कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

रामराजालाई कसले छ्यापे एसिड ? 

‘सँगै सुतेकी बुहारी र छोरालाई एसिडको थोपा पनि नपर्ने गरी कसरी एसिड हान्न मिल्ला र ? पहिलो तलामा चढेर झ्यालबाट एसिड हान्दा किन छिमेकका कसैले पत्तो पाएनन् ? अनि किन घरको पर्खाल नाघेर पहिलो तलामा कोही चढेर एसिड हानीवरी भागुन्जेल कुकुर भुकेन ?’
जनकराज सापकोटा

काठमाडौँ — गत २५ गतेको कुरा हो । राति १२ बजेतिर कलंकीमा डेरा गरी बस्ने सुवराज थापालाई दाइ सागरको फोन आयो । उनले एकैसासमा भने, ‘कान्छा बिरामी भएर टिचिङ लग्याछ । तँ गइहाल म हिँडिहाले ।’ त्यतिबेलासम्म उनीहरुलाई तारकेश्वर नगरपालिकाको पुरानो गुहेश्वरीमा–२ कोठे फ्ल्याटमा श्रीमती, ३ महिने छोरा र दुई सालासँगै बस्ने भाइ रामराजालाई के भएर अस्पताल कुदाएछन् भन्ने पत्तै थिएन । तत्कालै मोटरसाइकलमा हुइँकिँदै अस्पताल पुगेपछि पो सुबराजले थाह पाए, भाइलाई त एसिड छ्यापिएछ । 

रामराजालाई कसले छ्यापे एसिड ? 

सुबराजका अनुसार सँगै बस्ने सालोले मध्यरातमा अरु नै अपरिचितसँग मद्दत मागेर भाइलाई अस्पताल ल्याइपुर्‍याएका रहेछन् । उनी पुग्दा रामराजा अस्पतालको बेडमा छटपटाइरहेका थिए । उनले सुनाए, ‘त्यतिबेला भाइको अनुहार अर्कै भइसकेको थियो । मलाई देख्नेबित्तिकै, दाइ मलाई बचाउ भन्यो । अनि आत्तिँदै पोल्यो–पोल्यो भनिराख्यो ।’ उनलाई सुतिरहेका बेला कसैले झ्यालबाट एसिड छ्यापेरे भागेको सालोले बताए । कुरा सुन्नेबित्तिकै सुबराज घटनास्थलतिर कुदे । दाइ सुतेको ओछ्यानमा एसिडले सिरानी आधा जति डढेको थियो ।

कोठा वरपरि घुमेपछि, घरबेटी र छिमेकीसँग कुरा गरेपछि सुबराजलाई लाग्यो, घटना त सालोले भनेजस्तो मात्रै छैन् । उनले घटनास्थलको फोटो मोबाइलमा देखाउँदै भने, ‘सँगै सुतेकी बुहारी र छोरालाई एसिडको थोपा पनि नर्पने गरी कसरी एसिड हान्न मिल्ला र ? पहिलो तल्लामा चढेर झ्यालबाट एसिड हान्दा किन छिमेकका कसैले पत्तो पाएनन् ? अनि किन घरको पर्खाल नाघेर पहिलो तल्लामा कोही चढेर एसिड हानेर भागुन्जेल घरको कुकुर कराएन ?’ प्रहरीका अनुसार घटनाको राति दुई सालो एउटा कोठामा र रामराजा अर्को कोठामा श्रीमती र छोरासँग सुतेको देखिनछ ।

सुबराजको फोनपछि महानगरीय प्रहरी वृत्त बालाजुको टोली घटनास्थलमा पुग्यो । प्रहरीले घटनास्थलको प्रारम्भिक अनुसन्धानपछि रामराजकै श्रीमती प्रतिमा र दुई सालोलाई पक्राउ गर्यो । वृत्तका डीएसपी रञ्जितसिंह राठौरले अनुसन्धानको निष्कर्ष सुनाउँदै भने, ‘बाहिरबाट आएर त हान्न सम्भव नै छैन । अहिलेसम्मको अनुसन्धानले श्रीमतीले नै एसिड हानेको देखिन्छ ।’ उनले प्रतिमा विरुद्ध फौजदारी अपराध संहिता अनुसार कुटपिट र अंगभगंमा मुद्दा चलाइएको बताए ।

पाँच वर्षअघि प्रेम विवाह गरेका रामराजा–प्रतिमा घटनाको पाँच दिनअघि मात्रै मनमैजुको सानो खाजा पसल बेचेर डेरा सरेका थिए । रामराजा आफ्नै दाइको माइक्रो काठमाडौं–धरान रुटमा चलाउँथे । घटनाको अघिल्लो दिनदेखि उनी बिरामी भएको भन्दै घरमै बसेका थिए । सुबराजले सुनाए, ‘घरझगडाको कुरा पनि त्यति सुनेका थिएनौं । तर खै केही कुरा लुकाएका पो थिए कि ?’ प्रहरी बयानमा प्रतिमाले अहिलेसम्म घटना स्वीकारेकी छैनन् । डीएसपी राठौरले भने, ‘इन्कारी बयानका कारण कहाँबाट एसिड किनिएको थियो भन्ने पनि खुल्न सकेको छैन ।’ उनले बियरको बोतलमा एसिड राखिएकोबाट नजिकैको कुनै पसलबाट खुद्रा रुपमा एसिड किनिएको हुनसक्ने अनुमान सुनाए ।

घटनालगत्तै बालाजुकै एक अस्पताल पुर्‍याइएका रामराजालाई त्यहाँ उपचार हुन नसक्ने भएपछि टिचिङ अस्पताल ल्याइएको थियो । आइतबार चिकित्सकहरुले उनको तिघ्राका छाला निकालेर अनुहारको जलेको भागमा सर्जरी गरेका छन् । सुबराजका अनुसार भाइको अनुहारका अलावा दाहिने हात, दाहिने तिघ्रा, र देब्रे कानमा पनि एसिडको असर परेको छ । अस्पतालको बर्न वार्डको बेड नम्बर ३३ मा रहेका रामराजा बोल्न सक्ने अवस्थामा छैनन् । एसिडको जलनका कारण उनी राम्ररी मुख खोल्न समेत सक्दैनन् । सुबराजले अहिलेसम्म उपचार र दौडधुपमा एक लाख खर्च भइसकेको बताउँदै भने, ‘उपचार कहिलेसम्म चल्ने हो ? कति खर्च हुने हो ? कुनै टुंगो छैन् ।’

छोरामाथि एसिड छ्यापिएको सुन्नेबित्तिकै नुवाकोटको विदुर नगरपालिका १३ स्थित घरबाट ६४ वर्षीया आमा मिठु थापा भक्कानिँदै अस्पताल आइपुगेकी थिइन् । सोमबार अस्पताल पुग्दा उनी कतिखेर छोराले सासले भए पनि बोलाउँला र उसको मुखमा जुसमा पाइप सुस्तरी राखिदिउँला भनेर कुरिरहेकी थिइन् । लगालग ६ छोरा जन्माएपछि सातौं र अन्तिम सन्तानका रुपमा रामराजालाई जन्माएकी उनले मलिनो स्वरमा भनिन्, ‘खै कहिले पो सन्चो होला यल्लाई र बोल्न सक्ला ।’

सजिलै पाइन्छ एसिड

रामराजामाथी भएको एसिड प्रहार भएकै दिन कपिलवस्तुको महाराजगन्ज नगरपालिका–१, की ५१ वर्षीया बेदमतीदेवी गुप्तामाथि एसिड प्रहार भएको थियो । क्रिकेट ब्याट भाँचेको विषयमा छोरा र साथीहरुबीच विवाद उत्कर्षमा पुगेकै बेला स्थानीय हरिनारायण बराईले उनीमाथि एसिड छ्यापेका थिए । गाउँमै ब्याट्री मर्मत गर्ने पसल सञ्चालक हरिनारायणले आफ्नै पसलबाट एसिड ल्याएर छ्यापेका थिए । घटनालगत्तै वडा प्रहरी कार्यालय चन्द्रौटाले उनको पसलबाट ५ लिटर एसिड बरामद गरेको थियो ।

त्यसो त रामराजामाथि एसिड प्रहार हुनुभन्दा ठ्याक्कै १३ दिन अगाडि बाफलमा डेरा गरी बस्ने २९ वर्षीय शिव रम्तेलले मदिराको श्रीमती सुनिता रम्तेल र १५ वर्षीया सालीमाथि एसिड छ्यापेका थिए । घरझगडाको प्रतिशोध साँध्न मादक पदार्थ सेवन गरेका शिवले ट्वाइलेट सफा गर्न भन्दै ल्याएको एसिड छ्यापेका थिए ।

श्रीमती र सालीमाथि एसिड

पछिल्लो एक महिनामा भएका एसिड प्रहारका यी तीनै घटनामा देखिने समानता भनेको एसिडको सहज पहुँच नै हो । त्यसो त २१ भदौ २०७६ स्कुलबाट घर फर्किरहेकी मुस्कान खातुनमाथि वीरगन्जमा एसिड प्रहार भएको थियो । उक्त घटनाका मुख्य अभियुक्त शमशाद आलमले प्रहरी बयानमा स्थानीय हार्डवेयरबाट एसिड किनेर ल्याएको बताएका थिए । २०७६ जेठ १ मा कालोपुलमा डेरा गरी बस्ने २० वर्षीया जेनी खड्कामाथि उनकै श्रीमान विकास भनिने विष्णु भुजेलले एसिड छ्यापेका थिए । प्रहरी अनुसन्धानमा विष्णुले काभ्रेको एक सुनचाँदी पसलबाट एसिड किनेको खुलेको थियो । २०७१ फागुन १० मा ट्युसन सेन्टर जाँदै गरेका सीमा बस्नेत र संगीता मगरमाथि वसन्तपुरमा एसिड प्रहार भएको थियो । यो घटनामा मुख्य अभियुक्त जीवन विकले नयाँ सडकको एक वर्कशपबाट एक सय २५ रुपैयाँमा एसिड किनेको खुलेको थियो ।

यी सबै जसो घटनाले सुन पसलदेखि, हार्डवेयर, वर्कशप, ब्याट्री मर्मत केन्द्रसम्ममा खुलमखुल्ला एसिडको किनबेच भइरहेको र त्यसको दुरुपयोग गम्भीर अपराधमा भइरहेको प्रस्ट्याउँछ । महानगरीय प्रहरी वृत्त कालीमाटीका डीएसपी रुगम कुँवरले एसिडको सहज बिक्री बितरणका कारण सामान्य घटनामा पनि एसिड नै प्रहार गर्ने प्रवृत्ति बढन थालेको बताए ।

रामराजाको घटनाका अलावा एसिड प्रहारका अधिकांश घटनामा किशोरीहरु पीडित बन्ने गरेको देखिन्छ भने घटनाको अन्तर्यमा प्रेम सम्बन्ध र प्रतिशोध मिसिएको देखिन्छ । तर फागुन महिनाका तीन एसिड प्रहारका घटनाबाट भने एसिड प्रहार प्रेम र प्रतिशोधमा मात्रै नभएर क्षणिक आवेगका घटनामा प्रयोग हुन थालेको संकेत गर्दछ ।

दोहोरिरहने नियति

एसिड प्रहार जस्तो गम्भीर घटनाको नियमित श्रृंखला नेपाली समाजका निम्ति नौलो रहेन । प्रहरी प्रधान कार्यालयका अनुसार आर्थिक वर्ष २०७५/७६ मा मात्रै एसिड प्रहारका ४ घटनामा ५ महिला पीडित भए । जारी आर्थिक वर्ष २०७६/७७ का नौ महिनामै एसिड प्रहारका ४ घटनाबाट ४ महिला र एक पुरुष पीडित भइसके । प्रहरीका अनुसार आर्थिक वर्ष २०७५/७६ का एसिड प्रहारका घटनामा प्रहरीले एक पीडकलाई कर्तव्य ज्यान र अर्का एकलाई ज्यान मार्ने उद्योग अर्न्तगत मुद्दा चलाइएको थियो । आर्थिक वर्ष २०७१/७२ पछिका ५ आर्थिक वर्षमा एसिड प्रहारका घटनाबाट १३ महिला र ३ पुरुष पीडित भएका देखिन्छन् । प्रहरीका अनुसार अधिकांश यस्ता घटनामा किशोरीहरु पीडित बन्ने गरेका छन् र घटनाको अन्तर्यमा प्रेम सम्बन्ध र प्रतिसोध मिसिएको भेटिन्छ ।

प्रहरीको तथ्याकंले पछिल्ला पाँच वर्षयता एसिड प्रहारका घटनाबाट पीडित बन्ने महिलाको संख्या बढदो क्रममा देखिन्छ । जस्तो कि, आर्थिक वर्ष २०७१/७२ मा एसिड प्रहारबाट ३ महिला पीडित बनेका थिए भने आर्थिक वर्ष २०७५/७६ मा एसिड पीडित बन्ने महिलाको संख्या ४ पुगेको देखिन्छ ।

त्यसो त पछिल्लो कानूनी ब्याख्याले एसिड प्रहारका घटनालाई अलग्गै रुपमा व्याख्या गर्ने कोसिस पनि गरेको छ । मलुकी अपराध संहिताको परिच्छेद १४ को कुटपिट वा अंगभंगसम्बन्धी कसुरले एसिड प्रहारका घटनालाई अलग्गै रुपले व्याख्या गरेको छ । संहितामा तेजाव वा अन्य रसायनिक, जैविक वा विषालु पर्दाथ प्रयोग गरी कुरुप पारेको खण्डमा कसुरको प्रकृति हेरी ५ देखि ८ वर्षसम्म कैद र अनुहार कुरुप पारेमा एक लाख देखि ५ लाख रुपैयाँसम्म जरिवाना र अन्य अंग कुरुप पारेमा वा शरीरमा पीडा पुर्याएका तीन वर्षदेखि ५ वर्षसम्म कैद र पचास हजार रुपैयाँदेखि तीन लाख रुपैयाँसम्म जरिवानाको व्यवस्था गरेको छ ।

२०७६ साउन २६ मा सर्वोच्च अदालतले एसिड आक्रमणका सम्बन्धमा सरकारका नाममा परमादेश जारी गरेको थियो । उक्त आदेशमा एसिड पीडितलाई निःशुल्क उपचार, पुनःस्थापना र पीडकबाट क्षतिपूर्ति भराउनेका अलवा खुलेआम एसिड बिक्री वितरणलाई नियमन गर्नेसम्मको कुरा समेटिएको छ । छिमेकी भारतमा एसिड आक्रमणबाट पीडित भएपछि लक्ष्मी अग्रवालले सन् २०१३ मा भारतीय सर्वोच्च अदालतमा सार्वजनिक सरोकारको विषय र्न्तगत मुद्दा दायर गरेकी थिइन् । उक्त मुद्दाको सुनवाइपछि भारतको सर्वोच्च अदालतले प्रदेश सरकारले घटनाको १५ दिनभित्र एसिड पीडितलाई एक लाख र बाँकी उपचारका निम्ति २ लाख दिनुपर्ने आदेश गरेको थियो ।

नेपालको कानुनले पीडितको शारीरक क्षतिका आधारका सजायको मात्रै व्यवस्था गरेको छ । जबकी भारतीय अदालतले भने क्षतिका आधारमा क्षतिपूर्तिको समेत व्यवस्था गरेको छ । लक्ष्मीले नै दायर गरेको मुद्दाको सुनवाइका क्रममा अदालतले एसिड र एसिडजन्य सामग्री बिक्रीका निम्ति लाइसेन्स लिनुपर्ने र पसलेको तस्बिरसहितको परिचयपत्रको व्यवस्था गर्नुपर्ने प्रावधान लागू गर्न समेत सरकारका नाममा आदेश दिएको थियो ।

बंगलादेशले पनि एसिड आक्रमणका घटना बढ्दै गएपछि सन् २००२ मा ‘एसिड कन्ट्रोल एक्ट’ नामक कानुन ल्याएर एसिड ओसारपसार र किक्री वितरणलाई नियमन गरेको थियो । उक्त कानुनले एसिड आक्रमण गर्नेलाई आजीवन कारावासको सजाय गरेको थियो । बलियो कानुनकै कारण सन् २००१ मा ३ सय ५१ एसिड आक्रमणका घटना सन् २०१८ मा घटेर १८ मा सीमित भएको थियो ।

२०७६ मा एसिड प्रहारका घटना

  • फागुन २७ गते : बालाजु, काठमाडौं बस्ने २७ वर्षीय रामराजा थापामाथि
  • फागुन २५ गते : कपिलवस्तुको महाराजगन्ज नगरपालिका १ कि ५१ वर्षीया बेदमतीदेवी गुप्तामाथि
  • फागुन १२ गते : बाफल, काठमाडौंमा डेरा गरी बस्ने सुनिता रम्तेलमाथि ।
  • भदौ २१ : स्कुलबाट घर फर्किरहेकी मुस्कान खातुनमाथि वीरगन्जमा
  • जेठ १ : २० वर्षीया जेनी खड्कामाथि कालोपुल, काठमाडौंमा

प्रकाशित : चैत्र ५, २०७६ १०:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?