कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

उम्मेदवार बन्न पार्टीलाई १० हजार, बागलुङमा नेकपाले जनमोर्चालाई सघाउने

(पोखरा) र (बागलुङ) — प्रतिनिधिसभा सदस्य उपनिर्वाचनका लागि कास्की–२ मा कांग्रेसका तर्फबाट उम्मेदवार बन्न चाहनेले पार्टीलाई १० हजार रुपैयाँ बुझाएका छन् । उम्मेदवार बन्न रकम बुझाएका १६ जना आकांक्षीको नाम कास्की कांग्रेसले केन्द्रीय समितिलाई पठाएको छ । 

केन्द्रीय समितिले ३ जनाको नाम सिफारिस गर्न भने पनि क्षेत्रीय समितिले १६ जनाकै नाम पठाएको थियो । जिल्ला समितिको मंगलबार बसेको बैठकले पनि सबैको नाम पठाउने निर्णय गरेको जिल्ला सभापति कृष्ण केसीले बताए । ‘पहिलेका चुनावमा आकांक्षीजति सबैको नाम पठाउने चलन थियो,’ उनले भने, ‘योपल्ट ३ जना मात्रै छान्न गाह्रो भएकाले सबैको पठायौं ।’ गत चुनावमा रवीन्द्र अधिकारीसँग प्रतिस्पर्धा गरेका देवराज चालिसेसँगै खेमराज पौडेल, महादेव गुरुङ, सोभियतबहादुर अधिकारी, निर्मल कर्माचार्यलगायतले यसपालि उम्मेदवार बन्ने चाहना देखाएका छन् ।


नेकपामा सकस

नेकपा कास्कीका अध्यक्ष कृष्ण थापाले दसैंअघि एक जनाको मात्रै नाम सिफारिस गर्ने बताएका थिए । दसैंपछि नेकपाले कात्तिक १० भित्र तीन जनाको नाम उम्मेदवारमा सिफारिस गर्न निर्देशन दिएको छ । ‘रवीन्द्रपत्नी विद्या भट्टराईले चाहनुभयो भने उम्मेदवारका रूपमा उहाँको मात्रै नाम पठाउने तयारी थियो,’ अध्यक्ष थापाले भने, ‘पार्टीको नीति नै ३ जनाको नाम पठाउने भएपछि त्यसैको तयारीमा छौं ।’


उपनिर्वाचनका लागि निर्वाचन आयोगले कात्तिक २१ गते मनोनयनपत्र बुझाउने कार्यतालिका सार्वजनिक गरिसकेको छ । नेकपाले नाम सिफारिस गर्न चुनाव केन्द्रित बैठक गर्दै आएको छ । नेकपाका दुई अध्यक्षले सचिवालय सदस्य वामदेव गौतमलाई चुनाव लड्न सल्लाह दिए पनि उनी पछि हटेको बताइएको छ । उक्त क्षेत्रमा नेकपाबाट सोमनाथ अधिकारी ‘प्यासी’, राजकाजी गुरुङ, तुलबहादुर गुरुङ, धनराज आचार्य, विद्या भट्टराई, श्रीनाथ बराल, शारदा सुवेदी, भीम कार्कीलगायतको चर्चा छ ।


नेकपाकै एक नेताका अनुसार भट्टराईले जागिरे जीवनबाट अवकाश लिन केही महिना बाँकी रहेकाले चुनाव नलड्ने सोच बनाएकी छन् । उनी नउठे अधिकारी, तुलबहादुर गुरुङ र राजकाजी गुरुङको नाम सिफारिस गर्ने तयारी रहेको ती नेताले बताए ।


साझाकी उम्मेदवार रजनी

साझा पार्टीले कास्की निर्वाचन क्षेत्र नं.२ मा हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनमा रजनी केसीलाई उम्मेदवार बनाउने घोषणा गरेको छ । केन्द्रीय समिति बैठकपछि बुधबार पत्रकार सम्मेलन गरी केन्द्रीय सदस्य केसीलाई उम्मेदवार बनाउने घोषणा गरिएको हो ।


समाजवादी पार्टीले किरण थापा, धर्म गुरुङ र रामबहादुर नेपालीलाई सिफारिस गरेको छ । थापा यसअघिको चुनावमा समेत उम्मेदवार थिए ।


तीन पार्टीको उम्मेदवार सिफारिस

बागलुङ क्षेत्र नं. २ (२) को प्रदेशसभा सदस्यका लागि कांग्रेस, राष्ट्रिय जनमोर्चा र राप्रपाले उम्मेदवार सिफारिस गरेका छन् । कांग्रेसले ४, राजमोले ३ जना र राप्रपाले गणेशबहादुर कुँवरलाई उम्मेदवार सिफारिस गरेका हुन् ।


कांग्रेसले क्षेत्रीय सभापति द्रोण कुँवर, महासमिति सदस्य तुलासिंह घर्ती, जित शेरचन र टेकराज पौडेललाई सिफारिस गरेको छ । क्षेत्रीय समितिले सिफारिस गरे पनि अन्तिम टुंगो लगाउने अधिकार केन्द्रीय समितिमा रहेको जिल्ला पार्टी सभापति दीपेन्द्रबहादुर थापाले बताए ।


राजमोले पार्टीका उपाध्यक्ष धर्मबहादुर कुँवर, सुनमाया घर्ती र खिमविक्रम शाहीको नाम सिफारिस गरेको छ । गत निर्वाचनमा वाम गठबन्धनका तर्फबाट राजमोका टेकबहादुर घर्ती निर्वाचित भएका थिए । उनको कलेजोसम्बन्धी रोगले गत मंसिर २८ मा निधन भएपछि उपनिर्वाचन हुन लागेको हो । सुनमाया घर्तीकी श्रीमती हुन् ।


नेकपाले ०७४ को चुनावमा बनेको वामगठबन्धनलाई निरन्तरता दिदै बाग्लुङ क्षेत्र नम्बर २ (२) मा राष्ट्रिय जनमोर्चालाई सघाउने भएको छ । यसअघि पनि उक्त क्षेत्रमा वामगठबन्धनले राजमोलाई सहयोग गरेको थियो । राजमोकी नेतृ तथा सांसद दुर्गा पौडेलले बाग्लुङमा आफ्नो पार्टीको उम्मेदवार हुने र अन्य क्षेत्रमा नेकपाका उम्मेदवारलाई सघाउने जानकारी दिइन् । राजमोका अध्यक्ष चित्रबहादुर केसी लगायतका नेताले बुधबार प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीसँग बालुवाटारमा चुनावी गठबन्धनबारे छलफल गरेका थिए । गठबन्धनबारे औपचारिक निर्णयमा हस्ताक्षर हुन भने बाँकी छ ।

प्रकाशित : कार्तिक ७, २०७६ ०८:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?