कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मेडिकल कलेजमा अतिरिक्त शुल्क प्रकरण : सञ्चालकका नातेदारको पनि सम्पत्ति छानबिनमा

तीन कलेजका तीनपुस्ते विवरण संकलन
दुई मेडिकल कलेजको ९० प्रतिशत अनुसन्धान पूरा
कृष्ण आचार्य, सुदीप कैनी

काठमाडौँ — सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले सबै मेडिकल कलेजका सञ्चालक र उच्च तहका कर्मचारीका तीनपुस्ते नातेदारको सम्पत्ति छानबिन गर्ने भएको छ । त्यसका लागि अनुसन्धान अधिकृतहरू तोकिइसकेका छन् । तीन वटा मेडिकल कलेजबाट सम्पत्ति विवरण आइसकेको विभाग स्रोतले जानकारी दिएको छ । 

मेडिकल कलेजमा अतिरिक्त शुल्क प्रकरण : सञ्चालकका नातेदारको पनि सम्पत्ति छानबिनमा

‘केही समयअघि राष्ट्रिय सतर्कता केन्द्रले एक प्रतिवेदन तयार पारी ठगीको विवरणसहित सम्पत्ति छानबिन गर्नू भन्ने पत्र पठाएको छ,’ विभागका एक अधिकारीले भने, ‘हामी आफैंले केही मेडिकल कलेजको छानबिन गरिरहेका थियौं । अब केन्द्रले पत्राचार गरेका सबै कलेज सञ्चालक र उच्च तहका कर्मचारीका तीनपुस्ते नातेदारको सम्पत्ति विवरण हेर्नेछौं ।’


गण्डकी मेडिकल कलेज पोखरा, किस्ट मेडिकल कलेज ललितपुर र चितवन मेडिकल कलेज भरतपुरका सञ्चालक र कर्मचारीका तीनपुस्ते नातेदारको सम्पत्ति विवरण प्राप्त भइसकेको विभाग स्रोतले जनाएको छ । ‘सुरुमा सम्बद्ध सञ्चालकलाई नै पत्राचार गरी सम्पत्ति विवरण झिकाएका हौं । केहीले विवरण उपलब्ध गराउन अटेर गरे,’ विभागका ती अधिकारीले भने, ‘कानुनी कारबाहीको चेतावनी दिएपछि बल्ल विवरण पठाएका छन् ।’

गण्डकीका सञ्चालक खुमा अर्यालसहितले विवरण पठाउन अटेर गरेका थिए । ढिलो गरी प्राप्त विवरण ठीक हो/होइन भनी थप छानबिन गर्न सम्पत्तिको अभिलेख राख्ने सरकारी निकायलाई विभागले पत्राचार गरेको छ । ‘राष्ट्र बैंकमार्फत बैंक तथा वित्तीय संस्था र मालपोत कार्यालय, धितोपत्र बोर्डलगायत सम्पत्तिको अभिलेख राख्ने निकायमा पत्राचार गरिएको छ,’ ती अधिकारीले भने, ‘यी निकायबाट विवरण आएपछि छानबिनको मुख्य काम सकिनेछ ।’ गण्डकी र किस्टको ९० प्रतिशत अनुसन्धान सकिएको विभाग स्रोतले बताएको छ । ‘केही साताभित्र चितवन मेडिकल कलेजको पनि ९० प्रतिशत अनुसन्धान सकिनेछ,’ ती अधिकारीले भने । यी कलेजको अनुसन्धान सकेपछि अन्य मेडिकल कलेजमाथि अर्को चरणको अनुसन्धान सुरु गर्ने विभागको तयारी छ । कम जनशक्ति भएका कारण एकैपटक सबै मेडिकल कलेजको अनुसन्धान गर्न नसकिएको विभागका अधिकारीहरू बताउँछन् । ठगी गरेको विवरणसहित केन्द्रले छानबिन गर्न पत्राचार गरेपछि विभागमाथि थप दबाब परेको छ ।


केन्द्रले विद्यार्थीबाट अवैध शुल्क लिएको विषयमा छानबिन गरेर विभागसहित प्रधानमन्त्री कार्यालय र शिक्षा मन्त्रालयमा कारबाहीको सिफारिस र विवरणको प्रतिवदेन पठाएको छ । छानबिनमा कलेजले ४ वर्षमा २ अर्ब ८५ करोड अतिरिक्त शुल्क उठाएको पाइएको थियो ।


छानबिन प्राथमिकतामा तीन कलेज

सबैभन्दा बढी ठगी गर्नेमा तीन मेडिकल कलेज छन् । विभिन्न निकायले गरेको छानबिनमा गण्डकी, चितवन र किस्ट मेडिकल कलेजले सबैभन्दा बढी अतिरिक्त शुल्क लिएको पाइएको छ । केन्द्रको छानबिनमा गण्डकीले ४ शैक्षिक सत्र (सन् ०१५ देखि ०१८ सम्म) मा विद्यार्थीबाट ४३ करोड बढी शुल्क लिएको उल्लेख छ । त्यस्तै किस्टले उक्त अवधिमा ५ करोड ९९ लाख अतिरिक्त शुल्क उठाएको छ । त्रिभुवन विश्वविद्यालयले गरेको छानबिनमा भने गण्डकीले ५१ करोड ९८ लाख बढी शुल्क लिएको भेटिएको थियो । किस्टले त्रिविको अनुगमन टोलीलाई विवरण नै उपलब्ध गराएन । त्यसैले उसलाई थप कारबाहीका लागि टोलीले सिफारिस गरेको छ । किस्टले पनि शिक्षा मन्त्रालयले खटाएको अनुगमन टोलीलाई आधिकारिक विवरण उपलब्ध गराएको थिएन ।


यी तीनवटै कलेज त्रिविबाट सम्बन्धन प्राप्त हुन् । सरकारले काठमाडौंबाहिर एमबीबीएस अध्ययन गर्न ४२ लाख ४५ हजार शुल्क तोकेको छ । तर चितवनले एमबीबीएस अध्ययनरत विद्यार्थीसँग २२ लाखदेखि ३५ लाख रुपैयाँसम्म अतिरिक्त शुल्क लिएको पाइएको छ । वार्षिक, पुस्तकालय, विश्वविद्यालय दर्ता, सम्बन्धन, परीक्षा, इन्टर्नसिप, शिक्षा सेवा करलगायत ८ शीर्षकमा कलेजले विद्यार्थीबाट अवैध शुल्क असुल्ने गरेका छन् । काठमाडौं उपत्यकाभित्र एमबीबीएसका लागि ३८ लाख ५० हजार शिक्षण शुल्क तोकिएको थियो । किस्टले भने विद्यार्थीसँग १० लाखसम्म अतिरिक्त शुल्क उठाएको विद्यार्थीको गुनासो छ । अवैध शुल्कको विरोधमा गण्डकीमा गत फागुनदेखि विद्यार्थी आन्दोलित छन् । आन्दोलनकै क्रममा उनीहरूले कलेज सञ्चालकविरुद्ध ठगी मुद्दा दर्ता गराएका थिए । कलेजका अध्यक्ष अर्याल, प्रशासकीय अधिकृत कृष्ण घिमिरे, प्रधानाध्यापक, रवीन्द्रप्रसाद श्रेष्ठ, सीईओ सन्तोष खनाल, लेखा प्रमुख युवराज शर्मा, कर्मचारीहरू हरि पौडल, दिनेश पौडेल, तिलक पौडेल, कृष्ण पौडेललगायतलाई कारबाही माग्दै विद्यार्थीले मुद्दा दिएका हुन् ।


चितवनमा गत भदौ ५ बाट सुरु भएको अतिरिक्त शुल्कविरुद्धको माग अझै रोकिएको छैन । कलेज सञ्चालक हरिश न्यौपाने, उनकी श्रीमती तथा नर्सिङ विभागकी प्रमुख ममता न्यौपाने, प्रशासक प्रताप देवकोटा र मेडिकल डाइरेक्टर दयाराम लम्सालको संलग्नतामा बढी शुल्क असुल्ने गरिएको विद्यार्थीको गुनासो छ । सञ्चालक न्यौपानेले अतिरिक्त शुल्क फिर्ता गर्ने प्रतिबद्धता गरे पनि पूरा गरेका छैनन् ।


किस्टमा सञ्चालकहरू बालमानसिंह कार्की, आशिष थापा, किशोरमानसिंह बस्नेत र कानुनी सल्लाहकार केशवराज आचार्यले डरत्रास देखाएर बढी शुल्क लिने गरेको विद्यार्थीको भनाइ छ । अतिरिक्त शुल्कको विरोधमा वीरगन्जको नेसनल र भैरहवाको युनिभर्सल मेडिकल कलेजमा विद्यार्थी आन्दोलित छन् । आन्तरिक परीक्षामा फेल गराउनेलगायत विभिन्न मनोवैज्ञानिक तनाव दिने कारण अतिरिक्त शुल्कको विरोध गर्न नसकिएको किस्टकी एक छात्राले बताइन् । गण्डकीकी सञ्चालक अर्याल युनिभर्सलकी समेत सञ्चालक हुन् । युनिभर्सलले ४ वर्षमा ३७ करोड ७२ लाख अतिरिक्त रकम उठाएको केन्द्रको प्रतिवेदन छ ।


केन्द्रले विराटनगरस्थित नोबेल मेडिकल कलेजले ३५ करोड ४७ लाख, नेसनलले ३२ करोड ५५ लाख, लुम्बिनी मेडिकल कलेज पाल्पाले ३२ करोड ९६ लाख, नेपालगन्ज मेडिकल कलेजले २१ करोड ९१ लाख, काठमाडौं मेडिकल कलेज सिनामंगलले २७ करोड ८१ लाख, देवदह मेडिकल कलेज रूपन्देहीले ३ करोड ८९ लाख, मनिपाल शिक्षण अस्पताल पोखराले १० करोड ९ लाख, विराट मेडिकल कलेज विराटनगरले १९ करोड ९ लाख र कलेज अफ मेडिकल साइन्स भरतपुरले १० करोड ५७ लाख ठगी गरेको ठहर गरेको छ । सम्पत्ति शुद्धीकरण विभागले छानबिन गरिरहेको चितवन मेडिकल कलेजमाथि भने केन्द्रले अध्ययन गरेको थिएन । उक्त कलेजले २५ करोडभन्दा बढी अतिरिक्त रकम उठाएको विद्यार्थीको दाबी छ ।

प्रकाशित : कार्तिक २९, २०७६ ०९:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?