गायिका आस्था राउतविरुद्ध काठमाडौं परिसरमा औपचारिक रुपमै उजुरी दर्ता- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

गायिका आस्था राउतविरुद्ध काठमाडौं परिसरमा औपचारिक रुपमै उजुरी दर्ता

कान्तिपुर संवाददाता

काठमाडौँ — गायिका आस्था राउतविरुद्ध अभद्र व्यवहारको कसुरमा महानगरीय प्रहरी परिसर काठमाडौंमा औपचारिक रुपमा उजुरी दर्ता भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा तैनाथ प्रहरी जवान रमिता श्रेष्ठले गत बिहीबार राउतले आफूमाथि ड्युटीमा रहेको बखत ‘गालीगलौज’ र ‘अभद्र व्यवहार’ गरेको महानगरीय विमानस्थल सुरक्षा प्रहरी कार्यालय, गौचरमा उजुरी दिएकी थिइन् ।

महानगरीय विमानस्थल सुरक्षा प्रहरी कार्यालयले जवान श्रेष्ठको उजुरी र सो घटनाको सीसीटीभी फुटेज महानगरीय प्रहरी आयुक्तको कार्यालय, रानीपोखरी पठाएको थियो । प्रहरी आयुक्तको कार्यालयले सीसीटीभी फुटेज र जवान श्रेष्ठको उजुरीलाई आधार मान्दै काठमाडौं परिसरलाई औपचारिक रुपमा उजुरी दर्ता गरेर गायिका राउतमाथि कारवाही प्रकृया अगाडि बढाउन निर्देशन दिएको हो । आयुक्त कार्यालयको निर्देशन पछि परिसरमा औपचारिक रुपमा उजुरी दर्ता भएको परिसरका प्रवक्ता डिएसपी होविन्द्र बोगटीले बताए ।


अभद्र व्यवहारको मुद्दा स्थानीय प्रशासनबाट कारबाही हुन्छ । महानगरीय प्रहरी परिसर काठमाडौंले आइतबार नै जिल्ला प्रशासन कार्यालयमा मुद्दा दर्ता गरेर गायिका राउतलाई अनुसन्धानका लागि झिकाउने प्रकृया अगाडि बढाउन लागेको हो ।


मुलुकी अपराध संहिता ऐन २०७४को दफा ११८ अनुसार कसैले सार्वजनिक स्थान वा प्रवेश गर्न कानुनी अधिकार नभएको ठाउँमा प्रवेश गरी कसैलाई अभद्र व्यवहार गर्न वा सार्वजनिक स्थानमा महिला, बालबालिका वा शारीरिक रुपमा अशक्त व्यक्तिलाई हातपात वा हैरानी गर्न वा त्यसको उद्योग गर्न हुँदैन। त्यस्तो कसुर गर्ने वा गराउने व्यक्तिलाई एक वर्षसम्म कैद वा १० हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुनेछ।


विमानस्थलमा सुरक्षा जाँचका क्रममा राउत र प्रहरी जवानबीच केही 'वादविवाद' भइरहेको सीसीटिभी फुटेजमा देखिन्छ । उक्त विवादपछि राउतले फेसबुकबाट प्रहरीलाई गाली गर्दै आक्रोश पोखेपछि घटनाले ठूलो रुप लिएको हो ।


बिहीबार नै प्रहरी प्रधान कार्यालयले विमानस्थलबाट राउत र प्रहरी जवानबीच भएको विवादको सीसीटिभी फुटेजसमेत झिकाएर कसुर गर्नेमाथि कारबाही गर्न महानगरीय प्रहरी कार्यालयलाई निर्देशन दिएको थियो।



प्रकाशित : माघ ५, २०७६ ११:४०
प्रतिक्रिया
पठाउनुहोस्

कमलका जरा निकाल्न एक महिना

कान्तिपुर संवाददाता

रुकुम पूर्व — सिस्ने गाउँपालिकाले यस वर्ष कमलका जरा निकाल्ने समय एक महिना मात्रै तोकेको छ । गाउँ कार्यपालिकाको निर्णयअनुसार फागुन महिनाभरिलाई तोकिएको हो । 

गाउँ कार्यपालिका प्रवक्ता जीवन केसीले लामो समयसम्म र जथाभावी जरा निकाल्दा कमल मासिने समस्या देखिएकाले छोटो र निश्चित समयका लागि मात्रै जरा निकाल्न दिने निर्णय भएको बताए । सर्वसाधारणको गुनासो आइरहेकाले यस वर्ष बिक्री वितरणलाई पनि व्यवस्थित बनाउने र मूल्यमा एकरूपता कायम गर्ने प्रयास भइरहेको उनको भनाइ छ । केही स्थानीय भने कमलको जरा निकाल्नु हुन्न भन्ने पक्षमा थिए । जरा कुहिएर जाने भएकाले जरा निकाल्नैपर्ने तर्क गाउँपालिकाको छ ।

अघिल्ला वर्षमा दुईदेखि तीन महिनासम्म कमलका जरा निकाल्न समय तोकिन्थ्यो । गाउँपालिकाले जरा निकाल्ने ठेक्का लिन चाहनेका लागि अहिले ठेक्का आह्वान गरेको छ । न्यूनतम कबोल अंक एक लाख रुपैयाँ राखेर ठेक्का आह्वान गरिएको छ । अघिल्लो वर्षको तुलनामा ठेक्काको न्यूनतम अंक अहिले घटाइएको हो । ०७५ सालमा न्यूनतम १ लाख ५० हजार रुपैयाँमा ठेक्का आह्वान गरिएको थियो ।

सिस्ने गाउँपालिका–५ स्थित रुकुमकोटमा रहेको कमल दहमा कमलका जरा पाइन्छन् । कमलको जरा, डाँठ, पात र गेडा जण्डिस रोगको उपचारमा उपयोगी मानिन्छ । सर्वसाधारणले कमलको जराको अचार खान्छन् । कमलका जराबाट चाना बनाएर पनि बिक्री गरिन्छ । कमलको जरा किन्नका लागि जिल्लाभित्रका विभिन्न ठाउँका साथै रुकुम पश्चिम, जाजरकोट, रोल्पा, सल्यान, दाङ, नेपालगन्ज तथा दाङसम्मका मान्छे आउने गर्छन् ।

ठेकेदारले निश्चित रकम लिएर सर्वसाधारणलाई कमलका जरा निकाल्ने अनुमति दिन्छन् । ‘कमलको जरा निकाल्ने जिम्मा दिने गाउँपालिकाले यसको बिक्री वितरणको मापदण्ड पनि तोक्नुपर्छ,’ स्थानीय पवित्रा केसीले भनिन्, ‘नत्र मनपरी ढंगबाट पैसा लिने काम विगतका वर्षमा भइरहेको छ ।’

प्रकाशित : माघ ५, २०७६ १०:४७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×