गुल्मीमा जिप दुर्घटना, २ को मृत्यु, ४ जना घाइते 

माधव अर्याल, घनश्याम गौतम

गुल्मी — गुल्मीको मुसिकोट नगरपालिका–९, ददल्कामा जिप बुधबार बेलुकी दुर्घटना हुँदा २ को मृत्यु भएको छ भने ३ जना घाइते भएका छन् ।

गुल्मीकै वामीटक्सारबाट ददल्का जाँदै गरेको लु १ च ३५१४ नम्बरका पिकअप भ्यान ददल्का काबरोड भन्ने स्थानमा दुर्घटनामा परेको हो । दुर्घटनामा मृत्यु हुनेमा अर्लाङ्कोटका अन्दाजी ७५ वर्षीय रामप्रसाद खरेल रहेका छन् भने अर्का एक जनाको नाम खुल्न सकेको छैन । उनी चालक ज्ञानबहादुर बिककी सासुआमा रहेको स्थानीयले जानकारी दिएका छन् ।

घाइते हुनेहरुमा मुनपा ७ वामीका २३ वर्षीय भानुभक्त पौडेल, ८ वर्षीय सोनीया बिक, बिष्णु बिक रहेका छन् । चालक ज्ञानबहादुर बिक फरार छन् ।

घाइते सोनिया चालककी छोरी र बिष्णु श्रीमती रहेको वडाध्यक्ष नरेशराज खरेलले बताए । घाइतेहरु सबैलाई उपचारका लागि बागलुङको हटिया पठाइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गुल्मीका प्रमुख प्रवीण आचार्यले बताए ।

प्रकाशित : कार्तिक १३, २०७६ २०:३५
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

नेवार समुदायले मनाए भाइटीका

रासस

काठमाडौँ — नेवार समुदायले दिदीबहिनीबाट टीका ग्रहण गरी भाइटीका पर्व मनाएका छन् । यमपञ्चक अर्थात् तिहारको पाँचौँ दिन भाइटीका पर्व मनाइने भए पनि यस वर्ष तिथिको घटबढ भएकाले कार्तिक शुक्ल द्वितीयाको दोस्रो दिन नेवार समुदायले यो पर्व मनाएका हुन् । नेपाल पञ्चाङ्ग निर्णायक समितिले स्वीकृति दिएका पात्रोमा मङ्गलबार नै भाइटीका लगाउनुपर्ने उल्लेख छ । 

त्यसअनुसार नेवार समुदायका कतिपय मानिसले मङ्गलबार नै भाइटीका लगाएका थिए । समितिमा सदस्य रहनुभएका कीर्तिमदन जोशी शास्त्रसम्मत् रुपमा मङ्गलबार नै भाइटीका ग्रहण गर्नुपर्नेमा राजनीतिक उद्देश्य बोकेका संस्थाको आह्वानमा नेवार समुदायलाई विभाजित गरिएको बताउँछन् । दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्पराअनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाई भाइटीका मनाइएको छ ।

दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाउने गरिन्छ । दिदीबहिनीलाई पूजा गर्नाले अखण्ड सौभाग्य र ऐश्वर्य प्राप्त हुने विश्वास छ । लक्ष्मीपूजाका दिन स्थापना गरिएको दियो, कलश र गणेशको पूजा गरी मूल थालीमा लेखिएको अष्टदलमा मार्कण्डेय, अश्वत्थामा, बलि, व्यास, हनुमान, विभीषण, कृपाचार्य र परशुराम गरी अष्ट चिरञ्जीवी, चित्रगुप्त, यमराज, यमुना र धर्मराज, गणपत्यादि वनस्पत्यन्त देवताको समेत पूजाआजा गरी दिदीबहिनीले दाजुभाइलाई तेलको धाराले छेकेर परम्पराअनुसार सप्तरङ्गी वा पञ्चरङ्गी टीका, मखमली, सयपत्री र गोदावरी लगायतका फूलका माला लगाइदिने गरिन्छ ।

टीका लगाइदिएपछि दिदीबहिनीले दाजुभाइलाई ओखर, कटुस, मरमसला एवं सेलरोटी लगायतका खानेकुरा दिने र दाजुभाइले पनि दिदीबहिनीलाई गच्छेअनुसार सौभाग्यका प्रतीक कपडा र दक्षिणा दिई सम्मान प्रकट गर्ने धार्मिक एवं सामाजिक परम्परा छ । यस वर्ष लक्ष्मीपूजादेखि नै नेवार समुदायका केही व्यक्तिले समितिले निर्णय गरेभन्दा अलग दिन तिहार पर्व मनाएका छन् । समितिले बृहत् अन्तरक्रिया गरेर निर्णय नगर्दा चाडपर्वमा विवाद आउने गरेको छ ।

धर्मशास्त्रविद् प्राडा देवमणि भट्टराई समितिको निर्णयअनुसार बिदा दिने निर्णय गरेको सरकारले तिहार लागिसकेपछि थप बिदा दिएर अन्योल सिर्जना गरेको बताउँछन् । विवाद समाधानमा भूमिका खेल्नुपर्नेमा बल्झाउन सरकार लागेको समितिमा आमन्त्रित सदस्यका रुपमा भूमिका निर्वाह गर्नुभएका वाल्मीकि विद्यापीठ धर्मशास्त्र विभागका अध्यक्ष रहेका उनको भनाइ छ ।

प्रकाशित : कार्तिक १३, २०७६ १९:३७
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
×