सोचेजस्तो छैन कोरिया : ‘एक दिन काम नगरे दुई दिनको तलब काटिन्छ’

सोलबाहिर रहेका २४ जिल्लाका गाउँ–गाउँमा नङ्ग्रा खियाइरहेका नेपालीहरुको ‘अत्यासलाग्दो’ कथा । भन्छन्, ‘मेसिन सँगसँगै काम गर्नुपर्छ । बोलीपिच्छे गाली गर्छन् । कुकुरका छाउरा भन्छन् । हेप्‍नुको सीमा छैन ।’ 
होम कार्की, गोकुल थोकर

(सोल) — मरिना गाउँपालिका सिन्धुलीका अर्जुन परियार र तिमाल काभ्रेका विमलसिंह लामा दक्षिण कोरियाको खाङवन्दोस्थित छङसनगुन नाम्यन पुग्दा फुरफुर हिउँ परिरहेको थियो । गाडीबाट ओर्लिएर बस्ने होस्टलसम्म पुग्दा उनीहरूको कपाल सेताम्य भइसकेको थियो । बाहिरी तापक्रम माइनस २५ डिग्री थियो ।



उनीहरूले काम गर्ने र बस्ने ठाउँ जंगलको बीचमा अग्ला रुखमुनि थियो । कोठाभित्र भने न्यानो थियो । कोठामा खाट थिएन । उनीहरूलाई एक–एकवटा ब्लाङ्केट, डसना र सिरानी दिइयो ।


होस्टलअगाडिका रुख पनि सेताम्य थिए । हिउँका डल्ला पातझैं रुखमा अड्किएर बसेका थिए । अलि पर टिनले छाएका १० वटा एकपाखे झुपडी थिए । ‘कोरियामा बस्ने साथीले हिउँ खेलेको फोटो देखाउँदा लोभ लाग्थ्यो तर आफैं काम गर्ने ठाउँमा हिउँको थुप्रो देख्दा त अत्यास लाग्दोरहेछ’, विमलले भने, ‘मैले तस्बिरमा देखेको कोरिया र आफैंले भोगेको कोरिया एउटै थिएन ।’


कोठामा पुगेको एकैछिनमा बम पड्केजस्तो ठूलो आवाज आयो । ‘हामी तर्सियौं, कहाँ आइपुगियो जस्तो लाग्यो, पछि बुझ्दा हाम्रो कम्पनीले सुरुङभित्र माइन विस्फोट गराएको रहेछ,’ अर्जुनले भने, ‘त्यहाँबाट ढुंगा निकाली पेलेर मैदाजस्तो धूलो बनाउँदोरहेछ ।’


कम्पनीमा हाजिर गरेको पहिलो दिन अर्जुनलाई सुपरभाइजरले लोड–अनलोड गर्ने मेसिनमा नुनको बोरा हाल्न लगाए, विमललाई साबेल बोक्न । हातको इसाराले बोरासँगै बस्न लगाए । ‘जहाँ–जहाँ कम्पनीको गाडी र फोरक्लिप (सामान उठाउने सानो गाडी) हिँड्छ, त्यहाँ बाटोभरि नुन हाल्न लगायो,’ विमलले भने, ‘घुँडामुनिसम्म हिउँ आइपुग्थ्यो । पहिलो दिन दुई घण्टासम्म हिउँमा काम गर्नुपर्‍यो ।’


कम्पनीभित्रको संसार भने अर्कै थियो । मेसिनको ठूलो आवाज आउँथ्यो । मैदाजस्तो धूलो हावामा फैलिन्थ्यो । ‘ढुंगा पेल्दा एकदमै तिखो आवाज निस्किँदोरहेछ, त्यसलाई छेक्न भनेर कानमा ठेडी घुसाइएको हुन्छ तर सानो आवाजलाई मात्रै रोक्छ,’ अर्जुनले भने, ‘यसो ठेडी खस्यो कि भनेर छाम्दा कानमै हुन्छ, ठेडी लगाएको र नलगाएको उस्तै हो ।’


मेसिनबाट २० केजीको धूलो बोरामा प्याक भएर आउँथ्यो । बोरामा प्याक हुनासाथ उनीहरूले उचालेर फोरक्लिपमा हालिदिनुपर्छ । ‘बोरा उचाल्यो, राख्यो । फेरि उचाल्यो राख्यो । ८ मिनेटमा ५० वटा बोरा उचालेर फोरक्लिपमा राखिसक्नुपर्छ । दुई घण्टा निरन्तर काम गरेपछि पिसाब फेर्न र पानी पिउनका लागि १० मिनेट समय दिइन्छ,’ उनले भने, ‘एक मिनेट ढिलो गर्न पाइन्न ।’


‘लगातार एउटै खालको आवाज सुन्दा एकोहोरो बनिँदोरहेछ, दिमागले केही सोच्न सक्तैन, दैनिक १० घण्टाभन्दा बढी बिताउँदा शरीरै शून्यजस्तो हुन्छ,’ अर्जुनले भने, ‘बेलुका कोठामा पुग्दा नाकभरि धूलो छिरेको हुन्छ । मेरो त ढाड दुख्न थालिसकेको छ । श्वासप्रश्वाससम्बन्धी रोगले भेट्टाउँछ कि भन्ने डर छ । अहिले कमाएको पैसा नेपाल फर्केपछि उपचारमै सकिन्छ कि भन्ने चिन्ता लाग्न थालेको छ ।’


जंगलको बीचमा फ्रिज टुक्र्याउँछु

वीरेन्द्रनगर सुर्खेतका दीपक घिमिरे कोरिया आउनुअघि एउटा एनजीओमा मासिक ६० हजार रुपैयाँ कमाउँथे । कोरियाको कमाइले उनलाई लोभ्यायो । ‘सुर्खेतमा राम्रै थियो, भर्खरै ब्याचलर सकिएको थियो । सरकारी जागिरको तयारीमा थिएँ, पाँच वर्ष दुःख गरेर जिन्दगी सपार्ने हुटहुटीमा आएँ,’ उनले भने, ‘यहाँको वास्तविकता देखेपछि मलाई आकाशबाट एक्कासि धर्तीमा पछारिएको जस्तो लागिरहेको छ ।’


उनलाई फर्निचरको काम गर्नुपर्ने भनिएको थियो तर विद्युतीय सामानको ‘रिसाइक्लिङ’ गर्ने कम्पनीमा काम गर्नुपरेको छ । कम्पनी जंगलको बीचमा छ । ‘जापानबाट बिग्रिएको फ्रिज आउँछ, त्यसलाई सानो डोजरले फुटाइदिन्छ । त्यसपछि म घोप्टो पर्छु । हातमा कैंची लिन्छु अनि ५ मिनेटभित्र फलाम, तामा, प्लास्टिक छुट्याइसक्छु,’ उनले भने, ‘त्यो सकिनासाथ अर्को फ्रिज आइपुग्छ । त्यस्तो फ्रिज लिएर आएको गाडीको लाइन बाहिर गेटमा पालो कुरेर बसेको हुन्छ । हामीले फ्रिजबाट जति छिटो सामान छुटाउन सक्यो, त्यति छिटो गाडीको लाइन सर्छ ।’ उनका अनुसार घाम, पानी, हिउँ केही भन्न पाइँदैन । ‘पानी र हिउँ पर्दा रेनकोट लगाएर काम गर्नुपर्छ, यहाँ माइनस २०/२५ डिग्रीसम्म चिसो हुन्छ । ज्याकेटमाथि ज्याकेट लगाउँदा पनि न्यानो हुँदैन । मौसम जस्तो भए पनि फोहोर फालेको छ, फालेको छ,’ उनले भने, ‘हामीलाई आराम गर्ने समय छैन । आराम गर्ने भनेको कोठामा आइपुगेर मात्र हो ।’


उनले आफूले सोचेको दुःख र यहाँ गर्नुपरेको दुःखका बीचमा आकाश जमिनको फरक रहेको बताए । ‘विदेशमा दुःख गर्नुपर्छ । दुःखै गर्छु भनेर आएको थिएँ । मेसिनबाट भन्दा मान्छेबाट बढी उत्पादकत्व खोजिन्छ, पूरै शारीरिक काम हो,’ उनले भने, ‘कोरिया बल लगाउन सक्नेलाई मात्रै ठीक छ ।’


एक दिन काम नगरे दुई दिनको तलब काटिन्छ

९० को दशकमा नेपालीहरू भिजिट भिसामा काम गर्न आएका थिए । १९९४ देखि २००४ सम्म प्रशिक्षार्थी कामदारका रूपमा आउन थाले । नेपाल र कोरियाबीच समझदारी भएपछि रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत २००८ देखि कोरियाले अदक्ष कामदारका रूपमा नेपालीलाई लैजान थालेको हो । ईपीएसबाट गएका कामदार राजधानी सोलमा छैनन् । उनीहरूलाई सोलबाहिर रहेको २४ जिल्लाका गाउँ–गाउँमा पुर्‍याइएको छ ।


कोरिया जानुअघि कामदारले कम्पनी रोज्न पाउँदैनन् । जुन रोजगारदाताले कामदार रोज्छ, त्यही रोजगारदातासँग श्रम सम्बन्ध कायम हुन्छ । भाषा परीक्षामा छनोट भएकाको सूचीबाट रोजगारदाताले छानेमा मात्रै कोरिया जान पाइन्छ । कोरियाले विदेशी कामदारलाई साना र मझौला उद्योगमा मात्रै रोजगारी दिने नीति लिएको छ । ‘तीन सयभन्दा बढीलाई रोजगारी दिने कम्पनीमा विदेशीले काम गर्न पाउँदैनन्,’ दक्षिण कोरियाका लागि नेपाली श्रम काउन्सिलर डिल्लीराम बाँस्तोलाले भने । ६ जना कोरियाली कामदार राखेमा चार जना विदेशीलाई काम लगाउन पाइने नीति छ । पाँच देखि ५० जनासम्म कामदार राख्ने कम्पनीमा कोरियाली हुँदैनन् । तीन सय जनासम्म कामदार राख्ने कम्पनीमा मात्रै कोरियाली र विदेशीले सँगै काम गर्न पाउँछन् ।


कार्यस्थलमा कोरियाली र विदेशीबीच निकै भेदभाव छ । नेपाली र अरू विदेशीलाई कम्पनीले सबैभन्दा फोहोरी र खतरनाक काममा लगाउँछ । ‘एउटै कम्पनीमा जुन गाह्रो छ, त्यो नेपालीले गर्नुपर्छ । सजिलोजति सबै कोरियालीले गर्ने हो । अलिकति कठिन काम गर्नुपरे उनीहरू छाडेर हिँडिदिन्छन्,’ हतुवागढी भोजपुरका तेजकुमार राईले भने, ‘कोरियाको श्रम कानुनले समान व्यवहार गर्ने भने पनि व्यवहारमा आकाश जमिनको फरक छ ।’


वीरेन्द्रनगरका दीपक घिमिरेले नेपालमा हुँदा जुन काम गर्दिनँ भनेर छोडेका थिए, कोरियामा आएर त्यही काम गर्नुपर्‍यो । ‘हामीलाई कुल्लीको हैसियतमा पनि राखेको छैन,’ उनले भने । नीतिगत रूपमा कोरियाली र विदेशीले पाउने न्यूनतम तलब समान भनिए पनि व्यवहारमा त्यस्तो छैन । ‘कोरियालीको सुरुको तलब झन्डै दुई लाख ४० हजार रुपैयाँ हुन्छ,’ हेटौंडाका नवराज तिमल्सिनाले भने, ‘हाम्रो एक लाख ८० हजार मात्रै हुन्छ ।’


न्यूनतम तलब पाउनका लागि महिनामा २ सय ९ घण्टा काम गरेकै हुनुपर्छ । एक दिन काम गरेन भने दुई दिनको तलब काटिन्छ । ओभरटाइमसहित आएको मासिक आम्दानीमा करबापत दुई प्रतिशत, स्वास्थ्य बिमाबापत ३.१२ प्रतिशत, बासस्थानको खर्च कटौती हुन्छ ।


बोलीपिच्छे गाली खाइन्छ, लात नहान भनेर झगडा गर्नुपर्छ

छिटो र मागअनुसार उत्पादन बढाउन सकेन भने नेपाली कामदारमाथि दुर्व्यवहार पनि त्यत्तिकै हुने गरेको छ । खासगरी सुपरभाइजर (फुजान) ले गाली गर्छन् । ‘काम गरिरहेका बेला पछाडिबाट लात हान्दै आउँछ, किन लात लगाएको भन्दा तँ मभन्दा ठूलो मान्छे होस् र भन्छ,’ सिन्धुलीका परियारले भने, ‘लात नलगा भनेर झगडा गर्नुपर्छ ।’


इन्चनमा ४ वर्ष ५ महिना काम गरिसकेका सोलुखुम्बुका पूर्ण राईले भने, ‘आरामले गर्दा एक मिनेट लाग्ने कामलाई २० सेकेन्डमा सक्न लगाउँछन् । फेरि त्यो काम एकदमै राम्रो हुनुपर्छ ।’ परियारका अनुसार फिलिपिनी, भियतनामीलाई भन्दा नेपालीलाई फरक व्यवहार हुन्छ । ‘फिलिपिनीलाई केही अपशब्द बोल्यो भने तुरुन्तै दूतावासका मान्छे कार्यस्थलमा आइपुग्छन्, हाम्रो दूतावासका मान्छेलाई यस्ता गालीगलौजले छुँदैन, मान्छे मर्‍यो भने मात्रै छुन्छ,’ उनले भने । त्यसैले कामदारले आफूमाथि भएको दुर्व्यवहारविरुद्ध स्थानीय प्रहरी वा नेपाली दूतावाससमक्ष पुर्‍याउने गरेका छैनन् ।


मेसिन सँगसँगै काम गरेन भने सेक्या र सिफाल भन्दै सुपरभाइजर आइपुग्छ । ‘सुरु सुरुमा त सेक्या र सिफालको अर्थ बुझेको थिइनँ, मतलब पनि हुँदैनथ्यो,’ राईले भने, ‘सेक्या भनेको कुकुरको छाउरा र सिफाल भनेको आमालाई गर्ने गाली भनेर बुझेपछि निकै रिस उठ्यो ।’


मन बिझाउने गाली सुन्न नसकेपछि सुपरभाइजरदेखि कम्पनी मालिकसँग झगडासमेत हुन्छ । ‘हामी निकै सहनशील हौँ । सकेसम्म सहेरै बस्छौं । अति भएपछि मात्रै प्रतिवाद गर्ने हो,’ परियारले भने, ‘कहिले तेरो देशमा प्याज हुँदैन, ल प्याज हेर् भन्दै आउँछ । कहिले यो खुर्सानी हो । पिरो हुन्छ । खाइहेर् भन्दै आउँछ । कहिले यो बरफ हो । चिसो हुन्छ, छामी हेर् भन्छ । कहिले तेरो देशबाट यस्तो चन्द्रमा देखिँदैन, राम्रोसँग हेर् भन्दै आउँछ । जतिखेर पनि पारो बढाइदिन्छ ।’ आफूमाथि हातपात भएको उजुरी कोरियालीले गरेमा प्रहरीले प्रमाण खोज्दैन । ‘हामीमाथि पिटपाट हुँदा कि मुखबाट रगत आउनुपर्छ कि देखिने प्रमाण चाहिन्छ,’ उनले भने ।


एक्लो नेपाली भएको कम्पनीमा झन् बढी हेपिन्छ । ‘दैनिक १०–१२ घण्टा गाली गर्दै काममा घोटाएपछि उसमा मानसिक तनाव देखिन थाल्छ,’ ६ वर्षदेखि कार्यरत चन्द्रगढी, झापाका हरिकुमाल राजवंशीले भने, ‘कोरियालीको बोलीपिच्छे निस्कने अपशब्दले टोलाउने बनाइदिन्छ ।’


रंगनी, ओखलढुंगाका सोमबहादुर बोमजन तामाङले तीन वर्ष एक्लै बिताए । उनी सेनाको जागिर छोडेर कोरिया आएका थिए । सोल नजिकैको पोछन सीको खासानमा सिसा काट्ने कारखानामा काम गर्थे । ‘यो ज्यादै अप्ठ्यारो छ, जोखिम धेरै छ । कोरियालीहरू यो काम त्यति गर्दैनन् । काम सुरु गरेको केही दिनमै भाग्छन्,’ उनले भने, ‘नेपाली बोल्ने कोही भएन । बल्ल एक जना नेपाली आएका छन् । एक्लो हुँदा ज्यादै गाह्रो हुन्छ । सुपरभाइजरको व्यवहार सुनाउने साथी नहुँदा मनभित्रै गुम्सिएर बस्नुपर्ने । त्यस्तो कुरा भित्रभित्र गढेर खिल बन्दोरहेछ ।’


कामदारका अनुसार नेपालीले कोरियामा आत्महत्या गर्नुको एउटा कारण कार्यस्थलमा नियमित हुने दुर्व्यवहार हो । नेपाली दूतावासका अनुसार सन् २००८ देखि २०१९ सम्म ४८ नेपालीले आत्महत्या गरेका थिए । ‘आत्महत्या गर्नुको धेरै कारण होला । कम्पनीले कामदारमाथि गर्ने एउटा व्यवहार पनि हो,’ आप्रवासी कामदारको आधिकारिक युनियन आप्रवासी ट्रेड युनियनका महासचिव मधुसूदन ओझा भन्छन्, ‘कम्पनीले कामदारमाथि गर्ने दुर्व्यवहार निकै डरलाग्दो छ, जसको कतै कुनै रेकर्ड छैन ।’


दुर्घटनामा पर्ने र अंगभंग हुने गनिसाध्य छैन

डिसेम्बर २०१८ मा कोरिया आइपुगेका २१ वर्षीय सुरजलाई होङचिवनमा लगिएको थियो । उनलाई कम्पनीले ट्र्याक्टर चलाउन भन्यो । आफूलाई राम्रोसँग ट्र्याक्टर चलाउन नआउने भनेर उनी पन्छिए । मालिकले जबर्जस्ती गरेपछि उनको केही सीप लागेन । ट्र्याक्टर चलाउन थाले । ट्र्याक्टर दुर्घटनामा परी उनको ढाडमा चोट लाग्यो । अस्पतालमा उपचार भएपछि अहिले हिँड्न सक्ने भए पनि कामका लागि पूर्ण रूपमा सक्षम भएका छैनन् । उनको उपचारको जिम्मा कम्पनीले लिएको छैन ।


विमला विक अगस्ट २०१५ मा कोरिया आएकी थिइन् । उनी प्लास्टिक कम्पनीमा प्लास्टिक ब्याग बनाउने काम गर्दै थिइन् । १० अगस्ट २०१७ मा उनको हत्केला काटियो । कम्पनीले उपचारको जिम्मा लिएन । कम्पनीले औद्योगिक दुर्घटनाका रूपमा समेत दर्ता गरिदिएन । आप्रवासी सहयोग केन्द्रको सहयोगमा औद्योगिक दुर्घटनाका रूपमा दर्ता भएपछि उनले ५ महिनाको तलब पाइन् । हेटौंडाका ३९ वर्षीय मनोज सुवेदीको काम गरिरहेका बेला एक्कासि खुट्टा भाँचियो । अहिले उपचार गराउँदै छन् । डाक्टरले आराम गर्नुपर्ने भनेपछि उनी न्यूनतम तलबको ७० प्रतिशत मात्र तलब पाउँछन् ।


मदन उप्रेती ह्वासाङस्थित कोरियन पीएनपी कम्पनीमा प्लास्टिकका सामग्री बनाउने काम गर्थे । मेसिनको ब्लेड फेर्ने बेला हात काटियो । यो दुर्घटना भएको एक वर्षपछि मात्रै औद्योगिक दुर्घटनाका रूपमा मुद्दा दर्ता भयो । क्षतिपूर्ति लिनका लागि उनले निकै कठिन लडाइँ लड्नुपर्‍यो ।


सन् २०११ यता कोरियामा प्रत्येक वर्ष ६ हजार जना विदेशी कामदार औद्योगिक दुर्घटनामा पर्ने गरेका छन् । सन् २०१८ मा मात्रै ७ हजार २ सय ३९ जना औद्योगिक दुर्घटनामा परेका थिए । १३६ जना कामदारको दुर्घटनामा परी मृत्यु भएको थियो ।


इन्चनको वाइदोमा ६ वर्षदेखि कार्यरत धरानका सन्तोष बराइलीले कार्यस्थलमा सुरक्षा सतर्कता र स्वास्थ्यमा ध्यान नदिइने बताए । ‘कोरियाली अधिकारीहरू चेकजाँचमा आउँदा मात्रै हेलमेट र पन्जा लगाउन दिने गर्छन् ।’


उनी अल्मुनियम उद्योगमा प्याक गरेको सामानमा टेप टाँस्ने गर्थे । टेप टाँस्दा टाँस्ता औंलामा गाँठो निस्कियो । डाक्टरले औंलामा बढी प्रेसर भएकाले असर परेको भन्यो । उनी अहिले टेप टाँस्ने काम छोडेर रङ लगाउने काम गर्छन् । रङको गन्ध तान्ने तीन वटामध्ये एउटा मेसिन बिग्रिएको छ । त्यसैले रङ लगाउँदा उनले त्यसको गन्ध खानुपर्छ । उनलाई खोकी लाग्छ । सरकारी मान्छे चेकिङमा आउँदा कम्पनीले रङ नहालेको मेसिन चालु गर्छ जसले गर्दा त्यतिबेला गन्ध आउँदैन ।


ओखलढुंगाका तामाङ दुईचोटि दुर्घटनामा परे । उनलाई १० टनको सिसाले च्याप्यो । उनको खुट्टाको हड्डी भाँचियो । ‘भाग्यले बाँचेको भन्नुपर्छ,’ उनले भने । उनले तीन महिना पूर्ण रूपमा आराम गर्नुपर्‍यो । अहिले पनि बिहान उठ्ने बेलामा खुट्टा टेक्नै नसक्ने गरी दुख्छ ।


६ वर्षदेखि कोरियामा कार्यरत हेटौंडाका नवराज तिमल्सिनाका अनुसार अनिँदो भएर काम गर्नुपर्दा पनि दुर्घटना बढेको छ । उनी कम्पनीमा बफादार कामदारका रूपमा पुनः कोरिया आउन पाएका थिए । ‘कार्यस्थल प्रेसररहित हुनुपर्ने हो । यहाँ प्रेसरसहित काम लगाइन्छ । मेसिनमा कोरियाली भाषामा लेखिएको हुन्छ । हामीले पास गर्न मात्रै पढेका हुन्छौं । मेसिनमा लेखिएको भाषा बुझ्न सक्दैनौँ । त्यसमाथि कोरियालीले जतिखेर पनि काम मात्रै खोज्छन् । मेसिन सेन्सरबाट चल्छन् । सधैं सेन्सरले काम गर्छ भन्ने हुन्न,’ उनले भने ।


आप्रवासी ट्रेड युनियन (एमटीयूसी) का अनुसार कोरियालीभन्दा विदेशी कामदारको औद्योगिक दुर्घटनादर ६ गुणा बढी छ । कोरियाली कामदारको ०.१८ छ भने विदेशी कामदारको १.१६ प्रतिशत छ । ‘झन्डै ७० प्रतिशत विदेशी कामदार ३० जनाभन्दा कम कामदार रहेको कम्पनीमा कार्यरत छन्, जहाँ खतरा बढी हुन्छ । ती कम्पनी सञ्चालकले औद्योगिक सुरक्षा दुर्घटना नियन्त्रण गर्न ध्यान दिएको हुँदैन । उत्पादकत्व बढाउनका लागि सुरक्षा उपकरण प्रयोग गरेको देखिँदैन,’ एमटीयूसीका महासचिव ओझाले भने, ‘थोरै आम्दानी गर्ने कामदारलाई खतरनाक काममा लामो समयसम्म खटाइन्छ ।’


औद्योगिक दुर्घटना भएमा कम्पनीले कोरियाली सरकारलाई ४५ सय डलर जरिवाना बुझाए जेल जानु पर्दैन । ‘यसले गर्दा औद्योगिक दुर्घटना कम गराउन सचेत भएको पाइँदैन । राम्रो मेसिनका लागि लगानी हुँदैन । पुरानै मेसिनमा काममा लगाउँछ,’ ओझाले भने ।


कम्पनी फेर्न नपाएपछि आत्महत्या

कम्पनीमा जोखिमपूर्ण काम गर्नु परेपछि केशव श्रेष्ठ बिरामी परे । उनी अर्को कम्पनीमा जान खोजे तर त्यसो गर्न उनलाई दिइएन । त्यसपछि उनले आत्महत्या गरे । ‘म नेपालमा गएर उपचार गर्न चाहन्थेँ तर जान पाइनँ, दिन बिताउन मलाई साह्रै गाह्रो भएकाले आजबाट बिदा हुँदै छु,’ उनले सुसाइड नोटमा लेखेका थिए ।


ईपीएस प्रणालीमा गएका कामदारले तीन पटकसम्म कम्पनी परिवर्तन गर्न पाइने नियम छ तर यसो गर्न मालिक मञ्जुर हुनुपर्छ । ‘काम निकै जोखिम र कठिन भएपछि मसँगै आएका साथीले कम्पनी फेर्न खोजे, कम्पनीले नदिएपछि छाडेर निस्किए,’ ओखलढुंगाका तामाङले भने, ‘यहाँ बस्न मन छैन । बाहिर जान कम्पनीले दिएकै छैन ।’


तीन पटक कम्पनी परिवर्तन गरेपछि प्रतिबद्ध कामदारका रूपमा फेरि कोरिया आउन मिल्दैन । अझ कृषि क्षेत्रमा आएका कामदार उत्पादन क्षेत्रमा जान पाउँदैनन् । कृषि क्षेत्रमा श्रम ऐन लागू हुँदैन । ओभरटाइम पाइँदैन, उचित वासस्थान हुँदैन, बिमा सुविधा पनि पाइँदैन ।


आप्रवासी ट्रेड युनियन (एमटीयू) का अध्यक्ष उदय राईका अनुसार ईपीएस प्रणालीको सबैभन्दा खराब पक्ष रोजगारदाता हावी हुन पाउनु हो । ‘ईपीएस प्रणालीको एउटै राम्रो पक्ष भनेको कामदारको छनोट प्रक्रिया पारदर्शी छ । भाषा परीक्षा गर्ने जो कोही पनि आउन सक्छ । नेपालबाट कोरिया ल्याउने प्रक्रियासम्म ठीक छ,’ उनले भने, ‘कोरिया ल्याइसकेपछि भने कामदारलाई बन्धनमा पारिनु सबैभन्दा गलत हो । यसले कामदारको शोषण गर्न सहज बनाइदिएको छ ।’


महिला कामदारमाथि बलात्कार भए पनि सहनुपर्ने बाध्यता रहेको राईले बताए । ‘एउटा रोजगारदाताले नेपाली महिलासँग कम्पनी परिवर्तनका लागि मात्रै १० लाख रुपैयाँ मागेको थियो । हामीले भिडियोसहित स्थानीय अदालतमा उजुरी गरेपछि मात्रै ती महिलाले न्याय पाइन्,’ उनले भने ।


ईपीएसमा कामदारलाई ल्याउन, निष्कासन गर्न र कामदारलाई अर्को कम्पनीमा जान पाउने सबै अधिकार साहुलाई जिम्मा दिएको उनले बताए । ‘पहिलो पटक ३ वर्ष काम गरिसकेपछि साहुले चाहेमा मात्रै एक वर्ष १० महिना समय थप्न मिल्छ । यसले जस्तो जबर्जस्ती भए पनि पछि समय नथपिएला भनेर कामदार साहुविरुद्ध बोल्दैनन् । साहुसँग ठूलो स्वरले कुरा गर्न सक्तैनन्,’ उनले भने, ‘अर्कोतर्फ ४ वर्ष १० महिना पूरा काम गरेकालाई मात्रै प्रतिबद्ध कामदारका रूपमा दोस्रोपटक उति नै समयका लागि ल्याउने अधिकार साहुलाई मात्रै छ । यी प्रावधानले कामदारलाई दासको व्यवहार गर्न सजिलो भएको छ ।’


कोरियामा ट्रेड युनियनहरूले आप्रवासी कामदारका लागि ईपीएस प्रणालीको सट्टा डब्लूपीएस (श्रम अनुमति प्रणाली) हुनुपर्ने माग राख्दै आएका छन् । ‘स्वेच्छाले कम्पनी परिवर्तन गर्न, कार्यावधि बढाउन, परिवारका साथमा बस्न पाउनेदेखि कामदारको उमेर ४० मा सीमित नगरी ६० वर्ष पुर्‍याउनका लागि श्रम अनुमति प्रणाली लागू गराउन हामी लड्दै आइरहेका छौं,’ राईले भने, ‘कृषिमा आएका कामदार पनि उत्पादन क्षेत्रमा जान पाउनुपर्छ ।’ प्रकाशित : माघ २८, २०७६ ०९:४४

प्रतिक्रिया
पठाउनुहोस्

स्वर्णको महत्त्व बुझ्दै सरु

सन्जु पौडेल

रुपन्‍देही — कराते खेलाडी सरु कार्कीलाई १३ औं दक्षिण एसियाली खेलकुदको स्वर्ण पदक जितेपछि आफ्नो महत्त्व बढेको महसुस भइरहेको छ । आफ्नै देशमा भएको सागमा स्वर्ण जितेपछि उनको आँखामा खुसीको आँसु थामिएन । त्यति बेला उनले आमा–बुवालाई तत्काल फोन गरेर खुसी साटिन् । उहाँहरूबाट स्याबासी र आशीर्वाद थापिन् । 

स्वर्ण जितेको झन्डै महिना दिनपछि अभिभावक भेट्न घर आएकी सरुले सैनामैनामा विशेष सम्मान थापिन् । नगरपालिकालाई विश्वसामु चिनाएको र स्थानीय युवालाई खेलकुदमा अग्रसर गर्न हौसला मिलेको भन्दै सैनामैना नगरपालिकाले उनलाई २५ हजार नगदसहित सम्मान गरेको थियो । सैनामैना–६ शान्तिनगरकी सरुले करातेको कातातर्फ स्वर्ण जितेकी थिइन् । गृहजिल्लामा पाएको सम्मानले आफूलाई खेल लागिरहन थप हौसला बढेको उनले सुनाइन् । ‘आमाबुवा काठमाडौं जान पाउनु भएको थिएन । आफ्नै नगरमा उहाँहरूसहित सम्मान थाप्न पाएँ,’ उनले भनिन्, ‘यो क्षण अविस्मरणीय रह्यो ।’

०५१ साल भदौमा पाल्पाको बल्डेङगढीमा जन्मिएकी उनी नेपाल प्रहरीमा आबद्ध छन् । गाउँकै विद्यालयबाट एसएलसी उत्तीर्ण गरिन् । त्यसपछि परिवार बसाइँ सरेर रूपन्देहीको सैनामैना आयो । सानैबाट प्रहरी बन्ने धोको थियो । प्रहरी कतै देखिहाले उभिएरै हेर्ने गरेको उनले सुनाइन् । अध्ययनलाई निरन्तरता दिन सकिने भएकाले प्रहरीमा भर्ती हुने इच्छा थियो ।

०७० सालमा भर्ती खुल्यो । उनले आवेदन भरिन् । छनोट भइन् । त्यसपछि मात्र हो उनले कराते खेलबारे देख्न र बुझ्न पाएको । ‘प्रहरीभित्र खेलाडी र अन्यको फरक पाटो हुने रहेछ,’ उनले भनिन्, ‘अरुले कराते खेलेको देखेपछि मेरो मन पनि त्यतै गइहाल्यो ।’

विद्यालय होस् या घरमा हुँदा उनको रुचि खेलमा थिएन । प्रहरीमा प्रवेश गरेपछि सुरुमा गर्नुपर्ने तालिम गाह्रो थियो । तर गर्नैपर्थ्यो । उनले भनिन्, ‘तालिम पूरा गरें । जागिर खाएको एक वर्षपछि कराते सिक्न थालें ।’ पहिलोपल्ट ‘गुरु हुस’ सम्बोधन गर्नुपर्दा उनलाई अचम्म लाग्थ्यो । सिक्दै गर्दा रमाइलो हुने उनले बताइन् । प्रशिक्षक योगेन्द्र आचार्य, केदार सिम्खडा र नारायणकाजी राईबाट खारिँदै गइन् । कडा मिहिनेतले यसपालि सागमा सफल भएको उनको बुझाइ छ । प्रहरी टिमबाट खेल्दा कहिले स्वर्ण त कहिले कांस्यमै चित्त बुझाउनुपरेको थियो ।टिम कातामा तीन खेलाडी थिए । सरुसहित पुलिसकै निर्मला तामाङ र आर्मीकी संगीता मगर ।

निर्मला र सरुले धेरैपल्ट सँगै खेले । संगीतासँग मिलेर खेल्दा सहकार्य बलियो तुल्याउन केही समय लागेको सरुले सुनाइन् । ‘सेना र प्रहरीको सिकाइ तरिकामा समय, समन्वयदेखि सामूहिकता मिलाउँदा बढी मिहिनेत गर्नुपर्‍यो,’ उनले भनिन्, ‘मिहिनेतको फल मीठो पाइयो ।’ साग छनोटका लागि मलेसियामा उनीहरूले प्रशिक्षण गरेका थिए । प्रशिक्षणपछि बंगलादेशमा प्रतिस्पर्धात्मक खेल खेलेर उनले स्वर्ण जितेकी थिइन् । त्यसपछि श्रीलंकासँग पाँचौं दक्षिण एसियाली कराते च्याम्पियनसिपमा विजयी भएपछि साग खेलेको उनले बताइन् । थाइल्यान्डमा भएको प्रतियोगिता खेलेर अन्तर्राष्ट्रिय डेब्यु गरेको अनुभव उनले सुनाइन् । ‘देश, प्रहरी र आफ्नो पहिचान बनाउन प्रतिस्पर्धामा उत्रेकी थिएँ,’ उनले भनिन्, ‘आफ्नो क्षमताअनुसार प्रदर्शन गर्न सफल भएँ ।’

उनलाई पाल्पाको बल्डेङगढी–७ मा वडा कार्यालयले पनि नगदसहित सम्मान गरेको थियो । पाल्पाकै रैनादेवी छहरा गाउँपालिकामा समेत नगदसहित सम्मान थाप्न भ्याइन् । विभिन्न संचारमाध्यममा अन्तर्वार्ताका लागि बोलाउन थालेपछि महत्त्व अझै बढेको महसुस भएको उनले सुनाइन् । उनको मनमा अब सकुन्जेल खेल्ने दृढ संकल्प जागेको छ । प्रहरीको खेल विभागमा रहेर खेल खेल्ने र आवश्यक परे अन्य काममा पनि खटिने सरुका परिवारमा अन्य खेलाडी छैनन् । उनकी बहिनी प्रहरीमै छन् । बहिनीले प्रहरीकै जागिर रोजेकामा आफूलाई खुसी लागेको सरुले बताइन् । समयसँगै प्रहरीको जागिर झनै मनपर्ने र देशप्रति भावना बढ्दै गएको उनले बताइन् ।

प्रकाशित : माघ २८, २०७६ ०९:२६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×