सात दिने लकडाउनलाई ७ फिल्म– ४

यज्ञश

काठमाडौँ — लकडाउनको आज चौथो दिन । घर वरपर भँगेराको चिरबिर र भुरभुर अझै स्पष्ट सुन्न थालिएको छ ।

म्यासेन्जरका भिडियो च्याटमा साथीहरुका तिलचामले दाह्री झुस्स देखिन थालेका छन् । कहीँ जानु छैन, त्यसैले दाह्रीसँग पनि कुनै बैर छैन ! कुनै मिटिङ भए, कसैलाई भेट्नु पर्ने भए पो चिटिक्क पर्नु !


कोरोनाको मार संसारभरी महामारी बनिसकेको छ । पछिल्लो दुई दिनमा नेपालमा नयाँ संक्रमित नदेखिए पनि डरको घन्टी भने बजिरहेको छ । यस्तो लाग्छ, झम्टा हान्ने पर्खाइमा कुनै जंगली जनावर वरपर घुमिरहेको छ !


विज्ञान भन्छ– जबसम्म प्रमाणित हुँदैन तबसम्म सबै सत्य फगत कल्पना हुन् । कुरो यहींबाट सुरु हुन्छ, सत्य र कल्पनाको द्वन्द्वबाट । कुन कुरा कहाँसम्म सत्य हो, कहाँदेखि कल्पना हो भन्नेमा संसारका धेरै द्वन्द्व अडेका छन् । मार्क्सवादी भन्छन्– ‘पुँजीवादले केही मुट्ठीभर मानिसको मात्र भलो गर्छ । यसलाई ढालेर साम्यवादमा पुगेपछि सबै बराबर, सबै सुखी हुनेछन् ।’ पुँजीवादीहरु भन्छन्– 'साम्यवाद एउटा कल्पनामात्रै हो ।' यदि त्यो कल्पनामात्रै हो भने के संसारका यत्रा धेरै कम्युनिस्टहरुले एउटा कोरा कल्पनाका लागि ज्यान दिए त ?


फेरि पुँजीवादी भन्छन्– 'पुँजीको विकास भएपछि यो अलिअलि खस्दै चुहिँदै भए पनि गरिबसम्म पनि पुग्छ ।' भरिएको प्याला छचल्किएजस्तो ! यो पनि एउटा कल्पनै सावित भइरहेको छ । तर, यही कल्पनाको आधारमा संसारका धेरै देशमा यो शासन शैली टिकिरहेको छ, जमिरहेको छ ।


यसैले सत्यकै सत्यता जाँच्नुपर्ने कुरा साहित्यकार, लेखकहरु उठाउँछन् । सत्य होइन, कसको सत्य ? भन्ने प्रश्न अहं रुपमा उठ्ने गर्छ ।


जस्तो, लकडाउनभरी आफ्नै घरभित्र बसेर जे छ त्यही पकाएर खान्छु भन्नु मध्यम वर्गको आम मानिसका लागि सत्य होला । तर, निम्‍न वर्गको कुनै घरै नभएको वा घरभित्र खानेकुरा नभएको मानिसका लागि त यो कल्पना न हुन्छ ।


सत्यको कुरा आज यति धेरै किन गरेको भने आज सिफारिस गर्ने फिल्मको विषय नै यही हो– सत्य के हो ? के सत्यको कुनै रुप वा आकार हुन्छ ? कसैले वर्षौं तपस्या गरेर कुनै दिन सत्यको दर्शन पायो भने त्यो कस्तो देखिएला ? बुद्धले ज्ञान पाएका थिए कि सत्यसँग साक्षात्कार गरेका थिए ? त्यसो भए के ज्ञान नै सत्य हो त ?


आजको फिल्म

आँखों देखी (२०१४, भारत)


जुन दिन मानिस संसारका सारा बोझ र पीरतापबाट मुक्त होला । वा, सबैप्रकारका भयको बन्धनबाट मुक्त होला, त्यस दिन के मान्छे चरा होला ? के पंख फिंजाइ मानिस आकाशमा उड्ला ? मानिसलाई पृथ्वीको गुरुत्वले धरतीमा अड्याएको हो कि जीवनमा सहस्र बोझहरुले तानिएर मानिस उड्न नसकेको हो ?


‘आँखों देखी’का बाबुजी आफूलाई चरा जसरी उडिरहेको देख्छन् । यो कथा एउटा सपनाबाट सपनासरी सुरु हुन्छ । पुरानो दिल्लीको फटेहाल बस्ती । सगोलमा बसिरहेका दाजुभाइका दुई परिवार । छुट्टिन खोजिरहेकी भाइबुहारी । असमञ्जसमा परेको भाइ । प्रेम गर्न थालेकी छोरी । गृहणी आमा । जागिरे बाबु । स्कुल जानै मन नगर्ने किशोर । र, छोरीको हरिकंगाल टाइपको प्रेमी ।


यो समान्य परिवारमा एक दिन भुइँचालो आउँछ, जब छोरीको प्रेमकथा उजागर हुन्छ । यही कथासँगै बाबुको जीवनमा परिवर्तन आउन थाल्छन् । उनलाई विस्तारै लाग्छ, जे चिज मैले सत्य भनेर मानिरहेको छु ती त सत्यका नाममा केही समाजले थोपरेका कुरामात्रै रहेछन् । म त अरु नै कसैको सत्यलाई आफ्नो ठानेर बोकेर हिँडिरहेको रहेछु ।


उनले घोषणा गर्छन्– म आइन्दा आफैंले देखेको वा महसुस गरेको कुराबाहेक अरुलाई सत्य मान्न इन्‍कार गर्छु ।


फिल्मको चुरो यही हो- कि तपाईं आफ्नो सत्यको निर्माण आफैं गर्ने कि अर्काले बनाइदिएको सत्यको चप्पल पड्काउँदै हिँड्ने ?


फिल्मले प्रश्न उठाउँछ । यसैले सान्दिर्भक छ । फिल्मले समाज, हाम्रा आस्था र तर्कको शक्ति कुनै चिजलाई पनि छोड्दैन ।


एउटा विन्दुमा आएपछि राजेश बाबुजी भगवानलाई मान्न छोड्छन् । भन्छन्– मैले देखेको छैन, त्यसैले यो मेरो सत्य होइन ।


तर्क गर्नेहरुको भनाइ छ, भगवान मानिसले आफ्ना लागि गरेको सबभन्दा ठूलो आविस्कार हो । र, सामाजिक संरचनालाई नमान्नेहरु भन्छन्– समाज भन्नु नै एउटा कल्पना हो । समाज, सरकार, शासन, सत्ता र शक्ति भनेका मानिसका केवल कल्पना हुन् । होइन भने ढुंगा देखिने तर भगवान नदेखिने किन हुन्छ ? यस्ता प्रश्न गर्नेहरुका लागि त यो फिल्म काइदाको खुराक हुनसक्छ ।


संजय मिश्रा र रजत कपुर बलिउडले लामो समय दरकिनार गरेका प्रतीभा हुन् । तर, जब उनीहरुले ‘फँस गए ओबामा’ र ‘आँखो देखी’ बनाए, चमकधमकको महाराजा फिल्मफेयर पनि उनीहरुलाई अवार्ड दिन बाध्य भयो । मणि कौल र कुमार साहनीका शिष्य रजत कपुर निर्देशकमात्र होइन, कलाकारका रुपमा पनि उत्तिकै उम्दा छन् । चाहे त्यो ‘भेजा फ्राइ’ होस् वा ‘कपुर एन्ड सन्स’ ।


संजय मिश्रा त अहिलेका स्टार भइहाले । उनलाई स्टार बनाउने पनि यही ‘आँखों देखी’ हो । रोहित शेट्टीका फिल्ममा ‘जस्ट चिल...’ भनिरहेका संजयलाई रजतले बाबुजी बनाइदिए । त्यसयता 'मसान' हुन् वा 'न्युटन' संजय मिश्रा बलिउडमा छाए । संजय मिश्राको अभिनयले पनि तपाईंको मनलाई शान्त बनाउने छ ।


खाली समय छ, सोच्ने फुर्सद छ । यस्तो समयका लागि केही सोच्ने बनाउने फिल्म ठीक हुनेछ ।


वैकल्पिक फिल्म– इजाजत (१९८७)


वैकल्पिक फिल्मका रुपमा यसपटक धेरै विकल्प थिए । उडान, रेनकोट, मसान, सुपर डिलक्स । अलि पुरानामा जाने हो भने पार, मासुम, जाने भी दो यारों । प्रशस्तै । तर, अचानक मेरो स्मृति आयो– गुलजारको ‘इजाजत’ । नसिरुद्धिन शाह र रेखा । प्रेम, प्रतीक्षा र संगीतको यो त्रिवेणी रेलवे प्लेटफर्ममा सुरु हुन्छ र रेलझैं घुमेर तपाईंलाई जीवनको चक्करमा लैजान्छ ।


यो पनि पढ्नुहोस

७ दिने लकडाउनलाई ७ फिल्म– ३

७ दिने ‘लकडाउन’लाई ७ फिल्म-२

७ दिने ‘लकडाउन’लाई ७ देशका ७ फिल्म

प्रकाशित : चैत्र १४, २०७६ १८:५२
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

एटीएम नभएको स्थानका बैंक शाखा नियमित खुला

सहरका बैंकमा ग्राहक छैनन्, गाउँमा भीड
कान्तिपुर संवाददाता

काठमाडौँ — 
लकडाउनको समयमा बैंक तथा वित्तीय संस्थाले एटीएम नभएको स्थानका शाखा नियमित रूपमा सञ्चालन गर्दै आएका छन् । बैंकहरूले हरेक दिन २ घण्टा (११ देखि १ बजेसम्म) शाखा सञ्चालन गर्दै आए पनि ग्राहक निकै कम आउने गरेको बताइएको छ ।

बैंकहरूले भने सबै स्थानीय तहलगायत सहरबजारमा निश्चित शाखा सञ्चालन भएको दाबी गरेका छन् ।
स्थानीय प्रशासनले बन्द गर्न भनेको स्थानमा बाहेक सबै स्थानीय तहमा दैनिक दुई घण्टाका दरले बैंक खुला हुने गरेको बैंकर्स संघका अध्यक्ष भुवन दाहालले बताए । ‘सहरमा निकै कम ग्राहक आउने गरेका छन्,’ उनले भने, ‘ग्रामीण भेगका शाखामा भने ग्राहक आउने गरेका छन् ।’ ग्राहकको सुविधाका लागि हरेक बैंकले सम्बन्धित शाखा प्रबन्धकलगायतको नाम तथा फोन नम्बर पनि उपलब्ध गराइएको उनले बताए । ‘बैंकहरूले वेबसाइटमा तथा कार्यालयमा देखिने गरी आधिकारिक व्यक्तिको फेन नम्बर राखेका छन्,’ उनले भने ।
बैंक सञ्चालनका क्रममा राष्ट्र बैंकको निर्देशनअनुसार नै पर्याप्त सुरक्षणका उपाय अपनाएको दाहालले बताए । ‘बैंकहरूले न्यूनतम कर्मचारीबाट आलोपालो प्रणालीअनुसार सेवा दिइरहेका छन्,’ उनले भने । कोरोनाको सम्भावित जोखिमबाट बच्न ग्राहकलाई विद्युतीय बैंकिङमार्फत कारोबार गर्न प्रोत्साहन गरिरहेको उनले जानकारी दिए ।
जुनसुकै बैंकको एटीएमबाट पैसा निकाल्दा पनि शुल्क नलाग्ने, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, आईपीएस कनेक्टलगायत सबै प्रकारका विद्युतीय भुक्तानी निःशुल्क रहेकाले ग्राहकलाई अतिरिक्त भार नपर्ने उनले बताए ।
‘लकडाउन सुरु भएपछिका एकदुई दिनमा एटीएममा धेरै भीड देखिएको थियो,’ दाहालले भने, ‘अहिले एटीएममार्फतको कारोबार पनि कम छ ।’ ग्राहकले आफूलाई आवश्यक रकम जोहो गरिसकेकाले पनि अहिले एटीएमबाट कम मात्र पैसा बाहिरिएको हुन सक्ने दाहालको अनुमान छ ।
कोरोनाको जोखिमबाट बच्न विद्युतीय कारोबारलाई प्रोत्साहन गर्दै राष्ट्र बैंकले पनि त्यस्ता कारोबारको सीमा बढाएको छ । नयाँ व्यवस्थाअनुसार मोबाइल बैंकिङ ‘क्यूआर’ कोडमार्फत दैनिक १ लाखसम्म कारोबार गर्न सकिन्छ । यो कारोबारमा मासिक सीमा १० लाख रुपैयाँ छ । मर्चेन्टद्वारा गरिने इन्टरनेट बैंकिङको कारोबार सीमा प्रतिदिन १० लाख रुपैयाँ छ । मासिक रूपमा महिना दिनमा ३० लाख रुपैयाँसम्मको कारोबार गर्न सकिन्छ ।
यसैगरी, इन्टरनेट बैंकिङ एकाउन्ट ट्रान्सफरमा १० लाख दैनिक कारोबार गर्न मिल्छ भने मासिक सीमा ५० लाख रुपैयाँ छ । वालेटमार्फत गरिने कारोबारमा ऐजेन्ट वा सबएजेन्टबाट दैनिक २५ हजार र महिनाको १ लाख, बैंक खाताबाट वालेटमा एक पटकमा २५ हजार, दैनिक १ लाख र मासिक ५ लाखको सीमा कायम गरिएको छ ।
वालेटबाट अन्य बैंक खातामा प्रतिकारोबार २५ हजार, एकदिनमा १ लाख र महिनामा ५ लाख रुपैयाँसम्मको कारोबार गर्न पाइने राष्ट्र बैंकले जनाएको छ ।

प्रकाशित : चैत्र १४, २०७६ १८:३९
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
×