सीमामा सुरक्षा पोस्ट राख्ने योजना अलपत्र

गृह र वन मन्त्रालयबीच समन्वय हुन नसक्दा भारत र चीनका सीमामा २३ सुरक्षा पोस्ट राख्ने योजना अघि बढ्न सकेको छैन
ऋषिराम पौड्याल

काठमाडौँ — सरकारका मन्त्रालयहरूबीच नै समन्वय हुन नसक्दा भारत र चीनसँगको सीमा क्षेत्रमा प्रहरी पोस्ट स्थापना गर्ने योजना अघि बढ्न सकेको छैन ।

ZenTravel

दक्षिणी सीमामा १९ तथा चीनसँगको सीमामा चार गरी २३ स्थानमा सशस्त्र र नेपाल प्रहरीका पोस्ट राख्न स्वीकृति माग्दा वन मन्त्रालयले डेढ वर्षदेखि अल्झाएको आरोप गृह मन्त्रालयले लगाएको छ। वनले भने प्रक्रिया नपुगेकाले प्रस्ताव रोकिएको बताएको छ।

Meroghar

संघीय संसद्को ‘राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन एवं मूल्यांकन तथा अनुगमन समिति’ मा शुक्रबार गृहमन्त्री रामबहादुर थापाले सबैजसो पोस्ट वन क्षेत्रमा राख्नुपर्ने तर वनले स्वीकृति नदिएकाले अप्ठेरो परेको बताए। गृहमन्त्रीले वनका कारण समस्या परेको बताएपछि सांसदहरूले सीमा सुरक्षाजस्तो संवेदनशील विषयमा सरकारी निकाय उदासीन बनेको भन्दै आक्रोश व्यक्त गरेका थिए।

नेकपाका नेता भीम रावलले सरकारका मन्त्रालयबीच नै समन्वय नहुने कुरा गम्भीर भएको बताए। उनले मुलुकको सार्वभौमसत्ता रक्षा गर्ने कुरामा गृहमन्त्रीले वनले स्वीकृति नदिएको भन्नु आश्चर्यजनक भएको जनाए। कांग्रेस सांसद मीनेन्द्र रिजालले सरकार उदासीन रहेकाले सीमा सुरक्षा पोस्ट खडा गर्ने काम अघि बढ्न नसकेको बताए।

सशस्त्र प्रहरी बलले दिएको जानकारीअनुसार दार्चुलाको कालापानीबाट करिब १५ किमि नेपालतर्फ व्यास गाउँपालिकास्थित थारुङ भन्ने स्थानमा प्लाटुन स्तरको जनशक्ति राख्न १५ रोपनी जमिन सरकारसँग माग गरेको डेढ वर्ष भएको छ। ‘अहिले भारतले नयाँ नक्सा सार्वजनिक गरेका कारण मात्र हामी क्रियाशील भएका होइनौं,’ सशस्त्रका एक अधिकारीले भने, ‘फाइल पेस गरेर मन्त्रालय धाउँदा–धाउँदा हामी दिक्क भइसकेका छौं।’

वनले सुरक्षा पोस्ट खडा गर्नुअघि त्यहाँको वातावरणीय प्रभाव मूल्यांकन हुनुपर्ने सर्त राखेको सशस्त्र स्रोतले जनाएको छ। ‘वनको कानुनी प्रक्रिया पुर्‍याउनै साह्रै कठिन भयो,’ गृहका एक अधिकारीले कान्तिपुरसँग भने, ‘तीन महिनादेखि डेढ वर्ष पुराना करिब २३ वटा प्रस्ताव वनमा अड्किएका छन्।’

दार्चुलाका सांसद र स्थानीय बासिन्दाले आफ्नै जिल्लाको सदरमुकाम पुग्न भारतको बाटो प्रयोग गर्नुपर्ने अवस्था रहेको र सीमामा सुरक्षाकर्मीसमेत नहुँदा राज्यको महसुस गर्न नसकेको भन्दै सुरक्षा पोस्ट राख्न दबाब दिइरहेका छन्। दार्चुलाबाट निर्वाचित सांसद गणेशसिंह ठगुन्नाले ८ महिनाअघि गृहमन्त्रीसँगै भेटेर जानकारी गराउँदा र संसद्मा पटक–पटक सरकारको ध्यानाकर्षण गराउँदा पनि बेवास्ता गरिएको गुनासो समिति बैठकमा गरे।
‘कालापानी क्षेत्रका नेपालीले आफ्नै भूभागमा आउजाउ गर्न पनि भारतको बाटो प्रयोग गर्नुपर्ने अवस्था छ,’ उनले भने, ‘सीमामा सुरक्षाकर्मी छैनन्। नागरिकले राज्यबाट सुरक्षा महसुस गर्न सकेका छैनन्।’ सीमाबाट ५० किमि टाढा बसेका नेपाली सुरक्षाकर्मीबाट नागरिकले सुरक्षा महसुस नसकेको उनले बताए।

वन सचिव विश्वनाथ ओलीले भने गृहबाट प्रस्ताव आए पनि प्रक्रिया नपुगेकाले रोकिएको बताए। ‘कुनै प्रस्ताव राष्ट्रिय निकुञ्ज विभागले स्वीकृत गर्नुपर्ने र कुनै प्रस्तावमा प्रक्रिया पुर्‍याउने क्रममा ढिलाइ भएको हो,’ उनले कान्तिपुरसँग भने, ‘गृहले पठाएको पत्रको आधारमा मात्र स्वीकृत दिन नसकिएको हो, हामी छिट्टै अघि बढाउँछौं।’

दक्षिणी नाकालगायत चीनसँग सीमा जोडिएका संखुवासभाको किमाथांका, मुस्ताङको कोरला, हुम्लाको यारीलगायतका सीमा सुरक्षाका लागि सशस्त्र प्रहरी राख्न वनसँग स्वीकृति मागेको गृहले जनाएको छ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक गोपाल भट्टराईले सकभर संरक्षित क्षेत्रलाई नमासौं भन्ने सोचका कारण स्वीकृति दिन ढिलाइ भइरहेको बताए। ‘सीमा पोस्ट खडा गर्ने कुरामा संवेदनशील छौं, विकल्प रहेसम्म अन्यत्र बनाउँदा राम्रो हो। त्यही स्थानमा बनाउनुपर्ने अवस्था भएमा प्रक्रिया पूरा गर्नुपर्छ। कानुनी प्रक्रिया नपुर्‍याउँदा निर्णय गर्ने कर्मचारीलाई अप्ठेरो पर्ने भएकाले बढी समय लागेको हुन सक्छ,’ उनले भने।

भारतले नेपालको भूमि मिचेर नयाँ नक्सा जारी गरेपछिको अवस्थाका विषयमा सरकारी पहलबारे छलफल गर्न आयोजित बैठकमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र भूमि व्यवस्था, गरिबी निवारण तथा सहकारीमन्त्री पद्मा अर्याल नआएपछि सांसदहरूले सामान्य छलफल गरेर अर्को बैठक राख्नुपर्ने सुझाव दिएका थिए।

यो पनि पढ्नुहोस्ः
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

‘स्रोत नियन्त्रणबाटै हुन्छ फोहोर व्यवस्थापन’ 

कान्तिपुर संवाददाता

काठमाडौँ — स्रोतबाट नै नियन्त्रण गर्न नसकेसम्म फोहोरको उचित व्यवस्थापन हुन कठिनाइ हुने विज्ञहरुले बताएका छन् । उनीहरुले फोहोर व्यवस्थापनमा सबभन्दा ठूलो भूमिका उत्पादनमा हुने उल्लेख गर्दै फोहोर उत्पादनमा कमी ल्याए मात्र व्यवस्थापन वैज्ञानिक हुने निष्कर्ष निकालेका छन् ।

फोहोर मैला व्यवस्थापनका लागि प्रविधिको स्तरोन्नति, उत्पादनमा नियन्त्रण, पुनःप्रयोग जस्ता विधिलाई नअपानाएसम्म फोहोरको उत्पादनमा कमी नहुने अनुसन्धानकर्ताहरु बताउँछन्।

राजधानीमा दुई दिनसम्म चलेको फोहोर मैला व्यवस्थापन राष्ट्रिय सम्मेलनमा विज्ञहरुले फोहोर व्यवस्थापनको उचित पाटो नै नियन्त्रण र पुनःप्रयोग रहेको बताउँदै यसतर्फ ध्यान दिनुपर्ने उल्लेख गरे ।

नेपाल विकास अनुसन्धान प्रतिष्ठानका अध्यक्ष समेत रहेका वातवरणविद् नवराज खतिवडाले उत्पादनमा नियन्त्रण लिनुपर्ने बताउँदै उनले राज्यले कडा कानुन ल्याउनुपर्नेमा जोड दिए। उनले कुनैपनि वस्तु उत्पादन गर्दा त्यसले भविष्यमा पार्ने प्रभावका बारेमा समेत ध्यानमा दिनुपर्ने उनको सुझाव छ।

यस्तै, नाष्टका प्रविधि संकाय प्रमुख रविन्द्र ढकालले फोहोर मैला व्यवस्थापनका लागि सबै क्षेत्रसँग सहकार्य आवश्यक रहेको बताउँदै फोहोरबाट ऊर्जा उत्पादनमा जोड दिनुपर्ने बताए। पूर्व वातवरणमन्त्री र अभियन्ता गणेश शाहले फोहोर मैलाको व्यवस्थापनका लागि उत्पादनमा कमी र सबै क्षेत्र जागरुक हुनुपर्ने बताए।फोहोर मैला व्यवस्थापन संघका केन्द्रीय अध्यक्ष धनप्रसाद आचार्यले मुलुकको नगर क्षेत्रको फोहोर व्यवस्थापनमा निजी क्षेत्रको महत्वपूर्ण योगदान रहेको बताउँदै उनले फोहोर व्यवस्थापनमा सबै गम्भिर हुनुपर्ने बताए।

खेर गएका फोहोरबाट ऊर्जा उत्पादन गर्न सकिने सम्बन्धि अनुसन्धान गर्दै आएका अनुसन्धानकर्ता हैकम घिसिङले ऊर्जा उत्पादनसँगै आम्दानी समेत गर्न सकिने जानकारी दिए ।
‘फोहोर मैला व्यवस्थापन,हामी सबैको प्राथमिकता’ भन्ने नाराको साथ आयोजना भएको उक्त सम्मेलनमा फोहोर मैला व्यवस्थापमा विद्यमान नीति,समस्या,समाधान र अवसरहरुबारे चर्चा गरिएको थियो।

१० प्राविधिक सत्रमा चलेको सम्मेलनमा फोहोर मैलाको विद्यमान अवस्था, जलवायु अनुकुलता, फोहोरबाट ऊर्जा, विद्युतिय जैविक फोहोर, उदयमान मुद्दा, स्रोत पुनरावृत्ति, क्रसकटिङ मुद्दा, निजी क्षेत्रको प्रयास लगायतका विषयहरुमाप्रस्तुति दिइएको थियो।
सम्मेलनमा वैज्ञानिक,विद्यार्थी, विज्ञ, इन्जिनियर लगायत १७० जना प्रतिनिधिहरुको उपस्थिती थियो ।

नेपाल वातवरण इन्जिनियर समाज,नेपाल विकास अनुसन्धान प्रतिष्ठान,फोहोर मैला व्यवस्थापन संघ,नाष्ट लगायतको सम्मेलनको संयुक्त आयोजना गरेका थिए।

प्रकाशित : मंसिर २१, २०७६ २१:०४
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
×