कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

यौन दुर्व्यवहारको आरोप लगाउने महिलाद्वारा उजुरी दिन इन्कार

काठमाडौँ — सभामुख कृष्णबहादुर महरामाथि यौन दुर्व्यवहारको आरोप लगाएकी महिलाले प्रहरीमा उजुरी दिन भने इन्कार गरेकी छन् । संघीय संसद् सचिवालयमा कार्यरत उनले आफूमाथि सभामुख महराले यौन दुर्व्यवहार गरेको आरोप लगाउँदै आइतबार राति प्रहरीमा मौखिक उजुरी दिएकी थिइन् । तर लिखित उजुरी दिन र स्वास्थ्य परीक्षण गराउन पटकपटक आग्रह गर्दा पनि उनले नमानेको प्रहरीले जनाएको छ । 

यौन दुर्व्यवहारको आरोप लगाउने महिलाद्वारा उजुरी दिन इन्कार

प्रहरीले मंगलबार दिनभर ती महिलासँग लिखित ‘किटानी जाहेरी’ (उजुरी) र स्वास्थ्य परीक्षण गराउन भनेको थियो । पटकपटक बोलाउँदा पनि पीडित भनिएकी महिला र उनका श्रीमान् उजुरी दिन नआएको काठमाडौं प्रहरी परिसर प्रमुख एसएसपी उत्तमराज सुवेदीले बताए । ‘घटना छानबिनका लागि उजुरी दिनुहोस्, सत्यतथ्य बाहिर ल्याउँछौं भनेर दुर्व्यवहार भएको भनिएकी महिला र उनका श्रीमान्लाई बोलाएका थियौं तर आउनुभएन,’ उनले भने, ‘आउँछौं भनेर पर्खाउनुभयो । पछि मोबाइल नम्बर नै अफ गरेर बस्नुभयो ।’


पीडितबाट उजुरी परेको अवस्थामा प्रहरीले तत्काल अनुसन्धान गर्ने गरी घटनास्थलबाट तथ्य र प्रमाण संकलन गरिएको उनले बताए । ती महिलाको तीनकुनेस्थित कोठाबाट प्रहरीले फुटेको चस्मा, तन्ना, जुत्ताका लेस/तुना, अल्कोहलको बोतललगायत सामान लिएको छ । सभामुख महराको राजीनामापछि मंगलबार महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डीएसपी होबिन्द्र बोगटी, महानगरीय अपराध महाशाखाका डीएसपी दुर्गा दाहाल र महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरका डीएसपी दुर्गा रेग्मीसहितको टोलीले घटनास्थल पुगेर प्रमाण संकलन गरेको थियो ।


त्यसअघि प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले गृहमन्त्री रामबहादुर थापा, गृहसचिव प्रेमकुमार राईलगायतलाई घटनाको अनुसन्धानबारे ब्रिफिङ गरेका थिए । सभामुखमाथि आरोप लगाएर अनुसन्धानमा असहयोग गर्नुले घटना झनै शंकास्पद बनाएको अपराध अनुसन्धान विज्ञहरूले बताएका छन् । ‘हाई प्रोफाइलमाथि पहिले यौन दुर्व्यवहार जस्तो जघन्य अपराधमा आरोप लगाउने र घटनाको अनुसन्धानमा प्रहरीलाई नसघाउनुले यो झनै शंकास्पद बनेको छ,’ नेपाल प्रहरीका पूर्वडीआईजीसमेत रहेका अपराध अनुसन्धान विज्ञ हेमन्त मल्ल ठकुरीले भने, ‘पीडित भनिएकी महिलाले नै उजुरी नदिएपछि प्रहरी अन्योलमा पर्छ ।’ सभामुख महरा जोडिएको प्रकरणमा घटना भएकै दिन प्रहरीले उपलब्ध प्रमाण लिनुपर्नेमा त्यो हुन नसकेको मल्लको भनाइ छ । ‘गम्भीर किसिमको अपराधको मौखिक उजुरी परेपछि प्रहरीले घटनास्थललाई तत्कालै नियन्त्रणमा लिनुपर्थ्यो,’ उनले भने ।


के भएको थियो आइतबार राति ?

आइतबार राति ९ बजेर तीन मिनेटमा रानीपोखरीस्थित महानगरीय प्रहरी कार्यालयको टोल फ्रि नम्बर १०० नम्बरमा तीनकुने क्षेत्रबाट फोन आएको थियो । एउटी महिलाले आफूमाथि सभामुख कृष्णबहादुर महराबाट यौन दुर्व्यवहार भएको बताएपछि कार्यालयले महानगरीय प्रहरी वृत्त बानेश्वरमा घटनाबारे जानकारी गराएको थियो । वृत्तका डीएसपी दुर्गा रेग्मीको टोली ९ बजेर १९ मिनेटमा ती महिलाको तीनकुनेस्थित कोठामै पुगेका थिए । प्रहरीका अनुसार डीएसपीको टोली कोठामा पुग्दा ती महिलाले मादक पदार्थ सेवन गरेकी थिइन् । प्रहरीसँग महिलाले आफूमाथि यौन दुर्व्यवहार भएको बताए पनि स्वास्थ्य परीक्षण अस्वीकार गरेकी थिइन् ।


पीडितले आफूले भोलि आएर उजुरी दिने बताएपछि प्रहरी टोली कोठाभित्रको फोटो र भिडियो खिचेर फर्किएको थियो । प्रहरीले मंगलबार कोठाबाट सभामुख महराले पिएको भनिएको मदिरा, प्लेटमा भएको स्न्याक्स, महराको भनिएको चस्माको भाग र जुत्ताको तलुवा लिएर आएको छ । घटनाबारे आइतबार राति महानगरीय प्रहरी कार्यालय हुँदै प्रहरी प्रधान कार्यालय र गृहमन्त्री रामबहादुर थापासम्मलाई जानकारी पुगिसकेको थियो । सोमबार बिहान साढे ७ बजे नै प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले गृहमन्त्री थापालाई भेटेका थिए ।



त्यसपछि महानिरीक्षक खनालको निर्देशनमा प्रहरीले घटनाको प्राविधिक पक्षको अनुसन्धान थालेको थियो । प्रहरीले सोमबार नै महिलाको कल डिटेल्स संकलन गरिसकेको छ । त्यसको अध्ययनबाट सभामुख महरा र महिलाबीच विगतमा के–कस्ता विषयमा कसरी कुरा भएका थिए, घटनाअघि के–कस्ता विषयमा कुरा भएको थियो भन्ने निष्कर्षमा पुग्ने प्रहरी योजना थियो । मंगलबार बिहान प्रहरी परिसर काठमाडौं र महानगरीय अपराध महाशाखाको टोलीले बिहान साढे नौ बजेतिर घरमै पुगेर भेट्दा ती महिलाले आफ्ना श्रीमान् पोखरा भएको र उनी आएपछि मात्रै लिखित उजुरी दिने बताएकी थिइन् ।


प्रकाशित : आश्विन १५, २०७६ ०७:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?