कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

भनाभनमा ‘क्रिमिनल चार्ज’

‘कानुन कार्यान्वयनमा सुन अनि थुनको नीति अपनाउनुपर्छ तर थुन अनि सुनको अभ्यास भइरहेको छ, यो उपयुक्त होइन’
मातृका दाहाल

काठमाडौँ — गायिका आस्था राउत र प्रहरी जवान रमिता श्रेष्ठबीच त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको ‘भनाभन’ लाई स्थानीय प्रशासनले ‘कठोर सजाय’ हुन सक्ने गरी अनुसन्धान गर्न निर्देशन दिएको छ । प्रशासनले राउतमाथि मुलुकी अपराध संहिता २०७४ को दफा ११८ अनुसार कारबाही गर्न अनुमति दिएको हो । कसुर पुष्टि भए १ वर्षसम्म कैद वा १० हजार रुपैयाँ जरिवाना वा दुवै सजाय हुन सक्ने व्यवस्था उक्त दफामा छ । 

भनाभनमा ‘क्रिमिनल चार्ज’

सुरक्षा र कानुन मामिलाका जानकारहरूले भनाभन आचरण/व्यवहारसँग जोडिएको तर प्रशासनले अपराधका रूपमा ‘डिल’ गरेको टिप्पणी गरेका छन् । दुई पक्षबीच मिलापत्र गराएर राउतलाई आफन्त वा आबद्ध संस्थाको जिम्मा लगाउन सकिने बाटो हुँदाहुँदै प्रशासनले ‘प्रतिशोध साध्न’ अपराध आरोप लगाएको उनीहरूको भनाइ छ ।


राउतबाट आफूमाथि अभद्र व्यवहार भएको भन्दै जवान श्रेष्ठले शुक्रबार महानगरीय प्रहरी परिसर काठमाडौंमा उजुरी दिएकी थिइन् । दुई दिनपछि आइतबार जिल्ला प्रशासन कार्यालय काठमाडौंले राउतलाई पक्राउ गरेर अनुसन्धान अघि बढाउन प्रहरीलाई अनुमति दिएको हो । प्रशासनले पक्राउ पुर्जी जारी गरेसँगै कानुनअनुसार राउत प्रहरीको फरार सूचीमा परेकी छन् । उनले आफू सांस्कृतिक कार्यक्रममा भारतको सिक्किममा रहेको र फर्कनेबित्तिकै प्रहरीलाई घटनाबारे जानकारी दिने बताएकी छन् ।

राउत बुधबार पश्चिम सिक्किमको रिम्बी माघे मेलामा प्रस्तुतिका लागि गएकी हुन् । त्यहीँ जाने क्रममा बुधबार त्रिभुवन विमानस्थलको प्रस्थान कक्षमा प्रहरी जवान श्रेष्ठ र राउतबीच भनाभन भएको थियो । आफूमाथि प्रहरीबाट दुर्व्यवहार भएको भन्दै गायिका राउतले फेसबुकमार्फत आक्रोशपूर्ण अभिव्यक्ति दिएपछि विमानस्थलमा भएको भनाभनको सीसीटीभीको भिडियो फुटेज भोलिपल्ट बाहिरिएको थियो । फुटेज बाहिरिएपछि आफूले आवेशमा आएर केही शब्द बढी बोलेको भन्दै राउतले फेसबुकमार्फत माफीसमेत मागिसकेकी छन् । प्रहरी पनि सुध्रिनुपर्ने उनले माग गरेकी छन् । त्यसलगत्तै जवान श्रेष्ठ गायिका राउतमाथि कारबाही गर्न माग गर्दै महानगरीय प्रहरी आयुक्त कार्यालयमार्फत काठमाडौं प्रहरी परिसर टेकु पुगेकी हुन् ।

वरिष्ठ अधिवक्ता विष्णु भट्टराईले मुलुकी फौजदारी अपराध संहिताको ‘अभद्र व्यवहार गर्न नहुने’ भन्ने कानुन नै लोकतान्त्रिक मूल्यमान्यता र अभिव्यक्ति स्वतन्त्रतालाई नियन्त्रण गर्न ल्याइएको प्रतिक्रिया दिए । गायिका राउतविरुद्ध पक्राउ पुर्जी जारी गरिएको घटना पनि नियन्त्रित शासन प्रणालीको एउटा उदाहरण भएको तर्क उनले गरे । घटनाबारे दुवै पक्षलाई बोलाएर सोधपुछ गर्न सकिने विकल्प हुँदाहुँदै पक्राउ पुर्जी जारी गर्नुले राज्य नियन्त्रणमुखी भएको स्पष्ट हुने उनको भनाइ छ । ‘सार्वजनिक स्थानमा नागरिकले शासक, राज्यका निकाय र तिनका प्रतिनिधिसँग चर्को स्वरले बोल्नै नहुने ? प्रश्न गर्नै नहुने ? किन यस्तो गरेको भनेर भन्नै नहुने ? भनिहाल्यो भने ठेगान लगाउन पक्राउ गरिहाल्ने ? जेल हालिहाल्ने ? यही हो नागरिकको अभिव्यक्ति स्वतन्त्रता ?’ भट्टराईले भने । उनले अभद्र व्यवहारसम्बन्धी कानुन संशोधन नभएसम्म नागरिकले संविधानले दिएको अधिकारअनुसार निर्धक्क भएर आफ्ना गतिविधि गर्नसमेत नपाउने बताए ।


नेपाल प्रहरीका पूर्वअतिरिक्त महानिरीक्षक (एआईजी) राजेन्द्रसिंह भण्डारीले गायिका राउतमाथि पक्राउ पुर्जी जारी गरिहाल्नुपर्ने अवस्था नभएको बताए । ‘आस्था राउत र प्रहरी जवानबीच भएको विवाद अपराध होइन, एटिच्युड प्रोब्लम हो, यसको समाधान त्यहीअनुसार हुनुपर्थ्यो,’ उनले भने, ‘कानुन कार्यान्वयनमा सुन अनि थुनको नीति अपनाउनुपर्छ तर थुन अनि सुनको अभ्यास भइरहेको छ, यो उपयुक्त होइन ।’ राउतलाई अपराधको मुद्दा लगाएर न्याय निरूपण गर्दा प्रहरी संगठनलाई समेत नकारात्मक असर पर्ने उनको भनाइ छ । प्रहरी र स्थानीय प्रशासनले दुवै पक्षलाई बोलाएर न्याय निरूपण गर्नुको सट्टा पक्राउ पुर्जी जारी गरेर ‘कठोर नीति’ अपनाउनुमा ‘प्रतिशोध’ पनि देखिएको उनले बताए । बेलायतमा सार्वजनिक हितविपरीत वा अभद्र व्यवहारसम्बन्धी केसमा दुवै पक्षबीच ‘सम–न्यायका लागि समन्वयात्मक ढंगले न्याय निरूपण हुने गरेको उनले सुनाए । फिल्डमा खटिने हरेक सुरक्षाकर्मीको तनाव व्यवस्थापनका लागि संगठनले विशेष कदम चाल्नुपर्ने पूर्वएआईजी भण्डारीको सुझाव छ ।

काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी जीवन आचार्यले कानुनले दिएको अधिकारअनुसार नै गायिका राउतमाथि अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिइएको बताए । ‘अभद्र व्यवहार भयो भनेर कसैमाथि आरोप लगाउँदै निवेदन पर्छ भने त्यसको निरूपण हुनुपर्छ, निरूपणकै लागि अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिइएको हो,’ उनले भने, ‘बाँकी कुरा अनुसन्धानबाट खुलेअनुसार नै होला ।’

पूर्वएआईजी भण्डारी भने कुन केसमा ‘क्रिमिनल चार्ज’ लगाउने र कुनमा आपसी समन्वयमा समाधान गर्ने भन्ने कुरामा प्रशासनका अधिकारीले विवेक पुर्‍याउनुपर्ने बताउँछन् । ‘यस्ता विषयमा सर्वसाधारणलाई अपराधको चार्ज लगाउँदै जाने हो भने सरकार वा प्रहरी/स्थानीय प्रशासनप्रति नै आम नागरिकमा वितृष्ण पैदा हुन्छ,’ उनले भने, ‘यसप्रति सरकारी पक्ष नै बढी सहनशील बन्नुपर्छ ।’

काठमाडौं प्रहरी प्रवक्ता डीएसपी होबीन्द्र बोगटीले उजुरी परेपछि त्यसको निरूपण गर्नकै लागि प्रशासनबाट अनुमति लिइएको बताए । दुवै पक्षलाई सँगै राखेर छलफलबाट विवाद निरूपण गर्न सकिने विकल्प पनि कायम रहेको उनले बताए । डीएसपी बोगटीका अनुसार राउत सम्पर्कमा आएकी छैनन् ।


गायिका राउतले आफू नभागेको र कानुनी प्रक्रियामा जान तयार रहेको कान्तिपुरलाई बताइन् । ‘मैले सिक्किममा माघ १२ गतेसम्मका कार्यक्रमको पेस्की लिइसकेकी छु,’ उनले भनिन्, ‘प्रहरीलाई अनुसन्धानमा सघाउँछु । आवश्यक पर्दा बीचैमा कार्यक्रम छाडेर पनि आउन सक्छु ।’ उनले नियतवश प्रहरीलाई गाली नगरेको उल्लेख गर्दै भनिन्, ‘मैले फेसबुकमा माफी मागिसकेकी पनि छु ।’

सम्बन्धित समाचार :

प्रकाशित : माघ ६, २०७६ ०८:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?