१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २८२

महरा यौन दुर्व्यवहार प्रकरण : प्रहरीले थाल्यो अनुसन्धान, पीडित महिला किटानी जाहेरी दिँदै

गृहमन्त्री र प्रहरी महानिरिक्षकबीच मन्त्रालयमा छलफल जारी

काठमाडौँ — निवर्तमान सभामुख कृष्णबहादुर महरामाथि लगाइएको यौन दुर्व्यवहार आरोपको प्रहरीले प्रारम्भिक अनुसन्धान सुरु गरिसकेको बताएको छ । यस्तै दुर्व्यवहारको आरोप लगाउने संसद् सचिवालयमा कार्यरत महिला कर्मचारीले महराविरुद्ध किटानी जाहेरी दिने तयारी गरिरहेको स्रोतले बताएको छ ।

महरा यौन दुर्व्यवहार प्रकरण : प्रहरीले थाल्यो अनुसन्धान, पीडित महिला किटानी जाहेरी दिँदै

यसैबीच गृहसचिव प्रेमकुमार राई, प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल र शान्ति सुरक्षा महाशाखा प्रमुख रामकृष्ण सुवेदीबीच गृहमन्त्रालयमा यसै विषयमा छलफल भइरहेको छ ।


महानगरीय प्रहरी परिसर काठमाडौं प्रहरी प्रमुख एसएसपी उत्तम सुवेदीका अनुसार अहिले घटनास्थल र प्रमाणहरु सुरक्षित गर्ने कार्य भइरहेको छ । यससँगै अनुसन्धान प्रक्रिया पनि अगाडि बढाइएको छ ।


स्रोतका अनुसार बानेश्वर वृत्तलाई अनुसन्धानमा सघाउन र समन्वय गर्नका लागि परिसरबाट मुद्दा शाखाका डीएसपीलाई समेत अनुसन्धान गर्न खटाइएको छ ।


उच्च प्रहरी स्रोतका अनुसार ती महिला कर्मचारीले आइतबार साँझ प्रहरी हटलाइनमा फोन गरेर आफू माथि दुर्व्यवहार भएको जानकारी गराए लगत्तै बानेश्वर वृत्तबाट डीएसपी दुर्गा रेग्मीसहितको एक टोली घटनास्थल पुगेको थियो । डीएसपीको टोलीले घटनाबारे महिलासँग सोधपुछ गर्दा दुर्व्यवहार मात्र गरेको र स्वास्थ्य परीक्षण गर्न नजाने बताएपछि उनीहरुले घटनास्थलको फोटो र भिडियो मात्रै खिचेर फर्किएका थिए ।

यस्तै प्रहरीले सोमबार बिहानैबाट उक्त घटनाको प्राविधिक अनुसन्धान सुरु गरिसकेको दाबी स्रोतले गरेको छ । प्रहरीले हिजै मोबाइलको कल डिटेल्स तथा महरा र महिलाबीच सामाजिक सञ्जाल लगायत अन्य अनलाइनको माध्यमबाट भएको कुराकानीको समेत अनुसन्धान गरिरहेको छ ।


सोमबार बिहानै पनि घटनाको सन्दर्भलाई लिएर गृहमन्त्री थापा र प्रहरी महानिरीक्षक खनालसहित प्रहरी उच्च अधिकारीको छलफल भएको पनि स्रोतले जानकारी दिएको छ ।

प्रकाशित : आश्विन १४, २०७६ १४:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनको अभियोग लागेकी राप्रपा सांसद गीता बस्नेतलाई अदालतले पक्राउ पुर्जी जारी गर्दा पनि प्रहरीले पक्राउ गर्न किन आलटाल गरेको होला ?