कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

सकसमा तेस्रोलिंगी : मृत्युपछि पनि भेदभाव ?

काठमाडौँ — माघ ३ गते बिहान निलहीरा समाजकी अध्यक्ष पिंकी गुरुङलाई हेटौंडाबाट अजिता भुजेलको फोन आयो । ‘ममी, मसँग १२ लाख छ, घर बनाउँ ?’ तेस्रोलिङ्गी अजिता पिंकीलाई ‘ममी’ भन्थिन् । 

सकसमा तेस्रोलिंगी : मृत्युपछि पनि भेदभाव ?

‘यत्ति पैसाले के घर बन्ला र ! अझ दुईचार वर्ष पैसा जम्मा गर अनि बनाउन,’ पिंकीले सुझाइन् ।

त्यही दिन साँझ अजिताले फेरि पिंकीलाई फोन गरिन् ।

‘एउटाले १० लाख ऋण मागेको छ, कागज गर्छु भनेको छ । दिऊँ ?’ अजिताले हरेक कुरामा पिंकीको सल्लाह लिन्थिन् ।

‘ऋण लग्नेको भर हुन्न । नदेउ, आफैंसँग राख,’ पिंकीले प्रेमपूर्वक सल्लाह दिइन् ।

...


भोलिपल्ट, बिहानै पिंकीको मोबाइल बज्यो ।

‘अजिताको लाश भेटियो, तुरुन्त हेटौंडा आउनुपर्‍यो,’ फोन गर्नेले आत्तिदै भन्यो ।

पिंकीको हात काँम्यो, आँखा टिल्पिलायो, शरीर तात्यो । तर, उनको दिमागमा अजिता होइन, वृद्ध भइसकेका उनका हजुरबुबाआमाको मुहार नाच्यो । जसको बाँच्ने आधार अजितामात्र थिइन् ।

अजिताको पनि सपना थियो– हजुरबुबा र हजुरआमालाई घर बनाएर राख्ने । तर उनीसँगै उनको सपनाको ‘हत्या’ भयो । पिंकीले भक्कानिदै सुनाइन्, ‘अब बुढाबुढीको हालत के होला ?’

हेटौंडाको क्याम्पाडाँडा सडक छेउमा अजिताको लाश भेटिएको थियो । शरीर नांङ्गै, गुदद्वार ठूलो देखिन्थ्यो । बलात्कारको आशंका गरियो तर पोर्स्टमार्टममा त्यस्तो नदेखिएको मकवानपुरका प्रहरी उपरीक्षक (एसपी) सुशीलसिंह राठौरले जानकारी दिए । ‘लिखित रिर्पोट आएको छैन तर टाउकोमा चोट लागेको र घाटीमा डोरीले कसेको भन्ने मौखिक जानकारी पाएका छौं,’ उनले भने । पिंकी भने बलात्कारपछि हत्या गरिएको हुनसक्ने दाबी गरिरहेकी छन् । उनको प्रश्न छ, ‘नत्र किन कपडा सबै फालिएको ? गुदद्वारको अवस्था कसरी त्यस्तो हुन्छ ?’

विशेष टोली बनाएर अजिताको हत्याराको खोजी भइरहेको राठौरको भनाइ छ । तर अपराधीको पहिचान भएको छैन । सोधपुछका लागि केही व्यक्ति समातिए पनि प्रहरीले थप जानकारी दिएको छैन । पिंकीका अनुसार केही समयदेखि अजिता ‘पार्टनर’ सँग बस्दै आएकी थिइन् । घटनापछि उक्त केटा फरार छन् । अजिताको अर्को नाम वसन्ती हो । ‘वसन्ती भुजेल’ नामको उनको फेसबुक अकाउन्ट केही समयअघि ‘वसन्ती घिसिङ’ बनाइएको थियो । त्यसैले ती केटाको थर घिसिङ हुनसक्ने अनुमान गरिएको छ । राठौर भन्छन्, ‘अजिताको पार्टनर थियो भन्नेसम्म थाहा भयो तर ऊबारे कसैलाई केही थाहा रहेनछ, त्यसैले अनुसन्धान गर्न गाह्रो भइरहेको छ ।’ शुक्रबार राति अजिता दुई पुरुषसँग होटलबाट निस्किएको सिसीटिभी फुटेज फेला परेको छ । प्रहरीले त्यो रात होटलमा बस्ने ग्राहकलाई ‘ट्रयाक’ गरिरहेको छ ।

अजिता २९ वर्षकी थिइन् । ७ वर्ष भयो, उनले पुरुषबाट महिलाका रुपमा आफूलाई स्वीकारेको ।

जन्मिएको वर्ष दिन नबित्दै बुबा बिते, लगत्तै आमा पनि बितिन् । आडभरोसा उनै हजुरबुबाआमाको । पढ्न पाइनन्, तेस्रोलिंगी भएपछि जागिर पाउन उस्तै मुस्किल । आफू पालिनुपर्ने, उमेर घर्किसकेका अभिभावकको हेरचाह गर्नैपर्ने । पिंकी भन्छिन्, ‘बाध्यताले अजिता यौनकर्मी बनेकी थिइन् ।’

अजिताको सपना थियो– दुहली बनेर कसैको घरमा भित्रने । बाँचुञ्जेल त्यो पूरा सम्भावना अजिताले पनि देखेकी थिइनन्, त्यसैले पिंकीलाई भन्थिन्, ‘ममी, म मरेपछि बेहुलीझैँ सजाएर घाटमा लैजानु ल ।’ अजिताको लाश देखेपछि पिंकीको कानमा ती शब्दहरु गुञ्जिरहे । अरु साथीलाई पनि यस्तै भनेकी रहिछन् । त्यसैले आइतबार दुहलीझैं रातो कपडा लगाएर, श्रृंगारेर उनको दाहसंस्कार गरियो, मकवानपुरको नवलपुरमा । ‘आधुनिक र लोकतान्त्रिक भनिएको समाजमा तेस्रोलिंगी कसरी बाँचिरहेका छन् भन्ने योभन्दा कठोर प्रमाण अरु के हुनसक्छ ?’ पिंकीले तेस्रोलिंगीको विवशता बताइन् ।

बाँचुन्जेल मात्र होइन, मरेपछि पनि समाजले अजितामाथि विभेद गरिरह्यो । यातनापछि त्यति दर्दनाक शैलीमा उनको हत्या भयो तर हत्यारा खोज्न सामाजिक दबाब करिब शून्य छ । घटनालगत्तै वीरगञ्ज र चितवनबाट झन्डै दुई सय यौनिक अल्पसंख्यक समूदायका सदस्यहरु मकवानपुर जिल्ला प्रहरी कार्यालय अगाडि भेला भए, प्रभावकारी अनुसन्धानका लागि दबाब दिए तर सोही समूदायबाहेकका दुईचार जना पनि उनीहरुलाई साथ दिन त्यहाँ पुगेका थिएनन् ।

‘त्यसरी कुनै महिला वा पुरुषको हत्या भए, कति ठूलो आन्दोलन भइसक्थ्यो । तेस्रोलिंगी मरेको कसैलाई वास्तै हुन्न,’ कारुणिक स्वरमा पिंकी भन्छिन्, ‘लिंग जे भए पनि हामी मान्छे हौं तर हामीप्रति आधारभूत मानवीयतासमेत दर्शाइन्न । तेस्रो लिंगीलाई समाजले अपमान गर्छ, यौनकर्मी भएपछि झन् अपहेलना सहनुपर्छ । हरेक व्यक्तिलाई स्वाभीमानपूर्वक बाँच्ने रहर हुन्छ । तेस्रो लिंगीचाहिँ किन यौनकर्मी बन्न विवश छन् भन्नेतिर ख्यालै गरिन्न ।’

समाज मात्र होइन, राज्य पनि अजिताहरुको हत्यामा जवाफदेही र संवेदनशील छैन । अजिताहरु मारिरहन्छन् र ती घटना त्यतिकै सेलाउँदै जान्छन् ।


यो मात्रै पहिलो घटना होइन

गएको फागुनमा ट्रान्सजेन्डर महिला जुनु गुरुङ लाजिम्पाटस्थित आफ्नो अपार्टमेन्टमा मृत फेला परिन् । घटनाको केही दिनअघि जुनुमाथि आक्रमण भएको थियो । शरीरभर चोटैचोट थिए । आक्रमणले नै उनको ज्यान गएको आशंका गरियो । पहिले पनि उनीमाथि पटक–पटक कुटपिट भएको थियो । कास्कीको लुम्लेमा छोराको रुपमा जन्मिएकी थिइन् उनी । २० वर्षपछि ‘जीवन’ बाट ‘जुनु’ बनिन् । महिला बनेर ११ वर्ष मात्रै बाँच्न पाइन् ।

गत वर्ष फागुना लाजिम्पाटमा मृत भेटिएकी जुनु गुरुङ

गत वर्ष नै चितवनमा अर्की ट्रान्सजेन्डर महिला दीपिका केसीको हत्या भयो । नारायणघाटको वर्कसपमा टाउकोमा रड हानेको र आँखा फुटाएको अवस्थामा उनको लास भेटियो । निलहीरा समाज चितवन शाखाका कार्यक्रम संयोजक देव श्रेष्ठका अनुसार हत्यापछि दमकबाट परिवार लाश बुझ्न आए, दाहसंस्कार गरेर फर्किए । हत्यारा खोज्न कानुनी बाटो खोज्दै खोजेन परिवारले । श्रेष्ठ भन्छन्, ‘परिवारले नै वेवास्ता गरेपछि अनुसन्धान फितलो हुँदोरहेछ । मार्‍यो, सकियो तर यो घटनाले यहाँका तेस्रोलिंगीमा झन् तनाव थप्यो ।’

न बाँचुन्जेल सुरक्षाको प्रत्याभूति, न मरेपछि हत्यारालाई सजाय दिन राज्य र परिवारको चासो । श्रेष्ठ पीडा पोख्छन्, ‘तेस्रो लिंगीमाथि कुटपीटको घटना त कति हुन्छ कति तर त्यतिकै सहनुपर्छ । कसैको साथ पाइन्न ।’ प्रायः तेस्रो लिंगीको ‘जीवनसाथी’ हुँदैन । परिवारबाटसमेत टाढा हुन्छन् । सोही कारण उनीहरुको हत्या हुँदासमेत न्यायका लागि लड्ने कोही हुन्न ।

‘एलजीबीटीआई समूदायप्रति राज्यको मानसिकता दूषित छ । बाँच्नको लागि आफूलाई बेच्न बाध्य छन् । तर, यो पीडा कसैले महसुस नै गर्दैन,’ राष्ट्रिय मानव अधिकार आयोगकी सदस्य मोहना अन्सारी स्वीकार्छिन्, ‘उनीहरुको हकअधिकारका लागि मानवअधिकार आयोगले पनि प्रभावकारी काम गर्न सकेको छैन ।’

हत्या जोसुकैको होस्, त्यो सरकारवादी मुद्दा हुन्छ । प्रहरीले अनुसन्धान गर्नुपर्छ, सरकारी वकिलले अभियोजन । जात, लिंग, वर्ग वा अन्य आधारमा विभेद गर्न पाइन्न । लैंगिक तथा यौनिक अल्पसंख्यक समुदाय (एलजीबीटीआई) को हकहितको आवाज उठाउँदै आएका अभिवक्ता सुजन पन्त भन्छन्, ‘तर व्यवहारमा त्यस्तो छैन । परिवार र समाज मात्र होइन, राज्यले समेत तेस्रो लिंगीप्रति आफ्नो जिम्मेवारी बहन गरेको छैन ।’


गत वर्ष चितवनमा मारिएकी दीपिका केसी

कानुनमा स्पष्टरुपमा नसमेट्दा तेस्रो लिंगीमाथि हिंसा बढेको र न्याय पाउन मुस्किल भएको हो । जस्तो : मुलुकी अपराध संहिता, २०७४ को परिभाषामा बलात्कार महिलालाई मात्र हुने उल्लेख छ । संहिताको परिच्छेद–१८ मा भनिएको छ, ‘कसैले कुनै महिलालाई निजको मञ्जुरी नलिई करणी गरेमा...’ । यहाँ तेस्रो लिंगी पनि बलात्कृत हुन्छन् भन्ने कल्पना नै गरिएको छैन । पन्त छन्, ‘त्यसैले तेस्रो लिंगी बलात्कृत हुँदा कानुनी रुपमा केही गर्न नसकिने अवस्था छ । संहिताको परिभाषामै यस्तो विभेद हुनु विडम्बना हो ।’

नेपालको राज्य प्रशासन यौनिक अल्पसंख्यकका लागि असहिष्णु छ भन्नेबारे बाहिरी दुनियाँ बेखबर छैन । सन् २०१५ को विश्वव्यापी आवधिक समीक्षा (युपीआर) मा स्पेनले नेपाललाई यौनिक अल्पुसंख्यकको अपराध अनुसन्धानमा पहुँचबारे चासो राखेको थियो । नेपालले अनुसन्धानमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको थियो तर त्यसयता लगातार हत्या र अन्य खालको हिंसा भइरहेको छ । कानुनमा विभेद जारी छ । अधिवक्ता पन्त भन्छन्, ‘नेपालले आफ्नो प्रतिबद्धता पूरा गरेन, त्यसैले यो वर्षको नोभेम्बरमा हुने युपीआरमा नेपालको कडा आलोचना हुने पक्का छ ।’

प्रकाशित : माघ ८, २०७६ १८:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?