कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

महोत्तरीका १२ मृतकमध्ये चारको पोस्टमार्टम रिपोर्ट- ‘मृत्युको कारण अत्यधिक रक्सी सेवन’

जनकपुर, महोत्तरी — महोत्तरीमा विषाक्त रक्सीले मृत्यु भएको भनिएका १२ मध्ये चार जनाको पोस्टमार्टमले पनि त्यही पुष्टि गरेको छ । आइतबार अबेर आएको पोस्टमार्टम रिपोर्टमा अत्यधिक रक्सी सेवनले नै उनीहरूको ज्यान गएको दाबी गरिएको छ ।

महोत्तरीका १२ मृतकमध्ये चारको पोस्टमार्टम रिपोर्ट- ‘मृत्युको कारण अत्यधिक रक्सी सेवन’

बाँकी आठको प्रहरीलाई खबरै नगरी दाहसंस्कार गरिएकाले चार जनाको मात्रै पोस्टमार्टम गरिएको हो । प्रदेश २ का प्रहरी प्रमुख डीआइजी धीरजप्रताप सिंहका अनुसार पोस्टमार्टम गरिएका सबैको मृत्यु रक्सीले नै भएको रिपोर्ट आएको छ । उनले रक्सी विषाक्त रहे/नरहेको यकिन गर्न नमुना प्रयोगशालामा पठाइएको बताए ।

जोडिएका दुई बस्तीमा ११ दिनयता १२ जनाको मृत्यु भएपछि तथ्य पत्ता लगाउन चिकित्सकका तीन टोली खटाइएका छन् । स्वास्थ्य मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा, धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र महोत्तरी जनस्वास्थ्यका कार्यालयका छुट्टाछुट्टै टोली खटिएका हुन् ।

विषाक्त रक्सीकै कारण आइतबार बिहान ९ बजे भंगाहा–७ का रूपनारायणसिंह दनुवारको पनि मृत्यु भएको छ । महोत्तरी प्रहरीका अनुसार यससँगै मृतक संख्या १२ पुगेको छ । सिकिस्त दुई जनाको जनकपुरस्थित प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । उनीहरूको स्वास्थ्य अवस्था पनि दिनहुँ बिग्रिरहेको चिकित्सकले जनाएका छन् । दनुवारलाई पनि अन्य ११ जनाकै जस्तो पेट दुखेर झाडापखाला चल्ने लक्षण देखिएको स्थानीयको भनाइ छ ।

भंगाहा–७ को मेघनाथ गोरहन्ना र बर्दिवास–१२ को अहिमान बस्तीमा अहिले स्वास्थ्यकर्मीका फरक–फरक टोलीले मृतकका परिवार र छिमेकीको समेत स्वास्थ्य जाँच गरिरहेका छन् । मृतकको भिसेरा रिपोर्ट नआएसम्म मृत्युको कारणबारे केही बताउन नसकिने भन्दै उनीहरूले परीक्षण जारी राखेका हुन् । नेपाल प्रहरीको काठमाडौंस्थित फरेन्सिक ल्याबमा भिसेरा परीक्षणका लागि पठाइएको छ ।

‘हामी पनि भिसेराकै रिपोर्ट कुरिरहेका छौं । त्यो नआएसम्म मृत्युको कारण यही हो भन्ने यकिन गर्न सकिन्न,’ जिल्ला जनस्वास्थ्य कार्यालय, महोत्तरीका स्वास्थ्यकर्मी गिरेन्द्र झाले कान्तिपुरसँग भने, ‘मृतक सबैले घरेलु रक्सी पिएको र एकै किसिमको लक्षण देखिएर मृत्यु भएको देखिन्छ । अन्य केही कारण छ कि त्यो पनि खोजिरहेका छौं ।’

इपिडिमियोलोजीको टोली पनि सबै रिपोर्ट आएपछि मात्रै मृत्युको कारण पहिल्याउन सकिने बताइरहेको छ । रोग पहिचान गर्न मृतकका परिवार सदस्यसित कुराकानी गरिरहेको डा. अमृत पोखरेलले बताए । ‘अहिले हामी स्वास्थ्य परामर्शमै लागेका छौं । के–के लक्षण देखियो । खानपान कस्तो थियो, रिपोर्ट आएपछि मात्र थप कुरा भन्न सकिन्छ,’ उनले भने ।

लगातार मृत्युको घटनापछि स्थानीयले कोरोना संक्रमणको आशंका गरेकाले मृतकमध्ये दुई जनाको स्वाब पनि संकलन गरिएको छ । महोत्तरीका एसपी श्यामकृष्ण अधिकारीले दुवैको आरडीटी रिपोर्ट भने निगेटिभ आएको बताए ।

भंगाहा नगरपालिकाका मेयर सञ्जीव साहले बिरामी परेको आधा घण्टामै ज्यान गएको देखेपछि बस्तीमा त्रास बढेको बताए । ‘पेट दुख्यो भन्दाभन्दै बान्ता गर्छन्,’ उनले भने, ‘उपचार गर्ने ठाउँसम्म पनि नपुर्‍याउँदै बिरामीको मृत्यु भइरहेको छ ।’

चिउराकै भरमा दिनभर रक्सी

जिल्ला प्रहरी कार्यालय महोत्तरीले आइतबार प्रदेश २ सरकारलाई घटनाको प्रारम्भिक छानबिनबारे जानकारी गराएको छ । जसमा लकडाउनका बेला कामविहीन बनेका विपन्न परिवारका ती व्यक्तिले चिउराकै भरमा दिनभर कमसल रक्सी पिउने गरेको उल्लेख छ ।

भंगाहा–७ का ४० वर्षीय सिकेन्द्र सिंहले वैशाख १६ र १७ गते बिहान र रातीको खाना नै नखाई घरेलु रक्सी अत्यधिक सेवन गरेको प्रहरीले जनाएको छ । ‘१६ गते पनि दिनभर रक्सी पिए । राति खाना नै नखाई सुते,’ छानबिन रिपोर्टमा भनिएको छ, ‘१७ गते पनि खाना नखाई खाजामा च्युरासँगै रक्सी खाए । त्यही राति पिसाब फेर्ने क्रममा चक्कर लागेर बिरामी परे ।’ सिंहकै आरडीटी गरी स्बाब परीक्षणका लागि पठाइएको हो । उनीहरूले गाउँकै पसलबाट रक्सी किनेको खुलेको छ ।

प्रकाशित : वैशाख २२, २०७७ १४:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?