१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

श्रीमती र सालीमाथि एसिड

सुरुमा किटानी जाहेरी दिने पीडितले श्रीमान्‌ले जानीजानी एसिड प्रहार नगरेको र त्यो एउटा सामान्य दुर्घटना भएको बताएकी छन् । ‘मेरो बूढा हो, मलाई थाहा छ उसको कुरा,’ उनले भनिन्, ‘यो कुरा खोतल्न जरुरी छैन ।’
जनकराज सापकोटा

काठमाडौँ — राजधानीको बाफलमा एक जनाले श्रीमती र सालीमाथि एसिड प्रहार गरेका छन् । २९ वर्षीय शिव रम्तेलले मदिराको सुरमा आइतबार राति श्रीमती सुनिता रम्तेल र १५ वर्षीया सालीमाथि एसिड छ्यापेका हुन् । प्रहरीका अनुसार ट्वाइलेट सफा गर्न राखिएको कमसल एसिड भएका कारण उनीहरूको कपडा जले पनि शरीरमा ठूलो क्षति हुन पाएन । 

श्रीमती र सालीमाथि एसिड

रङ लगाउने काम गर्दै आएका रम्तेल आइतबार कोठाभित्र मदिराको सुरमा थिए । राति अबेर घर फर्केका उनको श्रीमतीसँग भनाभन भएपछि ट्वाइलेटमा रहेको एसिड ल्याएर छ्यापेका थिए । उनलाई रोक्ने क्रममा सालीको आँखा र शरीरमा एसिड परेको छ । महानगरीय प्रहरी वृत्त कालीमाटीका डीएसपी रुगम कुँवरका अनुसार चर्को स्वरमा झगडा भएको खबर टोल फ्री नम्बर एक सयमा आएलगत्तै प्रहरीले रम्तेललाई कोठाबाटै पक्राउ गरेको थियो । कोठाभित्र पुग्दा सुनिताको कपडा एसिडले जलेको थियो । प्रहरीले दुवैलाई तत्काल कलंकीस्थित एक अस्पतालमा उपचारका लागि पठाएको थियो । छालामा धेरै क्षति नभएको र सालीको आँखामा एसिडको छिटा परेका कारण अस्पतालले उनीहरूलाई घर पठाइदियो । सोमबारमात्रै सुनिताले बहिनीको आँखामा क्षति पुगे/नपुगेको जाँच्न तिलगंगा आँखा अस्पताल पुर्‍याएकी थिइन् ।


गोरखा घर भई काठमाडौं बस्दै आएका रम्तेल दम्पतीको सम्बन्ध राम्रो नभएको र सामान्य झगडामै श्रीमान्ले रिस फेरेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।


श्रीमान्को डरले सुरुमै उजुरी दिन आनाकानी गरेकी सुनिताले प्रहरीले सम्झाएपछि मात्रै किटानी जाहेरी दिइन् । मुलुकी अपराध संहिताको परिच्छेद १४ को कुटपिट वा अंगभंगसम्बन्धी कसुरले एसिड प्रहारका घटनालाई अलग्गै रूपले व्याख्या गरेको छ ।


संहितामा तेजाब वा अन्य रासायनिक, जैविक वा विषालु पदार्थ प्रयोग गरी कुरूप पारेको खण्डमा कसुरको प्रकृति हेरी पाँचदेखि आठ वर्षसम्म कैद र अनुहार कुरूप पारेमा एक लाखदेखि पाँच लाख रुपैयाँसम्म जरिवाना र अन्य अंग कुरूप पारेमा वा शरीरमा पीडा पुर्‍याएमा तीनदेखि पाँच वर्षसम्म कैद र ५० हजारदेखि तीन लाख रुपैयाँसम्म जरिवानाको व्यवस्था गरेको छ ।


कानुनमा रहेको यही व्यवस्थाबारे प्रहरीले बताइरहेका बेला शिवले प्रहरीकै अघि श्रीमतीलाई ‘जेलबाट छुटेपछि पख्लिस्’ भन्दै धम्क्याएको डीएसपी कुँवरले बताए । उनले भने, ‘मानसिक तनावमा राखेका कारण पनि पत्नी ‘होस्टाइल’ होलिन् कि भन्ने डर बढेको छ ।’ मंगलबार कान्तिपुरले सुनितासँग घटनाबारे बुझ्न खोज्दा पारिवारिक कुरा भएको बताउँदै उनले घटनाबारे बोल्न अस्वीकार गरिन् । ‘तपाईंलाई मेरो घरको घटनाबारे किन कुरा चाहियो ? त्यस्तो कुरा गर्नुपर्ने विषय नै होइन,’ उनले भनिन् । श्रीमान्ले जानीजानी एसिड प्रहार नगरेको र त्यो एउटा सामान्य दुर्घटना भएको बताउँदै उनले विषयलाई सामान्यीकरण गरिन् । ‘मेरो बूढा हो, मलाई थाहा छ उसको कुरा । यो कुरा खोतल्न जरुरी छैन,’ उनले भनिन्, ‘म जति पैसा दिएर जे गरेर भए पनि बूढालाई निकाल्छु ।’


गत जेठको पहिलो साता कालोपुलमा डेरा गरी बस्ने २० वर्षीया जेनी खड्कामाथि पनि उनकै श्रीमान् विष्णु भुजेलले एसिड प्रहार गरेका थिए । जेनीको घटनामा पनि भुजेलले प्रतिशोध साध्ने हतियारका रूपमा एसिडलाई प्रयोग गरेका थिए । प्रहरी प्रधान कार्यालयका अनुसार आर्थिक वर्ष २०७१/७२ पछिका पाँच आर्थिक वर्षमा एसिड प्रहारका घटनाबाट १५ महिला र तीन पुरुष पीडित भएका छन् । अधिकांश यस्ता घटनामा किशोरीहरू पीडित बन्ने गरेका छन् । घटनाको अन्तर्यमा प्रेम सम्बन्ध र प्रतिशोध मिसिएको भेटिन्छ । सोमबारको घटनामा पनि श्रीमान्–श्रीमतीबीच हुर्किएको द्वन्द्व र प्रतिशोध मिसिएको देखिएको प्रहरीको भनाइ छ ।


एसिड प्रहारका अधिकांश घटनामा एसिडजन्य घातक पदार्थको सहज बिक्री नै मुख्य कारण रहेको देखिन्छ । १५ वर्षीया मुस्कान खातुनमाथि एसिड प्रहार गर्ने सम्साद आलमले वीरगन्जकै एक हार्डवेयरबाट एक सय ५० रुपैयाँमा एसिड किनेका थिए । जेनी खड्कालाई एसिड छ्याप्ने भुजेलले भने बनेपाको एउटा सुनचाँदी पसलबाट एसिड किनेका थिए । त्यस्तै २०७१ फागुन १० मा वसन्तपुरमा ट्युसन सेन्टर जाँदै गरेकी सीमा बस्नेत र संगीता मगरमाथि जीवन विकले एसिड प्रहार गरे । यो घटनामा पनि जीवनले नयाँ सडकबाट एक सय २५ रुपैयाँमा एसिड किनेको खुलेको थियो ।


सोमबारको घटनामा भने ट्वाइलेट सफा गर्न प्रयोग गरिने कमसल खालको एसिडको प्रयोग भएको देखिन्छ । प्रहरीका अनुसार यस्तो एसिड हार्डवेयर पसलमा सजिलै पाइन्छ । २०७६ साउन २६ मा सर्वोच्च अदालतले सरकारलाई घातक मानिएको हाइड्रोक्लोरिक र सल्फ्युरिक एसिडको सहज बिक्रीलाई नियमन गर्न सरकारका नाममा आदेश गरेको थियो । फागुन ८ मा एम्नेस्टी इन्टरनेसनल नेपालले खुलेआम एसिड बिक्री रोक्न माग गर्दै ३३ हजार हस्ताक्षर संकलन गरेर गृह मन्त्रालयलाई बुझाएको थियो । प्रतिशोध साध्न एसिड प्रहारका घटना ह्वात्तै बढेपछि बंगलादेशले सन् २००२ मा एसिडको खुला बिक्री रोक्ने र एसिड प्रहार गर्नेमाथि जन्मकैद हुने गरी कानुन निर्माण गरेको छ ।

प्रकाशित : फाल्गुन १४, २०७६ ०८:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?