कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

लुम्बिनीका विहार ‘गेस्ट हाउस’

बौद्ध धर्मावलम्बी मुलुकका लागि दिइएको जग्गामा निर्मित करिब तीन दर्जन विहार र गुम्बाले आफ्ना देशका पाहुनालाई नियमविपरीत विहारमै राख्ने गरेका छन्

(लुम्बिनी) — बुद्ध जन्मस्थलमा बौद्ध धर्मावलम्बी मुलुकले बनाएका विहार र गुम्बाहरू गेस्ट हाउसका रुपमा सञ्चालन भइरहेका छन् । गुरुयोजनाअनुसार लुम्बिनी क्षेत्र विकास कोषले उपलब्ध गराएको जग्गामा निर्मित विहारमा एउटामा १० जना मात्रै बस्न पाउने व्यवस्था भए पनि ६/७ सय जनासम्म पर्यटक राख्ने गरिएको छ । केन्द्रीय नहरको दायाँबायाँ करिब तीन दर्जन यस्ता विहार र धर्मशाला छन् ।

लुम्बिनीका विहार ‘गेस्ट हाउस’

लुम्बिनी विकास कोष ऐन ०४२ र विनियमावलीअनुसार एउटा विहारमा पाँच जना भिक्षु र त्यति नै सहायक बस्न पाउने उल्लेख छ । उक्त व्यवस्थाअनुसार कोषको सिफारिसमा विभिन्न मुलुकबाट आउने भिक्षु र सहायकलाई सरकारले एक वर्षको सहुलियत भिसा उपलब्ध गराउँदै आएको थियो । गत वर्षदेखि त्यसमा कडाइ गरिएको छ ।


कोषका अनुसार लुम्बिनी क्षेत्रमा होटल सञ्चालन नभएका बेला विहारमा पाहुना राख्ने गरिन्थ्यो । सन् १९९८ र २००४ मा आयोजना गरिएको प्रथम र दोस्रो बौद्ध शिखर सम्मेलनका बेला आमन्त्रित राष्ट्रिय र अन्तर्राष्ट्रिय पाहुनालाई विहारमै राखिएको थियो । त्यसयता नियमन गरिएको छैन । पहिले पर्यटन पूर्वाधार अभाव देखाउँदै विहारमा पाहुना राखिए पनि अहिले लुम्बिनी क्षेत्रबाहिर सुविधासम्पन्न करिब सयवटा होटल निर्माण भइसकेका छन् ।


चार दशकअघि केन्जो टाँगेले तयार पारेको गुरुयोजनामा लुम्बिनीलाई ‘मिनी बुद्धिस्ट वर्ल्ड’ का रूपमा परिकल्पना गरिएको छ । त्यसका लागि लुम्बिनी विकास कोषअन्तर्गत तीन वर्ग माइल क्षेत्रमध्ये एक वर्ग माइल विहारका लागि छुट्याइएको छ । विश्वका प्रमुख बुद्धिस्ट राष्ट्रमध्ये एउटा देश वा त्यहाँको एउटा बौद्ध संस्थालाई वास्तुकला र संस्कृति झल्किने शैलीमा विहार निर्माण गर्न दिने गरिएको छ । यसबाट पर्यटकले एकै ठाउँमा विश्वकै बौद्ध संस्कृति र कलाबारे ज्ञान प्राप्त गर्न सक्छन् । लुम्बिनीको विकासका लागि ती राष्ट्रको ऐक्यबद्धता जुटाउनु गुरुयोजनाको अर्को महत्त्वपूर्ण पक्ष हो ।


यहाँका पर्यटन व्यवसायीले वर्षौंदेखि विहारले गेस्ट हाउस सञ्चालन गर्दा मर्का परेको गुनासो लुम्बिनी क्षेत्र विकास कोष, स्थानीय सरकार र संघीय मन्त्रीसमक्ष गर्दै आएका छ । ‘बौद्ध धर्म मान्ने मुलुकबाट पर्यटक आउलान् र कमाउँला भन्ने छैन,’ लुम्बिनी होटल एसोसिएसनका अध्यक्ष मिथुन श्रेष्ठले भने, ‘कहिलेकाहीं झुक्किएर मात्रै बाहिर आइपुग्छन् ।’ उनका अनुसार श्रीलंका, थाइल्यान्ड, चीन, कोरिया, कम्बोडिया, म्यानमार, महाबोधी र विभिन्न नेपाली गुम्बामा पर्यटक राख्ने गरिएको छ । एउटा विहारले दुईदेखि ६/७ सय जना अट्ने कोठा तयार गरेको उनले बताए ।


विहारमा सम्बन्धित मुलुकबाट सरकारका प्रतिनिधिसमेत आएर बस्छन् । विहार क्षेत्र अवलोकन गर्नबाहेक आवासीय क्षेत्रमा सर्वसाधारणको पहुँच हुँदैन । विहार छुट्याएर ती राष्ट्रले आफ्नै शैलीका पाहुना राख्ने घर निर्माण गरेका छन् । विहारले सबै पर्यटकीय सेवा प्रदान गर्दै आएका छन् । विमानस्थलबाट यहाँ ल्याएपछि विहारमा राख्छन् । आफ्नै पथ प्रदर्शक (गाइड) छन् । खानपिन गराउँछन्, घुमाउँछन् । अधिकांशले चन्दाका रूपमा पर्यटकबाट सेवा शुल्क लिन्छन् । धेरैले कोठाअनुसार असुल्छन् । ‘आफ्नो पैसा आफ्नै मुलुक लैजान्छन्,’ स्थानीय पथप्रदर्शक प्रह्लाद यादवले भने, ‘हाम्रो केही काम छैन ।’ केही विहारले एक/दुई जना नेपालीलाई सम्पर्क कर्मचारीका रूपमा राखेका छन् । त्यसबाहेक कर्मचारी आफ्नै मुलुकका राख्ने गरेका छन् । विहारमा बढीमा १० जना बस्न मिल्ने भए पनि कोषका कर्मचारी र सम्बन्धित मन्त्रालयले चलखेल गरेर सयौं पर्यटक राख्न दिएको स्थानीयले आरोप लगाए ।


लुम्बिनी होटल एसोसिएसनले समस्याबारे सर्वपक्षीय बहस चलाउन हेमबहादुर विष्टको संयोजकत्वमा पर्यटन समस्या समाधान समिति गठन गरेको अध्यक्ष श्रेष्ठले बताए । उनका अनुसार समितिमा व्यवसायी, स्थानीय अगुवा, शिक्षक, लुम्बिनी सांस्कृतिक नगरपालिका र बुद्धिजीवी सदस्य छन् । समितिले कोष र सरोकारवालासित आफ्ना समस्याबारे छलफल गर्नेछ । ‘विहारले व्यावसायिक होटल जसरी गेस्ट हाउस चलाएको विषयमा समीक्षा जरुरी भयो,’ उनले भने, ‘समिति बनाएर अघि बढेका छौं ।’


होटल एसोसिएसनले पछिल्लो पटक तयार गरेको लुम्बिनी भ्रमण प्याकेजमा यी विहार र गुम्बालाई समेटेको छ । यहाँ विभिन्न व्यक्ति र बौद्ध संस्थाका नाममा स्थापना भएका नेपाली गुम्बाले पनि पाहुना राख्ने गरेका छन् । त्यस्ता गुम्बामा पाहुना राख्न स्तरीय कोठा बनाइएका छन् । होटल संघका केन्द्रीय उपाध्यक्ष चन्द्रप्रकाश श्रेष्ठले लुम्बिनीमा निर्माण भएका विदेशी विहारको आफ्नो मुलुकको राजदूतावासमा सम्पर्क रहेको बताए । यहाँका विहारमा भएका क्रियाकलापबारेमा आवाज उठाएमा दूतावासबाट दबाब आउने गरेकाले समस्या समाधान हुन नसकेको उनले बताए । ‘यसबारेमा जति विरोध गरे पनि केही हुनेवाला छैन,’ उनले भने, ‘लुम्बिनी विकास कोषका पदाधिकारी पनि राजदूतावासको दबाब खेपेर आफ्नो पद धरापमा पार्नुभन्दा चुप लागेर बस्नाले समस्या भएको हो ।’


कोषका निमित्त सदस्य सचिव तथा योजना प्रबन्धक सरोज भट्टराईले बौद्ध दर्शनमा ‘टेम्पल स्टे’ चलनलाई महत्त्व दिने गरिएकाले आध्यात्मिक शान्तिको खोजीमा आउने श्रद्धालुहरू विहारमा बस्ने गरेको बताए । ‘टेम्पल स्टे प्रचलनलाई सरकारले पनि अहिले प्राथमिकतामा राखेको छ,’ उनले भने, ‘अन्य मुलुकमा पनि यो चलनलाई महत्त्व दिने गरिएको छ । हामी पनि विदेश जाँदा विहारमै बस्ने गरेका छौं ।’ शान्तिको खोजीमा आउनेले विहारमा बस्न मन पराउने र होटलमा बस्ने खालका पर्यटक विहारमा नबस्ने गरेको उनले दाबी गरे ।


कोषले व्यापारिक प्रयोजनका लागि कसैलाई पनि नराख्न भनेर विहार सञ्चालकहरूलाई पत्राचार गरेको उनले बताए । ‘ऐन र विनियमावलीविपरीत विभिन्न कालखण्डमा किन यति धेरै क्षमताका संरचना तयार भए भन्ने खोजीको विषय हुन सक्छ,’ उनले भने, ‘व्यापारिक प्रयोजनबाट हुने गतिविधि रोक्न म खटिने गरेको छु । यस्ता गतिविधि धेरै नियन्त्रणमा आइसकेका छन् ।’

प्रकाशित : पुस १०, २०७६ ०७:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?