२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२६

राहतका नाममा कुहिएको दाल, मेयरको गोदाममा शिलबन्दी

कलैया उपमहानगरपालिकाका मेयर राजेश रायले चार वर्ष पुरानो दाल बेचेको पाएपछि स्थानीय प्रशासनले अनुगमन गरी गोदाममा शिलबन्दी गरेको हो।
लक्ष्मी साह

बारा — कुहिएको दाल बिक्री गरेको पाइएपछि स्थानीय प्रशासनले कलैया उपमहानगरपालिका–७ स्थित यादव चिस्यान गोदाम (कोल्ड स्टोर) मा शनिबार शिलबन्दी गरेको छ। कांग्रेसका नेता तथा पूर्वसांसद राधेचन्द्र यादवको नाममा रहेको यो गोदाम कलैया उपमहानगरपालिकाका मेयर राजेश रायले सञ्चालन गर्दै आएका छन्। उनी यादवका छोरा हुन्। 

राहतका नाममा कुहिएको दाल, मेयरको गोदाममा शिलबन्दी

लकडाउनको मौका छोपेर चार वर्षदेखि गोदाममा थन्किएको दाल खपत गर्ने उद्देश्यले मेयर रायले आफ्ना नजिकका वडाध्यक्षलाई उधारोमा बिक्री गरी राहतमा बाँड्न लगाएको पाइएको छ। जनस्तरबाट कुहिएको दाल वितरण गरिएको गुनासो आएपछि स्थानीय प्रशासन र प्रहरीले अनुगमन गरेको थियो। अनुगमनको क्रममा कुहिएको दाल फेला परेको हो। अनुगमनपछि उक्त गोदाममा शिलबन्दी गरिएको छ।


गोदाममा बाँकी रहेको ३ सय ८० बोरा (९ हजार ५ सय केजी) रहरको दाल शिलबन्दी गरी स्थानीय प्रशासनले जाँचका लागि त्यसबाट नमुना संकलन गरेको छ। ‘नमुना संकलन गरी परिक्षणका लागि खाद्य तथा गुण नियन्त्रण कार्यालय हेटौंडामा आइतबार पठाउँछौ,’ प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले भने, ‘वडा २० (बसतपुर) बाट गोदामका २५ बोरा दाल बरामद गरिएको छ।’ एक बोरामा २५ केजी दाल प्याकिङ छ।


बरामद दाल प्रहरीको नियन्त्रणमा रहेको प्रहरी प्रवक्ता डीएसपी गौतम मिश्रले बताए। परीक्षणबाट अखाद्य प्रमाणित भएपछि खाद्य ऐनअनुसार कारबाही गरिने उनले बताए।


यसैगरी वडा नं १ मा राहत बाड्न लगिएको त्यही दालको नमुना पनि संकलन गरिएको छ। ‘लकडाउन र राहतको मौका छोपेर गोदामबाट उधारोमा बिक्री गरेको पाइएको छ,’ डीएसपी मिश्रले भने, ‘राहतमा पुरानो दाल खपत गरी सल्टाउने उद्देश्य देखिन्छ।’ दाल करिब चार वर्ष पुरानो रहेको उनले बताए।


अति विपन्न र दैनिक ज्यालादारी गरी खाने सर्वसाधारणका लागि सरकारले राहत वितरण गर्न निर्देशन दिएपछि स्थानीय तहका वडाहरुले त्यही दाल खरिद गरी राहत वितरण गरिरहेका थिए।


मेयर यादवले भने व्यापारीका प्रतिनिधिमार्फत उक्त दाल वडाध्यक्षहरुले खरिद गरी राहतमा बाँडेको बताएका छन्। ‘चार वर्षअघिदेखि व्यापारीले दाल राखेको हो,' मेयर रायले भने, ‘अहिले भने व्यापारी सम्पर्कविहीन भएकाले उनका प्रतिनिधि (मुन्सी) गोल्डेन भन्नेले बिक्री गरेका हुन्।’ उनले व्यापारीको नाम खुलाउन चाहेनन्। मुन्सी पनि बेलाबखतमा सम्पर्कविहीन रहने गरेको उनले बताए।


वडा नम्बर १ का अध्यक्ष हरिओम साह सोनारले मेयर रायबाट रहरको दाल र आलु उधारोमा खरिद गरी राहत वितरण गरिएको बताए। आफूले ६ क्विन्टल दाल र ३४ क्विन्टल आलु मेयर रायको गोदामबाट खरिद गरेको उनको भनाइ छ।

मेयर रायका अनुसार ८ क्विन्टल दाल बिक्री भइसकेको छ।


‘सिजनमा सस्तो दरमा खरिद गरी गोदाममा राखिएको आलु अहिले चर्को मूल्यमा बिक्री गरिएको पाइएको छ,’ बारा उद्योग वाणिज्य संघका अध्यक्ष विनोद साहले भने, ‘व्यापारीले छाडिसकेको खानयोग्य नभएका दाल पनि मुनाफाको लागि बिक्री गरिएको छ।’ यस्तो धन्दा गर्नेमाथि कारबाही हुनुपर्ने उनले माग गरे।

प्रकाशित : चैत्र २९, २०७६ १६:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

'फेक न्युज' उत्पादन गरी प्रकाशित प्रसारित गर्ने मौलाउँदो प्रबृत्ति नियन्त्रणका लागि मुख्य रुपमा के गर्नुपर्छ ?