कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

महिला प्रहरीबाट दुर्व्यवहारमा परेको आस्थाको दाबी, प्रहरीलाई गाली गरेको भिडियो भाइरल

भन्छिन्– ‘फेसबुक भिडियोमा अलि आक्रोशित भएछु, क्षमा चाहन्छु’ 

काठमाडौँ — फेसबुकमा तीखा टिप्पणीबाट चर्चामा आइरहने गायिका आस्था राउत फेरि विवादमा तानिएकी छन् । उनले प्रहरीप्रति आक्रोश पोखेको भिडियो फेसबुकमा ‘भाइरल’ भइरहेको छ । हिजो बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भद्रपुर जान लाग्दा चेकिङको क्रममा महिला प्रहरीले आफूमाथि दुर्व्यवहार गरेको उनले आरोप लगाएकी छन् ।

महिला प्रहरीबाट दुर्व्यवहारमा परेको आस्थाको दाबी, प्रहरीलाई गाली गरेको भिडियो भाइरल

भद्रपुरमा ओर्लिएपछि उनले गाडीबाटै फेसबुक लाइभ गरेकी थिइन् । उनले भिडियोमा प्रहरीलाई ‘डन्ठे’, ‘बन्दुके’ जस्ता अपशब्द प्रयोग गरेकी छन् ।

पश्चिम सिक्कीमको रिम्बी माघे मेलामा प्रस्तुतीका लागि आस्था सिक्किम जाँदै थिइन् । आस्थाको फेसबुक पेजमा यो भिडियोले १ लाख ८१ हजार भ्युज पाइसकेको छ । अन्य पेजबाट पनि शेयर भइरहेको छ ।

नेपाल प्रहरीका प्रवक्ता शैलेश थापा क्षेत्रीले आस्था राउतको भिडियो आफूले पनि हेरेको र त्यसलाई छानबिनका लागि सम्बन्धित निकायमा पठाएको बताए । 'उहाँले विमानस्थलमा आफू माथि दुर्व्यवहार गरिएको भन्नुभएको छ । त्यसको छानबिन गर्छौं । साथै उहाँले भिडियोमा प्रयोग गर्नुभएको भाषा निक अशिष्ट छ । त्यसप्रति पनि हाम्रो ध्यानाकर्षण भएको छ,' उनले भने ।


के भन्छिन् आस्था ?

हिजो बिहीबार १२ बजेको फ्लाइटमा भद्रपुर आउँदै थियो । उडान ‘डिले’ भयो । बोर्डिङ पास लिने काउन्टर नजिककै कफी सपमा बसिरहेकी थिएँ । एक्कासी ‘मिस आस्था राउत’ भनेर बोलायो, कफी लिएर भित्र र्छिन थालें ।

दुई दिन अगाडिसम्म म त्यहीँबाट पोखरा जाँदा मलाई ज्याकेट खोल्न लगाइएको थिएन । तर हिजो भने सबैलाई स्वेटर पनि खोल्न लगाइएको थियो । जबकी त्यहाँ त्यसरी सबै खोल्नै लगाएर चेकिङ गरेको याद छैन । बाहिरबाटै महिला प्रहरीले छामेर पास गर्थे ।

फ्लाइट छुट्न लागेको जानकारी गराउँदै मैले छिटो चेक गरिदिन अनुरोध गरें । ती महिला प्रहरीले झर्केर ‘ज्याकेट खोल्नुस’ भनिन् । मैले दुवै हात माथि उठाएर फेरि आग्रह गरें । त्यसपछि उनले मलाई ‘ज्याकेट खोल भनेको सुनिनस्’ भनिन् । मेरो कफी हातबाट लिएर कतै राखिदिइन् । चेक गरिसकेपछि ‘कफी लिएर जा’ भनिन् ।

एकातिर दुव्यर्वहार, अर्कातिर हतार । मैले कफी नलिई हिँड्न खोजें । तर उनले फेरि ठूलो स्वरमा ‘कफी लिएर जा, नत्र तेरो ब्यागमा खनाइदिन्छु’ भनिन् । ‘जे सुकै गर’ भनेर अगाडि बढें । उनले लगाएको युनिफर्मको नेमप्लेटमा ‘रमिता’ लेखेको थियो ।

त्यहाँ ममाथिको दुव्यर्वहार अरुले पनि देखिरहेका थिए । तर सबैले हेरि मात्र रहे, केही बोल्नेन् । हामी कलाकारमाथि त यस्तो रुखो व्यवहार हुन्छ भने सर्वसाधारणलाई कस्तो होला ? अपराधीलाई पनि त्यस्तो गर्न पाइँदैन । यो त युनिफर्मको दादागिरी हो । म महिलाबाटै पीडित भएँ । ‘प्रहरी मेरो साथी’ भन्ने नाराको मजाक भएन ?

भद्रपुर विमानस्थलबाट निस्किएपछि माघे संक्रान्तिको शुभकामना दिउँ अनि ममाथिको दुव्यवर्हारबारे पनि केही भनुम भनेर लाइभ आएको थिएँ । तर बोल्दै जाँदा अलि चर्को बोलेछु । पीडितको आवाज हो त्यो, मेरो भडास हो । मेरो परिवारमा पनि प्रहरी र सेनामा कार्यरत सदस्यहरु हुनुहुन्छ । म संगठनको रेस्पेक्ट गर्छु ।

तर, मैले एकजना प्रहरीका कारण पुरै प्रहरी प्रशासनलाई बदनाम गर्न खोजेको होइन, त्यस्तो नियत छैन ।एकजना प्रहरीले गरेको व्यवहारका कारण मैले सबैप्रति आक्रोश पोख्न पुगें । मैले केवल यस्ता प्रहरी पनि छन् है भनेर जानकारी र सुझाव मात्र दिएकी हुँ । यद्यपी मैले भिडियामा बोलेका आक्रोशपूर्ण शब्दप्रति क्षमाप्रार्थी छु ।


प्रकाशित : माघ २, २०७६ ११:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?