कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

भ्रमण वर्ष २०२० स्थगित

बबिता शर्मा

काठमाडौँ — कोरोना भाइरसको प्रकोपलाई मध्यनजर गर्दै सरकारले भ्रमण वर्ष २०२० स्थगित गर्ने भएको छ । आइतबार साँझ बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले भ्रमण वर्ष २०२० लाई स्थगित गर्ने निर्णय गरेको हो । 

भ्रमण वर्ष २०२० स्थगित

बैठकमा सहभागी एक मन्त्रीका अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रमण वर्ष स्थगित गरेर सन् २०२२ लाई भ्रमण वर्ष घोषणा गर्ने प्रस्ताव राखेका थिए ।

‘कोरोना भाइरसको प्रकोपलाई मध्यनजर गर्दै भ्रमण वर्ष स्थगित गर्ने विषयमा छलफल भएको थियो । त्यसैक्रममा प्रधानमन्त्रीले नै भ्रमण वर्ष अहिले स्थगित गरेर २०२२ लाई बनाउँ भन्ने प्रस्ताव गर्नु भएको हो,’ बैठकमा सहभागी ती मन्त्रीले भने ।

‘सगरमाथा संवाद’ स्थगित

यस्तै आइतबार नै संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयले नेपाल पर्यटन बोर्ड र नेपाल भ्रमण वर्ष २०२० को सचिवालयबाट सन् २०२० को मार्च महिनामा स्वदेश तथा विदेशमा गरिने प्रचारप्रसारका कार्यक्रम हाललाई स्थगन गर्ने निर्णय गरेको थियो ।

पर्यटनमन्त्री योगेश भट्टराईको अध्यक्षतामा कोरोना भाइरसको विश्वव्यापी प्रभाव तथा मन्त्रालय र अन्तर्गतका निकायहरुबाट गर्नुपर्ने रोकथाम एंव पूर्वतयारीका कार्य सम्बन्धमा बसेको बैठकले सो निर्णय गरेको हो । नेपालको आन्तरिक पर्यटन प्रवद्र्धनका लागि लिनुपर्ने तत्कालीन नीति तथा कार्यक्रमको सम्बन्धमा नेपाल पर्यटन बोर्ड र नेपाल भ्रमण वर्ष, २०२० को सचिवालयले एक हप्ताभित्र संक्षिप्त प्रतिवेदन तयार गरी पेश गर्न निर्देशन दिइएको छ ।

नेपालको पर्यटन प्रवद्र्धनका लागि वैकल्पिक रणनीति तय गर्न नेपाल पर्यटन बोर्डमा क्रियाशील समूहले देशगत सूचनाहरु अध्यावधिक राखी आवश्यक आन्तरिक तयारी गर्ने निर्णय पनि गरेको थियो ।

प्रकाशित : फाल्गुन १८, २०७६ २१:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?