कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकी डा. झासहित ६ जनालाई एनएचआरसीले किन सोध्यो स्पष्टीकरण ?

महामारीको बेला अनुसन्धान गर्दा सोधिराख्न आवश्यक छैन : डा. रुणा झा

काठमाडौँ — नेपाल स्वास्थ्य अनुसन्धान परिषद् (एनएचआरसी)ले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकी निर्देशक डा. रुणा झासहित ६ जनासँग लिखित स्पष्टीकरण मागेको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकी डा. झासहित ६ जनालाई एनएचआरसीले किन सोध्यो स्पष्टीकरण ?

परिषद्ले नेपालको पहिलो कोरोना संक्रमित युवकको जिन विश्लेषणसम्बन्धी अनुसन्धान गरेको र विदेशी जर्नल ‘माइक्रोबायोलोजी रिसोर्स अनाउन्समेन्ट्स’मा सरकारको स्वीकृति नलिई प्रकाशित गरेको भन्दै स्पष्टीकरण सोधेको हो ।

परिषद्ले डा. झाका साथै इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. वासुदेव पाण्डे, पूर्व निर्देशक डा. विवेक लाल, प्रयोगशालाकर्मी रन्जित साह, हेमन्तचन्दा झा र शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालका चिकित्सक डा. अनुप बाँस्तोलालाई स्पष्टीकरण सोधेको हो ।

परिषद्का सदस्य सचिव डा. प्रदीप ज्ञवालीका अनुसार केही दिनअघि तीन दिन अघि उनीहरुलाई पत्र पठाइएको हो । अनुमतिबिनै गरिएको अनुसन्धान रिपोर्टबारे परिषद्मा उजुरी परेपछि स्पष्टLकरण सोधिएको बताउँदै उनले यो नियमित प्रक्रिया भएको बताए ।

‘यसलाई अतिरिञ्जत नबनाइदिनुस् । हामीले गलत हिसाबले व्याख्या गरेको होइन,’ उनले भने, ‘जसरी कुनै अनिमियतता भएपछि मेडिकल काउन्सिलले छानबिन गर्छ त्यसरी नै कुनै रिसर्चहरु प्रकाशित भयो भने परिषद्ले छानबिन गर्ने हो । त्यसरी नै यो एक प्रक्रियागत काम हो ।’

उनले स्वास्थ्यसँग सम्बन्धित रिसर्च गर्दा लिनुपर्ने स्वीकृति नलिएको र स्याम्पल पनि अनुमति नै नलिई विदेश पठाएको देखिएकाले लिखित स्पष्टिकरण सोधिएको दाबी गरे ।

‘यो इथिक्सविपरीत गरिएको काम हो संलग्न सबै चिकित्सकलाई हामीले लिखित स्पष्टीकरण सोधेका छौं,’ उनले भने, ‘यसरी रिसर्चको नाममा स्वीकृतिबिना कसैको अगं र रगतको परीक्षण विदेश पठाउन मिल्दैन ।’ चिकित्सकले कानुनबाहिर गएर अनुसन्धान गरेको उनले बताए ।

उनका अनुसार नेपाल स्वास्थ्य अनुसन्धान परिषद् ऐन,२०७४ को दफा ११ ले स्वास्थ्य क्षेत्रमा अनुसन्धान गर्न चाहने व्यक्ति वा संस्थाले परिषद्‍बाट स्वीकृति लिनुपर्ने र स्वीकृति बिनै अनुसन्धान गर्नेलाई कारबाहीसमेत गर्न सकिने उनले बताए ।

नेपालमा भेटिएका कोरोना संक्रमितबाट लिइएको कोरोना भाइरसको जेनेटिक सिक्वेन्सिङबारे अनुसन्धान गर्दा परिषद्मा नसोधेको डा. रुणा झाले स्वीकार गरिन् । एउटा केसबारे अध्ययन गर्दा कसैलाई सोध्न आवश्यक नभएको उनले दाबीसमेत गरिन् ।

‘अनुमति नै चाहिने भए त्यति ठूलो निकायले हाम्रो आर्टिकल किन छाप्थ्यो,’ उनले भनिन्, ‘मन्त्री, सचिव या कुनै निकायले सोधेको भए हुन्थ्यो, परिषद्लाई त सोध्ने अधिकार पनि छैन ।’ महामारीको बेला त झनै अनुसन्धान गर्दा सोधिराख्न आवश्यक नभएको उनले बताइन् ।

अनुसन्धानमा संलग्न चिकित्सक टोलीले कुनै व्यक्तीको रगत नमुना नभई भाइरसको प्रजातिबारे अनुसन्धान गरेको उनले दाबी गरिन् । उनले भोलि नै पत्र पढेर परिषद्लाई स्पष्टीकरण पत्र पठाउने बताइन् ।

त्यस्तै ईडीसीडीका प्रमुख डा. वासुदेव पाण्डेले परिषद्‍बाट काटिएको पत्र खोल्न नभ्याएको प्रतिक्रिया दिए । ‘हो हामीले अनुसन्धान गरेको हो,’ उनले भने, ‘हामीले आफ्नो काम आफैं गर्ने हो । यस्तो कुरा कसैलाई सोध्नुपर्छ जस्तो लाग्दैन ।’

यस्तै अनुसन्धानमा संलग्न र जर्नलका सहलेखक शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका प्रवक्ता डा. अनुप बाँस्तोलाले लिखित स्पष्टीकरण सोधिएको स्वीकार गर्दै थप प्रतिक्रिया दिन चाहेनन् । जिन विश्लेषणमार्फत त्यो भाइरसको बारेमा थप जान्न र त्यसको सहयोगबाट भ्याक्सिन समेत पत्ता लगाउन सहयोग पुग्नसक्छ ।

चीनको वुहानबाट गत माघ ९ मा फर्किएका ३२ वर्षीय कोभिड संक्रमित एक जना नेपालीको भाइरसको जिनको विश्लेषण गर्नका लागि हङकङ पठाइएको थियो ।

यसअघि पनि विभिन्न अन्तर्राष्ट्रिय जर्नलमा नेपाली चिकित्सकका विभिन्न मेडिकल जर्नल प्रकाशित भएका छन् । तर परिषद्ले त्यसप्रति ध्यान दिएको देखिँदैन ।

प्रकाशित : जेष्ठ १, २०७७ २१:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?