धनगढीमा भेटिए कोरोनाको चौथो संक्रमित

बुनु थारु

काठमाडौँ — नेपालमा कोरोना भाइरस (कोभिड-१९) को चौथो संक्रमित भेटिएका छन्। शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता विकास देवकोटाले नेपालमा काेरोना भाइरसकाे चौथो संक्रमणको बारेमा जानकारी दिएका हुन् । 

धनगढीमा भेटिए कोरोनाको चौथो संक्रमित

संक्रमित व्यक्ति सेती प्रादेशिक अस्पताल धनगढीमा उपचाररत रहेको पनि प्रवक्ता देवकोटाले जानकारी दिए । दुबईबाट फर्किएका ती व्यक्ति चैत ११ गते अस्पताल भर्ना भएको र शुक्रबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा नमुना परीक्षण गराउँदा काेरोना संक्रमण देखिएको प्रवक्ता देवकोटाले जानकारी दिए ।

स‌ंक्रमित व्यक्ति ३४ वर्षीय पुरुष रहेको र उनको स्वास्थ्य अवस्था सामान्य रहेको देवकोटाले जानकारी दिए । प्रवक्ता देवकोटाले अरु पनि संक्रमित व्यक्ति हुन सक्‍ने बताउँदै क्वारेन्टाइनमा बस्‍न अनुरोध गरेका छन् ।


उपत्यका बाहिर देखिएको यो पहिलो संक्रमण हो । जनस्वास्थ्य प्रयोगशालामा हालसम्म ८०२ जनाको नमुना परीक्षण भइसकेको छ । जसमध्ये ७ सय ९८ जनाको रिपोर्ट नेगेटिभ आएको छ भने ४ जनामा संक्रमण पुष्टि भएको छ । कोरोना भाइरसबाट संक्रमित पहिलो व्यक्ति भने निको भइसकेका छन् ।


स्वास्थ्य मन्त्रालयले शुक्रबार सवा ४ बजे गरेको मिडिया ब्रिफिङमा ८०२ जनाको परीक्षण भएको र नयाँ संक्रमित नभेटिएको बताएको थियो । तर स्वास्थ्य मन्त्रालयले त्यसपछि फेरि दोस्रो ब्रिफिङ गर्दै नयाँ संक्रमित भेटिएको जानकारी दिएको हो।

प्रकाशित : चैत्र १४, २०७६ १९:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?