अजिताको हराएको मोबाइल अन भएपछि पक्राउ परे हत्यारा  

सुवास विडारी

(मकवानपुर) — यौन सम्पर्कपश्चात् पैसाको विषयमा विवाद हुँदा तेस्रो लिंगी अजिता भुजेलको हत्या भएको खुलेको छ । माघ ४ गते बिहान अजिताको शव हेटौंडा–क्याम्पाडाँडास्थित कान्ति लोकपथमा फेला परेको थियो । 

प्रहरीले हत्या भएको १८औं दिनमा मंगलबार हत्यामा संलग्न रहेका पाँच जनालाई सार्वजनिक गरेको छ । हत्या अभियोगमा प्रहरीले हेटौंडा–९ का १८ वर्षीय सिमोन परियार, हेटौंडा–४ का २५ वर्षीय सुशील थापा मगर, हेटौंडा–११ की २० वर्षीया एलिसा पाख्रिन, हेटौंडा–४ का २४ वर्षीय आशिष बल र हेटौंडा–४ का २१ वर्षीय बुद्ध लामालाई प्रहरीले सार्वजनिक गरेको हो ।


प्रहरीका अनुसार ना.६ ख ६५२७ नम्बरको ट्रकका सहचालक परियार र सुशील थापा मगरले भुजेलसँग हेटौंडा–११ थानाभर्‍याङमा शारिरीक सम्पर्कका लागि ७ हजार रुपैयाँमा सहमति गरेका थिए । तर पैसा दिने बेलामा विवाद उनीहरुले अजिताको हत्या गरेका थिए ।

सकसमा तेस्रोलिंगी : मृत्युपछि पनि भेदभाव ?

उनीहरूले हत्या गरेर शव ट्रकमै राखेर क्याम्पाडाँडामा फालेका थिए । घटनामा संलग्न २ जना फरार रहेका छन् । ‘यौन सम्पर्कमा संलग्न चारैजनाले एउटै ट्रकको प्रयोग गरिएको अनुसन्धानको क्रममा देखिएको छ । अरु दुई जना अर्कै ट्रकका रहेको र तिनीहरुको पहिचान अझै खुलेको छैन,’ मकवानपुरका एसपी सुशीलसिंह राठौरले भने ।

सिमोन परियारले ल्याएको ट्रकको क्याबिनमा चारै जनाले यौन सम्पर्क गरेको र पैसामा कुरा नमिलेपछि चारै जना मिलेर ट्रकभित्रै अजिताको हत्या गरेको प्रहरीले बताएको छ । अजिताले सहमतिअनुसार पैसा मागेपछि विवाद भएको र उनीहरुले ट्रकभित्रै बिजुलीको तारले घाँटी अठ्याएर हत्या गरेको अनुसन्धानबाट खुल्न आएको प्रहरीले जनाएको छ । अजिताको मृत्यु भएपछि त्यही ट्रकमा राखेर क्याम्पाडाँडामा लगेर फालिएको थियो । माघ ४ गते बिहान अजिताको शव हेटौंडा–५, क्याम्पाडाँडास्थित कान्तिलोकपथमा फेला परेको थियो ।


अजिताको हराएको मोबाइल बुद्ध लामाले साथी आशिषलाई दिएका थिए । आशिषले आफ्नी पत्नी एलिसालाई दिएका थिए । सोही मोबाइल अन भएपछि प्रहरीले सबैलाई पक्राउ गरेको हो । ‘अजिताको हराएको मोबाइल एलिसाले आफ्नो सिम हालेर प्रयोगमा ल्याएपछि हामी घटनामा संलग्नहरुलाई पक्राउ गर्न सफल भएका हौं,’ एसपी राठौरले भने । प्रहरीका अनुसार एलिसाले माघ २० गते सोमबार मोबाइल प्रयोगमा ल्याएकी थिइन् । मोबाइल प्रयोगमा आएपछि मकवानपुर प्रहरी र महानगरीय प्रहरी महाशाखा टेकुबाट आएको टोलीले अनुसन्धानलाई तीव्र पारेका थिए । घटनापश्चात् करिब दुई सय ५० जनासँग सोधपुछ प्रहरी उपरीक्षक राठौरले बताए ।


घटनामा संलग्न मुख्य अभियुक्त तथा ट्रकका सहचालक सिमोन परियारले बयानको क्रममा आफूलाई दिउँसैबाट साहुले दुःख दिएको झोंकमा ट्रक पल्टाउन हिँडेको बताएका छन् ।


‘कुनै स्थानमा लगेर ट्रक पल्टाउने मनसायले सहचालक हिँडेको देखिन्छ । उक्त क्रममा चिया खान हेटौंडा–१०, बसपार्कमा आएपछि साथी सुशीलसँग भेटभएपछि यौन सम्पर्क गर्ने योजनाको साथ घटनास्थलमा पुगेको देखिन्छ,’ एसपी राठौरले बताए ।


सहचालक परियार साहुलाई नसोधी राति दश बजे ट्रक लिएर बसपार्क आएका थिए । ट्रक पल्टाउने स्थान नभेट्दा चिया खानका लागि बसपार्क आएका थिए । एसपी राठौरका अनुसार सुशील चोरी मुद्धामा तीन वर्ष जेल बसेर भर्खरै निस्किएका हुन् ।


प्रहरीका अनुसार घटनास्थलमा पुगेर मृतक भुजेलसँग पैसाको विषयमा सहमतिपश्चात् अर्को सवारीका दुईजना समेत गरी चारजनाले पालैपालो यौन सम्पर्क गरेका थिए । यौन सम्पर्कपश्चात् विवाद भएपछि उनको हत्या गरिएको थियो । हत्यामा संलग्न अर्को सवारीको नम्बर र चालक तथा सहचालकको अझै नाम खुल्न सकेको छैन । ‘प्रहरीले शंका लागेको केही व्यक्तिमाथि निगरानी राखिरहेको छ,’ एसपी राठौरले भने । प्रकाशित : माघ २१, २०७६ १०:५२

प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

भूमिका फेरियो, चुनौती उस्तै

अमृता अनमोल

बुटवल — रोल्पाका कुलप्रसाद केसी दसवर्षे सशस्त्र द्वन्द्वमा लामो समय क्रियाशील रहे । त्यस बेला उनको नाम ‘सोनाम’ थियो । तत्कालीन माओवादी लडाकुको प्लाटुन गठनदेखि कम्पनी कमिसारसम्म भए । उनी अहिले प्रदेश ५ को आन्तरिक मामिला तथा कानुनमन्त्री छन् । उनी मातहत प्रदेशको गृह प्रशासन छ । ‘जनताको हातमा शक्ति ल्याउन लडेका थियौं,’ उनले भने, ‘त्यो लक्ष्य पूरा गरेर आफैं मन्त्री हुने अवसर जुर्‍यो ।’ 

केसी रोल्पा निर्वाचन क्षेत्र १(१) बाट प्रदेशसभा सदस्य निर्वाचित भएका हुन् । ‘व्यवस्था परिवर्तनका लागि जनयुद्ध लडियो,’ उनले भने, ‘अहिले नयाँ संविधानअनुसारका नीति निर्माण र व्यावहारिक कार्यान्वयनका लागि भूमिका निभाइरहेको छु ।’ आफ्नो र सँगैका लडाकूको सपनाले आफूलाई दिशा निर्देश गरिरहेको उनले बताए । ‘सहिदको योगदानले हामी सत्तामा पुगेका हौं । यो कहिल्यै बिर्सनु हुन्न,’ उनले भने, ‘खोलो तर्‍यो लौरो बिर्सियो भनेझैं आफ्नो राजनीतिक व्यक्तित्व निर्माण गर्ने तर इतिहासप्रतिको दायित्व निर्वाह गर्नबाट टाढा भाग्न हुँदैन ।’

०२७ सालमा रोल्पाको लिबाङमा जन्मेका उनले ०४६ सालबाट विद्यार्थी राजनीति सुरु गरेका हुन् । लामो समय भूमिगत जीवन बिताएका उनी ०६० जेठमा भारतको पटनाबाट गिरफ्तार भएका थिए । ०६३ साउनमा रिहा भएपछि पुन ०६८ सम्म तत्कालीन माओवादी सेनाको तेस्रो डिभिजन कमिसार, नारायणी, भेरी, कर्णाली, सेती र महाकाली ब्युरो इन्चार्ज भए । उनको अगुवाइमा एक दर्जनभन्दा बढी आक्रमण भएका थिए । शान्ति प्रक्रियापछि उनी पार्टीको युवा दस्ता वाईसीएलको इन्चार्जसमेत भए ।

तत्कालीन माओवादी सेनामा क्रियाशील पाँच जना प्रदेशसभा सदस्य अहिले नीति निर्माणमा जुटिरहेका छन् । माओवादी सशस्त्र द्वन्द्वका क्रममा समानता, समतामूलक न्याय, अधिकार, जातीय छुवाछूतको अन्त्य, महिलाका अधिकार, क्षेत्रीय असमानतालगायत अत्याचारको अन्त्य गर्ने उद्घोष गरिएको थियो । त्यसबाट प्रभावित भएर दीपा विक तत्कालीन द्वन्द्वमा होमिइन् । उनी अहिले रूपन्देहीबाट समानुपातिक प्रदेश सभा सदस्य छन् । तनहुँको शुक्लागण्डकी गाउँमा भोगेको सामाजिक भेदभाव अन्त्यका लागि किशोर अवस्थामै माओवादीमा प्रवेश गरेकी थिइन् । ०५४ सालमा पार्टी सदस्यता लिइन् । ०५७ सालबाट उनी माओवादी सेनामा प्रवेश गरिन् । साना–ठूला आक्रमणमा संलग्न भइन् । त्यही क्रममा आफ्नै सहयात्री सुजित विकसँग वैवाहिक जीवन सुरु गरिन् । एकमात्र सन्तानको मृत्यु भयो । पति पनि बुटवलका युवा प्रचण्ड थैवको हत्यामा संलग्न आरोपमा जेल परे । ‘संविधानमा सबै विभेद हटेका छन् । व्यवहारमा यथावतै छन्,’ उनले भनिन्, ‘त्यसका लागि नीति निर्माण र योजना तर्जुमा गर्न लाग्नु परेको छ ।’

रोल्पाका दीपेन्द्रकुमार पुन मगर कलिलै उमेरमा भूगोल, जातीय र वर्गीय विभेद हटाउने प्रण गर्थे । ०४३ सालमा मसालको भ्रातृ संगठन अखिल छैटौंको साधारण सदस्य बने । सुरुदेखि माओवादीको सशस्त्र द्वन्द्वमा होमिए । भिडन्त र मुठभेड उनका लागि दैनिकी थियो । पाल्पा आक्रमणको नेतृत्व उनैले गरे । यस क्रममा अंगभंग भए । ‘युद्धमा बढी कष्ट भोगियो,’ उनले भने, ‘दायाँ हातका दुईवटा औंला गुमाएँ, दाहिने हात नाडीबाट चुँडियो । देब्रे कानले नसुन्ने भएँ ।’ पुन रोल्पा १(२) बाट प्रदेशसभा सदस्य निर्वाचित भएका हुन् । प्रदेशसभामा आफ्नो लडाकु छवि कायम राखेका छन् । ‘नागरिकको आर्थिक सुधारका लागि युद्धमा होमिएँ,’ उनले भने, ‘अहिले काम गरेर देखाउने ठाउँमा पुगेको छु ।’ कृषि, वन तथा वातावरण समितिका सदस्य उनले तल्लो वर्गका किसान र नागरिकको हितमा काम गर्न सुझाइरहेको बताए ।

०५२ सालमा बर्दियाको गेरुवा गाउँपालिकाका दिपेश थारुको टेक बोगटी, यज्ञप्रसाद शर्मालगायतसँगको भेटपछि उनी माओवादीमा प्रवेश गरेका थिए । लडाइँको मोर्चामा गए । ०५३ सालमा जनमिलिसिया सैन्य कमान्डर, ०५९ मा उपब्युरो सदस्य हुँदै दुई दर्जनभन्दा बढी आक्रमणको अगुवाइ गरे । ०५९ मा उनी घाइते भए । दाहिने खुट्टाको नसा काटियो । पाँच महिना लखनउमा उपचार गरे । घाउ निको त भयो तर त्यही खुट्टा अहिले सुकेको छ । ‘भौतिक क्षति ठूलो कुरा होइन । यसलाई व्यवस्थापन गर्छु,’ उनले भने, ‘नागरिकले धेरै अपेक्षा गरेका छन् । तिनलाई कसरी पूरा गर्ने ठूलो कुरा हो ।’ नीति परिवर्तन भए पनि काम गर्नेको नियत र प्रशासन फेरिन नसकेकामा उनी आजीत छन् । सरकारका राम्रा कार्यक्रम फिल्डमा पुग्दा नराम्रा बन्दा उनी पिरोलिन्छन् । ‘अन्याय र अत्याचारविरुद्ध हतियार उठायौं र सफल भयौं,’ उनले भने, ‘अब नागरिकको जीवन फेर्नु छ ।’

रुकुम पूर्वको भूमेका तेजबहादुर वली युद्धको मोर्चा सम्हालेर प्रदेश सभामा आएका अर्का व्यक्ति हुन् । रुकुमपूर्वको निर्वाचन क्षेत्र १(१) बाट निर्वाचित भएका थिए । ‘युद्धको मोर्चा थामेकाले त्यसको प्रतिफल काम गरेरै देखाउनुपर्छ,’ उनले भने, ‘हतियार सम्हाल्नेले राजनीति र समाजको नेतृत्व लिएर पनि धेरै काम गर्न सक्छ भन्ने देखाउनु छ ।’ ०४६ मा अखिलबाट सुरु भएको उनको यात्रा ०५२ सालमा नेकपा जिल्ला सदस्य भएर अघि बढेको थियो । राजनीतिक नेतृत्व लिँदै गर्दा उनी सैन्य जिम्मेवारीमा लागे । त्यसपछि शान्ति प्रक्रिया पूरा नहुँदासम्म भूमिगत रहे ।

०५६ मा कर्णाली ब्युरो, जुम्ला, कालीकोट र मुगु सेक्रेटरी हुँदै ०५८ मा जनमुक्ति सेनाको ब्रिगेड कमिसार भए । ०६४ देखि ०७० सम्म सेना समायोजन विशेष समितिको सचिवालयमा रहेर काम गरे । यस क्रममा द्वन्द्वमा छुटेका र छुटाइएका धेरैका लागि मल्हम बने ।

‘अवस्था र व्यवस्था परिवर्तनको फराकिलो दिशामा आफूलाई अर्पेर युद्धमा लागेको थिएँ । मिसन पूरा भएपछि फर्कें,’ उनले भने, ‘त्यसकै प्रतिफलले अहिलेको अवस्थामा उभिएको छु ।’ युद्ध र राजनीति फरक पाटो हो । तर, राजनीतिक मिसनका लागि लडाइँ गरिएकाले त्यसले अहिलेको राजनीतिक पृष्ठभूमिलाई सघाएको उनले बताए । ‘व्यवस्था परिवर्तन भए पनि ऐनका रूपमा लागू नहुँदा अझै सामाजिक विभेद बाँकी नै छ,’ सामाजिक विकास समितिका सदस्य वलीले भने, ‘त्यही कारण चाहेअनुसारको प्रतिफल मिलेको छैन ।’

प्रकाशित : माघ २१, २०७६ १०:४५
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
×