कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पीसीआर परीक्षण : सरकारी ल्याबमा चाप, निजीलाई दिन छैन तयारी

देशभर कोरोना परीक्षणको दायरा अपेक्षित बढेको छैन । सरकारी प्रयोगशालाहरूमा नमुनाको चाङ लाग्न थालेको छ । रिपोर्ट पाउनै एक साता कुर्नुपर्छ । यस्तोमा निजी अस्पताल तथा प्रयोगशालाहरूलाई पनि परीक्षणको स्वीकृति दिए यसको दायरा बढ्न सक्ने जनस्वास्थ्यविद्हरूको सुझाव छ ।
न्यून संख्यामा रहेका निजी प्रयोगशालाले मेसिन र जनशक्ति हामीलाई दिएर सहयोग गरे सजिलो हुन्छ : डा. रुना झा, प्रमुख, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला

काठमाडौँ — केही दिनयता भारतबाट भित्रिने नेपालीको बढोत्तरी भएसँगै कोरोना संक्रमितहरूको संख्या पनि ह्वात्तै बढेको छ । सीमापारिबाट भित्रिनेको संख्याको अनुपातमा संक्रमित रहे/नरहेको यकिन गर्न गरिने पीसीआर परीक्षणको दायरा भने निकै साँघुरो छ ।

पीसीआर परीक्षण : सरकारी ल्याबमा चाप, निजीलाई दिन छैन तयारी

कष्टसाथ क्वारेन्टाइनमा बसेका व्यक्तिको पीसीआर नतिजा आउनै सरदर एक साता लाग्न थालेको छ । यस्तोमा निजी अस्पताल तथा प्रयोगशालाहरूलाई पनि परीक्षण गर्न दिए यसको दायरा बढ्न सक्ने जनस्वास्थ्यविद्हरूले सुझाव दिएका छन् ।

हाल राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालासहित देशभरका २० स्थानमा कोरोना भाइरसको पीसीआर विधिबाट परीक्षण भइरहेको छ । यसरी २० स्थानमा पीसीआर परीक्षण गर्दा पनि अपेक्षित दायरा बढ्न सकेको छैन । मंगलबार पीसीआर विधिबाट ३ हजार ४ सय ४० नमुनाको परीक्षण भएको छ ।

प्रयोगशालाहरूको नियामक निकाय राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकै वर्गीकरणअनुसार नेपालमा ९ वटा प्रयोगशाला ‘क’ वर्गका छन् । यस्तै ‘ख’ वर्गमा ४५, ‘ग’ वर्गमा २ सय २३ र ‘घ’ वर्गमा १ सय ३९ वटा प्रयोगशाला छन् । यसरी वर्गीकरण गरिएकामध्ये ‘क’ वर्गका प्रयोगशालाले भने मोलिक्युलर प्रयोगशाला सञ्चालन गरिरहेका छन् । केही ‘ख’ वर्गमा परेका प्रयोगशालासँग पनि पीसीआर गर्न सक्ने क्षमता भने छ ।

तर सरकारले निजी प्रयोगशाला तथा निजी अस्पतालका प्रयोगशालालाई कोरोनाको परीक्षण गर्न दिनेबारे कुनै पनि ठोस नीति तथा मापदण्ड नबनाएकाले केही प्रयोगशालाले चाहेर पनि परीक्षणमा सहयोग गर्न सकिरहेका छैनन् । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकी प्रमुख डा. रुना झा केही सीमित निजी प्रयोगशाला मात्रै कोरोनाको पीसीआर परीक्षण गर्न सक्षम रहेकाले नै त्यतातर्फ नसोचिएको बताउँछिन् । ‘२/३ वटा ल्याबले मात्रै गर्न सक्लान् । यस्तोमा उनीहरूका लागि मात्रै गाइडलाइन बनाउनुभन्दा बरु उनीहरूले आफूसँग भएका मेसिन र जनशक्ति हामीलाई दिएर सहयोग गरे सजिलो हुन्छ,’ उनले भनिन्, ‘निजीबाट गर्ने भनेपछि विभिन्न कुराहरू ख्याल गर्नुपर्छ, त्यो सहज छैन ।’

उनका अनुसार पछिल्ला दिनमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षणका लागि चाप बढेकाले त्यसलाई केही कम गर्न स्वचालित मेसिन खरिददेखि अन्य ४/५ वटा पीसीआर मेसिन नै खरिद गर्नेबारे पनि छलफल भइरहेको छ ।

‘क’ वर्गमा पर्ने नेसनल रिफरेन्स ल्याब्रोटोरीका कार्यकारी निर्देशक किशोरकुमार खनालका अनुसार उनको प्रयोगशालाले अहिले पनि हेपटाइटिस, टीबी, एचपीभीजस्ता संक्रामक नमुनाको पीसीआर परीक्षण गरिरहेको छ । ‘हामीसँग तीनवटा उच्च तहका पीसीआर मेसिन छन् । त्यसका लागि आवश्यक पर्ने सेटअप पनि छ,’ उनले भने, ‘निजी ल्याबलाई पनि परीक्षणका लागि स्वीकृति दिइयोस् भनेर सरकारलाई धेरै समय अगाडिदेखि आग्रह गर्दै आएको हो ।’

निजी ल्याबलाई परीक्षणमा समेट्ने/नसमेट्ने निर्णय सरकारको चासोमा भर पर्ने उनले बताए । ‘निजीलाई पनि स्वीकृति दिएको खण्डमा कोरोनाको पीसीआर रिएजेन्ट मगाएर केही दिनमा काम थालिहाल्न सक्छौं,’ उनले भने, ‘यस्तो संकटका बेलामा हामीले पनि सरकारले तोकेको मूल्यमा नै गुणस्तरमा परीक्षण गर्न तयार छौं । सरकारले मौका दिनुपर्‍यो ।’

यस्तै, नेपाल मेडिसिटी अस्पतालका महाप्रबन्धक विजय रिमालले यहाँस्थित प्रयोगशाला पनि कोरोनाको पीसीआर परीक्षण गर्न सक्षम रहेको बताए । ‘हामीसँग पीसीआरको मेसिन, जनशक्ति तथा त्यहीअनुसारको पूर्वाधार पनि छ । अनुमतिका लागि निवेदनसमेत दिएका छौं,’ उनले भने, ‘अनुमति दिएको खण्डमा आफ्नो स्रोत र साधनअनुरूप नमुना परीक्षण गर्न तयार छौं ।’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको वर्गीकरणमा मेडिसिटीको प्रयोगशाला पनि ‘क’ वर्गअन्तर्गत नै पर्छ ।

तर अर्को ‘क’ वर्गमै पर्ने एक प्रयोगशालाले भने आफूहरू कोरोनाको परीक्षण गर्न इच्छुक नरहेको जानकारी दियो । आफ्नो नाम उल्लेख नगरिदिन आग्रह गर्दै उक्त प्रयोगशालाका सञ्चालकले भने, ‘हामीकहाँ पीसीआर मेसिन र परीक्षण गर्ने जनशक्ति दुवै छ । तर गैरसंक्रामक रोगको परीक्षणका लागि मात्रै पीसीआरको प्रयोग गर्ने गरेका छौं । यस्तोमा कोरोनाजस्तो संक्रामक रोग परीक्षण गर्नका लागि सेटअप नै परिवर्तन गर्नुपर्ने हुन्छ ।’ उनका अनुसार संक्रामक नमुनाको पीसीआर परीक्षण गर्न थालेको खण्डमा हाल दिइरहेको सेवा प्रभावित हुने भएकाले पनि तत्कालका लागि कोरोना परीक्षण गर्न नसकिने भएको हो ।

‘पहिलो कुरा त यति महिना हुँदासम्म पनि हामीसँग कुनै छलफल नै छैन । अहिले एक्कासि गर भन्यो भनेर कसरी गर्ने ?,’ उनले भने, ‘त्यो परीक्षण गर्न थालेपछि यहाँबाट निस्कने फोहोरदेखि सबैको त्यहीअनुरूपको व्यवस्थापन गर्नुपर्ने हुन्छ । हामीले त सबै विचार गर्नुपर्‍यो नि ।’

उनले कोरोनाको परीक्षण गर्नै पर्ने अवस्था आए आफूहरूले कुनै पनि हालतमा नमुना संकलन भने गर्न नसक्ने स्पष्ट पारे । ‘कोरोनाको नमुना संकलन गर्न थाल्यौं भने जनशक्तिदेखि पीपीईसम्म सबै व्यवस्था गर्नुपर्छ,’ उनले भने, ‘यस्तोमा अन्य बिरामीलाई नमुना दिन आउनका लागि पनि अप्ठ्यारो महसुस हुन्छ ।’ उनले परीक्षण गर्नै परे राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला वा अन्य अस्पतालले पठाएको नमुनाको भने जाँच गरिदिन सकिने तर्क गरे ।

त्यसैगरी, ‘ख’ वर्गमा पर्ने एक निजी ल्याबका निर्देशकले सरकारले कोरोना परीक्षणका लागि निजीलाई भन्दा पनि सरकारी ल्याब नै विभिन्न ठाउँमा विस्तार गर्नुपर्नेमा जोड दिए । ‘धेरैजसो प्राइभेट ल्याबमा कोरोना परीक्षणका लागि सेटअप नै छैन । परीक्षणका लागि पनि धेरै सावधानी अपनाउनुपर्ने हुन्छ । परीक्षणपछि निस्कने फोहोरको व्यवस्थापन गर्न पनि गाह्रो छ । फोहोर राम्ररी डिस्पोज भएन भने त्यसबाट पनि संक्रमणको खतरा हुन्छ ।’

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला स्रोतका अनुसार हाललाई निजी प्रयोगशालालाई कोरोनाको परीक्षण गर्न दिनेबारे सामान्य छलफल भए पनि कुनै ठोस निर्णय भने भएको छैन । ‘क’ वर्गका सबै प्रयोगशालामा मोलिक्युलर ल्याब त छ तर त्यो भनेरमात्र भएन । कुन रिएजेन्ट प्रयोग गर्नेदेखि क्वालिटी कन्ट्रोलसम्मका कुराहरू आउँछन् । मन्त्रालयले नै गाइडलाइन बनाएर दियो भने अनि केही प्रक्रिया अगाडि बढ्ला,’ उनले भने, ‘फेरि निजीलाई दिएपछि शुल्कको पनि कुुरा आउँछ । त्यो सबै त मन्त्रालयले मिलाउनुपर्छ ।’

निजी प्रयोगशालालाई परीक्षण गर्न दिनेभन्दा पनि परीक्षण गरिरहेका सरकारी अस्पतालहरूमा परीक्षणको दर बढाउन जरुरी रहेको स्वास्थ्य मन्त्रालयका एक अधिकारी बताउँछन् । ‘उपत्यकामै वीर, पाटन र शिक्षण अस्पतालमा पनि परीक्षण भइरहेको छ । त्यहाँ हुने परीक्षणको संख्या बढाउन सके पनि धेरै हदसम्म केन्द्रीय प्रयोगशालामा चाप कम हुन्थ्यो,’ ती अधिकारीले भने, ‘तर ती अस्पतालमा किन १००/५० नमुना मात्रै परीक्षण हुन्छ, मैले बुझेको छैन ।’

केहीअघि मात्रै जडान भएर परीक्षण गर्न थालेको त्रिवि शिक्षण अस्पतालको प्रयोगशालामा रहेको मेसिनले एकचोटिमा ९६ नमुना परीक्षण गर्न सक्छ । यस्तै, वीरको मेसिनले ६५ र पाटनको मेसिनले पनि ९६ नमुनाको परीक्षण गर्न सक्छ । शिक्षण अस्पतालका कार्यकारी निर्देशक डा. प्रेमकृष्ण खड्गाका अनुसार हाल त्यहाँ दैनिक ५० को हाराहारीमा मात्रै परीक्षण भइरहेको छ । ‘हामीले अहिले अस्पतालमा आउनेहरूकै धेरैजसो परीक्षण गरिरहेका छौं,’ उनले भने, ‘नयाँ मेसिन र संवेदनशील परीक्षण भएकाले एकैपटक धेरै परीक्षण गरिएको छैन । बिस्तारै दायरा बढाउँदै लैजान्छौं ।’

यस्तै, ललितपुरको पाटन अस्पतालमा रहेको प्रयोगशाला पनि कोरोना परीक्षणका लागि तोकिएको प्रयोगशाला हो । अस्पतालको प्रयोगशालामा दैनिक एक सयको हाराहारीमा नमुनाको परीक्षण भइरहेको जानकारी अस्पतालका निर्देशक डा. विष्णु शर्माले दिए । ‘हामीले पहिले ५० वटाको हाराहारीमा परीक्षण गथ्र्यौं । अहिले बढाउँदै लगेका छौं,’ उनले भने, ‘जनशक्ति, मेसिनको क्षमता, किटको उपलब्धता आदिले परीक्षणको दायरामा फरक पर्न जान्छ । दायरा बढाउने कोसिसमा भने लागेका छौं ।’

हाल कोरोनाको पीसीआर परीक्षण भइरहेका अधिकांश प्रयोगशालामा जनशक्ति, रिएजेन्ट तथा पीपीईलगायतका सामग्री कम भएका कारणले पनि परीक्षणको दायरा सोचेअनुरूप बढ्न सकेको छैन । अर्कोतर्फ अधिकांश ठूला भनिएका अस्पताल तथा प्रयोगशालालाई कोरोना भाइरसको पीसीआर परीक्षण गर्न कुनै रुचि नै छैन ।

प्रकाशित : जेष्ठ २१, २०७७ ०९:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?