कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

दार्चुलाको व्यासमा सशस्त्रको बीओपीनजिकै सेनाको क्याम्प

काठमाडौँ — भारतले नेपाली भूमि अतिक्रमण गरेको क्षेत्रनजिकै दार्चुलाको व्यास गाउँपालिका–२, घाटीबगरमा मेजर (सेनानी) को नेतृत्वमा सेनाको फौज बस्ने भएको छ । हालै राखिएको सशस्त्रको छाङरुस्थित बीओपीबाट ३२ किमि तल घाटीबगरमा सेनाको क्याम्प बस्न लागेको हो ।

दार्चुलाको व्यासमा सशस्त्रको बीओपीनजिकै सेनाको क्याम्प

जेठ ७ मा घाटीबगरमा क्याम्प स्थापना गरिने नेपाली सेनाका प्रवक्ता सहायक रथी विज्ञानदेव पाण्डेले बताए ।

तत्कालका लागि सडक निर्माणार्थ खटिने फौजको सुरक्षार्थ सैनिक क्याम्प स्थापना भए पनि यसलाई सीमा सुरक्षा र वन्यजन्तु तथा जनजंगल तस्करी नियन्त्रणका लागि रणनीतिक रूपमा स्थायी संरचना बनाएर राख्ने तयारी सरकारको छ । सैनिक प्रवक्ता पाण्डेले दार्चुला सदरमुकाम खलंगाबाट चीनसँग जोडिएको व्यापारिक मार्ग तिंकरसम्म मानिस हिँड्ने बाटो निर्माणका लागि सेनानीको कमान्डमा घाटीबगरमा फौज राख्न लागिएको बताए । तर यसलाई आवश्यकताअनुसार दीर्घकालीन रूपमा पनि प्रयोग गर्न सकिने उनले स्पष्ट पारे । प्रवक्ता पाण्डेका अनुसार तत्काल नेपाली भूमि भएर तिंकरसम्म जाने करिब ४ सय ५० मिटर पैदल बाटो निर्माणार्थ त्यस क्षेत्रमा क्याम्प राखिएको हो ।

अपि-नाम्पा संरक्षित क्षेत्रमा खटिन तयार छौं : सेना

भारतले सीमा अतिक्रमण गरेपछि नेपालमा त्यसको देशभर विरोध जारी छ । जसका कारण आफ्नो भूमि प्रयोग गरेर नेपालीलाई तिंकरसम्म जान भारतीय सुरक्षा फौजले अवरोध गर्न थालेपछि सेनाले क्याम्प नै राखेर नेपाली भूमिबाटै पैदल बाटो निर्माण गर्न लागेको हो । पैदल बाटो निर्माण गर्न लागिएको घाटीबगर दार्चुला सदरमुकाम खलंगाबाट ३ दिनको पैदल दूरीमा पर्छ । खलंगाबाट २० किमि टाढा दार्चुलाकै हिकिलासम्म जिप चल्छ । हिकिलाबाट सुन्सेरासम्म पनि सुक्खायाममा जिप चल्न सक्छ । सुन्सेराबाट दुम्लिङ ३३ किमि र दुम्लिङबाट घाटीबगर १४ किमि छ ।

गत वैशाख १४ को मन्त्रिपरिषद् बैठकले खलंगाबाट घाटीबगरसम्म बाटो बनाउन सडक विभागलाई जिम्मा दिइसकेको छ । विभागले सुन्सेराबाट दुम्लिङ र दुम्लिङबाट घाटीबगरसम्मको ४७ किमि लामो सडक खन्नुपर्नेछ । घाटीबगरबाट तिंकरसम्म ८७ किमि सडक खन्ने जिम्मा सेनालाई दिइएको छ । यही सडकअन्तर्गत स्थानीयलाई तत्कालका लागि ४ सय ५० मिटरको पहिरो र चट्टान छिचोलेर पैदल बाटो बनाउन लागिएको हो । पैदल र खच्चर लिएर तिंकरसम्म जान बाटो छैन । सैनिक प्रवक्ता पाण्डेका अनुसार घाटीबगरमा १ सय मिटर पहिरो, २ सय मिटरमा कडा चट्टान, त्यसपछिको अर्को सय मिटर चट्टान तथा सैनिक हेलिप्याड निर्माणका लागि ५० मिटर गरेर ४ सय ५० मिटरको बाटो तथा ब्यारेक निर्माणको काम अघि बढेको हो । यसका लागि सरकारले १ करोड ९ लाख रुपैयाँ विनियोजन गरिसकेको छ ।

घाटीबगरमा महाकाली राजमार्गअन्तर्गत खलंगा–तिंकर सडक निर्माण सुरक्षाका लागि पनि यस क्षेत्रमा आधा दर्जन सैनिक सुरक्षा क्याम्प रहने उनले बताए । सैनिक क्याम्प बस्ने स्थान छनोट कार्य पनि भइरहेको सेनाले बताएको छ ।

प्रकाशित : जेष्ठ ५, २०७७ ०७:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?