुलेक र लिम्पियाधुरा समेटिएको राजनीतिक नक्सा सार्वजनिक गरेपछि भारतीय पक्षले किनमेलका लागि महाकाली नदी तरेर जान रोक्दै आएका छन् । सेनाले असार मसान्तभित्र आउजाउ गर्न सकिने गरी घोडेटो बनाइरहेको छ ।

दार्चुला सदरमुकाम खलंगाबाट २० किमि टाढा दार्चुलाकै हिकिलासम्म जिप चल्छ । हिकिलाबाट सुन्सेरासम्म सुक्खा याममा जिप चले पनि वर्षायाममा सो मार्ग विच्छेद हुने गरेको छ । सुन्सेराबाट उत्तरतर्फ दुम्लिङ ३३ किमि र दुम्लिङबाट घाँटीबगर १४ किमि छ । गएको वैशाख १४ को मन्त्रिपरिषद् बैठकले खलंगाबाट घाँटीबगरसम्म ४७ किमि सडक विभागलाई र घाँटीबगरबाट तिंकरसम्म ८७ किमि सेनालाई बनाउने जिम्मा दिने निर्णय गरेको छ । यही सडकअन्तर्गत ४ सय ५० मिटरको पहिरो र चट्टान छिचोलेर घाँटीबगर क्षेत्रमा ४ सय ५० मिटर घोडेटो १ महिनाभित्र बनाइसक्ने योजना छ । बाटो निर्माणका साथै सशस्त्रको ब्याक सपोर्टका रूपमा सेनाले ब्यासको घाँटीबगर/थी भन्ने ठाउँमा बेस क्याम्प राखेको छ ।

खलंगामा सशस्त्रको गुल्म उद्घाटन

सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले बुधबार दार्चुला सदरमुकाम खलंगामा निर्माण भएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ५० गुल्म हेडक्वाटरको भवन उद्घाटन गरेका छन् । उक्त गुल्मलाई गण र छाङरुको बीओपीलाई गुल्म बनाउने योजना रहेको आईजीपी खनालले जानकारी दिए । लेकमको लाली, मालिकार्जुनको जोलजीवि र व्यासको दुम्लिङ र तिंकरमा बीओपी तयारी रहेको उनले बताए ।

ब्यास गाउँपालिका-२ घाटीबगडमा नेपाली सेनाले बनाइरहेको पैदल बाटोको स्थलगत निरीक्षणमा आएका प्रधानसेनापति पूर्णचन्द्र थापा र सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल दार्चुला सदरमकाममा । तस्बिर : मनोज बडू/कान्तिपुर

सशस्त्र प्रहरीले दार्चुलामा भारतसँग सीमा जोडिएका १ सय २५ किलोमिटर र चीनसँग सीमा जोडिएको २० किलोमिटर क्षेत्रमा सीमा निगरानी गरिरहेको उनको भनाइ छ । ‘सीमित स्रोतसाधनका बीचमा सशस्त्र प्रहरीले जिम्मेवारी निर्वाह गरिरहेको छ,’ उनले भने । स्रोतसाधनले भ्याएसम्म सशस्त्र प्रहरी परिचालन गरिने उनले बताए ।

व्यासमा गुल्मका लागि भवन निर्माण प्रक्रिया अघि बढिसकेको छ । सरकारले यसका लागि ११ करोड रुपैयाँ विनियोजन गरेको छ । आईजीपी खनालले व्यासको छाङरु र तिंकरका बासिन्दालाई लक्ष्य गरेर १५ शय्याको अस्पताल निर्माण गर्नका लागि पहल जरुरी रहेको बताए । यसमा सशस्त्र प्रहरीले नै पहल गर्ने उनको भनाइ थियो । ‘अस्पताल निर्माण भए सशस्त्रले डाक्टरको व्यवस्था गर्न सक्छ,’ उनले भने । उक्त क्षेत्रमा अहिले ६ महिना मात्रै स्वास्थ्य चौकी खुल्ने गरेको छ । मानिस पनि जाडो याममा बस्दैनन् ।

प्रकाशित : असार ४, २०७७ ०८:४२
प्रतिक्रिया
पठाउनुहोस्

बेरिस्टोको नजर विकेटकिपिङमा

एएफपी

लन्डन — वेस्ट इन्डिजसँगको शृंखलाका लागि खेलाडीले आफ्नो स्थान निश्चित गर्ने तयारी गरिरहँदा जोनी बेरिस्टोले आफू इंग्ल्यान्डको विकेटकिपरको भूमिका निभाउन सक्षम रहेको दाबी गरेका छन् ।

इंग्ल्यान्डले अर्को महिना सुरु हुने वेस्ट इन्डिजसँगको तीन टेस्ट शृंखलाको तयारी गरिरहेको छ । यो सँगै कोरोना भाइरस (कोभिड–१९) का कारण रोकिएको अन्तर्राष्ट्रिय क्रिकेट पनि फर्किंदै छ । शृंखलाअघि कुनै प्रथम श्रेणीको क्रिकेट पनि खेलिएको छैन । खेलाडीको फर्मको स्थिति बुझ्न जुलाई ८ मा सुरु हुने पहिलो टेस्टअघि साउथह्याम्पटनमा अभ्यास खेल हुनेछ । यही स्थानमा पहिलो टेस्ट हुनेछ ।

गत वर्ष न्युजिल्यान्डको भ्रमण गर्दा इंग्ल्यान्डको टोलीमा बेरिस्टोलाई राखिएको थिएन । त्यसमा इंग्ल्यान्डका छनोट प्रमुख इड स्मिथले उनको अन्तर्राष्ट्रिय भविष्य विशेषज्ञ ब्याट्सम्यानका रूपमा मात्र रहेको संकेत गरेका थिए । सन् २०१२ मा लामो फर्म्याटमा ‘डेब्यु’ गरेयता उनले ७० टेस्ट खेलिसकेका छन् । तर पछिल्लो पटक डिसेम्बरमा उनले टेस्ट खेलेको दक्षिण अफ्रिकाविरुद्ध हो । दक्षिण अफ्रिकामा उनले खेलेको त्यही एक टेस्ट हो ।

श्रीलंका भ्रमणमा उनलाई आराम दिँदै लामो समयदेखि बेरिस्टोको विकेटकिपिङमा प्रतिस्पर्धी रहेका जोस बटलर र बेन फोक्सलाई राखिएको थियो । त्यसपछि कोरोना महामारीका कारण मार्चयता क्रिकेट हुन सकेको छैन । क्रिकेटको सबै संरचनामा खेल्दै आएका आएका उनी अहिले टेस्ट क्रिकेट खेल्न चाहन्छन् र आफ्नो मनपर्ने भूमिका पनि निश्चित गरेका छन् ।

‘पछिल्लो समयमा म आफ्नो विकेटकिपिङबाट सन्तुष्ट छु,’ बेरिस्टोले मंगलबार कन्फरेन्स कलमार्फत भने, ‘मेरो खेलजीवनको सुरुआतमा यस्तै केही थियो, जसमा प्रश्न उठाइएको थियो । तर पछिल्ला वर्षमा यस बारेमा मान्छेले तर्क गर्न छाडेका छन् । मैले तथ्यांक हेरेको छु र मेरो तथ्यांक धेरै राम्रो छ ।

त्यसैले मलाई यसमा फर्किन खासै कुनै समस्या छैन ।’ योर्कसायर र इंग्ल्यान्डबाट खेलेका पूर्व विकेटकिपर डेविड बेरिस्टोका छोरा जोनीले आफूले खेलेका ७० मध्ये ४८ टेस्टमा इंग्ल्यान्डका लागि विकेटकिपिङ गरेका छन् । तर पछिल्लो ७ टेस्टमा विकेटकिपरको भूमिकामा खेल्दा उनको ब्याटिङ औसत १८ मात्र छ । अभ्यासमा बोलाइएका ५ खेलाडीको सूचीलाई छोट्याएर इंग्ल्यान्डको टोलीको घोषणा गरिँदा बेरिस्टोको भविष्य कस्तो हुने हो टुंगो लाग्नेछ ।

प्रकाशित : असार ४, २०७७ ०८:३६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×