कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

आइसोलेसनको बसाइ जेलजस्तो

‘धेरै मानिसहरू त हेर्न नै आए । को मान्छे रहेछ, कस्तो रहेछ भनेर हेर्न थाले,’ उनले भने, ‘यसले साह्रै मानसिक तनाव भयो । अस्पतालका स्वास्थ्यकर्मीहरू पनि उपचार गर्न डराइरहेका थिए ।’

(दाङ), (बागलुङ) र सुनसरी — लकडाउनकै क्रममा घोराही–४ तारकेनीका एक २२ वर्षीय युवक भारतबाट घर फर्किए । नेपाल–भारत सीमा क्षेत्रको गौरीफन्टा नाकाबाट स्वदेश छिर्न नपाएपछि उनीलगायत धेरै जना अलपत्र परे । सबैले रोइकराइ गरे, नाराबाजी गरे । अन्त्यमा लामो प्रयासपछि मात्र उनी घर फर्किन पाए । उनीसँगै आएका कैलालीका एक युवालाई कोरोना संक्रमणको पुष्टि भएपछि उनको खोजी भयो । उनीलगायत सँगै आएका तारकेनी गाउँकै पाँच युवाहरू एकसाथ बेलझुन्डीस्थित कोरोना विशेष अस्पतालको आइसोलेसन कक्षमा राखिए ।

आइसोलेसनको बसाइ जेलजस्तो

संक्रमित युवासँगै गौरीफन्टा नाकाबाट आएको भनेपछि सबैले उनीहरूलाई हेर्ने दृष्टिकोण नकारात्मक भइहाल्यो । गाउँघरमा उनको परिवारलाई समेत समस्या पर्‍यो । अस्पतालको आइसोलेसन कक्षमा छुट्टै कोठाको व्यवस्था छैन । एउटै हलमा सबै जना छुट्टाछुट्टै शय्यामा बस्नुपरेको छ । ‘खानेपानीको जार एउटै छ । सबैले त्यही प्रयोग गर्ने हो,’ उनले भने, ‘सबैले एउटै भाँडा प्रयोग गर्नु आफंैमा जोखिमपूर्ण छ । अरू केही व्यवस्था गरिएको छैन ।’ उनीसँगै आएका २९ वर्षीय युवाको अवस्था पनि उस्तै छ । आइसोलेसनको बसाइ र व्यवहार कैदीको जस्तै छ । नजिक कोही आउन चाहँदैनन् । खानेकुरा टाढैबाट छोडेर जान्छन् । बोलीचाली, कुराकानी केही पनि हुँदैन । ‘हामीसँग बोल्दा पनि मानिसहरू झर्किन्छन् । राम्रो व्यवहार हुँदैन,’ उनले भने, ‘खानेकुरा पनि त्यत्तिकै छोडेर जान्छन् । समय बिताउने कुनै उपाय छैन ।’


दाङकै राजपुर–६ का २६ वर्षीय युवा पनि भारतबाट आए । उनलाई पनि कोरोना विशेष अस्पताल बेलझुन्डीको आइसोलेसन कक्षमा राखियो । उनले पनि निकै अपमान महसुस गरे । सबैले संक्रमित जस्तो व्यवहार गर्ने, कोहीसँग भेटघाट, कुराकानी गर्न पनि नमिल्ने । ‘साह्रै कठिनाइका साथ दिन बितिरहेका छन्,’ उनले भने, ‘आफैंलाई पनि कतिबेला के हुने हो भन्ने डर लागिरहन्छ ।’ विदेशबाट आएका तुलसीपुरका एक युवाले पनि बेलझुन्डीको आइसोलेसनमा त्यस्तै कठिन अनुभव गरेका छन् । ‘राम्रो सुविधा भएन भन्दा मामाघर आएको हो र भनेर गाली गर्छन्,’ उनले भने, ‘सुरक्षाकर्मीहरू पनि नराम्रो व्यवहार गर्छन् । हामीलाई मानवीय व्यवहार नै हुँदैन ।’ संक्रमित नहुँदै विभेद र दुव्र्यवहार हुने गरेको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेसनमा बसेका एक युवाले बताए । ‘धेरै मानिसहरू त हेर्न नै आए । को मान्छे रहेछ, कस्तो रहेछ भनेर हेर्न थाले,’ उनले भने, ‘यसले साह्रै मानसिक तनाव भयो । स्वास्थ्यकर्मीहरू पनि डराइरहेका थिए ।’


अहिलेसम्म जिल्लामा ४० जनालाई आइसोलेसनमा राखेर स्वाब परीक्षण गरिएकामा सबैको रिपोर्ट नेगेटिभ छ । बेलझुन्डी अस्पतालमा ३५ र घोराहीस्थित प्रतिष्ठानमा पाँचलाई आइसोलेसनमा राखेर परीक्षण गरिएको थियो । मध्ये अहिले प्रतिष्ठानका सबै बिरामी घर फर्किसकेका छन् । बेलझुन्डी अस्पतालमा १३ जना बसिरहेको र उनीहरूको पनि रिपोर्ट नेगेटिभ आएपछि सम्बन्धित स्थानीय तहको क्वारेन्टाइनमा पठाउन थालेको उपचारको नेतृत्व गरिरहेका डा. सर्वेश शर्माले बताए । ‘रिपोर्ट नेगेटिभ आए पनि स्थानीय तहमा गएर पूरै २१ दिन क्वारेन्टाइनमा बस्नैपर्छ । त्यसपछि घरमा गएर पनि छुट्टै बस्नुपर्छ,’ उनले भने, ‘सबैले आफू र अरूको सुरक्षामा ध्यान दिनैपर्छ ।’ कोरोना अस्पताल एक्कासि सञ्चालन गर्नुपरेकाले सबै सुविधा उपलब्ध नभएको डा. शर्माले बताए । ‘दुई दिनमा अस्पताल सञ्चालन गरेको हो । सबै सुविधा उपलब्ध छैन । बिरामीले अप्ठेरो सहनुपर्ने अवस्था छ,’ उनले भने, ‘सबैका लागि छुट्टाछुट्टै कोठा र अन्य आवश्यक सामग्री व्यवस्था गर्न सकिएको छैन । व्यक्तिगत सरसफाइका सामग्री बिरामी आफैंले व्यवस्था गर्नुपर्छ ।’


अहिलेसम्म जिल्लामा ३ हजार ६ सय ३७ जना विदेशबाट आएका छन् तर तीमध्ये ४८ जना मात्रै आइसोलेसन तथा क्वारेन्टाइनमा बसेका छन् । अन्य सबै होम क्वारेन्टाइनमा बसेको प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले बताए । जिल्लाका विभिन्न ठाउँमा ३ सय ४२ शय्याका क्वारेन्टाइन स्थापना भएको रिजालले बताए । यसैगरी विभिन्न अस्पतालमा आइसोलेसनका लागि १ सय ६६ शय्या रहेको र अहिले १३ जनाको आइसोलेसनमा राखेर उपचार गरिरहेको उनले बताए ।


क्‍वारेन्टाइनमा अपराधीलाई जस्तो व्यवहार

कतारबाट उनी चैत ४ मा काठमाडौं ओर्लेका थिए । कोरोना भाइरसले विदेशमा जोखिम बढेपछि घर फिरे । बागलुङको ढोरपाटन–५ का २९ वर्षीय अजय विक परिवारसँग खुसी मनाउने योजनामा थिए । भोलिपल्ट वडा ८ को बोबाङका साथीसँग बस चढेर बुर्तीबाङ पुगे । बजारदेखि दुई घण्टाको उकालो चढेपछि गाउँ पुगिन्छ ।


लामो यात्रा र दुई वर्षसम्म कतारमा बसेर फर्केकाले हावापानी फेरियो । घरमा आएको तेस्रो दिनमा हल्का ज्वरो र रुघाखोकी लाग्यो । तातोपानी खाए । सामान्य भयो । सरकारले चैत १० मा कोरोना भाइरसको संक्रमण बढेको भन्दै लकडाउन घोषणा गर्‍यो । त्यसअघि काठमाडौंमा एक युवतीमा कोरोना भाइरस देखिएको सार्वजनिक भयो । उनी कतारबाट नेपाल आएकी थिइन् । उक्त जहाजमा आएकाको नाम सार्वजनिक भयो ।


त्यसमा बागलुङका चार जनाको नाम थियो । तीमध्ये दुई जना सदरमुकामकै थिए । एक युवती र एक वृद्धामा कोरोना भाइरस पोजेटिभ भएको पुष्टि भयो । त्यसपछि विक पनि संक्रमित हुन सक्ने भन्दै हल्ला फैलियो । काठमाडांैदेखि बुर्तीबाङ हुँदै घर पुग्दा कतिलाई भेटेको, घरपरिवार र छिमेकी कसलाई छोएको थियो भन्नेसमेत हिसाबकिताब राख्न थालियो ।


विकलाई तीन दिनजति रुघाले सतायो । तातोपानी खाएपछि ठीक भयो । तर संक्रमणको हल्लाले प्रशासन, प्रहरी, स्वास्थ्यकर्मी र अन्य धेरै जना उनको घरमा पुगे । उनलाई १० मिटर परबाट बोलाए । छुट्टै बस्न भने । विक १४ दिनसम्म गोठमा बसे । उनी बसेको गोठलाई ‘होम क्वारेन्टाइन’ भनियो । गोठमा घरपरिवारले खाना लगेर दिए पनि लसपस गरेनन् । कोही पनि उनको नजिक परेनन् । लगेको मास्क र सेनिटाइजर पनि परैबाट फालेर दिए ।


सानैदेखि उनले छुवाछूतको समस्या भोगेका थिए । पछिल्लो समय बिस्तारै कम भएको थियो । तर संक्रमणको डरले छिमेकीले गरेको व्यवहारले फेरि उनलाई पुराना दिनको सम्झना दिलायो । ‘पहिला नछोइने भन्थे, अहिले त नजिकमा आउन, मुखामुख गरेर बोल्न चाहेनन्,’ विकले भने, ‘कोरोना भाइरस संक्रमण भए पनि माया ममता देखाउन सकिन्थ्यो, त्यस्तो व्यवहार भएन ।’ उनले कुनै अपराधीझैं व्यवहार सहेको गुनासो गरे ।


आएका स्वास्थ्यकर्मीले पनि औषधि खान सल्लाह पनि दिएनन् । बरु १४ दिनसम्म छुट्टै बस्न मात्र भने । एक्लै बस्न थालेको साता दिनसम्म स्वाब परीक्षणका लागि कोही आएनन् । धेरै पछि आएको टोलीले संकलन गरेको स्वाब चार दिनपछि नेगेटिभ भएको प्रमाणित भयो । त्यसपछि मात्र विकलाई कोरोना संक्रमण नभएको पुष्टि भयो ।


उनीसँगै आएका बोबाङका साथी बाबुको किरियामा थिए । त्यसैले उनको बसाइ स्वाभाविक रूपमै आइसोलेसन जस्तै थियो । विकलाई संक्रमण देखिएको भए साथी, घरपरिवार र छिमेकीको पनि स्वाब परीक्षण गर्ने तयारी थियो । तर उनको नेगेटिभ देखिएपछि मात्र गाउँ शान्त भयो ।


‘भेटेका पनि थिएनौं तर हामीलाई देखेर पनि धेरै जना भाग्थे,’ एक शिक्षकले भने, ‘उसको छिमेकी भएको नाताले हामीले पनि अछुत व्यवहार खेप्यौं ।’ संक्रमणको शंका लागेपछि तत्काल परीक्षण नगर्दा विक १४ दिनसम्म क्वारेन्टाइनमा बसे । क्वारेन्टाइनमा सुरक्षित बसे पनि अमानवीय व्यवहार खेप्नुपरेको उनले बताए । बूढी आमा र श्रीमतीले डराएर खाना दिन्थे । छिमेकीबाट हेलाहोचोको व्यवहार भएको र अपराधीझैं व्यवहार सहेको गुनासो गरे ।


राहत दिन गएकाले पनि खानेकुरा पोको पारेर मिल्काइदिएका थिए । ‘सामान्य रुघाखोकी छ भन्दैमा हामीले टाढैबाट राहत दिएर फर्कियौं,’ कांग्रेस क्षेत्रीय सभापति द्रोण कुँवरले भने, ‘नेगेटिभ रिपोर्ट आउँदा हामीलाई खल्लो भयो ।’ सामाजिक दूरी कायम राखेपछि सामान्य व्यवहार गर्न सबै चुुकेको उनले अनुभव सुनाए । आर्थिक अवस्था कमजोर भएकाले गाउँमा मजदुरीमा बिताएका विक पढ्दापढ्दै भारत पुगेका थिए । चार वर्षसम्म भारतमा काम गरेपछि दुई वर्षअघि कतार पुगेका हुन् । नेपाली कामदारहरू पनि जोखिममा भएको थाहा पाएपछि उनी नेपाल फर्केका थिए । बूढी आमा, श्रीमती र दुई छोरी पनि अहिले सामान्य छन् ।


१० जिल्लाका आइसोलेसनमा २३ मात्रै

प्रदेश ब्युरो (हेटौंडा)


वाग्मती प्रदेशका १० जिल्लामा रहेका आइसोलेसन वार्डमा अहिले २३ जनाले उपचार गराइरहेका छन् । यी सबै जिल्लामा गरी ४ सय ४६ आइसोलेसन बेड बनेका छन् । जसमध्ये सबैभन्दा धेरै चितवनमा २ सय ९९ बेड छन् ।


भरतपुर अस्पतालमा ३० शय्याको आइसोलेसन वार्ड छ । वार्डमा हालसम्म ४७ जनाले सेवा लिएका छन् । जसमध्ये ४४ जनाको परीक्षण रिपोर्ट नेगेटिभ आएको छ । भरतपुरकै कोरोना विशेष अस्थायी अस्पतालमा हालसम्म १ सय १३ जना भर्ना भएकामा ९७ जना डिस्चार्ज भए । नमुना लिएकामध्ये ९५ जनाको नतिजा नेगेटिभ आएको छ । हालसम्म चितवनमा १ सय ६० जना आइसोलेसनमा बसेको तथ्यांक छ । तीमध्ये १९ जना अहिलेसम्म छन् । उनीहरूको रिपोर्ट आउन बाँकी छ । सबैको स्वास्थ्य अवस्था सामान्य रहेको चिकित्सिकले बताएका छन् । नमुना लिएकामध्ये अधिकांश विदेश यात्राबाट फर्केका व्यक्ति हुन् ।


हेटौंडा अस्पतालको आइसोलेसन वार्डमा शुक्रबारसम्म १४ जनालाई राखिएकामा ११ जनाको रिपोर्ट नेगेटिभ आयो । तीमध्ये चार जना अहिले पनि आइसोलेसनमा छन् । तीन जनाको स्वाब परीक्षण गर्न पठाइएको छ । काभ्रेमा हालसम्म पाँच जना र सिन्धुपाल्चोकमा सात जनालाई आइसोलेसनमा राखिए पनि संक्रमण पुष्टि भएन । सिन्धुपाल्चोकका वरिष्ठ जनस्वास्थ्य अधिकृत दुर्गादत्त चापागाईंका अनुसार सबै बिरामीमा ज्वरो र रुघा, सुक्खा खोकीको लक्षण देखिएको थियो । रिजल्ट नेगेटिभ आएपछि उनीहरू घर फर्किएका छन् ।


नुवाकोटमा दुई जना, सिन्धुलीमा सात जना आइसोलेसनमा बसेकामा सबै घर फर्किइसकेका छन् । रसुवा, धादिङ, रामेछाप र दोलखामा पनि आइसोलसन वार्ड बनाइएका छन् तर हालसम्म शंकास्पद बिरामी आएका छैनन् ।


गण्डकीमा तीन जना

पोखरा– गण्डकी प्रदेशभर अहिले तीन जना मात्रै आइसोलेसन कक्षमा उपचाररत छन् । कतार एयरवेजको जहाजमा विदेशबाट आएका बागलुङका कोरोना भाइरस संक्रमित दुई जना र तनहुँकी एक १३ वर्षीया बालिका मात्रै आइसोलेसनमा रहेको प्रदेश सरकारले जनाएको छ । भाइरस संक्रमित ६५ वर्षीया वृद्धा र १९ वर्षकी युवती धौलागिरि अञ्चल अस्पतालको आइसोलेसन वार्डमा उपचाररत छन् । उनीहरूमध्ये युवती चैत १५ र वृद्धा १९ गतेदेखि उपचाररत छन् । उनीहरूको अवस्था भने सामान्य छ । चैत १९ मा युवतीको दोस्रो पटक स्वाब परीक्षण भएकामा रिपोर्ट पोजेटिभ आएको थियो ।


युवतीको तेस्रो र वृद्धाको दोस्रो पटक स्वाबको नमुना लिई पोखरास्थित प्रादेशिक जनस्वास्थ्य प्रयोगशालामा परीक्षण भइरहेको बागलुङ स्वास्थ्य कार्यालयका प्रमुख सुरज गरौंले बताए । यसैगरी तनहुँको शुक्लागण्डकीस्थित जीपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रमा एक १३ वर्षकी किशोरीलाई पनि बिहीबारदेखि आइसोलेसनमा भर्ना गरिएको छ । ज्वरो र रुघाखोकी लागेर श्वासप्रश्वासमा समस्या आएपछि उनलाई केन्द्रमा भर्ना गरिएको तनहुँ स्वास्थ्य कार्यालय प्रमुख शंकरबाबु तिवारीले जानकारी दिए । यसअघि पर्वतमा ६ जना र पूर्वी नवलपरासीमा दुई जनालाई आइसोलेसनमा राखिए पनि स्वाब परीक्षणमा नेगेटिभ देखिएपछि घर फर्काइएका थिए । गण्डकी प्रदेशभर २ सय ६५ आइसोलेसन बेड तयार गरिएको छ ।


चैत १ यता विदेशबाट लमजुङ भित्रिएकामा कोरोना संक्रमण हुने भन्दै उनीहरूको खोजीखोजी थ्रोट स्वाब संकलन गर्न थालिएको छ । यस अवधिमा विदेशबाट २ सय ८० जना भित्रिएको तथ्यांक प्रशासनसँग छ । एक सातामा ३० जनाको स्वाबको नमुना संकलन गरी परीक्षणका लागि पठाइएको छ । जिल्लामा ३१ जनाको परीक्षण भएकामा सबैको रिपोर्ट नेगेटिभ आएको प्रमुख जिल्ला अधिकारी लक्ष्मणबहादुर खड्काले बताए ।


छैनन् नयाँ बिरामी

मोरङ– प्रदेश–१ स्थित विभिन्न अस्पतालमा रहेका आइसोलेसन वार्डमा कोरोना भाइरस संक्रमित नयाँ शंकास्पद बिरामी आउने क्रम रोकिएको छ । प्रदेशका १४ वटै जिल्ला अस्पतालहरूमा रहेका आइसोलेसन वार्डमा तीन दिनदेखि कोरोना भाइरस संक्रमणका शंकास्पद नयाँ बिरामी थपिएका छैनन् ।


प्रदेशका चार जिल्लामा आइसोलेसनमा बस्ने बिरामीको संख्या शुक्रबारसम्म १० जना थियो । तीन दिनदेखि कोही नथपिएको प्रदेश–१ को सामाजिक विकास मन्त्रालयको तथ्यांक छ । बिहीबारसम्ममा २२ जना बिरामीलाई अस्पतालहरूले आइसोलेसन वार्डबाट डिस्चार्ज गरिसकेका छन् ।


शुक्रबारदेखि परीक्षणको काम थालेको कोसी अञ्चल अस्पतालको आइसोलेसन वार्डमा शंकास्पद दुई बिरामी छन् । मेडिकल सुपरिटेन्डेन्ट डा. संगीता मिश्राले दुवैको स्वाबका नमुना परीक्षणमा रहेको बताइन् । दुवै जनाको स्वास्थ्य अवस्था सामान्य रहेको उनले बताइन् ।


यस्तै ओखलढुंगामा चार, उदयपुरमा एक र ताप्लेजुङमा ती जनालाई कोरोना भाइरस संक्रमणको आशंकामा आइसोलेसन वार्डमा राखिएको मन्त्रालयको तथ्यांक छ । मन्त्रालयका जनस्वास्थ्य महाशाखा प्रमुख सुरेश मेहताले आइसोलेसनमा नयाँ शंकास्पद बिरामी आउन रोकिएको बताए । आइसोलेसन वार्डमा बसेका बिरामीहरूको स्वास्थ्य अवस्था सामान्य रहेको उनको भनाइ थियो । कोरोना भाइरसका शंकास्पद बिरामीको उपचारका लागि प्रदेशको १४ वटै जिल्लास्थित ४८ वटा अस्पतालका आइसोलेसन वार्डमा ४ सय ३२ शय्या र चार वटा अस्पतालबा आईसीयू वार्डमा ४४ शय्या तयार गरिएको छ ।


यसैबीच प्रदेशमा शंकास्पद बिरामीको स्वाबको नमुना संकलनमा वृद्धि भएको छ । मेहताका अनुसार शुक्रबारसम्ममा ३५ महिला र १ सय ४५ पुरुष गरी १ सय ८० जना शंकास्पद बिरामीको स्वाबको नमुना संकलन गरिएकामा ३० महिला र १ सय २२ पुरुष गरी १ सय ५२ जनाको नेगेटिभ प्रतिवेदन आइसकेको छ । प्रदेशमा शुक्रबारबाट कोसी अस्पतालमा समेत स्वाबको नमुना परीक्षण सुरु गरिएको छ भने क्वारेन्टाइनहरूमा र्‍यापिड टेस्टसमेत सुरु गरिएको हो ।


परीक्षणको दायरा बढाउन उपकरण माग

अटोमेटिक आरएनए एक्स्ट्राक्सन मेसिनले भाइरसको आरएनए डिटेक्ट गर्ने भएकाले एकै पटक धेरै रिपोर्ट निकाल्न सकिने भए पनि प्रतिष्ठानमा उक्त उपकरण आइपुगेको छैन ।


(सुनसरी) । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले कोरोना भाइरस संक्रमण पुष्टि गर्ने स्वाब परीक्षणको दायरा बढाउन अटोमेटिक आरएनए एक्स्ट्राक्सन मेसिन माग गरेको छ । स्वाब परीक्षणको रिपोर्ट चाँडो निकाल्न अटोमेटिक आरएनए एक्स्ट्राक्सन मेसिन माग गर्दै प्रदेश सरकार र स्वास्थ्य मन्त्रालयमा पत्र पठाएको प्रतिष्ठानका अस्पताल निर्देशक प्रा. डा. गौरीशंकर साहले जानकारी दिए । उनले भने, ‘त्यो मेसिन उपलब्ध भएमा हामीसँग भएको जनशक्ति प्रयोग गरेर अरू धेरैको स्वाबको ल्याब टेस्ट गर्न सक्छौं । आशा गरौं सरकारले मेसिन पठाउँछ होला । दुई–चार दिन पर्खौं ।’


प्रतिष्ठानका माइक्रोबायोलोजी विभागका पीसीआर मोलिकुलर प्रविधिका विशेषज्ञ चिकित्सक डा. नारायण भट्टराईका अनुसार प्रयोगशालाको क्षमता १२ नमुनाबाट बढाउँदै बिहीबार एकैपटक ४८ जनाको रिपोर्ट निकालिएको थियो । शुक्रबार संकलन भएको ३७ जनाको नमुनाको जाँच चलिरहेको छ ।


प्रतिष्ठानको माइक्रोबायोलोजी ल्याबमा रियल टाइम पीसीआर (पोलिमर चेन रियाक्सन) मेसिन छ । तर राइबो न्युक्लिक एसिड (आरएनए) छुट्याउने अटोमेटिक आरएनए एक्स्ट्राक्सन मेसिन नभएकाले प्राविधिक रूपमा हातैले पीसीआर गर्दा ढिला भइरहेको उनले बताए । ‘अटोमेटिक आरएनए एक्स्ट्राक्सन मेसिनले भाइरसको आरएनए डिटेक्ट गर्ने भएकाले एकै पटक धेरै रिपोर्ट निकाल्न सकिन्थ्यो,’ उनले भने ।

उनले आरएनए छुट्याउन आफूहरू तालिम दिएर तत्काल जनशक्ति उत्पादन गर्न पनि तयार रहेको जनाए । कोरोना भाइरसको महामारी फैलिएको


अहिलेको अवस्थामा सरकारले पनि तत्काल निर्णय गरेर यस्ता सुविधाहरू उपलब्ध गराएर भएका जनशक्ति र स्रोत साधन परिचालन गर्न सके प्रतिष्ठान एक्लैले महिनामा २ हजार ५ सयदेखि तीन हजार वटा परीक्षण गर्न सक्ने उनको दाबी छ ।


प्रदेश १ मा व्यवस्था गरिएका विभिन्न आइसोलेसन र क्वारेन्टाइनमा राखिएकाको स्वाबको नमुना परीक्षण गर्दा शुक्रबारसम्ममा सबैको रिपोर्ट नेगेटिभ देखिएको छ । प्रतिष्ठानमा संकलित १ सय ६० जनाको स्वाब नमुनामध्ये १ सय ३१ जनाको रिपोर्ट नेगेटिभ आएको छ । २९ जनाको रिपोर्ट आउन बाँकी छ । विदेशबाट आएका शंकास्पद संक्रमित भनिएका व्यक्तिको स्वाब टेस्ट गर्दा रिपोर्ट नेगेटिभ आउनुले दुई वटा अर्थ लाग्ने डा. भट्टराई बताउँछन् । उनले भने, ‘यसको अर्थ या त पूर्वमा संक्रमण फैलिएको छैन या संक्रमित व्यक्तिको स्वाब प्रयोगशालासम्म ल्याउन सकिएको छैन भन्ने बुझौं ।’


१८ दिन बित्यो, जाँच भएन

बैतडी–दशरथचन्द नगरपालिकाका–१ पालीका हरीश भाट केदार आधारभूत विद्यालय डोडरचौरको क्वारेन्टाइनमा बसेको १८ दिन पुग्यो । भारतको रेवाडीबाट कञ्चनपुरको वनबासा हुँदै आएका उनी चैत १० गतेबाट ११ जनासँगै क्वारेन्टाइनमा बसेका हुन् । १४ दिन मात्र राख्ने भने पनि २० दिन पुग्दासमेत घर फर्कने टुंगो छैन । ओढ्ने, ओछ्याउने कपडा कम हुँदा चिसोले बिरामी पर्ने डर भएको उनले बताए । उनीहरू आफैंले दाउरा खोजेर खाना पकाउने गरेका छन् ।


सुर्नया गाउँपालिका–८ का केशव बोहरा ११ दिनदेखि भूमिराज आधारभूत विद्यालयको क्वारेन्टाइनमा छन् । भारतको पिथौरागढबाट सात महिनापछि फर्किएका उनलाई पालिकाले क्वारेन्टाइनमा राखेको हो । क्वारेन्टाइनमा चिसोले सताएको उनको गुनासो छ । ‘खाना त ठीकै छ । ओढ्ने, ओछ्याउने दिएको छैन । एकदम चिसो छ,’ उनले भने, ‘खाना, खाजा बेलाबेलामा दिए पनि ओढ्ने, ओछ्याउने कपडा घरबाटै ल्याएका छौं ।’


सँगै बसिरहेका हिमाल बोहराले १०/१२ वटा ओढ्ने र ओछ्याउने दिए पनि २६/२७ जना भएकाले अपुग भएको बताए । उनले भने कोरोनाभन्दा चिसोले अरू रोग लाग्ने चिन्ता भएको बताए । बिहानतिर स्वास्थ्यकर्मी आएर सोधपुछ गरे पनि कोरोना संक्रमणबारे जाँच गर्न कुनै टुंगो नपाउँदा अझै कति दिन बस्नुपर्ने हो चिन्ता लागेको उनीहरू बताउँछन् ।


चैत १३ देखि बसेका उनले १६ दिन पुग्दा पनि जाँच नगरेको बताए । ‘भोलि डाक्टर आउँछन्, चेक हुन्छ भन्दाभन्दै घर जान पाएका छैनौं,’ उनले भने । क्वारेन्टाइनमा बसेकालाई परीक्षणपछि मात्रै घर पठाइने भएकाले १४ दिनभन्दा धेरै बसाल्न बाध्य भएको सुर्नया गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख रामसिंह महराले बताए । चार नगरपालिका र ६ गाउँपालिका गरी जिल्लाका १० स्थानीय तहका १ सय ५ स्थानमा क्वारेन्टाइन छन् । १ हजार २६ शय्याको क्वारेन्टाइनमा ५ सय १३ जना बसेका छन् । ३१ जना भने १४ दिन पुगेपछि गत साता जाँचबिनै घर फिरेका छन् ।


परीक्षणमा अझै अलमल

ताप्लेजुङ– पाँचथरको मिक्लाजुङ गाउँपालिकाको १५ शय्याको क्वारेन्टाइनमा १४ जना छन् । मिक्लाजुङ स्वास्थ्य शाखा संयोजक अग्नि चम्लागाईका अनुसार बसेकामध्ये ६ जना भारतबाट आएका छन् । जापान, मलेसिया, कुवेत र कतारबाट आएका एक–एक जना छन् । परिवारको सम्पर्कमा पुगिसकेका जापान, कतार र भारतबाट आएकाका आफन्तलाई पनि क्वारेन्टाइनमा राखिएको छ । रवि क्याम्पसमा बनाइएको क्वारेन्टाइनमा पुरुष नौ र महिला पाँच जना छन् । १४ दिन बसेका उनीहरू घर फर्कने बेला भइसक्यो । तर, स्वाबको नमुना परीक्षण गरिएको छैन । ‘स्वाब परीक्षणका लागि जिल्ला जनस्वास्थ्य कार्यालयमा समन्वय गरिरहेका छौं,’ चाम्लागाईले भने, ‘कहिले हुन्छ, ठ्याक्कै भन्न सकिँदैन ।’


पाँचथरका प्रमुख जिल्ला अधिकारी अर्जुनकुमार शर्मा गुरागाईले जिल्लामा क्वारेन्टाइनमा राखिएकाहरू कसैमा पनि संक्रमणको लक्षण नदेखिएको बताए । यहाँ संकलित स्वाब धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइन्छ । जिल्लाका क्वारेन्टाइनमा पुरुष ५१ र महिला नौ गरी ६० जना रहेको जिल्ला अस्पताल पाँचथरले जनाएको छ ।

प्रकाशित : चैत्र २९, २०७६ २१:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?