कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

संक्रमितका परिवारलाई एम्बुलेन्सले बोक्नै मानेन

आफूलाई अलपत्र छाडेको संक्रमित युवाको गुनासो
अर्जुन शाह

धनगढी — कोरोना भाइरसबाट संक्रमणको आशंकामा सेती प्रादेशिक अस्पतालको आइसोलेसन वार्डमा भर्ना गरिएका धनगढीका ३४ वर्षीय युवकमा संक्रमण पुष्टि भएको रिपोर्ट सार्वजनिक भएसँगै प्रहरीले उनको पृष्ठभूमि खोज्न सुरु गरेको थियो । 

संक्रमितका परिवारलाई एम्बुलेन्सले बोक्नै मानेन

त्यसै क्रममा शुक्रबार रातितिर धनगढी उपमहानगरपालिका ५ मा रहेको उनको घरमा प्रहरी पुगेको थियो । प्रहरीले घरबाट उनको परिवार संख्यासहित आवश्यक रिपोर्ट लिएर अस्पताल लैजाने भनेको भए पनि एम्बुलेन्स नपाएको भन्दै प्रहरी उनको घरबाट फर्किएको संक्रमित युवाका बुवाले बताए ।


आठजना सदस्य रहेको उनको परिवारका सदस्यहरु दोहोरो तनावमा छन् । एकातिर छोरा अस्पतालमा छ । किरामीलाई सबैले चटक्क छाडेको खबरले उनीहरु छटपटिरहेका छन् । अर्कोतिर आफूहरुले क्वारेन्टाइनमा जान नमानेको भन्ने हल्ला फैलाइएकोमा दुःख लागेको ती युवाका बुवाले बताए । ‘एम्बुलेन्स पठाउँछौ भनेर प्रहरी घरबाट फर्किएका हुन्’ उनका बुवाले भने, ‘हिजोदेखि हामी अन्यौलमै छौ ।’ उनले शनिबार बिहानसम्म आफूहरु घरमै होसियारीपूर्वक बसेको बताए ।


सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीले एम्बुलेन्स नपाएर परिवारहरुलाई अस्पताल ल्याउन नसकिएको भन्ने खबर सुनेपछि सेती प्रादेशिक अस्पतालमा सोधपुछ गरेको बताए । मेडिकल सुपरिटेन्डेन्टले एम्बुलेन्सको चालक अत्तरियामा रहेको आफ्नो घर गएको र शनिबार बिहानै फर्केर परिवारलाई अस्पतालमा ल्याइने जानकारी गराएको मन्त्री सुवेदीले बताए ।

धनगढीमा भेटिए कोरोनाको चौथो संक्रमित

उता बिरामी युवाले आफूलाई अस्पतालमा अलपत्र जस्तै पारिएको बताएका छन् । ती युवाले भने, ‘हिजोदेखि कोही पनि फर्केको छैन । तातो पानीसमेत पाइएको छैन ।’ डाक्टरले टेलिफोनबाट बारम्बार आफ्नो यात्रा पृष्ठभूमिबारे सोधपुछ मात्र गर्ने गरेको उनले बताए । उपचारमा संलग्न चिकित्सकका अनुसार अहिलेसम्म उनको अवस्था सिरियस छैन । ‘उनलाई आईसीयूमा पनि राख्नुपर्ने अवस्था छैन,’ एकजना चिकित्सकले भने । तर डाक्टरहरुसमेत यतिबेला भयभित मानसिकतामा देखिन्छन् । कोरोना संक्रमित बिरामीको उपचार गर्ने क्रममा आवश्यक पर्ने आधारभूत पहिरन र उपकरणसमेत नभएको भन्दै उपचारमा संलग्न डाक्टरहरुले गुनासो गरिरहेका छन् ।


दुबईमा काम गर्दै आएका उनी फ्लाइट इमिरेट्सको ईके ०१५० नम्बरको उडानबाट दुबईबाट दिल्ली आएका थिए । त्यहाँबाट उनी शुक्रबार काठमाडौं आइपुगेका थिए । उनी शनिबार दिउँसो १२ बजे बुद्ध एयरको उडानबाट काठमाडौंबाट नेपालगञ्ज आएका थिए । नेपालगञ्जबाट उनी महेन्द्रनगर जाने माइक्रोबाट अत्तरिया झरेका थिए । अत्तरियाबाट उनी त्यही दिन घर पुगेका थिए । घरान उनी आफन्त र नातागोतालाई भेटघाट गरेका थिए ।


शनिबार साँझदेखि मंगलबारसम्म उनी घरमै परिवारसँग बसेका थिए । घर पुगेको दोस्रो दिन राति ज्वरो आएपछि तेस्रो दिन चैत ११ गते उनी आफै सेती प्रादेशिक अस्पताल धनगढीमा जँचाउन गएका थिए । त्यही दिनदेखि उनी अस्पताल बसेका थिए । शुक्रबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको स्वास्थ्य परीक्षणमा उनमा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले पत्रकार सम्मेलनमार्फत जानकारी दिएका थिए ।

प्रकाशित : चैत्र १५, २०७६ १०:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?