कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

मेरो बिहे बीपीको दौरासुरुवालमा : शशांक कोइराला

कुलचन्द न्यौपाने

सधैं अनौपचारिक पोसाकमा देखिने कांग्रेस महामन्त्री शशांक कोइराला गत आइतबार पार्टीको चियापानमा दौरासुरुवालको औपचारिक गेटअपमा देखिएपछि चर्चामा छाएका छन् । उनको यो गेटअपलाई धेरैले आसन्न पार्टीको महाधिवेशनसँग जोडेर विश्लेषण गर्न थालेका छन् ।

मेरो बिहे बीपीको दौरासुरुवालमा : शशांक कोइराला

नयाँ गेटअपको राजनीतिक अर्थ र पार्टी नेतृत्वलगायत विषयमा शशांकसँग कान्तिपुरका कुलचन्द्र न्यौपानेले गरेको कुराकानी :


पार्टीको चियापान कार्यक्रममा तपाईं एकाएक राष्ट्रिय पोसाकमा देखिनुभयो, यसको कुनै अर्थ छ कि ?

धेरैले मन पराएको देखें । सायद बीपीकै तस्बिर आँखामा पर्‍यो होला । मैले पहिलोचोटि दौरासुरुवाल लगाएको आफ्नो विवाहमा थियो । श्रीमतीका तर्फबाट सुटको कपडा आएको थियो । त्यही सिलाएको थिएँ । बा (बीपी) ले भन्नुभयो, ‘कहाँ हुन्छ, दौरासुरुवाल लगाउनुपर्छ ।’ मैले भनें, ‘मेरो दौरासुरुवाल छैन ।’ उहाँले भन्नुभयो, ‘मेरै लगा ।’ अनि उहाँकै दौरासुरुवालमा मेरो विवाह भयो ।

यो पनि पढ्नुहोस् : शशांकको नयाँ ‘लुक्स’


त्यसपछि लगाउनु भएन ?

त्यसपछि खासै लगाइन । कहिलेकाहीँ मात्र लगाएँ । अहिलेसम्म ५/७ पटक लगाएँ होला । पछिल्लोपटक चिनियाँ राष्ट्रपति सी चिनपिङको सम्मानमा आयोजित डिनरमा सहभागी हुँदा लगाएको हो । भोलिपल्ट कांग्रेसको चियापानमा लगाएँ ।

तपाईं आफैंलाई कस्तो अनुभव भयो त ?

राम्रो देखिँदो रहेछ । सबैको नजरमा म हँसिलो देखिएँ । सबैले राम्रो मान्दा रहेछन् ।

धेरैले तपाईंको यो पोसाकलाई १४ औं महाधिवेशनसँग जोडेर विश्लेषण गर्न थालेका छन् । साँच्चै तयारी अघि बढेको हो ?

तयारी छँदै छ । नेतृत्व परिवर्तन हुनुपर्छ भन्ने मेरो धारणा हो । शेरबहादुरजीलाई हराउन हामी ५/७ जना एकै ठाउँमा उभिनुपर्छ । हाम्रो पक्षबाट दुई उम्मेदवार मात्रै भयौं भने पनि शेरबहादुरजीले त्यसै जित्नुहुन्छ । शेरबहादुरजीले पार्टीमा कुनै नयाँ भिजन दिन सक्नुभएन । त्यसैले पनि नेतृत्व परिवर्तन हुनुपर्छ भन्ने मेरो धारणा रहँदै आएको छ ।

पार्टी सभापति देउवाले नयाँ भिजन दिन नसकेकाले मात्रै हो कि अरू कमजोरी पनि औंल्याउनुभएको छ ?

मुख्यत: नयाँ भिजन दिन सक्नुभएन । पार्टीका गतिविधि पनि राम्रो भएन । पार्टी सुचारु रूपमा सञ्चालन हुन सकेन । अहिलेसम्म पार्टीका विभाग गठन गर्नसम्म सक्नुभएको छैन । नेविसंघ, तरुण दललगायत भ्रातृ संस्था लथालिंग छन् । पार्टीको विधानसमेत राम्रो भएन । बीपी कोइरालाले सभापतित्व प्रणालीको विधान हुनुपर्छ भन्नुहुन्थ्यो । सभापति निर्वाचित हुने र सबै शक्ति सभापतिसँग रहने प्रणाली विधानमा हुनुपर्थ्यो । म त्यसकै पक्षमा थिएँ तर कोषाध्यक्षबाहेक सबै पदाधिकारी चुनावबाट आउने व्यवस्था गरियो । यसले सभापतिलाई कमजोर बनाएको छ ।

मनोनीतको व्यवस्था हुँदा पनि पदाधिकारी मनोनयन गर्न दुई वर्षभन्दा बढी लाग्यो नि ?

त्यो त हो ।

तपाईं बाहिर र पार्टीभित्रै पनि धेरै बोल्नुहुन्न । अर्कोतर्फ पार्टी सभापतिलाई भिजन र कार्यक्रम दिन नसकेको भनेर हटाउनुपर्छ भन्नुभयो । तपाईं आफैं महामन्त्री भएर कति काम गर्नुभयो त ?

शेरबहादुरजीको विरोधमा मैले नबोलेकै हो । बोल्न पनि हुन्न । शेरबहादुरजीले जस्तै मैले विरोध गर्न थालें भने पार्टीको अवस्था के हुन्छ ? तर, महाधिवेशन आउँदै छ । त्यसको तयारी हामी गर्दै छौं ।

महामन्त्रीको हैसियतले पार्टीलाई अघि बढाउन तपाईंले के भूमिका निर्वाह गर्नुभयो त ?

मैले पार्टी एकजुट बनाउन प्रयास गरें । शेरबहादुर, रामचन्द्रजी दुवैलाई पार्टी एक गर्नुहोस्, नत्र भविष्य अन्धकार हुन्छ, त्यसका लागि मैले के गर्नुपर्छ तयार छु भनेर बारम्बार भन्दै आएँ । देशको विकासबारे मेरो एउटा भिजन छ । अहिले सत्र लाख हेक्टर जमिन खेतीयोग्य छ । जबकि हाम्रो उत्पादन केही छैन । ओलीजी केरुङबाट काठमाडौं, काठमाडौंबाट लुम्बिनी रेल ल्याउने भन्नुहुन्छ । ऋणमा हामीले रेल बनाउन थाल्यौं भने डुब्छौं । हाम्रो उत्पादन के छ ? हामी चाइनिज र भारतको ट्रान्जिट प्वाइन्ट मात्रै हुने ? त्यसले आर्थिक प्रभाव त पार्ला तर हाम्रो आफ्नै उत्पादन भएन भने उन्नति हुन्न ।

पार्टीमा धेरै गुट छन् । एउटै गुटभित्र पनि उपगुट सक्रिय छन् । यसलाई कसरी मिलाउनुहुन्छ ?

सबैभन्दा पहिला आफूलाई हेर्नुपर्छ । एकजुट नभई हाम्रो भविष्य छैन भन्ने अनुभूति हामी सबैले गर्नुपर्छ । सबैले गुटबन्दीले गर्दा हामी खत्तम भयौं भन्ने रियलाइज गर्नुपर्छ । पार्टी एक हुनासाथ यसलाई कसैले हराउन सक्दैन ।

एक त गर्ने, तर कसरी ?

सेल्फ रियलाइजेसन गर्नुपर्छ । हाम्रो भविष्य एकतामै छ भन्ने कुरा सबैले बुझ्न सक्नुपर्‍यो । बीपी कोइरालाले मेलमिलापको नीति लिएर यो पार्टीलाई अघि बढाउनुभएको हो । आजको दिनमा पनि मेलमिलापको आवश्यकता त्यत्तिकै छ ।

तपाईंहरूको (संस्थापन इतर) बीचमा कस्तो खालको समझदारी बन्छ त ?

बुधबार साँझ हामी (संस्थापन इतरपक्ष) बस्याथ्यौं । हामी सबैको एउटै भावना एकताबद्ध हुनुपर्छ भन्नेमै छ । हामी एक भयौं भने शेरबहादुरजीले छोड्नै बाध्य हुनुपर्छ । हाम्रो समूह यही निष्कर्षमा पुगेको छ । शेरबहादुरजीतिर भएकालाई आफ्नो पक्षमा ल्याउनेतर्फ पनि हाम्रो ध्यान जानुपर्छ । रामचन्द्र दाइ, शेखर दा, म, प्रकाशमान, सिटौला बसेर एउटा मात्रै उम्मेदवार दिनुपर्छ, चाहे त्यो जोसुकै किन नहोस् ।

तपाईंको आफ्नै तयारी छ । शेखर कोइराला जो भए पनि म लडेरै छाड्छु भन्न थाल्नुभएको छ । पहिला त कोइराला परिवारभित्रै प्रतिस्पर्धा हुने भयो नि ?

त्यस्तो हुन्न । हामी एकै ठाउँमा उभिनुपर्छ । विकल्प छैन । जसको नेतृत्व स्वीकार्य हुन्छ, उसैमा जानुपर्छ । यस विषयमा आउने दिनमा अझ छलफल हुँदै जाला ।

दाजुभाइबीचमै प्रतिस्पर्धा हुन्छ कि हुन्न ?

त्यस्तो हुन्न । समझदारीमा जान्छौं ।

दाइ (शेखर) सँग कत्तिको कुराकानी हुन्छ ?

पछिल्लोपटक भएको छैन । अब कुराकानी गर्छौं ।

तपार्ईंकै तयारी कत्तिको छ त ?

महाधिवेशन आउन अझै एक वर्ष बाँकी छ । देशभरका साथीहरूसँग परामर्श गर्छु । राज्यका सबै जिल्ला पुग्छु । सबै जिल्लामा पुगेर साथीहरूसँग भेटघाट गर्छु । साथीहरूको सुझाव र परामर्शबाटै अघि बढ्छु ।

०४६ सालपछि २० वर्षसम्म कोइराला परिवारमै पार्टीको नेतृत्व रह्यो । १३ औं महाधिवेशनबाट गैरकोइराला परिवारमा नेतृत्व सर्‍यो ।

अब फेरि कोइराला परिवारबाटै नेतृत्व हुनुपर्छ भन्ने तपाईंहरूको मान्यता हो ?

लिगेसीमा म त्यति विश्वास गर्दिनँ । कोइरालाहरूले नै गर्नुपर्छ भन्ने होइन । तर कोइराला हुनासाथ साथीहरूले आशा धेरै राख्नुहुन्छ । म भन्छु, आशा होइन, विश्वास गर्नुपर्छ । आशा गरेपछि त झुलभित्र सुत्दिन थाल्नुहुन्छ । त्यसैले सबै साथीहरूलाई विश्वास गर्नुहोस्, आशा नराख्नुहोस् भन्छु । विश्वास भयो भने मात्रै प्रत्यक्ष लाग्ने कुरा हुन्छ ।

त्यसो भए कोइराला परिवारको विरासत फर्काउन चाहनु हुन्छ ?

एसिया क्षेत्रमै लिगेसीको ठूलो भूमिका हुने रहेछ । बीपीपुत्र हुनासाथ म पचास प्रतिशत त्यसै अघि बढिहालें । लिगेसी काउन्ट हुन्छ तर म यसमा विश्वास गर्दिनँ । आफ्नो क्षमताअनुसार अघि बढ्न सकियो भने मात्रै उपलब्धि प्राप्त गर्न सकिन्छ भन्ने मेरो विश्वास छ । क्षमता लिगेसीले दिँदैन ।

चुनाव जित्नका लागि त यसले ठूलो भूमिका खेल्छ होइन र ?

हो, खेलिहाल्छ । हाम्रो जस्तो मुलुकमा ठूलो लिगेसीको भूमिका अवश्य हुन्छ । नेतृत्वमा जानका लागि भूमिका खेल्छ । सहज हुन्छ तर नेतृत्वमा गएपछि लिगेसीले काम गर्दैन । त्यतिबेला क्षमता चाहिन्छ । लिगेसी मात्रै भयो, क्षमता भएन भने नेतृत्वमा पुगेर कुनै निर्णय गर्न सक्दैन । क्षमता अभिवृद्धि गर्नुपर्छ । नेतृत्वका लागि बीपीपुत्र भएकाले मलाई सजिलो छ । तर, देशलाई अघि बढाउने क्षमता पनि मैले आर्जन गरेको छु ।

तपाईंले आसन्न पार्टी महाधिवेशनमा धर्मको एजेन्डालाई उठाउन खोज्दै हुनुहुन्छ भन्ने छ नि ?

म जुन क्षेत्रबाट चुनाव लडेर आएको छु, त्यस क्षेत्रमा धार्मिक मानिस धेरै छन् । त्यसैले कतिपय अवस्थामा यो एजेन्डा अघि बढाउनु मेरो बाध्यता पनि बन्यो । धर्मनिरपेक्ष होइन, स्वतन्त्र हुनुपर्छ भन्ने मेरो मान्यता हो । धर्म न निरपेक्ष हुन्छ न सापेक्ष । धर्म स्वतन्त्र हुन्छ । हाम्रो पार्टीको झन्डामा रहेको चार तारामध्ये एउटा ताराको अर्थ धार्मिक स्वतन्त्रता पनि हो । संविधानमा धर्म निरपेक्षतालाई संशोधन गरेर धार्मिक स्वतन्त्रता राख्नुपर्छ भन्ने मेरो भनाइ हो ।

यस मुद्दालाई महाधिवेशनमा उठाउने तयारीमा हुनुहुन्छ ?

उठाउँछु । यो विषय उठाउनैपर्छ ।

चिकित्सा पेसामा छँदा तपाईंलाई राजनीतिको नेतृत्व तहसम्म पुग्छु भन्ने आशा थियो ?

म २० वर्ष चिकित्सा पेसामा रहें । त्यसमा एकदम सन्तुष्ट भएँ । कहिल्यै निजी क्लिनिकमा प्राक्टिस गरिनँ । महाराजगन्जको शिक्षण अस्पतालमै बसें । त्यहीँ सन्तुष्ट भएँ । २० वर्ष पुगेपछि मलाई राजनीतिमा धेरै प्रेसर आयो । जागिरबाट रिटायर्ड पनि भएँ । आँखा मात्रै जाँचेर हुँदैन, राजनीति गर्नुहोस् भन्ने प्रेसर भयो । गिरिजाबाबुले तँ पनि राजनीतिमा आइज भन्नुभयो । त्यसपछि नै केन्द्रीय कार्यसमितिमा आएको हुँ ।

केन्द्रीय सदस्य भएपछि कोइराला परिवारको विरासत धान्न सक्छु भन्ने लागेको हो ?

विरासत छँदै छ । धान्न सक्ने क्षमता पनि मसँग छ । बीपीको सपना साकार पार्ने भिजन पनि छ । बीपीले जनतालाई समृद्ध बनाउने बाटो लिनुभएको थियो । त्यही धारणाबाट प्रेरित भएर मैले कृषिको भिजनसमेत बनाएको छु ।

कृषिप्रतिको लगाव हुनुमा कुनै खास कारण छ कि ?

यसमा एउटा रमाइलो घटना छ । म दार्जिलिङको सीएन क्याब्रिजमा पढ्थें । हाम्रो परिवारमा ज्योति दा हुनुहुन्थ्यो । उहाँले जम्मु एन्ड कश्मीर इन्जिनियरिङ कलेजबाट गोल्ड मेडल ल्याउनुभयो । फर्केर उहाँले जागिर खोज्नुभयो । मासिक ९ सय तलबमा जागिर पनि पाउनुभयो तर गर्दिनँ भन्नुभयो । कृषि गर्छु भन्नुभयो । हाम्रो जग्गाजमिन पनि धेरै थियो । त्यतिबेला उखुको खेती हुन्थ्यो । वर्षमा एकपटक मात्रै उखु हुन्थ्यो । उहाँले त्यसलाई टोटल परिवर्तन गरिदिनुभयो । तीन बाली लगाइदिनुभयो । एक वर्षमा त्यतिबेलाकै सात लाख रुपैयाँ आम्दानी भयो । कहाँंको ९ सयको जागिर, कहाँको ७ लाखको आम्दानी ।

त्यसपछि मलाई पनि कृषिमा लाग्न मन लाग्यो । मेरो रिजल्ट ७४ प्रतिशत थियो । यत्रो पढेर, मिहिनेत गरेर के हुने रहेछ ? कृषि नै गर्छु भनेर बा (बीपी) कोमा गएँ । म पनि कृषि गर्छु भने । बाले हाँस्दै भन्नुभयो, ‘ल ठीक छ । तँ यो परिवारको ग्रेट अर्नर हुन्छस् । कृषिमा लागेपछि तैंले धोती लगाउँछस्, कुर्ता लगाउँछस् । टाउकामा चिल्लो तेल धस्छस् । एक हातमा टिन हुन्छ । अर्को हातमा बोरा हुन्छ । पढेको हुन्नस् । काम गर्ने टिके (त्यतिबेला बीपीको भान्से) सँग तेरो गन्थन हुन्छ । घरमा आमाबाउलाई घिउ, तेल ल्याइध्याछु भनेर टिकेसँगै बसेर कुरा गर्छस् । धोतीबाट पैसा निकालेर बाआमालाई दिऊँ भन्छस् । त्यसरी बाले भनेपछि मैले राति सपनामा पनि घिउको टिन र बोरा देखें । अनि भोलिपल्टै गएर कलेज भर्ना भएँ । बीपीले त्यसरी नसम्झाएको भए सायद म आजसम्म कृषक नै हुन्थें होला ।


प्रकाशित : कार्तिक ३, २०७६ ११:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?