कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

फरक पार्टीबाट आएकाले कांग्रेसका के-के जिम्मेवारी पाए ?

मधुसुधन भट्टराई

काठमाडौँ — २०७४ सालको चुनाव दौरान फरक पार्टीबाट कांग्रेसमा प्रवेश गरेका मध्य केन्द्रीय समितिमा एकजनाले पदाधिकारी र १३ जनाले सदस्यको जिम्मेवारी पाएका छन् । यस्तै ९ जना आमन्त्रित केन्द्रीय सदस्य भएका छन् । 

फरक पार्टीबाट आएकाले कांग्रेसका के-के जिम्मेवारी पाए ?

शुक्रबार सभापति शेरबहादुर देउवाले तत्कालीन नेपाल लोकतान्त्रिक फोरमका ११ नेतालाई केन्द्रीय सदस्यमा मनोनयन गरेपछि फरक पार्टीबाट कांग्रेस प्रवेश गरेर केन्द्रमा जिम्मेवारी पाउने नेताको संख्या २३ पुगेको हो ।

लोकतान्त्रिक फोरमका ११ नेता कांग्रेस केन्द्रीय सदस्य मनोनीत


तत्कालीन नेपाल लोकतान्त्रिक फोरमलगायत अन्य राजनीतिक दलको सांगठनिक संरचना समायोजनका लागि उपसभापति विमलेन्द्र निधिको संयोजकत्वमा गठीत समायोजन समितिको सिफारिसमा उनीहरुलाई जिम्मेवारी दिइएको पार्टीले बताएको छ । यसअनुसार तत्कालीन लोकतान्त्रिक फोरमका अध्यक्ष विजय गच्छदार उपसभापति मनोनित भइसकेका छन् । उनी कांग्रेस संसदीय दलका उपनेता पनि हुन् । तर, गत माघ २२ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गच्छदारलाई ललिता निवास जग्गा प्रकरणमा दोषी ठहर्‍याउँदै विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेपछि उनको सांसद पद निलम्बन भएको छ ।

गच्छदार समूहले बुझायो संगठन समायोजन नामावली


देउवाले यसअघि फागुन १९ गते २ जनालाई केन्द्रीय सदस्य र ६ जनालाई आमन्त्रित केन्द्रीय सदस्य बनाए । बनाइएका सबै अन्य पार्टीबाट २०७४ को निर्वाचनको पूर्वसन्ध्यामा कांग्रेस प्रवेश गरेका नेताहरु हुन् । त्यस दिन देउवाले जंगीलाल राय (सर्लाही) र कर्णबहादुर बुढा (डोल्पा)लाई केन्द्रीय सदस्य बनाएका थिए । राय राजपाको महासचिव छोडेर कांग्रेस प्रवेश गरेका थिए भने बुढा राप्रपा छोडेर । रायलाई कांग्रेसले प्रतिनिधिसभा सदस्यको उम्मेदवार पनि बनायो । तर, उनी पराजीत भए ।

आमन्त्रित केन्द्रीय सदस्यमा देउवाले मोहनसिंह राठौर (कैलाली), शम्भुलाल श्रेष्ठ (सर्लाही), अभिशेकप्रताप शाह (कपिलवस्तु), दयाराम पाण्डे (लम्जुङ), जनकराज कलौनी (डडेलधुरा) र भूमिबहादुर (विश्व) गुरुङ (स्याङ्जा)लाई मनोनीत गरेका थिए । आमन्त्रित केन्द्रीय सदस्यमा मनोनीत राठौर तत्कालीन एमालेबाट कांग्रेस प्रवेश गर्दै कैलाली–२ बाट प्रतिनिधिसभामा टिकट पनि पाए । तर, पराजित भए ।

श्रेष्ठ माओवादीबाट कांग्रेस प्रवेश गरेका हुन् । उनले २०७० सालमा भएको दोस्रो संविधानसभा निर्वाचनमा तत्कालीन एमाले नेता पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई पराजित गरेका थिए ।


शाह तत्कालीन संघीय समाजवादी पार्टीको केन्द्रीय सदस्यबाट कांग्रेस प्रवेश गरेका हुन । उनी कपिलवस्तु–३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित पनि भएका छन् । शाह यसअघि २०७० र २०६४ मा भएका संविधानसभा निर्वाचनमा पनि त्यही निर्वाचन क्षेत्रबाट निर्वाचित भएका थिए ।


पाण्डे अखण्ड नेपाल पार्टीको एउटा समूहको अध्यक्ष थिए । उनले आफ्नो नेतृत्वको पार्टीलाई कांग्रेसमा विलय गराएका थिए । कलौनी र गुरुङ पनि फरक पार्टीबाट कांग्रेस प्रवेश गरेका थिए ।

यसअघि देउवाले फरक पार्टीबाट आएका तीनजनालाई आमन्त्रित सदस्य बनाएका हुन् । उनले नरेन्द्र चौधरी, सूर्यबहादुर केसी र कुमार खड्कालाई आमन्त्रीत केन्द्रीय सदस्य बनाका हुन् । यीमध्ये चौधरी र केसी राप्रपाबाट र खड्का अखण्ड नेपाल पार्टीबाट कांग्रेस प्रवेश गरेका थिए । केसी कांग्रेसबाट अहिले प्रतिनिधिसभामा सभानुपातिक तर्फबाट सांसद छन् भने खड्का गण्डकी प्रेदशका सांसद छन् । उनी प्रदेशसभामा प्रमुख सचेतकसमेत हुन्।

प्रकाशित : फाल्गुन २६, २०७६ १८:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?