कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पीडित परिवारमा आलमको त्रास

‘यतिका वर्ष अनेकन दबाब र धम्की सहेर न्यायका निम्ति लड्यौं । अब दोषी उम्के भने हामी बााच्न पाउादैनौं ।’ 

(रौतहट) — १२ वर्षअघिको बम विस्फोट घटनामा कांग्रेस सांसद मोहम्मद आफताब आलमविरुद्ध किटानी जाहेरी दिएकाका परिवारहरू आफूमाथि जतिबेला जे पनि हुन सक्ने त्रासमा छन् । एक साताअघि पक्राउ परेका आलम कानुनी कारबाहीबाट उम्किए आफूहरूको ज्यान जोखिममा पर्ने भन्दै त्रासले पिरोलिएका हुन् ।

पीडित परिवारमा आलमको त्रास

राजपुर फरदहवामा भएको विस्फोटमा छोरा पिन्टु भनिने त्रिलोकप्रताप सिंहलाई गुमाएका श्रीनारायण भन्छन्, ‘यतिका वर्ष अनेकन दबाब र धम्की सहेर न्यायका निम्ति लड्यौं । अब दोषी उम्के भने हामीले बाँच्न पाउँदैनौं ।’

श्रीनारायणको सरुअठास्थित घरमा शुक्रबार र शनिबार कान्तिपुरकर्मी पुग्दा सादा पोसाकमा प्रहरी परिचालित थिए । पिन्टुसँगै मारिएका ओसी अख्तरको परिवारलाई पनि सुरक्षा दिन जिल्ला प्रहरी कार्यालयले सादा पोसाकमा सुरक्षाकर्मी परिचालन गरेको छ । श्रीनारायणले घटनाको निष्पक्ष छानबिन गरेर दोषीलाई कारबाही गर्न जोड दिए ।

ओसीका ससुरा समसुल मियाँले घटनाको छानबिन प्रभावित भए र कसैगरी दोषी उम्के आफूहरू गाउँमा बस्न नसक्ने अवस्था आउने बताए । ओसीकी आमाको न्याय खोज्ने क्रममै हत्या भएको र हत्याराहरू पहिचान हुन नसकेका हुनाले पनि उनीहरू त्रसित छन् । जिप्रका रौतहटका एसपी भूपेन्द्र खत्रीले भने पीडित परिवारको सुरक्षामा ध्यान दिइएको बताए ।

बम विस्फोटमा परेका ओसी र पिन्टुबाहेकका अन्य केही घाइते सीमावर्ती भारतका रहेको भन्दै प्रहरीले त्यसतर्फ पनि अनुसन्धान अघि बढाएको छ ।

प्रहरी स्रोतका अनुसार विस्फोटमा घाइते भएका केहीलाई आलमले नै भारतका विभिन्न अस्पतालमा उपचारको चाँजो मिलाइदिएका थिए । केहीलाई डर देखाएर भारततिर खेदिएको थियो । प्रहरीले उक्त घटनाका घाइतेको खोजी गरिरहेको छ । उक्त विस्फोटमा घाइते भई बाँचेका सर्लाहीका सफी अहमदलाई भने प्रहरीले स्वास्थ्य परीक्षणका निम्ति काठमाडौं पठाएको छ ।

विस्फोटमा परी सफीको आन्द्रा बाहिर निस्केको थियो । मारिने डरले उनी भाग्दै सीमावर्ती भारतीय सहर पुगी उपचार गराएर फर्केका थिए । प्रहरीले सफीको स्वास्थ्य परीक्षण प्रतिवेदनलाई घटनाको एउटा प्रमाणका रूपमा पेस गर्ने तयारी गरेको छ ।


प्रकाशित : कार्तिक ४, २०७६ ०७:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?