कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

प्रधानमन्त्रीको आलोचना गरेपछि ‘साइबर हतियार’

कृष्ण ज्ञवाली

काठमाडौँ — पूर्वसचिव भीम उपाध्यायले प्रधानमन्त्री र सरकारको निरन्तर आलोचना गरेपछि प्रहरीले उनीमाथि विद्युतिय कारोबार ऐन उल्लंघन गरेको आरोपमा पक्राउ गरेको खुलेको छ । प्रहरीले तयार पारेको अनुसन्धान प्रतिवेदन अनुसार, उनले फेसबुक तथा ट्विटरमा गरेका मुख्य चारवटा पोस्टहरुलाई प्रहरीले कानून उल्लंघनको आधार बनाएको छ ।

प्रधानमन्त्रीको आलोचना गरेपछि ‘साइबर हतियार’

‘माथिको आदेशअनुसार ल्याएर अनुसन्धान गरेको हो,’ प्रहरी उच्च स्रोतले कान्तिपुरसित भन्यो, ‘इमेलबाट अनुसन्धान प्रतिवेदनको मस्यौदा सरकारी वकिललाई पठाइसकिएको छ, आज (आइतबार) अबेरसम्ममा अभियोगपत्रसहित अदालतमा पेस गरिनेछ ।’ प्रहरी स्रोतका अनुसार, गृह मन्त्रालयले पठाएको चिठीलाई आधार बनाएर उनलाई पक्राउ गर्ने अनि मुद्दा चलाउने प्रक्रिया अघि बढाएको हो ।

साइबर कानुन : अभिव्यक्तिमाथि बन्देज लगाउने हतियार

पछिल्लो साता पोस्ट गरेका चारवटा विषयवस्तुलाई आधार मानेर बयान उपाध्यायसँग बयान लिइएको उनका एक कानुन व्यवसायीले बताए । उनले व्यक्ति किटान नगरी ‘चारवटा मिर्गौला राखेका’ कारण यस्ता क्रियाकलाप गरेको भन्दै पोस्ट गरेका थिए । स्रोतका अनुसार, प्रधानमन्त्री केपी ओलीलाई संकेत गर्दै लेखिएको उक्त पोस्टका कारण उनको सचिवालयका कर्मचारीहरु क्रुद्ध थिए । ‘त्यहीँबाट आएको फोनका कारण गृह मन्त्रालयले पत्र लेखेको देखिन्छ,’ स्रोतले भन्यो । तर उपाध्यायका परिवारका सदस्यले गृहमन्त्रीसँग बुझ्दा यसबारे आफूलाई केही थाहा नभएको प्रतिक्रियासमेत दिएका थिए ।

उपाध्यायले अर्को ट्वीटमा ‘मिर्गौलामात्रै नभई मस्तिष्कसमेत प्रत्यारोपण गरेको’ भनी सामाजिक सञ्जालमा पोस्ट गरेका थिए । त्यसलाई समेत ओली समर्थकहरुले प्रधानमन्त्रीमाथि गरिएको व्यंग्यको रुपमा अर्थ लगाए । तर उपाध्यायले त्यो पोस्टमा पनि व्यक्तिको नाम किटान नगरेको दाबी गरेका छन् । कोरोना भाइरसका बारेमा प्रधानमन्त्री ओलीले गरेको भ्रमपूर्ण भाषणबारे उनको अर्को ट्विट थियो । जसमा उनले भनेका छन्– ‘कोरोना बोसीय (फ्याटीय) तत्व हो, तातो खाने बस्ने, नेपालमा महामारी रुप लिनै सक्दैन – वरिष्ठ भाइरोलोजिस्ट तथा इपिडिमियोलोजिस्ट डा. ओली ।’ हालसम्म नमेटिएको उक्त पोस्टमा भने उपाध्याले प्रधानमन्त्रीको नाम नलिइ डा. ओली मात्रै भनेर संकेत गरेका छन् ।

प्रहरी स्रोतको दाबीअनुसार, पूर्वसचिव उपाध्यायले इस्लामिक समूह जमातीबारे पनि केही ट्वीट गरेको स्क्रीनसट पनि गृहको पत्रमा समावेश छ । तर एउटा अर्थमा गरिएको ट्वीट अर्को अर्थ लागेपछि तत्काल मेटेको भनेर उपाध्यायले बयानमा खुलाएका छन् । प्रहरी स्रोतको दाबीअनुसार, यी चारवटा पोस्टकै कारण उनीमाथि विद्युतीय कारोबार तथा नियन्त्रण ऐन अनुसार मुद्दा चलाउनुपरेको हो ।

पूर्वसचिव उपाध्यायलाई रातारात उठाउन जरुरी थियो ?

उपाध्यायसँगै काम गरेका तत्कालीन एक सहकर्मीको दाबीअनुसार, गृह प्रशासनका ‘क्याडर’ एवं हाल स्वास्थ्य मन्त्रालयका सचिव यादव कोइरालासँग सामाजिक सञ्जालमा भएको विवाद नै उनीमाथि प्रहरी कारबाही चलेको हो । ‘त्यतैको इसाराले गृहबाट पत्र गएको देखिन्छ, मन्त्रीलाई थाहा छैन रे,’ उनले भने, ‘तर सबैतिर बुझ्दा सचिव कोइरालासँगको विवाद उजुरीमा समावेश छैन ।’ केही साताअघि पूर्वसचिव उपाध्यायले स्वास्थ्य सचिव कोइराला लगायतमाथि स्वास्थ्य सामग्री खरिदमा अनियमितता गरेको आरोप लगाएपछि जवाफमा स्वास्थ्य सचिव कोइरालाले उपाध्यायलाई ‘मेलम्ची खानेपानी अनियमिततामा भ्रष्टाचार गरेको आरोप लगाइ ‘अपराधी’ भनेका थिए ।

प्रकाशित : वैशाख १४, २०७७ ११:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?