कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

स्वस्थानी व्रत सुरु : व्रतालुको पनौती, फर्पिङलगायत ठाउँको यात्रा कार्यक्रम यस्तो छ

प्रशान्त माली

काठमाडौँ — पौष शुक्ल पूर्णिमाबाट सुरु हुने श्रीस्वस्थानी व्रतकथा तथा माधवनारायण व्रत शुक्रबारबाट सुरु भएको छ । एक महिनासम्म चल्ने व्रत काठमाडौंको साँखुस्थित शालीनदीमा पनि विशेष रूपमा सुरु भएको छ । यो महिनाभर स्नान गरी स्वस्थानी तथा माधवनारायणको आराधना गरे पुण्य मिल्ने जनविश्वास छ ।

स्वस्थानी व्रत सुरु : व्रतालुको पनौती, फर्पिङलगायत ठाउँको यात्रा कार्यक्रम यस्तो छ

विष्णुले सिकाएको विधिअनुसार हिमालयकी पुत्री पार्वतीले स्वस्थानी (अष्टमातृका, त्रिदेवी, लक्ष्मी, सरस्वती, गायत्री, शक्ति) को नियमपूर्वक व्रत बसेकाले महादेव स्वामी पाएको हिन्दुशास्त्रमा उल्लेख छ । पार्वतीले लोककल्याणका लागि स्वस्थानीको व्रत बसाल्न स्वर्गलोकमा नारद, मनुष्य लोकमा सप्तऋषि र पाताल लोकमा अश्वत्थामा ऋषिलाई पठाइन् । सोही अनुरूप अहिलेसम्म माधवनारायण साक्षी राखेर पौष शक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म शालीनदीमा व्रत बस्ने प्रचलन रहेको माधवनारायण साँखुका मूल पुजारी सुदनराज राजोपाध्यायले बताए । ‘नारायणलाई १२ महिनामा १२ वटै नामबाट पुकारिन्छ । माघमा माधव हुने भएकाले माधव नारायणको रूपमा पुजिएको हो,’ उनले भने ।

व्रत सुरु गर्नुअघि व्रतालुले बिहीबार नुन नखाने, आत्मा संकल्प गरी चिःभ्वय् (चौरासी व्यञ्जन परिकारसहितको भोज) खाएका थिए भने साँखु ज्योतिर्लिंगेश्वरस्थित सुन्दरीघाटमा पुगेर स्नान गरेका थिए । व्रतको पहिलो दिन शालीनदीमा व्रत बस्नका लागि एक सय ९० महिला र पाँच जना पुरुषले नाम दर्ता गरेको मेला व्यवस्थापन समितिका वरिष्ठ उपाध्यक्ष जीवनमान सिंहले बताए ।

सुरु भयो एक महिने माधवनारायण मेला [फोटोफिचर]

स्वस्थानी व्रत अवधिभर व्रतालुलाई समितिले नै व्यवस्थापन गर्नेछ । माघ ९ गते व्रतालुहरू साँखुबाट बज्रयोगिनी र पशुपति प्रस्थान गर्नेछन् । १० गते पशुपतिबाट फर्पिङ, ११ गते फर्पिङबाट साखु फर्कने, १४ गते साँखुबाट पनौती, १५ गते पनौतीबाट साँखु, १६ गते शालिनदी परिसरबाट साँखु सरस्वतीस्थानसम्म अष्टांग दण्डवत गर्दै जाने, १८ गते व्रतालुहरु झकिझकाउ भई माधवनारयण जात्रामा सहभागी हुने र नगरका एक सय ८ स्थानमा जल चढाउने, २० गते व्रतालुलाई तम्सी खुवाउने, २२ गते माधवनारायणसँग नुहाउनुअघि महिला व्रतालुले भित्ता रंगाउने कमेरो माटोले नुहाउने अनि साँखुबाट चागुनारायणस्थान प्रस्थान गर्ने कार्यक्रम तय भएको छ । त्यस्तै माघ २३ गते चागुनारायणबाट साँखु पुग्ने र सोही दिन साँखु बजारमा भीमसेनको जात्रा गर्ने चलन छ । २५ गते ३३ कोटी देवतालाई अश्वमेध यज्ञमा निमन्त्रण गर्ने र २७ गते व्रतालुले माघ गाउने कार्यक्रम रहेको समितिले जनाएको छ ।

प्रकाशित : पुस २५, २०७६ १९:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?