कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

के हो जनकपुरमा पैसा छरिएको हल्ला ?

पक्राउ गरिएका महिलाको स्वाब परीक्षणको नतिजा आउन बाँकी

जनकपुर — जनकपुरको महावीर चोकमा बिहीबार पैसामा थुक लगाएर फ्याँकेको हल्ला चलेपछि धनुषा प्रहरीले अनुसन्धानका लागि शनिबार दुई महिलालाई नियन्त्रणमा लियो । पक्राउ परेका एक महिलाको आरडिटी रिर्पोट पोजिटिभ आएपछि सामाजिक सञ्जालमा मुस्लिम समुदायलाई लाञ्छना लगाउने गरी पोस्ट गरिए । 

के हो जनकपुरमा पैसा छरिएको हल्ला ?

शनिबार बिहान पनि जनकपुरको रंगभूमि मैदानको पश्चिमी बस्तीमा फेरि पैसा छरेको हल्ला फिँजियो । सुरक्षाकर्मीले त्यो बस्ती घेरेर खोजतलास पनि गरे । प्रदेश २ सरकारको मुख्यालय रहेको जचुकालिकै सामुन्ने आइतबार बिहान पनि पैसा छरिएको हल्ला भयो ।

महावीर चोकको घटनामा मुछिएका दुवै महिलाका श्रीमान् वैदेशिक रोजगारमा खाडी मुलुकमा छन् । श्रीमान्‌ले पठाइदिएको १ लाख रुपैयाँ लिन नातामा नन्द–भाउजू पर्ने दुवै महिला बिहीबार बैंकतिर हिँडेको उनीहरुका आफन्तले बताएका छन् ।

प्रहरीलाई उनीहरुले दिएको बयानअनुसार बिहीबार रेमिट बन्द होला भन्ने सोचेर नन्दले १५ हजारको चेक पनि बोकेकी थिइन्, बैंकबाट पैसा निकाल्ने भनेर । नभन्दै रेमिट बन्द थियो । बिदेशबाट आएको रकम उनीहरुले झिक्न पाएनन् । चेक साट्न बैंक पुगे ।

बयानअनुसार उनीहरुले १० र २० का खुद्रा नोट पनि लिए । ढक्कीमा तरकारी बेच्ने नन्द–भाउजूलाई चानचुन पैसा आवश्यक परिरहन्छ । बैंकबाट पैसा साटेर महावीर चोक पुग्दा प्रहरीलाई देखेर आफूहरु आत्तिएर दौडिन थालेको उनीहरुले बताएका छन् । त्यही क्रममा चानचुन पैसा खसेको उनीहरुले प्रहरीलाई बयान दिएका छन् ।

‘प्रारम्भिक अनुसन्धानमा जानीजानी पैसा छरेको देखिँदैन,’ अनुसन्धानमा खटिएका धनुषा प्रहरीका एक अधिकृतले भने, ‘उनीहरुसँगै रहेको पैसा चाहिँ झरेको सीसीटीभी फुटेजमा देखिन्छ । तर, पैसा आत्तिएर भाग्दा झरेको हो कि नियतवश खसालिएको हो त्यसको अनुसन्धान जारी नै छ ।’

ती दुई महिलाले पैसा छरेको भनिएको ठाउँमा रहेको पसलको सटरमुनि समेत एउटा नोट कोचिएको फेला परेको छ । प्रहरीले अनुसन्धानबाट सटरमुनि अरु नै कुनै मानिसले भ्रम फैलाउन पैसा कोचेको खुलेको बताएको छ । धनुषा प्रहरीले त्यो व्यक्तिको पनि खोजी गरिरहेको छ । ‘पैसा छरिएको आरोप लागेका दुवै महिलाको आर्थिक हैसियत कमजोर छ,’ धनुषा प्रहरीका एसपी रमेश बस्नेतले कान्तिपुरसँग भने, ‘अहिलेसम्मको अनुसन्धानले नियतवश नै पैसा छरेको पुष्टि हुँदैन । हामी घटनालाई गम्भीरतापूवर्क अनुसन्धान गरिरहेका छौं ।’

पैसा छरेको आरोपमा पक्राउ परेका दुवै महिलालाई प्रादेशिक अस्पतालको आइसोलेसनमा राखिएको छ । समाजिक विकास मन्त्रालयका प्रवक्ता विजय झाका अनुसार उनीहरुको आइतबार बिहान परिक्षणका लागि स्वाब लिइसकिएको र साँझ ६ बजेपछि मात्रै रिपोर्ट आउनेछ । ‘यी महिलाको बारेमा हल्लै बढी भयो,’ प्रवक्ता झाले भने, ‘स्वाबको रिपोर्ट आएकै छैन । धेरैतिर पोजिटिभ आयो भने प्रचार गरियो ।’

धनुषा प्रहरीले महावीर चोकमा पैसा झारिएको बाहेकका घटनालाई ‘अफवाह’ भनेको छ । प्रहरीले सामाजिक सद्भाव खल्बल्याउन खोज्ने किसिमले समाजिक सञ्जालमा पोष्ट गर्नेहरुलाई निगरानीमा राखेको जनाएको छ । पूरै समुदायलाई नै लाञ्छित गरेर समाजिक सञ्जालमा आक्रोश पोख्ने र दुष्प्रचार गर्नेलाई सचेत गराउनुपर्ने मधेसी आयोगका अध्यक्ष डा. विजय दत्तले बताए । ‘समाजिक सद्भाव खलबल हुन नदिन सबैसित परामर्श गरिरहेको छु,’ दत्तले भने । मधेसी आयोगका अध्यक्ष दत्तले आइतबार प्रदेश प्रमुख तिलक परियार र मुख्यमन्त्री लालबाबु राउतसित भेटेरै समाजिक सद्भाव बिथोल्न भइरहेको प्रयास रोक्न आग्रह गरेका थिए ।

सद्भाव बिथोल्न नखोजौं : मुख्यमन्त्री

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले संसार नै कोरोना भाइरसको महामारीविरुद्ध लडिरहेको बेला समाजिक सद्भाव खल्बलाउने कामले कसैको हित नहुने बताएका छन् । कान्तिपुरसँग आइतबार कुराकानी गर्दै मुख्यमन्त्री राउतले कसैले जानीजानी कोरोना भाइरसको संक्रमण फैलाउने काम गरेको पाइएमा कारबाही गरिने पनि बताए ।

‘संक्रमण बढाउने कसैले हर्कत गरेको छ भने प्रहरी–प्रशासनले कडाइका साथ अनुसन्धान र कार्बाही गर्नुपर्छ,’ मुख्यमन्त्री राउतले भने, ‘चाहे त्यो जुनसुकै धर्म वा सम्प्रदायको होस् । तर, त्यही निहुँमा समाजिक सद्भाव खल्बलाउने प्रयास गर्नु राम्रो होइन । यसले कसैको हित गर्दैन ।’ मुख्यमन्त्री राउतले प्रहरीको अनुसन्धानमा सबैले सहयोग गर्नुपर्ने पनि बताए । ‘समाजमा धेरै किसिमको मानिस हुन्छन् । उनीहरुको स्वार्थ धेरै ठाउँमा जोडिएको हुन्छ,’ मुख्यमन्त्री राउतले भने, ‘कोरोना संक्रमण यदि कसैले फैलाउने कोसिस गरेको छ भन्ने त्यो जुनसुकै जाति, धर्म वा सम्प्रदायको भए पनि कानुनभन्दा माथि हुन्न । यस्तोमा धार्मिक स्थलमा रहेकाहरु आफैं अगाडी आएर सहयोग गर्नुपर्छ ।’

सम्प्रदायिक कुराले कसैको कल्याण नहुने बताउँदै मुख्मन्त्री राउतले समाजिक सद्भाव बिर्गानुजस्तो खराव काम अरु नभएको बताए । ‘दुनियाँका ताकतवर देश कोरोनाको सामुन्न निरिह बनेका छन् । यो हाम्रो लागि पनि चुनौती नै हो । हामी कहाँ पुग्दैछौं । हाम्रो अर्थतन्त्रको हविगत के हुने हो ? त्यता ध्यान नदिएर समाजिक सद्भाव खलबल पार्नु अपराध हो । त्यसैले समाजिक दूरी कायम गरेर सद्भाव पनि सबै मिलेर कायम राख्नुपर्छ,’ मुख्यमन्त्री राउतले भने ।

प्रकाशित : वैशाख ७, २०७७ १४:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?