२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८३

‘गरिबको कोही नहुँदो रहेछ’

सुदूरपश्चिमका विभिन्न जिल्लामा घर भएका ३१ जना कैलाली सीमामा पुगे पनि अगाडि जान पाएनन्, स्थानीय सरकारले घरी यता घरी उता पठाउँदा हैरानीका साथै दुर्व्यवहार पनि खप्नुपरेको उनीहरूको गुनासो छ

रुपन्देही, बर्दिया — सुदूरपश्चिमका विभिन्न जिल्लामा घर भएका ३१ जना सोमबार पूर्व–पश्चिम राजमार्गअन्तर्गत मानखोला नाका हुँदै बर्दिया प्रवेश गरे । नाकामा बाँसगढी नगरपालिकाले राखेको हेल्थ डेस्कमा तिनको ज्वरो नापियो । तापक्रम सामान्य देखिएपछि नगरपालिकाले टिपरबाट कर्णाली चिसापानीसम्म पुर्‍यायो तर चिसापानी पुल तरेपछि उनीहरूलाई कैलालीमा टेक्नै दिइएन । रातभरि चिसापानीमै अलपत्र परे ।

‘गरिबको कोही नहुँदो रहेछ’

मंगलबार बिहानै उनीहरूलाई बाँसगढी फिर्ता पठाइयो । बाँसगढीले फरक जिल्लाका व्यक्तिलाई राख्न नसक्ने भन्दै बाँकेको कोहलपुर पठायो । कोहलपुर नगरपालिकाले फेरि बाँसगढीको मानखोलामै फिर्ता पठायो । त्यसपछि पैदल घर जान लागेका उनीहरूलाई टिपरबाट दिउँसो चिसापानी लगियो ।

यसरी स्थानीय सरकारहरूले फुटबलझैं घरी यता र घरी उता हुर्‍याउने त्यस समूहमा कैलालीका २६, कञ्चनपुरका ३ र बझाङका २ जना छन् । उनीहरू काठमाडौं, बुटवल, पोखराबाट पैदलै बाँकेसम्म आएका हुन् । क्वारेन्टाइनमा बस्ने सर्तमा प्रवेश दिने प्रयास भइरहेको इलाका प्रहरी चिसापानीले जनाएको छ । ‘दुई दिनदेखि यताउता पठाएर हैरान बनायो,’ कैलालीका प्रेम चौधरीले टेलिफोनमा भने, ‘गरिबको कोही नहुँदो रहेछ । अपराधीजस्तो बनाए ।’

उनका अनुसार चिसापानीबाट कोहलपुर र कोहलपुरबाट चिसापानी दुईपल्ट पठाइयो । ‘अझै घर पुग्न पाएनौं,’ उनले भने, ‘हैरान भइयो ।’ अन्य जिल्लाले अवरोध नपुर्‍याए पनि आफ्नै स्थानीय सरकारले विभेद गरेको गुनासो गरे । ‘जिल्लाको सिमानामा पुग्दा स्थानीय सरकारले उद्धार गर्नुपर्ने हो,’ उनले भने, ‘बरु बर्दियाको नगरपालिकाले टिपरमा बसाएर यहाँसम्म ल्यायो ।’ समूहमा रहेका वीरबहादुर साउदले अनागरिक जस्तो व्यवहार गरेको गुनासो गरे । उद्धार गर्नुको साटो मानसिक तनाव दिएको उनले बताए । भोकभोकै हिँडेर प्रदेशको सीमा पुग्दा सरकारी दुव्र्यवहारको सामना गर्नु परेको उनको भनाइ छ ।

इलाका प्रहरी भुरीगाउँका निरीक्षक वसन्त पाण्डेले उनीहरूलाई टिपरमा राखेर चिसापानीसम्म छाडेको बताए । तर प्रवेश गर्न नदिइएपछि बाँसगढी फिर्ता पठाएको उनले बताए । ‘मंगलबार बिहान चिसापानी लगेर छोडेका छौं,’ उनले भने, ‘त्यहाँको प्रशासनले प्रवेश गर्न दिने नदिनेबारे छलफल भइरहेको सुनेको छु ।’

ठाउँठाउँमा समूह

युवा उद्यमी मञ्च चितवनका कार्यसमिति सदस्य सूर्यभक्त अधिकारीले मंगलबार बिहान ‘फेसबुक लाइभ’ गरे । उनी दोलखाबाट चार दिन चार रात पैदल आएका बर्दियाका सडक मजदुरसित कुराकानी गरिरहेका थिए । काँधमा बोरा र झोला बोकेका एक दर्जन व्यक्ति नारायणगढको पुल्चोकस्थित अशोकको बोटमुनि सुस्ताए । कुराकानीका क्रममा एक मजदुरले त्यहाँबाट बर्दिया पुग्न अझै एक साता लाग्ने बताए । मञ्चले चैत २३ गतेबाट पैदल यात्रुलाई खाना खुवाइरहेको छ । ‘प्रत्येक दिन बिहान ९ देखि राति १० बजेसम्म खुवाउँदै आएका छौं,’ अधिकारीले भने, ‘आज पनि बिहानैदेखि भीड छ ।’

उनका अनुसार १२ दिनमा विभिन्न ठाउँबाट पैदल आएका २ हजार ५ सयभन्दा बढीले खाना खाइसकेका छन् । तिनमा ८० प्रतिशत बर्दियाका छन् । मंगलबार बिहान आइपुगेका २७ जना दोलखामा सडक निर्माणको काम गर्थे । ‘हिंडेर घर जानेमा बाँके र बर्दियाका धेरै छन्,’ मञ्चका अध्यक्ष दाताराम घिमिरेले भने, ‘कतै पहुँच नभएका मान्छे हुन् । उनीहरूसँग हिंड्नलाई दुई खुट्टाबाहेक केही छैन ।’ पहुुँच हुने र भनसुन गर्न सक्नेले विभिन्न विकल्प अपनाए पनि यसरी पैदल आउनेसित केही नभएको र अधिकांश बेखर्ची रहेको उनले बताए ।

एक साताअघिसम्म यसरी हिँड्ने व्यक्तिबारे कसैले चासो दिँदैनथे । लकडाउन उल्लंघन आरोपमा स्थानीय र प्रहरीको हप्कीदप्की सहनुपथ्र्यो । राजमार्गमा मजदुर भौतारिनुपरेको सामाचार प्रकाशित हुन थालेपछि विभिन्न स्थानमा मनकारी र स्थानीय तहले खाना खुवाउन थालेका छन् । एक छाक खाना खुवाएर सामाजिक सञ्जालमा तस्बिर पोस्ट गर्ने बढेका छन् । केही व्यक्तिले गाडी व्यवस्था गरेर घरसम्म पुर्‍याउन थालेका छन् तर धेरै ठाउँमा अलपत्र परेको र दु:ख पाएको जानकारीपछि मात्रै यस्तो व्यवस्थापन गरिन्छ ।

बर्दियाको बढैयाताल गाउँपालिकाका गोपी चौधरी र उनका २१ जना साथी सिन्धुलीमा सडक निर्माणको काम गर्थे । लकडाउनका कारण निर्माण रोकियो । लकडाउन खुल्ने र काम सुरु हुने आशामा दुई साता कुरे । तेस्रोपटक लकडाउन थपिएपछि उनीहरू बिचल्लीमा परे । ‘खाने खर्च थिएन । सघाउने कोही भएन,’ मंगलबार मध्याह्न बुटवल आइपुगेका गोपीले भने, ‘यिनै खुट्टाको भर लाग्यो । हिँड्यौं ।’ भोकै बस्नुभन्दा हिँडेर घर पुग्नु उचित ठानेर आएको उनले बताए । उनका अनुसार शुक्रबार साँझ उनीहरूले सिन्धुली छाडेका थिए ।

थापबजारबाट साँझ हिँडेका उनीहरू जंगलको बाटो आराम गर्दै आएको गोपीले बताए । रातदिन हिँडेर आइतबार साँझ हेटौंडा आइपुगेपछि एक क्लबले खाना खुवाएको उनले बताए । त्यहाँबाट हिँडेका उनीहरूले सोमबार साँझ चितवनको सिमाना छोएका थिए । मध्यरात चितवनको भण्डारामा प्रतीक्षालयमा सुतिरहेका बेला एक व्यक्तिले आफूसमेत तीन जनामाथि हातपात गरेको गोपीले बताए । भण्डाराबाट सात किलोमिटर पश्चिम आएपछि एउटा जिप भेटियो । जिपले नौ सय रुपैयाँमा मंगलबार मध्याह्न बुटवलसम्म ल्याएको हो । मध्याह्न बुटवलको फूलबारीमा खाना खाएर उनीहरू गन्तव्यमा लम्किएका थिए ।

बुटवलबाट कैलाली जान हिँडेका मजदुर सैनामैनाबाट गाडी चढ्दै । तस्बिर : कान्तिपुर

पश्चिम नवलपरासीको सुनवलस्थित इमर्जेन्स रेस्पोन्स टिमका अनुसार मंगलबार दिउँसो पूर्व–पश्चिममा तीन समूह पैदल गन्तव्यमा गइरहेका फेला परेका थिए । तीनमध्ये एउटा २२ जनाको समूह मंगलबार साँझसम्म बुटवलमा रोकिएको छ । अर्को समूहमा ३५ जना छन् । ती अपराह्न बुटवल पुगेको रेस्पोन्स टिमका संयोजक कृष्ण पाण्डेले बताए । ‘उनीहरू भक्तपुरबाट हिँड्दै आएका हुन्,’ उनले भने, ‘बर्दिया र कैलाली जाने ३१ जनाको अर्को समूह हिँडिसकेको छ ।’

अहिले चितवनदेखि बर्दियासम्म पूर्वपश्चिम राजमार्गका विभिन्न ठाउँमा यस्ता समूह हिँडिरहेका देखिन्छन् । बर्दियामा काठमाडौं, पोखरा, इलाम, सिन्धुलीलगायत जिल्लाबाट दैनिक सयौं व्यक्ति पैदल र विभिन्न साधन जोहो गरेर फर्किरहेका छन् ।

त्यस्तै जिल्ला हुँदै सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा गइरहेका छन् । मंगलबार पूर्व–पश्चिम राजमार्गअन्तर्गत बाँसगढी नाका भएर कैलालीका २८, कञ्चनपुरका ३५ र बझाङका ३ जना गरी ४६ जना पैदल आए । उक्त नाका हुँदै बढैयाताल गाउँपालिकाका २०, बारबर्दियाका १३, ठाकुरबाबाका २६, मधुवनका २२, बाँसगढीका ६ र गुलरिया नगरपालिकाका ९ जना घर फर्किएको इलाका प्रहरी बाँसगढीका निरीक्षक इन्द्रजित सुनारले बताए ।

नेपालगन्ज–गुलरिया सडक खण्डअन्तर्गत बढैयाताल गाउँपालिकाको मानखोला नाका हुँदै लकडाउनयता सोमबारसम्म २ हजार ८ सय ३१ जना फर्किएको इलाका प्रहरी मैनापोखरका प्रमुख प्रहरी निरीक्षक हिम खत्रीले बताए ।

जसोतसो घर

घर छोडेर कामको खोजीमा बुटवल आएको सात महिना भयो । काममै रमाइरहेका थिए । अहिले कोभिड–१९ को जोखिमका कारण मुलुकमा लकडाउन भएपछि बर्दियाको बढैयाताल–९ का शिव चौधरीको मन आत्तियो । घर निर्माणको काम गर्ने उनीसहित २७ जना एकै ठाउँका थिए । सहरका भित्री क्षेत्रमा काम गर्थे । ‘काम सुरु होला भनेर केही दिन बस्यौं,’ उनले भने, ‘बन्द थपिँदै गएपछि घरको याद आयो ।’ शिवकी श्रीमती छैनन् । घरमा तीन छोरी र एक छोरा मात्र छन् । श्रीमतीले छाडेर गएको चार वर्ष भयो । ठूली छोरी १५ वर्षकी छन् ।

‘बन्द लम्बिएपछि छोराछोरीलाई कहिले भेटुँजस्तो भयो,’ उनले भने । काम रोकिएपछि ठेकेदारले खानेकुरा ल्याइदिन्थे । बन्द लामो भएपछि ठेकेदारले सहयोग गर्न छाडे । यहाँस्थित बुद्धनगरमा काम गरिरहेका उनीहरूलाई ठेकेदारले अतिकति खर्च दिए । शिवको भागमा २ हजार ५ सय रुपैयाँ पर्‍यो । घर पुग्न पाए, त्यति पैसाले भए पनि रासनपानी किनेर छोराछोरीलाई खुवाउने लहर मनमा चल्न थाल्यो ।

घरबाट छोराछोरीले खानेकुरा सकिन थालेको खबर सुनाएका थिए । ‘लकडाउन सुरु भएको केही दिन काम गरेका थियौं,’ शिवले भने, ‘त्यसपछि काम पनि रोकियो अनि कोठामै बस्यौं । धेरै दिन भएपछि घर जाने सल्लाह गर्‍यौं ।’ ठेकेदारसित गाडीको व्यवस्था गरिदिन अनुरोध गरे तर गाडीको पास पाइएन । त्यसपछि पैदल घर पुग्ने निधो भयो । शिवसमेत ५० जनाले एकै ठाउँमा काम गर्थे । उनीहरूले शुक्रबार मध्याह्न डेरा छाडे । ठेकेदारले चाउचाउ, बिस्कुट, पानी दिए । त्यही खाजाको सहारामा चार दिनमा घर पुग्ने आशले बाटो तताएको शिवले बताए । ठूलो समूह थियो । सँगै हिँड्न डर लाग्यो । त्यसपछि एक/दुई गरेर बाँडिए ।

शुक्रबार दिउँसो तीन बजे रूपन्देहीकै सैनामैना नगरपालिको प्रहरी बिटअगाडि पुगेका थिए । त्यहाँ नगरपालिका प्रमुख चित्रबहादुर कार्कीले फेला पारे । प्रमुखले सोधपुछ गरे । उनीहरूले पीडा व्यक्त गरे । त्यसपछि कार्कीले क्वारेन्टाइनमा बस्न अनुरोध गरे । ‘क्वारेन्टाइनमा बसेकालाई बस, गाडीको व्यवस्था गरेर पठाउँछु भन्नुभयो,’ शिवले भने, ‘त्यहाँ ज्वरो नाप्दा सामान्य रिपोर्ट आयो । गाडी मिल्ने भएपछि ढुक्कले बस्यौं ।’

उनीहरूलाई स्थानीय प्राकृतिक चिकित्सालयमा राखिएको थियो । शिवका अनुसार खाना र बिस्तराको राम्रो व्यवस्था थियो । शनिबार बिदा भएकाले गाडीको पास बनेन । आइतबार डिलक्स बस रिजर्व गरेर उनीहरूलाई पठाइयो । समूहमा एक जना मात्र बर्दियाका थिए । बाँकी कैलालीका थिए । प्रदेश ५ सिमाना कटेपछि उनीहरूलाई धनगढीमा रोकियो । यहाँबाट बसमा एक सुरक्षाकर्मीसमेत पठाइएको थियो । धनगढीमा ज्वरो जाँच गरी आइतबार स्थानीय क्वारेन्टाइनमा बसालियो । त्यसपछि उनी सम्बन्धित गाउँपालिका र नगरपालिकामा समन्वय गरेर उद्धारका लागि भनियो । फोन गरेर उनीहरूलाई लिन टिपर आयो । कतिबेला गाडी आउला र जान पाइएला भनेर पर्खिरहेका उनीहरू सोमबार नयाँ वर्षमा घर पुग्न पाए रमाइलो हुने सोचमा थिए ।

आइतबार साँझ ७ बजे गाडी आयो । बर्दियामै बसबाट ओर्लेका शिव राति १२ बजेतिर घर पुगे । टीकापुर–४ का मीना र उनका श्रीमान् सञ्जय चौधरी सोमबार राति घर पुगेका थिए । मीना दम्पती विगत नौ वर्षदेखि विभिन्न स्थानमा गएर मजदुरी गर्छन् । २२ वर्षीय जेठा छोराले परिवारको हेरचाह गरेपछि आफूहरूलाई कमाउन सहज भएको मीनाले सुनाइन् । गत माघमा उनीहरू बुटवल आएका थिए । ‘कोरोना र लकडाउनबारे धेरै थाहा छैन,’ मीनाले भनिन्, ‘डरलाग्दो रोग भन्छन्, भीडमा बस्नु हुन्न रे, धेरै दिन नै बन्द हुन्छ रे भनेपछि मनमा खुलदुली भयो । छोराछोरी सम्झेर हिँडेर जाम भनेर आयौं ।’

प्रकाशित : वैशाख ३, २०७७ ०६:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत पाएको भन्दै प्रदेश सभामा सभामुखले गरेको घोषणाबारे तपाईंको के राय छ ?