कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

शशांकको नयाँ ‘लुक्स’

कुलचन्द्र न्यौपाने

काठमाडौँ — कांग्रेस केन्द्रीय कार्यालयमा गत आइतबार चियापान चल्दै गर्दा धेरैको नजरमा परे महामन्त्री शशांक कोइराला । उनी दौरासुरुवालमा सजिएका थिए । त्यो औपचारिक ‘गेटअप’ ले धेरैलाई बीपीकै झल्को त दियो नै, उनको ‘लुक्स’ लाई आसन्न पार्टी महाधिवेशनसँग समेत जोडेर हेरियो । किनभने उनी १४ औं महाधिवेशनको तयारीमा अघि बढिसकेका छन् । 

शशांकको नयाँ ‘लुक्स’

कांग्रेस स्थापनाको ७३ वर्षको इतिहासमा कोइराला परिवारले झन्डै ५ दशक नेतृत्व लिएकोमा चार वर्षदेखि पार्टी नेतृत्व गैर कोइरालाको हातमा छ । ०४६ सालपछि नै गिरिजाप्रसादले १५ र सुशीलले ५ गरी २० वर्ष कोइराला परिवारले पार्टीको नेतृत्व लियो । सुशीलको निधनपछि हालका सभापति शेरबहादुर देउवा नेतृत्वमा पुग्न सकेका हुन् ।


केन्द्रीय तहमा कोइराला परिवारका ३ नेता मात्र अहिले सक्रिय राजनीतिमा छन् । बीपीपुत्र शशांक, केशवपुत्र शेखर र गिरिजापुत्री सुजाता । सुजाता स्वास्थ्यका कारण पछिल्लो समय सक्रिय छैनन् । उनले दुई दाजुभाइ मिलेर नेतृत्व लिनमा सहजीकरण गर्न खोजेकी छन् ।


यो पनि पढ्नुहोस् : मेरो बिहे बीपीको दौरासुरुवालमा : शशांक कोइराला


एक वर्षअघि गृहनगर विराटनगरबाट कोइराला परिवारले नेतृत्व लिने सार्वजनिक उद्घोष गरेको थियो । शशांक, शेखर र सुजाताले एउटै मञ्चबाट १४ औं महाधिवेशनमा कोइराला परिवारले नेतृत्वको दाबा गर्ने उद्घोष गरेका थिए । शशांकले त्यतिबेला शेखर र आफूमध्ये एक उम्मेदवार बन्ने घोषणा गरेका थिए । त्यसले कांग्रेसको संस्थापन इतरपक्षमा हलचल ल्याएपछि तत्काल कसैले पनि उम्मेदवारी घोषणा नगर्ने भद्र समझदारी बनेको थियो ।

त्यसयता शशांक र शेखर दुवै नेतृत्वको तयारीमा अघि बढेका छन् । सुरुवाती दिनमा सामूहिक लन्च र डिनरमार्फत एकताको सन्देश दिँदै आएका कोइराला परिवारका यी दुई नेतामा पछिल्लो समय प्रतिस्पर्धाको भावना बढ्दो छ । शशांक र शेखरबीच नेतृत्व कसले लिने भन्नेमा मुख्य टक्कर छ ।


केही समययता ‘हिन्दु’ मुद्दाले कांग्रेसमा ध्रुवीकरण बढाउँदै लगेको छ । गत पुसमा सम्पन्न महासमिति बैठकमै ७ सय सदस्यले हिन्दु राज्यको पक्षमा हस्ताक्षर गरेका थिए । त्यसको प्रभावले समग्र पार्टी तरंगित बन्न थालेको छ । केन्द्रीय कार्यसमितिमै यो मुद्दा बहसमा छ । यसका पछि पनि महामन्त्री कोइराला जोडिएका छन् । संविधान जारी भएदेखि नै उनले हिन्दु राष्ट्रका मुद्दामा जनमत संग्रह हुनुपर्ने माग गर्दै आए । यसबाट बेलाबखत विवादमा पनि तानिए । आउने महाधिवेशनमा उनले यो मुद्दालाई अझ सशक्त बनाउने ठानिएको छ ।


सभापति शेरबहादुर देउवाबाट नेतृत्व प्राप्त गर्न शशांक र शेखर दुवैका लागि त्यति सहज छैन । पहिलो चुनौती त उनीहरू दुवैलाई आफ्नो टिमबाट सर्वसम्मत उम्मेदवार बन्नमै छ । उनीहरू रहेको संस्थापन इतरपक्षमा टिमकै नेता रामचन्द्र पौडेल स्वयं सभापतिका आकांक्षी छन् । त्यही पंक्तिमा प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौला छन् ।


जानकारहरूका अनुसार शशांक राजनीतिका मौन खेलाडी हुन् । संसद् र पार्टी केन्द्रीय कार्यसमिति बैठकमा उनी प्राय: मौन हुन्छन् । ०६४ देखि संसद्मा पुगेका उनले अहिलेसम्म मुस्किलले ८/१० पटक मात्रै बोलेका छन् । केन्द्रीय कार्यसमिति बैठकमा पनि विरलै बोल्छन् । यो देखेकाहरूलाई उनी पार्टी नेतृत्वमा कसरी पुग्लान् भन्ने पनि लाग्छ । तर, शशांकनिकट एक केन्द्रीय सदस्य भन्छन्, ‘सुशील कोइरालामा पनि वाक्पटुता थिएन । संसद्मा उनी पनि ‘ब्याकबेन्चर’ नेता थिए । तर मुलुक र पार्टीको कार्यकारी प्रमुख बने । शशांकमा त बीपीपुत्रको लिगेसीको लाभ पनि ‘प्लस’ छ । नबोलीकनै भ्याउने रणनीति उनमा देखिन्छ ।’


शशांक, शेखर र सुजातालाई गिरिजाप्रसादले आफ्नो जीवनकालमै उत्तराधिकारीका रूपमा हेरेरै सक्रिय राजनीतिमा प्रवेश गराएका हुन् । तीनैजना त्यसअघि क्रियाशील राजनीतिमा थिएनन् । सुजाता जर्मन नागरिक नोबर्ट जोस्टसँग विवाह गरी उतै बस्दै आएकी थिइन् । शशांक र शेखर लामो समयदेखि चिकित्सा पेसामा थिए । ०१५ सालमा विराटनगरमा जन्मिएका शशांक आँखारोग विशेषज्ञ हुन् । उनले महाराजगन्जस्थित शिक्षण अस्पतालबाट काम सुरु गरी त्यहीँबाट रिटायरमेन्ट लिएका थिए ।


सुरुमा गिरिजाप्रसादले बीपीका जेठा छोरा प्रकाशलाई उत्तराधिकारीका रूपमा हेरेका थिए । तर, उनी राजनीतिमा स्थिर हुन सकेनन् । ०६२/६३ को जनआन्दोलनमा आइपुग्दा उनी पार्टीबाटै पृथक् भए र तत्कालीन राजा ज्ञानेन्द्रको प्रत्यक्ष शासनमा मन्त्री बन्न पुगे । अहिले उनी गुमनाम छन् । कोइराला परिवारका तीन नेतालाई मिलाउने र सल्लाह दिने भूमिकामा भने बेलाबखत देखिन्छन् ।


शशांकको केन्द्रीय राजनीतिमा प्रवेश ०५७ सालबाट भएको हो । पोखरामा सम्पन्न पार्टीको दसौं महाधिवेशनमा उनी पहिलो पटक केन्द्रीय सदस्य निर्वाचित भए । दाजु शेखरले पनि त्यतिबेला केन्द्रीय सदस्यमै प्रतिस्पर्धा गर्न खोजेका थिए तर गिरिजाप्रसादको तत्कालीन प्राथमिकतामा शेखरभन्दा शशांक परे । पछि शेखर लडेनन् । शशांकले परिवारसँगै ०१७ देखि ०३६ सालसम्म निर्वासित जीवन बिताएका थिए । उनको पढाइ पनि भारतमै भएको थियो । यसबीच उनी झन्डै कृषि पेसातिर हाम फालिसेकका थिए । बीपीले भविष्य देखाइदिएपछि कृषिको बाटो छाडेर पढाइतिर लागेका हुन् ।


प्रकाशित : कार्तिक ३, २०७६ ११:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?