२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २८०

बालुवाटारमा नयाँ ‘सेटअप’

स्वरूप आचार्य, अतुल मिश्र

काठमाडौँ — बालुवाटारस्थित प्रधानमन्त्री निवासमा भेला, बैठक र भेटघाट नियमित नै हुने हो । तर प्रधानमन्त्री केपी शर्मा ओलीलाई अस्पतालबाट ल्याइएपछिको केही समय भने अस्वस्थ कसैले पनि भेट्न पाउने छैनन् । भेला, बैठक र भीडभाड हुने छैन । 

बालुवाटारमा नयाँ ‘सेटअप’

मिर्गौला प्रत्यारोपण गरिएका प्रधानमन्त्रीलाई त्रिवि शिक्षण अस्पतालबाट ल्याइएपछि वातावरणका कारण कुनै प्रकारका संक्रमण हुन नदिन बालुवाटारमा नयाँ ‘सेटअप’ गर्न लागिएको हो । त्यसका लागि निवासभित्र र परिसरको विशेष सरसफाइ गरिँदै छ । संक्रमणका स्रोतहरूको पूर्ण निर्मलीकरणका उपाय अवलम्बन गरेपछि मात्र ओलीलाई डिस्चार्ज गर्ने तयारीमा चिकित्सक छन् ।


प्रधानमन्त्री निवास पहिलाभन्दा केही सानो भएकाले सबै प्रकारको व्यवस्था मिलाउन कर्मचारीलाई हम्मे परिरहेको छ । ‘प्रधानमन्त्रीज्यूलाई संक्रमणको जोखिम छ, कसलाई कहाँसम्म जान दिने र कहाँ बसेर बैठक भेटघाट गर्ने भन्ने सेटअप मिलाइँदै छ,’ स्रोतले भन्यो, ‘मन्त्रिपरिषद् बैठकदेखि अन्य महत्त्वपूर्ण बैठक गर्नैपर्छ । भेटघाट हुन्छ । त्यस्तोमा कसलाई कतिसम्म नजिक जान दिने भन्ने चाँजोपाँजो मिलाइँदै छ ।’


बालुवाटारको प्रधानमन्त्री निवास हातामा दुई मुख्य भवन थिए । प्रधानमन्त्री निवास र मुख्य सचिव निवास । प्रधानमन्त्री निवास रहेको पुरानो भवन भत्काएर नयाँ निर्माण सुरु गरिएपछि प्रधानमन्त्री ओलीको बसाइ मुख्य सचिव निवासमा छ । अहिले त्यही भवनमा सरसफाइ भइरहेको हो । उक्त भवन प्रधानमन्त्रीको पुरानो निवासभन्दा केही साँघुरो छ ।


प्रधानमन्त्रीकी पत्नी राधिका शाक्यसँग पहिलोपटक मिर्गौला प्रत्यारोपण गर्दा स्याहार गरेको अनुभव रहेका कारण खानपानलगायत उनको व्यक्तिगत सरसफाइलाई व्यवस्थापन गर्न धेरै कठिनाइ नहुने देखिए पनि अहिले ओली फरक भूमिकामा रहेकाले अन्य विषयको व्यवस्थापन गर्न भने चुनौती छन् ।


प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार अहिले प्रधानमन्त्री निवासमा नयाँ पूर्वाधार भने खडा गर्न लागिएको होइन, बरु भएका पूर्वाधारको उपयोग सहज हुने गरी गर्ने तयारी भइरहेको हो । ‘प्रत्यारोपणअघि प्रधानमन्त्रीज्यूले जसरी भेटघाट र बैठक गर्नुहुन्थ्यो त्यही तरिकाबाट अब भेटघाट र बैठक गर्न मिल्दैन,’ उनले भने, ‘यसमा लुकाउनुपर्ने केही विषय नै छैन । उहाँलाई संक्रमणको जोखिम छ, त्यसैले त्यो नहोस् र काम पनि होस् भनेर जे जसरी चिकित्सकहरूले उचित ठान्नुहुन्छ, त्यसरी सेटअप गर्नुहुन्छ ।’ उनका अनुसार प्रधानमन्त्री आफैं र उनका परिवारका अन्य सदस्यहरू पनि प्रत्यारोपण गरिएका बिरामीलाई के गर्न हुन्छ र के गर्न हुन्न भन्नेमा जानकार रहेकाले व्यवस्थापन गर्न धेरै कठिन भने छैन । स्रोतका अनुसार प्रधानमन्त्री निवासको ‘सेटअप’ परिवर्तन गर्ने जिम्मा प्राडा. दिव्या सिंहले नै लिएकी छन् । उनले दिएको निर्देशनबमोजिम नै निवासका कोठाहरूमा कहीँ कतै ढुसी लागे/नलागेकोदेखि बाथरुमको सफाइ र भेटघाट कक्षमा बस्ने तरिकादेखि आगन्तुकले पालना गर्नुपर्ने नियमहरूसम्म तयार गरिँदै छ । ओली निवास फर्किएपछि खान मिल्ने र नमिल्ने चिजबिजको सूची पनि डाक्टरहरूले तयार पारेका छन् ।


प्रधानमन्त्री अझै केही दिन अस्पतालमै ओली सक्रिय भएर सामान्य व्यक्तिसरह दैनिकीमा फिर्न केही समय लाग्ने चिकित्सकले बताएका छन् । ६९ वर्षीय ओली दोस्रोपटकको मिर्गौला प्रत्यारोपणपछि गत सातादेखि त्रिवि शिक्षण अस्पतालको आईसीयूमा छन् । अस्पतालले मंगलबार पत्रकार सम्मेलन गर्दै उनको स्वास्थ्यमा अपेक्षित सुधार देखिएको जनाएको छ ।


‘६ महिना, वर्ष दिनपछि एकदम एक्टिभ (सक्रिय), साधारण मान्छे जस्तै जीवन बिताउन सक्नुहुन्छ,’ प्रधानमन्त्री ओलीकी निजी चिकित्सक प्राडा. दिव्या सिंह शाहले भनिन्, ‘अहिले हामी प्रधानमन्त्रीज्यूलाई पब्लिकमा, भीडभाडमा जान सल्लाह दिन्नौं ।’ ओलीलाई पहिलो एक महिना शरीरको प्रतिरोधात्मक शक्तिलाई शिथिल पार्ने ‘इम्युनो सप्रेसेन्ट’ औषधिको उच्च मात्रा दिइएको छ । यस्तो अवस्थामा संक्रमणको प्रबल जोखिम हुने भएकाले सावधानी अपनाउनुका साथै रुघाखोकीको संक्रमितबाट पनि विशेष रूपमा जोगिनुपर्छ ।


तर ओली केही दिनपछि सचिवालयबाट दैनिक काम गर्न सक्ने हुने जानकारी डा. शाहले दिइन् । शल्यक्रिया गरेपछि घाउ निको नभएसम्म दुख्ने भए पनि हाल छिटो तंग्रिने बनाउन आईसीयूमै सामान्य हिँडडुल, व्यायाम गराइँदै छ । मिर्गौला प्रत्यारोपणपछि विभिन्न प्रयोगशाला परीक्षणहरूको नतिजा सकारात्मक आएको औंल्याउँदै उनले भनिन्, ‘अपरेसन अघि र पछि उहाँको सबै अंगले राम्रो काम गरिरहेको रिपोर्टले देखाएको छ ।’


हाल रक्तचापको गति सामान्य र सुगरसमेत नियन्त्रित हुनुका साथै रगतमा क्रिएटिनिनको स्तर प्रत्यारोपणको दोस्रो दिनदेखि नै अपेक्षित अवस्थामा छ । डा. शाहका अनुसार ओलीका लागि ६ जना मिर्गौलादाताको परीक्षणमा ‘इम्युनोलोजिकली (प्रतिरोधात्मक रूपमा) सबैभन्दा राम्रो परिणाम समीक्षा संग्रौलाको देखिएको थियो । त्यसैले उनलाई मिर्गौलादातामा स्वीकार गरिएको थियो ।


ओलीलाई अब अस्पतालबाट डिस्चार्ज गर्दा हुने भए पनि थप केही दिन आईसीयूमै राखिने भएको छ । उपचारमा संलग्न चिकित्सकको समूहले सहज र आत्मविश्वास अनुभव नगरेसम्म डिस्चार्ज नगरिने डा.शाहले बताइन् । ‘प्रधानमन्त्री चाँडै जान चाहनुहुन्छ तर घरमा पनि त्यहीअनुसारको व्यवस्थापन र तयारी गर्नुपर्छ,’ डा.शाहले भनिन्, ‘एक–दुई दिन अस्पतालमै राख्न परिवारको पनि आग्रह भएकाले हामीले यहाँ राखेका छौं ।’ मिर्गौलादाता संग्रौलालाई पनि डिस्चार्ज गरिएको छैन । सिंगापुरबाट प्लाज्माफेरेसिस गराएर मुलुक फर्किएपछि ओलीको मिर्गौलाले कम काम गर्न थालेको थियो । त्यसबेला डायलसिसको आवश्यकता पर्न थालेपछि चिकित्सकहरूले मिर्गौला प्रत्यारोपणको सल्लाह दिएका थिए । सिंगापुरबाट फर्केदेखि नै ओलीको मिर्गौला प्रत्यारोपणको तयारी थालिएको थियो ।

प्रकाशित : फाल्गुन २८, २०७६ ०७:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्तरोन्नति गर्न थालिएका ठूला राजमार्गको काम समयमा नसकिँदा यात्रुहरूले सास्ती खेपिरहेकाछन् । काम समयमा नसकिनुमा को बढी दोषी छ ?