कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २८२

२५ सय मिटर उचाइमा भेटियो पाटे बाघ

स्वचालित क्यामेरामा कैद भएको बाघ रैथाने हो वा अन्यत्रबाट आहाराको खोजीमा आएको भन्नेबारे विस्तृत अध्ययन हुन बाँकी छ । यसअघि नेपालमा ८ सय मिटर उचाइसम्म मात्र बाघ पाइएको थियो ।

काठमाडौँ, डडेलधुरा — यसअघि कम उचाइमा देखिएको पाटेबाघ २ हजार ५ सय मिटर उचाइमा भेटिएको छ । डडेलधुराको महाभारत वन क्षेत्रको भागेश्वर जैविकमार्गमा पहिलो पटक पाटेबाघ स्वचालित क्यामेरामा कैद भएको डिभिजनल वन अधिकृत विष्णुप्रसाद आचार्यले जानकारी दिए ।

२५ सय मिटर उचाइमा भेटियो पाटे बाघ

यसअघिका अनुसन्धानमा नेपालमा ८ सय मिटर उचाइसम्म मात्र बाघ पाइएको थियो । भुटानमा ४ हजार २ सय र भारतको उत्तराखण्डस्थित धार्चुला क्षेत्रमा २ हजार ९ सय मिटर उचाइसम्म बाघ पाइएको छ । स्वचालित क्यामेरामा कैद भएको बाघ रैथाने हो वा अन्यत्रबाट आहाराको खोजीमा आएको हो भन्नेबारे विस्तृत अध्ययन हुन बाँकी रहेको डिभिजनल वन अधिकृत आचार्यले बताए । उक्त बाघ भाले हो वा पोथी भन्नेसमेत पत्ता लागिसकेको छैन ।

निकुञ्ज विभागका महानिर्देशक गोपालप्रकाश भट्टराईले डडेलधुरामा भर्खरै क्याप्चर भएको बाघ विगतमा गणना गर्दा क्याप्चर भएकोमध्येकै हो वा नयाँ हो भन्ने यकिन गर्न तस्बिर भिडाएर हेर्नुपर्ने बताए । उनले कान्तिपुरसँग भने, ‘क्याप्चर भएका सबै तस्बिर दुई वर्षअघि गरिएको गणनामा परेका बाघका तस्बिरसँग भिडाएर हेर्छौं ।’

तराई भूपरिधि कार्यक्रम र विश्व वन्यजन्तु कोषको आर्थिक तथा प्राविधिक सहयोगमा डिभिजन वन कार्यालय डडेलधुराले गत फागुन २३ देखि चैत २४ गतेसम्म महाभारत वन क्षेत्रमा बाघ भए/नभएको यकिन गर्न ३२ जोडी स्वचालित क्यामेरा जडान गरेको थियो । तिनैमध्ये महाभारत वन क्षेत्रको महाकाली नदीको पूर्वी भाग र डडेलधुरा बजारको पश्चिम भागको भागेश्वर जैविकमार्ग क्षेत्रमा पाटेबाघको मुख र टाउकोसहितको तस्बिर ट्रयाप भएको हो ।

बाघ अनुसन्धानमा काम गरेका जैविक विविधता संरक्षण केन्द्र सौराहाका विज्ञ बाबुराम लामिछानेले उक्त बाघ तल्लोतटीय क्षेत्र शुक्लाफाँटा निकुञ्जबाटै गएको हुन सक्ने बताए । बाघले लामो यात्रा गर्छ भन्ने करिब दुई महिनाअघि भारतमै पुष्टि भइसकेको छ । भारतको तेलांगना राज्यको आदिलाबादमा रहेको टिपेश्वर वनको एउटा बाघ पोथी (प्रेमिका) को खोजीमा दुई हजार किलोमिटर यात्रा गरेर महाराष्ट्र राज्यको ज्ञानगंगा जंगलसम्म पुगेको तथ्य सार्वजनिक भएको थियो । घाँटीमा झुन्ड्याइएको स्याटेलाइट रेडियो कलरको संकेतबाट उक्त बाघले नहर, खेत, जंगल र सडक हुँदै त्यो दूरी पार गरेको पत्ता लागेको हो ।

चितवन निकुञ्जमा गरिएको अध्ययनअनुसार एउटा पोथी बाघका लागि १५ देखि ४० र भालेका लागि २५ देखि ६० वर्गकिलोमिटर क्षेत्रफल बासस्थान आवश्यक पर्छ । ठूलो आकारका आहार प्रजातिको उपलब्धता भएमा बाघले जस्तोसुकै उकालो र ओरालो गर्नसक्ने लामिछाने बताउँछन् । ‘बाघका लागि उचाइ खासै ठूलो कुरा होइन,’ चितवनबाट उनले भने, ‘मुख्य विषय आहार कति छ र बासस्थान सुरक्षित छ/छैन भन्ने हो, आहारा राम्रो पाए मध्यपहाड र तल्लो हिमाली क्षेत्रसम्मै रमाउन सक्छ ।’

डब्लूडब्लूएफ नेपालका बाघविज्ञ कञ्चन थापा पनि लामिछानेसँग सहमत छन् । ‘राम्रो बासस्थान, आहार प्रजातिको उपलब्धता र कोलाहल नहुने हो भने नेपालमा तल्लो क्षेत्रमा रहेका बाघ उच्च भागसम्मै जान सक्छन्,’ उनले भने । निकुञ्ज विभागले विशेषज्ञमार्फत दुई वर्ष लगाएर चितवन र पर्सा निकुञ्जमा हालै गरेको अध्ययनले बाघका ठूला आहार प्रजातिको घनत्व घटेको देखाएको छ । अध्ययनअनुसार गौरीगाई, निलगाई, जरायो, अर्नाजस्ता ठूला आहार प्रजातिभन्दा लगुना मृग, रतुवा, जंगली बँदेल, चित्तलजस्ता साना आहारको घनत्व बढी छ । यस्तो अवस्थामा बाघले राम्रो आहार प्रजातिको खोजीमा धेरै टाढासम्म यात्रा तय गर्छ ।

डडेलधुराको महाभारत क्षेत्रमा राखिएको स्वचालित क्यामेरामा पाटेबाघसँगै रेड फक्स, चितुवा, घोरल, लार्ज इन्डियन सिभेट, लियोपार्ड क्याट, दुम्सी, मृग प्रजाति र चरासमेत कैद भएका छन् । यसले महाभारत क्षेत्रमा वन्यजन्तुको उपलब्धता पुष्टि गरेको छ । अहिले मध्यपहाडी क्षेत्रका विभिन्न भेगमा राम्रो बासस्थान, आहार प्रजातिको उपलब्धता र कोलाहल कम हुन थालेपछि पाटेबाघ उचाइतिर जान थालेको विज्ञहरूको विश्लेषण छ । उनीहरुका अनुसार जलवायु परिवर्तनका कारण मृग प्रजाति र बँदेल उच्च भागतिर सर्दै गएकाले बाघ पनि माथिमाथि उक्लन थालेको हो ।

केही समयअघि उद्धार गरेर बर्दिया निकुञ्जको तल्लो भागमा छोडिएको एउटा बाघ सुर्खेतसम्म उक्लेको थियो । त्यसले पनि आहार प्रजाति खोज्दै बाघ माथि उक्लिएको पुष्टि हुन्छ । सर्वेक्षणअनुसार नेपाल र भारतमा धेरैजसो बाघ तल्लो तटीय क्षेत्रको एक सयदेखि दुई सय मिटर उचाइमा छन् । दुई वर्षअघिको अध्ययनअनुसार नेपालमा २ सय ३५ वटा बाघ छन् । नेपालमा पर्सा, चितवन, बर्दिया, बाँके र शुक्लाफाँटा निकुञ्जमा बाघ छन् ।

भारतमा २ हजार ९ सय ६७ वटा बाघ छन् । दुई वर्षअघिको सर्वेक्षणमा नेपालका १२ जिल्ला बारा, पर्सा, मकवानपुर, चितवन, नवलपरासी, दाङ, बाँके, सल्यान, बर्दिया, सुर्खेत, कैलाली र कञ्चनपुरमा बाघ भेटिएका थिए ।

विश्वका १३ देशमा बाघ पाइन्छ । सन् २०२२ सम्म पाटेबाघको संख्या विश्वमै दोब्बर पार्ने सन् २०१० को घोषणाअनुसार अहिले सबै देश बाघको बढोत्तरीमा केन्द्रित छन् । नेपाल करिब लक्ष्यको नजिक छ । प्रतिबद्धताअनुसार नेपालले सन् २०२२ सम्म प्राकृतिक बासस्थानमा बाघको संख्या २ सय ५० पुर्‍याउनुपर्ने हुन्छ । बाघको संख्या बढाउन सरकारले बाँके निकुञ्ज थप गरेको थियो भने बाघको बासस्थान रहेको पर्सा निकुञ्जसमेत बिस्तार गरी संरक्षण अभियान चलाइएको छ ।

सम्बन्धित समाचार

प्रकाशित : वैशाख १, २०७७ १२:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिविको १८ रोपनी जग्गा भाडामा लगाएर प्राध्यापक र कर्मचारीले रकम असुल्दै आएकोबारे तपाईंको राय के छ ?