कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टमा बस्ने एकै परिवारका तीनजनामा कोरोना संक्रमणको आशंका, पाटन अस्पताल भर्ना

चिकित्सक भन्छन्, ‘आरडीटी किटबाट गरिएको परीक्षणमा पोजिटिभ रिपोर्ट आयो भन्दैमा आत्तिहाल्नु पर्दैन, आरडीटी पोजिटिभ आयो र पीसीआरमा पनि पोजिटिभ आयो भनेचाहिँ संक्रमण अझै बाँकी छ भन्ने हो ।’

काठमाडौँ — र्‍यापिड डायग्नोस्टिक टेस्ट (आरडीटी) किटबाट कोभिड–१९ परीक्षण गर्दा पोजिटिभ रिपोर्ट आएपछि काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–९ स्थित सनसिटी अपार्टमेन्टमा बस्दै आएका एकै परिवारका ३ जनालाई पाटन अस्पतालको आइसोलेसन वार्डमा भर्ना गरिएको छ ।

पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टमा बस्ने एकै परिवारका तीनजनामा कोरोना संक्रमणको आशंका, पाटन अस्पताल भर्ना

अस्पताल भर्ना गरिनेमा ८१ वर्षीया आमा तथा ५० वर्ष आसपासका छोरा र बुहारी छन् । उनीहरू सनसिटी अपार्टमेन्टको ब्लक ‘ए’ को १५ औं तलामा बस्दै आएका थिए ।

कागेश्वरी मनोहरा नगरपालिकाले सोमबार मूलपानीस्थित नगर अस्पतालमा विदेशबाट आएका ३६ जनाको परीक्षण गर्दा उनीहरूको रिपोर्ट पोजिटिभ आएको हो । नगरप्रमुख कृष्णहरि थापाका अनुसार चैत ४ गते राति १ बजे बेलायतबाट दोहा हुँदै काठमाडौं आएर क्वारेन्टाइनमा बसेका तीन जनाको आरडीटी किटबाट गरिएको परीक्षणको नतिजा पोजिटिभ आएको हो । ‘उनीहरूको रिपोर्ट पोजिटिभ आएपछि थ्रोट स्वाब निकालेर पीसीआर परीक्षण गर्न पाटन अस्पताल पठाइएको छ,’ उनले भने ।

पाटन अस्पतालका निर्देशक विष्णुप्रसाद शर्माका अनुसार तीनै जनालाई आइसोलेसन वार्डमा भर्ना गरेर थ्रोट स्वाब थप परीक्षण गर्नका लागि टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाइएको छ । भर्ना गरिएका तीनै जनाको स्वास्थ्य सामान्य छ, संक्रमणको कुनै लक्षण देखिएको छैन ।

सुरक्षा उच्च स्रोतका अनुसार उनीहरू चैत ४ मा कतार एयरलाइन्सको फ्लाइट नम्बर क्यूआर ६४४ बाट काठमाडौं अवतरण गरेका थिए । त्यही बिल्डिङमा बस्ने एक व्यक्तिका अनुसार उनीहरू तीन साता बेलायत बसेर फर्किएका हुन् । ती व्यक्तिका अनुसार बेलायतबाट फर्किएपछि सो परिवारका सदस्यलाई केही समयसम्म बाहिर हिँडडुल गरेको देखिएको थिएन । ‘हामीले उहाँहरूको परिवारलाई त देखेनौं तर अपार्टमेन्टको रेखदेख गर्न बसेका दुई जना केटाहरू भने पसल आउने–जाने गर्थे,’ उनले भने, ‘उहाँहरूले कुकुर पनि पाल्नुभएको थियो । त्यो कुकुर डुलाउन पनि ती केटाहरूले नै लैजाने गर्थे ।’

पछिल्लो समय भने उक्त परिवारका सदस्यहरू आफैं पसल आउजाउ गर्ने गरेका थिए । ‘क्वारेन्टाइनको अवधि सकियो भनेर बाहिर निस्कन थाल्नुभएको थियो,’ उनले भने, ‘खै, अब देखियो भन्छन् । के हो कुरा ?’

आरडीटी परीक्षण पोजिटिभ देखिएसँगै प्रहरीले उक्त अपार्टमेन्टमा रहेका भवनहरूलाई सिल गरेको छ । त्यहाँ कुल ५ सय परिवारका १ हजार ७ सय ५० सदस्य रहेको जानकारी प्रहरी स्रोतले उपलब्ध गराएको छ । स्रोतका अनुसार हाल तीन जनाको पीसीआर परीक्षण रिपोर्ट नआएसम्मका लागि भनेर भवनहरूलाई सिल गरिएको हो । ‘अहिलेलाई २४ घण्टाका लागि सिल गरेका हौं,’ स्रोतले भन्यो, ‘भोलि उहाँहरूको पीसीआर रिपोर्ट के आउँछ अनि थप के गर्ने भन्ने निर्णय हुन्छ ।’

कोरोना भाइरसका बिरामीहरूको उपचारबारे जानकारी राख्ने एक सरकारी अस्पतालका चिकित्सकका अनुसार आरडीटी किटबाट गरिएको परीक्षणमा पोजिटिभ रिपोर्ट आयो भन्दैमा आत्तिहाल्नु भने पर्दैन । ‘आरडीटी पोजिटिभ आयो र पीसीआरमा पनि पोजिटिभ आयो भनेचाहिँ संक्रमण अझै बाँकी छ भन्ने हो,’ उनले भने, ‘पीसीआरमा निगेटिभ आयो भने संक्रमण भएर पनि निको भइसकेको पनि हुन सक्छ अथवा अन्य कुनै कारणले पोजिटिभ रिपोर्ट देखाएको पनि हुन सक्छ ।’ उनका अनुसार आरडीटीले ‘इम्युनोग्लोब्युलिन–एम’ (आईजीएम) वा ‘इम्युनोग्लोब्युलिन–जी’ (आईजीजी) रगतमा भए/नभएको हेर्ने गर्छ । हाल नेपालमा प्रयोगमा ल्याइएको आरडीटी किटले आईजीएम र आईजीजी दुवैमा उस्तै प्रतिक्रिया देखाउँछ र पोजिटिभ रिपोर्ट दिन्छ ।

रगतमा आईजीएम शरीरमा संक्रमण भएको थोरैमा पनि तीन दिनपछि मात्रै उत्पादन सुरु हुन्छ भने संक्रमण भएको केही सातापछि (थोरैमा पनि दुई साता) आईजीएमको स्थानमा शरीरले आईजीजी बनाउन थाल्छ । सामान्य रूपमा बुझ्दा शरीरमा आईजीएम देखिनु भनेको संक्रमणको सुरुवाती अवस्था हो भने आईजीजी देखिएमा संक्रमण भएर पनि त्यसविरुद्ध शरीरमा प्रतिरोधी क्षमता विकास भएको भन्ने बुझिन्छ । शरीरमा विभिन्न प्रकारका भाइरसविरुद्ध लड्नका लागि पहिले नै धेरै प्रकारका आईजीजी पनि हुने भएको हुँदा आरडीटी किटमा रहेको रसायनले त्यसमा प्रतिक्रिया देखाउने सम्भवना पनि रहन्छ ।

यस्तै अन्य विभिन्न प्राविधिक कारणले गर्दा पनि किटले दिने नतिजा तलमाथि हुने हुँदा विश्व स्वास्थ्य संगठनले यसलाई संक्रमण भए/नभएको निक्र्योल गर्ने अन्तिम विधिका रूपमा आत्मसात् गरेको छैन । यस्तै विश्वभर पनि किटबाट हुने परीक्षणको नतिजालाई लिएर यसको आलोचना भइरहेको छ ।

प्रकाशित : वैशाख १, २०७७ १८:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?