कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

ज्ञानेन्द्र शाही कुटपिट घटनामा जाहेरी नै परेन :प्रहरी

रमेशकुमार पौडेल

चितवन — आफूलाई भ्रष्टचार विरोधी अभियान्ता बताउँदै हिँड्ने ज्ञानेन्द्र शाहीमाथि कुटपिट भएको पाँच दिनपछि चितवन प्रहरीले आफ्नो आधिकारिक जानकारी सार्वजनिक गरेको छ ।

ज्ञानेन्द्र शाही कुटपिट घटनामा जाहेरी नै परेन :प्रहरी

चितवन प्रहरीले बिहीबार प्रेस विज्ञप्ती जारी गरेर उक्त घटनाको सम्बन्धमा सम्बद्ध पक्षबाट जाहेरी प्राप्त नभएको जानकारी गराएको छ ।


‘जाहेरी प्राप्त नभएपनि घटनाको सत्यतथ्य छानबिनका लागि प्रहरी कार्यालय चितवनले अनुसन्धान टोली बनाइ घटनाको सम्बन्धमा गम्भीरतापूर्वक अनुसन्धान भइरहेको सबैमा जानकारी गराइन्छ’ चितवन प्रहरीको विज्ञप्तीमा उल्लेख छ । शाहीमाथि कुटपिटको घटना दिउँसै भएको थियो । घटनास्थलबाट चितवन जिल्ला प्रहरी कार्यालय नजिकै पर्छ ।


शाहीमाथि आक्रमण हुँदै गरेका भिडियाहरु सार्वजनिक भएपनि प्रहरीले एकजना आक्रमणकारी पनि अहिलेसम्म समातेको छैन । चितवन प्रहरीका प्रमुख प्रहरी उपरीक्षक दानबहादुर मल्ल भिडियो फुटेजहरुमा आक्रमण गर्नेहरु ६/७ जना देखिएपनि अनुहार कसैको नचिनिने बताउँछन् । प्रहरीले बिहीबार निकालेको विज्ञप्तीमा घटनास्थलमा प्रहरी पुग्नुअघि नै आक्रमणकारीहरु फरार रहेको उल्लेख छ । शाही सो होटलमा छन् भन्ने पूर्व सूचना प्रहरीलाई नभएको पनि विज्ञप्तीमा जनाइएको छ ।

के भएको थियो त्यस दिन ?

त्यसदिन चितवनमा शाहीको पूर्वनिर्धारित कार्यक्रम थियो । ‘नेपालका लागि नेपाली’ भन्ने संस्थामा आबद्ध रहेर उनी भ्रष्टाचार विरोधी अभिायनमा संलग्न छन् । अभियानका चितवन संयोजक भरत पोख्रेलका अनुसार कार्यक्रमका बारेमा प्रचार प्रसार र प्रशासनबाट स्वीकृति पनि लिइएको थियो ।


‘तर सुरक्षाको कारण देखाएर प्रहरीले कार्यक्रम नगर भन्न थाल्यो । केही व्यक्तिहरु कार्यक्रम हुन दिनु हुँदैन भन्दै नारा लगाउन थाले । ब्यानर खोस्न थाले’ पोख्रेलले भने । उक्त ब्यानरमा ‘भ्रष्टाचार र विकृतिहरु विरुद्ध कार्यक्रम’ भनेर लेखिएको थियो । अवस्था असहज बनेपछि कार्यक्रम स्थगित भयो ।


उक्त अभियानका सल्लाहकार दिलिप बस्नेतका अनुसार कार्यक्रम हुन नसकेपछि ग्लोबल होटलमा पत्रकार सम्मेलनको तयारी गरिएको थियो । ‘हामी पत्रकार सम्मेलनको तयारीमा थियौं । ज्ञानेन्द्र शाही जी गाडीबाट होटलमा आउँदै हुनुहुन्थ्यो । होटल छिरेपछि उहाँ नझर्दै बसमा नै एक्कासी आक्रमण भयो’ बस्नेतले भने ।

शाही आउने भनेपछि एक समूह विरोधमा उत्रने तयारीमा थियो । ‘विरोधमा पनि कार्यक्रम हुने हामीलाई थाहा भयो । शाहीले पनि कार्यक्रम गर्दा झडपको सम्भावना बढ्ने देखेर कार्यक्रम नगर्दा राम्रो हुने सुझाव मात्र हामीले दिएको हो’ चितवन प्रहरीका प्रवक्ता डिएसपी एकनारायण कोइरालाले भने । शाहीको कार्यक्रमको विरोध गर्ने कुन समूह थियो भनेर प्रहरीले बताएको छैन ।


घटनामा सत्तारुढ दल निकटका युवाहरुको हात रहेको अभियानमा संलग्न व्यक्तिहरुको आरोप छ । शाहीले भरतपुरमा दोस्रो पटक कार्यक्रम गर्न लाग्दै थिए । यसअघि भएको कार्यक्रममा उनले महानगरमा रहेको बेरुजुको प्रशंग उल्लेख गरेर आर्थिक अनियमिता भएको आरोप लगाएका थिए ।


केही दिनअघि नेपालगन्ज विमानस्थलमा पर्यटनमन्त्री योगेश भट्टराईका कारणले विमान समयमा नै नउडेपछि शाही लगायतले प्रतिवाद गरे ।


यस्ता कारणहरुले सत्तारुढ दल निकटका व्यक्तिहरु शाही प्रति रुष्ट देखिन्थे । भरतपुरको घटनामा तत्कालीन माओवादी निकटको युवा संगठन वाईसीएलको हात रहेको चर्चा पनि निकै नै चलेको छ । तर वाईसीएल चितवनका इन्चार्ज मधु न्यौपाने घटनामा आफ्नो संगठनको संलग्नता नरहेको बताउँदै उनले गणतन्त्र प्रेमी युवाहरुले आक्रमण गरेको बताए ।


‘हाम्रो संगठन त्यसरी व्यक्तिमाथि आक्रमण गर्न उत्रदैन । तर ज्ञानेन्द्र शाहीमाथि आक्रमण गर्नेहरु गणतन्त्र पक्षधरहरु हुन । किन कि शाही गणतन्त्रका विरुद्ध लागेका छन् । शाहीको त्यो कदम मन नपराउनेहरुले उनलाई आक्रमण गरे होलान्’ न्यौपानेले भने ।


ज्ञानेन्द्र शाहीमाथि कुटपिट भएपछि नेपाली कांग्रेस चितवनले तत्कालै विज्ञप्ती निकालेर ‘नागरिकको आवाजलाई हिंसात्मक ढंगबाट सत्ता र शक्तिको आडमा दमन गर्न खोजेको’ टिप्पणी गरेको छ । यो घटनाका विषयमा सत्तारुढ नेकपाले विज्ञप्ती निकालेन । ज्ञानेन्द्र शाहीमाथि आक्रमण भएपछि सामाजिक सञ्जालहरुमा भरतपुरका मेयर रेनु दाहाल लक्षित आपत्तिजनक पोष्टहरु भए । यस्तो सामाग्री पोष्ट गर्नेलाई कराबाही हुनुपर्ने माग भने नेकपाले गरेको छ ।

यो पनि पढ्नुहोस्:

ज्ञानेन्द्र शाहीमाथि कुटपिट

प्रकाशित : आश्विन १७, २०७६ १२:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?