२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१९

राहतका लागि कुहिएको दाल बेच्‍ने मेयरद्वारा वडाध्यक्षलाई दबाब

कलैया उपमहानगरपालिकाका मेयर राजेश रायले आफ्नो गोदामबाट बिक्री गरेको दाल गुणस्तरहीन भएको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले पुष्टि गरेको छ।
लक्ष्मी साह

बारा — कलैया उपमहानगरपालिकाका विभिन्न वडामा बाँडिएको दाल गुणस्तरहीन भएको पाइएको छ। प्रमुख जिल्ला अधिकारीको निर्देशनमा प्रहरीले बरामद गरेको रहरको दाल परीक्षणका लागि खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय हेडौंडामा पठाइएको थियो। कार्यालयले दाल गुणस्तरहीन भएको रिपोर्ट प्रहरीलाई बुझाएको छ। 

राहतका लागि कुहिएको दाल बेच्‍ने मेयरद्वारा वडाध्यक्षलाई दबाब

‘दाल गुणस्तरहीन छ, अब कालोबजारी अन्तर्गत मुद्दा चल्छ,’ प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले भने, ‘प्रहरीले मुद्दा अनुसन्धान गरी सरकारी वकिलमा पेस गर्छ, त्यसपछि जिल्ला प्रशासनमा आउँछ।’ मुद्दा कसलाई चलाउने भन्नेबारे प्रहरीले अनुसन्धान गर्ने विषय भएको उनले बताए।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता गौतम मिश्रले मुद्दामा कानुनअनुसार कारबाहीको माग दाबी हुने बताए। राहत वितरणका लागि खरिद गरिएको दालमा सरकारी मापदण्डसमेत नमिलेको उनको भनाइ छ।

कलैया उपमहानगरपालिका–७ मा रहेको यादव कोल्ड स्टोर र अन्य पसलबाट खरिद गरी बाँडिएको दाल चैत २९ गते प्रहरीले बरामद गरेको थियो। दालको नमुना भोलिपल्ट संकलन गरी परीक्षणका लागि पठाइएको थियो। ‘रहरको दालको लागि सरकारले तोकेअनुसारको अनिवार्य गुणस्तर पाइएको छैन,’ रिपोर्टमा भनिएको छ।

कोल्ड स्टोरबाट कुहिएको दाल बिक्री गरेको पाएपछि स्थानीय प्रशासनसहितको प्रतिनिधि र प्रहरीले कोल्ड स्टोरमा शिलबन्दी गरेका थिए। स्थानीयले कुहिएको अखाद्य दाल बाँडिएको गुनासो गरेपछि गोदाममा बाँकी रहेको ३ सय ८० बोरा (९ हजार ५ सय केजी) दाल शिलबन्दी गरिएको थियो।

यो पनि

नेपाली कांग्रेसका नेता तथा पूर्वसांसद राधेचन्द्र यादवको नाममा दर्ता रहेको यादव कोल्ड स्टोर उनका छोरा कलैया उपमहानगरपालिकाका मेयर राजेश रायले सञ्चालन गर्दै आएका छन्। तर रायले कहिले आफूले सञ्चालन गरेको त कहिले आफू जनप्रतिनिधि भएपछि भाइ रविन्द्रले सञ्चालन गर्दै आएको भन्दै बोली फैरिरहेका छन्।

लकडाउनको मौका छोपेर चार वर्षदेखि गोदाममा थन्क्याएर राखिएको उक्त दाल खपत गर्ने उद्देश्यले मेयर रायले आफ्ना नजिकका वडाध्यक्षलाई उधारोमा बिक्री गरेको पनि खुलेको छ। धनलक्ष्मी दाल मिल वीरगन्जका सञ्चालक तेजकरण शर्माले चार वर्षदेखि दाल भाडा तिरेर गोदाममा राखेका थिए। उनले भाडा नतिरेको भन्दै कोल्ड स्टोर सञ्चालक मेयर रायले दाल आफ्नो स्वामित्वको भन्दै बिक्री गरेका थिए।

उपमहानगरको विभिन्न वडामा करिब ५० क्विन्टल दाल उधारो बिक्री गरिएको थियो। बाँडिएको दाल गुणस्तरहीन भएको पाएपछि कतिपय वडाका सर्वसाधारणले स्थानीय प्रशासनलाई फिर्ता दिएका छन्।

लकडाउनमा अति विपन्न र दैनिक ज्यालादारी गरी खाने सर्वसाधारणका लागि सरकारले राहत वितरण गर्न निर्देशन दिएपछि स्थानीय तहका वडाहरुले त्यही दाल कोल्ड स्टोरबाट खरिद गरी सयौं परिवारलाई वितरण गरेका थिए।

मेयर रायले दाल राख्ने मिल सञ्चालकका प्रतिनिधि गोल्डेन सिंहमार्फत दाल वडाध्यक्षहरुले खरिद गरी राहतमा बाँडेको बताएका छन्। तर सिंह लकडाउनअघिदेखि नै भारतको सिलगुडीमा रहेको सञ्चालक शर्माले बताए।

शर्माले कोल्ड स्टारमा भाडामा भण्डारण गरिएको दाल आफ्नो भएको र त्यो दाल आफूलाई थाहै नदिई बिक्री गरेको भन्दै बिक्री गर्नेमाथि कानुनअनुसार कारबाही गर्न जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएका छन्। तर मेयर रायले शर्माका प्रतिनिधिमार्फत नै बिक्री भएको दाबी गरेका छन्। ‘मैले दाल बिक्री गरेको छैन, बिक्री गरेको भए मैले दिएको बिल हुन्थ्यो। कुनै वडाध्यक्षलाई मैले चिनेको छैन,’ उनले भने।

गोदामको बाँकी दाल प्रहरीले शिल गरेपछि मेयर रायले आफूलाई जोगाइदिन फोनमार्फत आग्रह गरेको शर्माले बताए। ‘तपाईंले बिक्री गरेको जिम्मा लिनुहोला केही हुँदैन भनेर फोनमा भने, मैले मानिनँ,' उनले भने।

यस्तै, आफू जोगिन मेयर रायले वडाध्यक्षहरुलाई मिलका सञ्चालकबाट दाल खरिद गरेको भन्न फोन गर्दै दबाब दिइरहेका छन्। तर वडाध्यक्षहरुले मेयरसितै कुरा गरेर उधारोमा खरिद गरेको बताएका छन्। ‘मेयर आफू जोगिएर वडाध्यक्षलाई दोष थुपार्न खोजेका छन्,’ एक वडाध्यक्षले कान्तिपुरसित भने।

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयको रिपोर्ट।

प्रकाशित : वैशाख ४, २०७७ १८:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

'फेक न्युज' उत्पादन गरी प्रकाशित प्रसारित गर्ने मौलाउँदो प्रबृत्ति नियन्त्रणका लागि मुख्य रुपमा के गर्नुपर्छ ?