कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

राज्य पक्षकै कारण चुरे दोहन : पूर्व राष्ट्रपति यादव

(धनुषा) र (जनकपुर) — पूर्वराष्ट्रपति डा.रामवरण यादवले राज्य पक्षकै कारण चुरे दोहनले मधेसमा आपतको अवस्था आएको बताएका छन् । चुरे फँडानी तथा माटो–ढुंगा उत्खनन जोगाउन सरकारले कुनै भूमिका खेलेको छैन,’ उनले भने, ‘वन र चुरे विनाशले मधेसमा सुक्खा र खडेरीको समस्या बढेको छ । पानीको मुहान, कल र इनार सुक्नुको मुख्य कारण चुरे दोहन नै हो । पहाडमा डोजर आतंक छ । पहाडलाई भत्काउने क्रम जारी छ । यस्तालाई संरक्षण दिइरहने ?’

राज्य पक्षकै कारण चुरे दोहन : पूर्व राष्ट्रपति यादव

जनकपुरमा जारी नेपाल साहित्य महोत्सवमा ‘चुरेको चिन्ता’ विषयक बहसमा पूर्वराष्ट्रपति यादवले जनताको सहभागितामा चुरे संरक्षण गर्नुपर्नेमा जोड दिए । ‘राजनीतिक दलसँग आबद्ध ठेकेदारले चुरेमा उत्खनन गरेका छन्,’ यादवले भने, ‘दलका नेताले क्रसर खोलेका छन् । संघ, प्रदेश र स्थानीय तहका जनप्रतिनिधि चुरेसँग जोडिएका नदीमा उत्खनन गर्दै छन्, चुरिया माताको पूजा गरेर मात्रै संरक्षण हुँदैन ।’


वैज्ञानिक अध्ययनबिनै चुरेमा डोजर चलाउँदा प्रत्यक्ष असर मधेसमा परिरहेको उनले बताए । चुरेको पेट चिरेर मदन भण्डारी राजमार्ग बनाउन लागिएको भन्दै उनले चिन्ता व्यक्त गरे । ‘पूर्वपश्चिम रेलमार्ग, पूर्वपश्चिम राजमार्ग विस्तार, निजगढ विमानस्थल निर्माण र पहाडी राजमार्गका लागि रूख कटानको योजनाले चुरेको छाती र पेट चिरिएको छ,’ उनले भने, ‘जंगल र चुरेमा संरचना निर्माण गर्नुअघि दीर्घकालीन अध्ययन गर्नुपर्छ ।’


चुरे संरक्षणको गुरुयोजना बने पनि सरकारले कानुन नबनाउँदा काम अगाडि बढ्न नसकेको उनले बताए । ‘२० वर्षको गुरुयोजना बनेको छ तर कानुन बनाउने कोही माई बाप छैन,’ उनले भने । विज्ञहरूसँग गहन छलफल गरेर चुरे संरक्षणका लागि आवश्यक कानुन बनाउन उनले संघ र प्रदेश सरकारलाई सुझाव दिए ।


विश्लेषक चन्द्रकिशोरले चलाएको बहसमा पूर्वप्रधानमन्त्री एवं नेकपा वरिष्ठ नेता माधवकुमार नेपालले मानवबस्तीलाई निरुत्साहित गरी भूसंरक्षण गरे मधेसका लागि चुरे वरदान सावित हुने बताए । नेपाली राजनीतिमा विकासका लागि अल्पकालीन सोचले गर्दा चुरे संरक्षण चुनौतीपूर्ण बनेको उनले जनाए । ‘सगरमाथादेखि चुरे र चुरेबाट मधेस आउँदासम्म अवस्था भयावह छ’, उनले भने, ‘वरदान भएको चुरेलाई अभिशाप बनाउने काम भएको छ । यसलाई वरदान बनाइराख्न सबै लाग्नुपर्छ ।’ पूर्वप्रधानमन्त्री नेपालले मेचीदेखि महाकालीसम्म कतिवटा राजमार्ग चाहिन्छ भन्ने अध्ययन नहुँदा जंगल र चुरे फाँडिएको बताए ।


परदेशको अनुभूति भइरहेछ : मुख्यमन्त्री राउत

कार्यक्रमको अर्को सत्रमा प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेशको नभई परदेशको अनुभूति गरिरहेको बताए ।


‘शासकीय इकाई (प्रदेश) प्रमुख (मुख्यमन्त्री) को कि परदेश प्रमुखको अनुभूति गरिरहनुभएको छ ?’ भन्ने प्रश्नमा उनले भने, ‘मुलुकमा भौगोलिक एकीकरण भयो तर भावनात्मक एकीकरण हुन सकेन । हामी (मधेसी) अझै पनि नेपाली बन्न सकेका छैनौं । परदेशकै अनुभूति गरिरहेका छौं ।’


रामजानकी विवाह मण्डपको खुला आकाशमुनि सयौं पर्यवेक्षक र स्थानीयवासीबीच मुख्यमन्त्रीलाई अर्को प्रश्न राखियो– ‘अनि तपाईंले मुख्यमन्त्री भएयता के के उल्लेखनीय कामहरू गर्नुभयो ?’


मुख्यमन्त्री राउतले आफ्ना कामको फेहरिस्त सुनाए, ‘विकास निर्माणसँगै सामाजिक रूपान्तरण अभियान सञ्चालन गरेका छौं । बेटी पढाऊ, बेटी बचाऊ अभियानले समाजमा तरंग ल्याएको छ ।’


बुक वर्म फाउन्डेसनको आयोजनामा शुक्रबारदेखि सुरु तीन दिवसीय साहित्य महोत्सवको दोस्रो दिनको तेस्रो सत्रमा मुख्यमन्त्री राउतसँग थिए, कान्तिपुर दैनिकका प्रधान सम्पादक सुधीर शर्मा । विषय थियो– प्रदेश वा परदेश । मुख्यमन्त्री राउतले विद्यालय पढ्ने किशोरीलाई साइकल वितरण गर्नुलाई सामाजिक परिवर्तन अभियानका रूपमा बुझ्न आग्रह गरे ।


शनिबार विभिन्न सात शीर्षकमा विमर्श भएको थियो । रामजानकी विवाह मण्डपमा ‘चुरेको चिन्ता’, ‘प्रदेश वा परदेश’ सँगै ‘मधेसको हिमाल’ शीर्षकमा पनि मन्थन भएको थियो, जसमा कनकमणि दीक्षित, विराजभक्त श्रेष्ठसँग धीरेन्द्र प्रेमर्षिले बहस चलाएका थिए । मधेसको भोजन विषयक सत्रमा केदार शर्मा, इम्तियाज वफा र गायत्री मिश्रसँग गणि अन्सारीले कुरा गरेका थिए ।


शनिबारै जनकपुर रेलवे स्टेसनमा आयोजित ‘अध्यात्मको राजधानी’ शीर्षकमा पत्रकार चारु चढ्ढा, प्रदेशसभा सदस्य रामाशिषसँग पत्रकार तथा साहित्यकार नित्यानन्द मण्डलले वार्तालाप गरेका थिए । ‘कस्तो साहित्य, कसको साहित्य’ विषयक विमर्शमा रामभरोस कापडी, आन्विका गिरी र मनु मञ्जिलसँग अभिनेता ब्रजेश खनालले तथा ‘स्वाभिमान, सम्मान र अभिमान’ विषयक विमर्शमा प्रदेशसभा सदस्य रानी शर्मा, नारायण वाग्ले र प्रदेश २ का मुख्यन्यायाधिक्ता दीपेन्द्र झासँग कांग्रेस सांसद गगन थापाले बहस चलाएका थिए ।


प्रकाशित : कार्तिक २३, २०७६ १६:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?