कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अन्तरिक्षमा नेपाली स्याटलाइट : अझै तयार भएन ग्राउन्ड स्टेसन

स्टेसन निर्माण ढिलाइमा नास्ट र सप्लायर्स एकअर्कालाई आरोप लगाउँदै 
गोविन्द पोखरेल

काठमाडौँ — नेपालको पहिलो भूउपग्रह नेपाली स्याट–१ अन्तरिक्षमा छाडेको एक महिना बितिसक्दा पनि ग्राउन्ड स्टेसन निर्माण हुन सकेको छैन । स्टेसन नहुँदा भू–उपग्रहले पठाउने सूचना र तथ्यांक नेपालबाट विश्लेषण हुन सकिरहेको छैन ।

स्याटलाइट निर्माता हरिराम श्रेष्ठले नेपाली आकाशमाथिबाट नेपाली स्याटलाइटले लिएको तथ्यांक विश्लेषण गर्न नपाएको बताए । उनका अनुसार स्याटलाइटले पठाएको तथ्यांकबाट तस्बिर उतारिए पनि त्यो जापानी आकाशबाट खिचिएको हो ।


‘हामीले अर्काको देशमा रहेको ग्राउन्ड स्टेसनबाट तथ्यांक लिनुपर्ने बाध्यता छ,’ उनले कान्तिपुरसित भने, ‘नेपालमै ग्राउन्ड स्टेसन भइदिए विभिन्न तथ्यांक तथा सूचना निकाल्न सकिन्थ्यो ।’ श्रेष्ठका अनुसार नानो आकारको यो स्याटलाइटको आयु १ देखि ३ वर्ष मात्र हुन्छ । अन्तरिक्षको वातावरणीय अवस्थाले पनि यसको आयु निर्धारण गर्छ ।


नेपाली स्याट अन्तर्राष्ट्रिय स्पेश स्टेशनबाट पृथ्वीको तल्लो कक्षामा ' डिप्लेए' भएको बुधबार एक महिना भएको छ । गत जुन १७ तारिखका दिन स्टेसनबाट नेपालको 'नेपाली स्याट–१' , श्रीलंकाको ‘राभाना’ र जापानको 'उगिसु' एकैपटक अन्तरिक्षमा छाडिएका थिए । श्रीलंकाले भने यसअघिदेखि नै आफ्नै मुलुकबाट तथ्यांक लिन थालिसकेको छ ।



गत जुन १७ तारिखका दिन अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रबाट स्याटलाइट पृथ्वीको तल्लो अर्बिटमा छाडिदै । तस्बिर : नासाका अन्तरिक्षयात्री निक हेगको फेसबुकबाट साभार


नास्टका प्रविधि संकाय प्रमुख एवं वैज्ञानिक रवीन्द्र ढकालले ‘सप्लायर्स’ का कारण स्टेसन निर्माणमा ढिलाइ भएको बताए । स्टेसन निर्माणका लागि नास्टले डिकेड इन्टरनेसनलसँग करिब १९ लाखको सम्झौता गरेको छ ।


‘नास्टको कुनै दोष छैन । हामीले हाम्रो काम सबै पूरा गरेका छौँ । सप्लायर्सले समयमै उपकरण नल्याउँदा ढिलाइ भएको हो,’ उनले भने । ढकालका अनुसार अहिले ग्राउन्ड स्टेसनमा सफ्टवेयर जडान भइसकेको छ । रेडियो फ्रिक्वेन्सीका उपकरण जडानको काम पनि सकिएको छ ।


ग्राउन्ड स्टेसन कार्यक्रमका प्रमुख रोशन पाण्डेले सबै सफ्टवेयर किनिएको तर एन्टेना नआएका कारण ढिलाइ भएको बताए । स्टेसनले भीएचएफ (भेरी हाई फ्रिक्वेन्सी) र यूएचएफ (अल्ट्रा हाई फ्रिक्वेन्सी) डाटा संकलन गर्न सक्ने उनले सुनाए । ग्राउन्ड स्टेसनमा रेडियो उपकरण, टीएनसी कन्ट्रोलर र एन्टेना मात्र हुनेछ ।


डिकेड इन्टरनेसनलका विष्णु ढकालले भने स्टेसन निर्माण ढिलो हुनुमा नास्टकै कमजोरी रहेको दाबी गरे । उनका अनुसार नास्टले फ्रिक्वेन्सी रिसिभरको लाइसेन्स लिन ढिलाइ गरेकाले समयमै उपकरण जडान हुन सकेन । फ्रिक्वेन्सीसँग सम्बन्धित उपकरण जडान गर्नुपूर्व सञ्चार तथा सूचना प्रविधि मन्त्रालयबाट ती उपकरण चलाउन लाइसेन्स लिनुपर्ने प्रावधान छ ।


नेपालमै ग्राउन्ड स्टेसन नहुँदा स्याटालाइटलाई जापानबाट ‘कमान्ड’ दिने गरिएको छ । श्रेष्ठका अनुसार नेपालमै स्टेसन भए अन्य स्याटलाइटको जानकारी र तथ्यांक लिन पनि सजिलो हुन्थ्यो । बर्डस् कार्यक्रमअन्तर्गतका अन्य मुलुकका स्याटलाइटहरुको तथ्यांक पनि संकलन गर्नुपर्ने भएकाले नेपालको मात्र तथ्यांक संकलन गर्न गाह्रो भएको श्रेष्ठले बताए ।


नास्टले केही दिनभित्रै नेपाली स्याटलाइटले जापानी आकाशबाट खिचेका तस्बिर सार्वजनिक गर्ने तयारी गर्दै छ । एक साताभित्र ग्राउन्ड स्टेसन सञ्चालनमा आउने नास्टको दाबी छ । यसअघि रोटेटर उल्टो परेको र लाइसेन्स लिन ढिलाइ भएपछि ग्राउन्ड स्टेसन निर्माण अड्किएको थियो ।


प्रकाशित : श्रावण १, २०७६ १४:४३

प्रतिक्रिया
पठाउनुहोस्

गत आर्थिक वर्षको अन्तिम महिनामा सरकारले गर्‍यो अत्याधिक खर्च, यस्तो छ तथ्यांक

कृष्ण आचार्य

काठमाडौँ — विगतमा जस्तै यस वर्ष पनि सरकारले बजेटको ठूलो हिस्सा असारमै खर्चिएको छ । यति हुँदाहुँदै पनि सरकारले मध्यावधि समीक्षामार्फत संशोधन गरेको खर्च र राजस्वको लक्ष्य भेट्न सकेन । त्यसमा १२ प्रतिशतले राजस्व संकलन कम भयो । 

मंगलबार साँझसम्म बजेटको कुल खर्च १० खर्ब ८२ अर्ब ८५ करोड रुपैयाँ भएको छ । खर्च भएको बजेटको करिब २४ प्रतिशत अर्थात् २ खर्ब ५६ अर्ब ४० करोड ५३ लाख रुपैयाँ असारमै सकिएको हो ।


विकासतर्फको कुल पुँजीगत खर्चमध्ये ३५ प्रतिशत असारमै सकिएको महालेखा नियन्त्रकको कार्यालयले जनाएको छ । यस वर्ष २ खर्ब ३० अर्ब ४६ करोड पुँजीगत खर्चमध्ये करिब ७९ अर्ब रुपैयाँ असारमा सकिएको हो । ‘यो खर्च असार ३१ गते ४ बजेसम्मको मात्रै हो,’ महालेखा नियन्त्रकको कार्यालयका एक अधिकारीले भने, ‘धेरै चेक अन्तिम समयमा काटिएका छन् । एक महिनासम्म खर्चको विवरण आइरहन्छ ।’

सरकारले असार अन्तिम साताको एकै दिनमा ३२ अर्ब रुपैयाँ खर्चिएको छ । असार २६ गते सबैभन्दा बढी अर्थात् ३२ अर्ब, २९ गते ३१ अर्ब र ३० गते २४ अर्ब रुपैयाँसम्म खर्चियो । त्यस्तै पुँजीगततर्फ पनि असार ३० गते एकै दिन १३ अर्ब ९० करोड, २९ गते ८ अर्ब ४० करोड र असार ३१ गते अन्तिम दिन ७ अर्ब रुपैयाँ खर्चिएको छ । यो एक दिन खर्च भएको रकम आर्थिक वर्षको सुरुका दुई महिना बराबर हो ।


प्रकाशित : श्रावण १, २०७६ १४:२९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×