कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

के गर्दैछ नेपाली स्याटेलाइट ?

ग्राउन्ड स्टेशनले पूर्ण रुपमा काम गरेन
गोविन्द पोखरेल

काठमाडौँ — बैशाख ५ गते अन्तरिक्षमा प्रक्षेपण गरिएको नेपालको पहिलो स्याटेलाइट नेपाली स्याट–१ अहिले पृथ्वीको तल्लो कक्षमा घुमिरहेको छ । प्रक्षेपण भएको ६ महिना बितिसकेपछि स्याटेलाइटले आफ्नो कक्षमा घुम्ने गति पनि घटेर गएको छ ।

के गर्दैछ नेपाली स्याटेलाइट ?

पहिला १० मिनेटमा तथ्याङ संकलन गरिएपनि ‘माइक्रो ग्रयाभिटी’का स्याटेलाइटबाट तथ्याङ संकलन गर्न २६ देखि २७ मिनेट लाग्न थालेको छ । अहिले स्याटेलाइट ७ दशमलव १ किलोमिटर प्रति सेकेन्डको गतिले घुमिरहेको स्याटेलाइट निर्माणकर्ता हरिराम श्रेष्ठले बताए ।

अधिकतम् २ वर्ष आयु रहेको यो स्याटेलाइट ४ वटा उद्देश्य राखेर प्रक्षेपण गरिएको थियो । क्यामेरा, लोरा, एडीसीएस र सीपीएलडी गरी चार वटा उद्देश्यमा रहेर स्याटेलाइट बर्डस–३ कार्यक्रम अन्तर्गत नेपाल सहित श्रीलंकाको राभाना–१ र जापनी भू–उपग्रह एकैसाथ प्रक्षेपण गरिएको थियो ।

अहिले नियमित रुपमा स्यटेलाइटको मोनिटरिङ गर्नका लागि जापानस्थि क्युटेक विश्वविद्यालयमा हप्तादिनको तालिका निकालिएको छ । दैनिक १६ पटक आफ्नो कक्षमा फान्‌को लगाएपनि स्याटेलाइटबाट ३ देखि ४ पटकसम्मको मात्र तथ्यांक प्रयोग गर्न सकिने श्रेष्ठले बताए । त्यही बेला कमान्ड दिने लगायतका कार्यहरु भइरहेका छन् ।

एडीसीएस अन्तर्गत स्याटेलाइटको घुम्ने गति, घुमिरहेको अवस्था, कोण बनाएर घुमेको तथ्यांक लिने काम भएको छ । यो अनुसन्धानात्मक उद्देश्यभित्रको काम हो । लोरा ‘लङ रेन्ज डिस्टेन्स कम्युनिकेसन’ हो । यसबाट पृथ्वीमा भएका प्राकृतिक प्रकोप (जस्तै हिमपहिरो)बारे स्याटेलाइटले 'डिटेक्ट' गर्ने र त्यसको जानकारी मुख्य सर्भरमा दिने र अन्यलाई यसबारे सूचना दिने पर्छ । क्यामेरा मिसन अन्तर्गत फोटो खिच्ने कार्यहरु छन् ।


ग्राउन्ड स्टेशनले पूर्ण रुपमा अझै काम गरेन

नेपाली स्याटेलाइटका लागि भन्दै नाष्टले १९ लाख खर्च गरेर ग्राउन्ड स्टेशनको निर्माण गरेपनि स्टेशनले अझै पूर्ण रुपमा काम गर्न नसकिरहेको पाइएको छ । नाष्टले खरिद गरेको रेडियो उपकरणको कमान्ड दिने प्रणालीले काम गरेको छैन ।

रेडियो खरिद गर्दा कमान्ड दिने फिचर नहुँदा स्याटेलाइटबाट लिएका तस्बिरले नाष्टले निकाल्न सकेको छैन । नाष्टले एउटा मात्रै तस्बिर सार्वजनिक गर्‍यो । स्याटेलाइट निर्माणकर्ता आभाष मास्केले जापानबाटै लिएर आएको रेडियो उपकरणको ग्राउन्ड स्टेशनमा प्रयोग गरेर तस्बिर सार्वजनिक गरिएको थियो ।


फाइल तस्बिर : ग्राउन्ड स्टेशन नेपाली स्याटेलाइटलाई मोनिटरिङ गरिँदै । तस्बिर : बिजु महर्जन/कान्तिपुर

स्रोतका अनुसार ग्राउन्ड स्टेशन सञ्चालनमा आएपनि स्याटेलाइटले पठाएका तथ्यांक समेटेर तस्बिर निकाल्न सम्भव नभएपछि नाष्टका अधिकारीहरुले स्टेशनमा समस्या आएको निष्कर्श निकालेको थिए । सर्वप्रथम एन्टिनामा समस्या देखिएको थियो । उक्त समस्या समाधान गरेपछि स्टेशन सञ्चालनमा आएको थियो । तर, तस्बिर निकाल्न सम्भव भएको थिएन । पछि मात्र रेडियो उपकरणमा कमान्ड दिने फिचर नभएपछि तस्बिर निकाल्न समस्या भएको पुष्टि भएको थियो ।

नाष्टका अधिकारीहरुले रेडियो उपकरण ‘अपडेट भर्सन’ भएकाले नाष्टले खरिद गरेको रेडियो उपकरणमा कमान्ड दिने फिचर नभएको बताएका छन् ।

नेपालले फाइदै लिन सकेनः हरीराम श्रेष्ठ,स्याटेलाइट निर्माणकर्ता

सरकारले स्टेशन निर्माणका लागि धेरै लगानी गरेपनि स्टेशनले तथ्यांक लिने काम निकै ढिलो गरेको थियो । करिब ६ महिनाको तथ्यांक लिन नसकिएको स्याटेलाइट निर्माणकर्ता हरिराम श्रेष्ठले बताए । सोचे अनुसार नेपालले काम गर्न नसकेको उनले गुनासो गरे । भने,‘मुख्य कुरा दक्ष जनशक्तिको अभाव र ग्राउन्ड स्टेशन निर्माणमा भएको ढिलाइ र खरिद नियमावलीमा देखिएको समस्या हो ।’ उनले सामान खरिद ढिलो हुँदा समस्या भएको बताए ।

उनले भने,‘दक्ष जनशक्ति भएको थियो भने विश्वविद्यालयलाई विद्यार्थीहरुलाई काम गर्न लगाउन सकिन्थ्यो र उनीहरुको क्षमता अभिवृद्धिमा सघाउ पुग्थ्यो । बर्डस ३ बाट विद्यार्थीहरु धेरै नै प्रेरित भएका थिए तर नेपालमा काम ढिलो हुँदा उनीहरु पनि निराश भए ।’

काम कम, गफ ज्यादा भयोः रोशन पाण्डे, ग्राउन्ड स्टेशन कार्यक्रम प्रमुख

नाष्टको ग्राउन्ड स्टेशन कार्यक्रम प्रमुख रोशन पाण्डे पनि स्टेशनबाट सन्तुष्ट छैनन् । उनले नाष्टको व्यवस्थापकीय कमजोरीका कारण धेरै काम हुन नपाएको गुनासो गरे । उनले अहिले ग्राउन्ड स्टेशनबाट स्याटेलाइटको अवस्थाबारे जानकारी लिने काम भने भइरहेको बताए ।

उनले रेडियो इक्यूपिमेन्टमा समस्या आएको र यसको मुख्य कमजोरी नाष्टको व्यवस्थापन भएको दाबी गरे । व्यवस्थापकीय कार्य चुस्त नुहँदा डाटा व्यवस्थापन कमजोर भएको बताए । उनले तथ्यांक संकलन अफिस टाइममा मात्रै सम्भव भएको बताए । उनले भने, ‘नयाँ हुने केही पनि काम भएकै छैन । स्टेशनलाई सस्टेनएबल बनाउने जिम्मेवारी व्यवस्थापनको हो । ’ स्याटेलाइट उडाएर मात्रै हैन त्यसलाई निरन्तरता दिने सकेमात्र मिसनको सार्थकता हुने ।

उनले नाष्टका उपकूलपति सुनिलबाबु श्रेष्ठको कमजोरी देखाउँदै भने, ‘भाइस चान्सलर आउनुभएको छ । बोलेर मात्रै हैन काम गरेर देखाउन सक्नुपरो । म्यानेजमेन्टबाट केही मोटिभेसन हामीलाई भएन ।’

उनले नेपाली स्याटोलाइट र ग्राउन्ड स्टेशन ‘जस्ट अन्ली फर क्ल्यापिङ हृयान्डस एन्ड फर हलो पब्लिसिटी’ मात्रै भएको बताए ।

याे पनि पढ्नुहाेस् :

प्रकाशित : माघ ११, २०७६ २०:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?